
दोरम्बा गाविस–८ रामेछापका सागर भन्ने टीका थापामगरले लुटपाट, चोरी तथा डकैतीबाट पछिल्लो १० वर्षमा लाखौं रुपैयाँ बराबरको सम्पत्ति जोडे ।
०६४ सालयता पटके कारबाहीमा पर्दै आएका उनी बैंकबाट रकम लिएर बाहिरिँदै गर्दा मन्दिरा अधिकारीको ६ लाख रुपैयाँ लुटपाट अभियोगमा बिहीबार पुनः छैटौं पटक प्रहरी फन्दामा परे । प्रहरीका अनुसार थापामगरले लुटेको धनबाटै बनेपामा पक्की घर समेत बनाएको फेला पर्यो ।
ओखलढुंगा चण्डेश्वरीका महेश खड्काले चोरी तथा डकैतीबाटै केही वर्षअघि काठमाडौंमा १२ आना जग्गा जोडेको प्रहरी अनुसन्धानबाट पत्ता लाग्यो । पेसेवर चोर विरुद्धको कारबाहीमा पक्राउ परेपछि उनको अपराध धन्दाबारे महानगरीय प्रहरी अपराध महाशाखाले त्यसको पर्दाफास गरेको थियो । यो खबर आजको कारोबारमा छ ।
रोजगारीका क्रममा काठमाडौं आएका धादिङका लोकबहादुर विश्वकर्माले पनि पैसा कमाउन अपराधकै सहारा लिए । स्थानीय टोले गुण्डा र लुटेरासँग संगत बढाउँदै उनी लुटपाटको सम्पत्तिबाटै बालाजुमा सुनचाँदी व्यवसायीको रूपमा उदाए । तर चोर÷पकेटमारकै सुराकीबाट उनी प्रहरी फन्दामा परे ।
राजधानीभित्र चोरी, पकेटमारी, लुटपाट, डकैती जस्ता शृङखलाबद्ध अपराधमा थापामगर, खड्का र विश्वकर्मा प्रतिनिधिमूलक पात्रमात्रै हुन् । महानगरीय प्रहरी अपराध महाशाखा तथा स्थानीय प्रहरीले यस्ता अपराधबाट लाखौं रुपैयाँ बराबरको चलअचल सम्पत्ति आर्जन गर्ने अभियुक्तलाई कारबाहीको दायरामा ल्याएको छ । महाशाखाका अनुसार छिट्टै सम्पत्ति आर्जन गर्ने लोभमा कैयौं युवा यस्ता अपराधमा संलग्न हुँदै आएका छन् ।
प्रहरीका अनुसार विभिन्न आवरणमा रहेका गुण्डा नाइकेसँग संगत बढाउँदै आफैं अपराधमा संलग्न हुने युवाको संख्या पछिल्ला दिन बढ्दो क्रममा छ । प्रहरीले दैनिकजसो पक्राउ गर्ने अभियुक्तहरुमा विशेषगरी १५ देखि ३५ वर्ष उमेर समूहका होटल÷रेस्टुराँमा काम गर्ने मजदुर÷बाउन्सर, घरेलु कामदार, चालक तथा बेरोजगार युवा रहेको महाशाखाको अपराध तथ्यांकमा उल्लेख छ ।
पक्राउ परेका लुटेरा तथा चोरमाथि अनुसन्धान गर्ने क्रममा अपराधबाटै कतिपय लाखदेखि करोड रुपैयाँसम्म सम्पत्ति आर्जन गर्ने गरेको देखिन्छ । महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनाल टोलेगुन्डा हुँदै संगठित अपराधमा संलग्न व्यक्तिसँगको संगतबाट कतिपय व्यक्ति पेसेवर अपराधीको रूपमा सक्रिय हुँदै आएको बताउँछन् ।
उनका अनुसार उत्यकाभित्र सार्वजनिक यातायातमा तथा भीडभाड हुने स्थानमा पकेट मार्नेदेखि सुनचाँदी पसलमा लुटपाट गर्नेसम्मका विभिन्न गिरोह उपत्यकामा सक्रिय देखिन्छन् । जसलाई स्थानीय क्लब सञ्चालक, डान्स÷रेस्टुराँ, होटल, यातायात लगायतमा आवद्ध मजदुर, सडक बालबालिका लगायतलाई गिरोहले संगठित रूपमा परिचालन गर्ने गरेको प्रहरीको दाबी छ ।
यस्तो अपराधलाई पेसेवर गिरोहले सम्पत्ति आर्जन गर्ने सजिलो माध्यम बनाएको उनको दाबी छ । “उपत्यकाभित्र सक्रिय गिरोहले अपराधलाई सम्पत्ति आर्जन गर्ने माध्यम बनाएका छन्,” एसएसपी खनालले भने, “यसका पछाडि गरिबी, बेरोजगारी, अशिक्षा तथा प्रलोभन प्रमुख कारण देखिन्छ ।”
अपराधबाट धनी बनेका कतिपय अपराधी विस्तारै सामाजिक कामको आवरणमा समाजमा स्थापित हुन खोज्ने क्रम पनि बढेको उनले बताए । त्यस्ता व्यक्तिमाथि प्रहरी निगरानी बढाइएको उनले जानकारी दिए ।