नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिअनुसार ‘क’ वर्गका वाणिज्य बैंकहरुले आगामी असार मसान्तसम्ममा न्यूनतम आठ अर्ब चुक्ता पुँजी पुर्याउनैपर्छ । त्यसअनुसार कतिपय वाणिज्य बैंकहरुले चुक्ता पुँजी पुर्याइसकेका छन्, कति आठ अर्ब नजिक देखिएका छन् भने कतिले प्रयास जारी राखेका छन् । तर २८ वाणिज्य बैंकमध्ये चुक्ता पुँजीका आधारमा ६ वटा वाणिज्य बैंक अत्यन्तै कमजोर अवस्थामा देखिएका छन् । ती बैंक हुन्, जनता बैंक, कुमारी बैंक, स्ट्याण्डर्ड चाटर्ड बैंक, सेञ्चुरी बैंक, लक्ष्मी बैंक र नेपाल एसबिआई बैंक ।
सानाले भ्याउँदैनन्, ठूलाले पत्याउँदैनन्
राष्ट्र बैंकको निर्देशनअनुसार चुक्ता पुँजी पुर्याउने समय अब मात्र पाँच महिना बाँकी छ । उक्त अवधिभित्र यी बैंकलाई झण्डै दोब्बरभन्दा बढी चुक्ता पुँजी बढाउनुपर्ने छ । दोश्रो संस्थासँग मर्जरमा जाँदा पनि यी ६ बैंकलाई चुक्ता पुँजी पुर्याउन कठिन छ । किनकी अब ठूला संस्थाहरु आफै चुक्ता पुँजी पुर्याउन चाहान्छन्, त्यसका लागि उनीहरु अर्को संस्थालाई नै मर्जरमा ल्याउने प्रयासमा छन् । साना संस्थासँग मर्जर गरेर यी वाणिज्य बैंकहरुको चुक्ता पुँजी पुग्न मुस्किल छ । यी ६ वाणिज्य बैंकलाई अब अलि बलिया विकास बैंकले पत्याउँदैनन् भने सानालाई मर्जरमा ल्याएर चुक्ता पुँजी पुग्दैन । त्यसैले यी बैंकहरुलाई चुक्ता पुँजी आठ अर्ब पुर्याउन फलामको चिउरा चपाउनभन्दा पनि गार्हो परिरहेको देखिन्छ ।
चुक्ता पुँजीलाई प्रभाव पार्ने रिजर्भ कोषका आधारमा पनि यी बैंक कमजोर देखिन्छन् । किनभने रिजर्भ कोष कमजोर भएका बैंकहरुले आकर्षक बोनस दिन सक्दैनन्, जसका कारण चुक्ता पुँजी बढाउन समस्या हुन्छ । त्यसैगरी निक्षेप र कर्जाको हिसाबमा पनि यी बैंकको अवस्था कमजोर नै छ ।
हेरौँ यी ६ बैंकहरु चुक्ता पुँजीका आधारमा कसरी कमजोर छन् त ?
जनता बैंक लिमिटेड
२८ वाणिज्य बैंकमध्ये अहिलेसम्म दुई दर्जन बैंकहरुले मात्र दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । अन्य चार वटा बैंकहरुले वित्तीय विवरण सार्वजनिक गर्न बाँकी छ । त्यसमध्ये अहिलेसम्म वित्तीय विवरण सार्वजनिक नगरेको बैंक हो जनता बैंक ।
त्यसैले यस बैंकको हालको वित्तीय अवस्थालाई अघिल्लो त्रैमासमा सार्वजनिक गरिएको विवरणबाट विश्लेषण गरिएको छ । जसअनुसार यस बैंकको चुक्तापुँजी दुई अर्ब छ करोड रुपैयाँ छ । केही दिनअघि निष्काशन गरेको ५० प्रतिशत हकप्रद वितरण सकिएपछि बैंकको पुँजी तीन अर्ब नौ करोड रुपैयाँ पुग्नेछ । बैंकले ४१ करोड रुपैयाँ बराबरको बोनस सेयर पनि जारी गर्दैछ । यसबाहेक जनताले ८२ करोड रुपैयाँ चुक्तापुँजी भएको त्रिवेणी विकास बैंकलाई एक्वाएर गर्दैछ । एक्विजिसन, हकप्रद र बोनसपछि बैंकको चुक्तापुँजी साढे पाँच अर्ब नाघ्ने बताइएको छ । आठ अर्ब पुँजी पुर्याउन बैंकले अर्को विकास बैंकसँग मर्जरमा जाने भनिएपनि हालसम्म ठोस निर्णय भने भइसकेको छैन । त्यसैले यस बैंकले आगामी असार मसान्तसम्म आठ अर्ब चुक्ता पुँजी पुर्याउन मुस्किल देखिएको छ ।
कुमारी बैंक
चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका २४ वाणिज्य बैंकमध्ये चुक्ता पुँजीको आधारमा सबैभन्दा लास्ट अर्थात २४ औँ स्थानमा देखिएको यो बैंकलाई पनि चुक्ता पुँजी आठ अर्ब पुर्याउन निकै सकस पर्ने देखिन्छ । दोश्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार यस बैंकको हालको चुक्ता पुँजी दुई अर्ब ६९ करोड ९१ लाख रुपैयाँ छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार यस बैंकले अझै साढे पाँच अर्ब चुक्ता पुँजी थप गर्नुपर्ने छ । चुक्ता पुँजी बढाउन यस बैंकले हालै ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई खरिद गर्न लागेको बैंकले एक्विजिसन अगाडिको चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर दिन लागेको हो । हकप्रद र एक्विजिसनपछि बैंकको चुक्तापुँजी छ अर्ब रुपैयाँ पुग्नेछ । त्यसपछि पनि आठ अर्ब चुक्ता पुँजी पुर्याउ कुमारी बैंकलाई हम्मे हम्मे देखिन्छ । तर कुमारीले चालू आर्थिक वर्षको कमाईबाट बोनस सेयर वितरण गर्न भने बाँकी छ ।
लक्ष्मी बैंक
चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका २४ वाणिज्य बैंकमध्ये चुक्ता पँुजीको आधारमा यो बैंक सेकेन्ड लास्ट अर्थात २३ औँ स्थानमा देखिएको छ । चालू आर्थिक वर्षको दोश्रो त्रैमासिक विवरणअनुसार यस बैंकको चुक्ता पुँजी हाल तीन अर्ब तीन करोड ९२ लाख रुपैयाँ छ । राष्ट्र बैंकले तोकेअनुसार चुक्ता पुँजी पुर्यान यस बैकले अझै कबिर चार अर्ब रुपैयाँ थप गर्नुपर्नेछ । यस बैंकले बोनस सेयर गर्ने जनाएको छ । हाल यस बैंकको रिजर्ब कोषमा तीन अर्ब ६२ करोड ६७ लाख रुपैयाँ पैसा छ । रिजर्ब कोषमा बलियो देखिएपनि चुक्ता पुँजी बढाउन अबको योजनामा भने यो बैंक अल्मलिएको देखिन्छ । अब पनि चुक्ता पुँजीमा निकै कमजोर नै देखिएको यस बैंकलाई चुक्ता पुर्याउन ठूलो सकस पर्ने देखिन्छ । किनभने अर्को कुनै संस्थासँग मर्जरमा जाँदा पनि चुक्ता पुँजीमा बलियो देखिएका कुनै पनि संस्था अर्को संस्थामा मर्जर हुन चाहादैनन् भने कमजोर अवस्था भएका संस्थालाई गाभेर चुक्ता पुँजीको लक्ष्य भेट्टाउन गार्हो पर्छ । यदपी यस बैंकले चुक्ता पुँजी पुर्याउन भावी रणनीतिका विषयमा तयारी भने गरिरहेको जनाएको छ ।
सेञ्चुरी कमर्सियल बैंक
हाल यस बैंकको चुक्ता पुँजी तीन अर्ब ६८ करोड ९० लाख रुपैयाँ छ । यस बैंकले अरनिको डेभलपमेण्ट र इन्नोभेटिभ डेभलपमेण्ट बैंकलाई खरिद गर्दैछ । इन्नोभेटिभ डेभलपमेन्ट बैंकको चुक्ता पुँजी २९ करोड रुपैयाँ र इन्नोभेटिभ डेभलपमेण्टको २५ करोड ७८ लाख रुपैयाँ छ । यी दुवै विकास बैकलाई गाभेपछि सेञ्चुरी बैंकको चुक्तापुँजी पाँच अर्ब नाघ्नेछ । त्यसपछि तीन अर्ब चुक्ता पुँजी थप्ने विषयमा यस बैंकले कुनै योजना अघि सारेको छैन । रिजर्ब कोषका आधारमा पनि सेञ्चुरी बैंक अत्यन्तै कमजोर देखिएको छ । यस बैंकको हाल ८३ करोड ५९ लाख रुपैयाँ मात्रै रिजर्ब कोषमा पैसा छ । यो बैंक जगेडा कोषमा सबैभन्दा कमजोर देखिन्छ । रिजर्भ कोषले चुक्ता पुँजीलाई प्रभाव पार्छ । किनभने रिजर्भ कोष कमजोर भएको बैंकले आकर्षक बोनस दिन सक्दैन । बोनश आकर्षक दिन नसकेपछि चुक्ता पुँजी बढाउन समस्या हुन्छ । त्यसैगरी निक्षेप र कर्जाको हिसाबमा पनि यो बैंकको अवस्था कमजोर नै देखिन्छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका २४ वाणिज्य बैंकमध्ये चुक्ता पँुजीको आधारमा यो बैंक थर्ड लास्ट अर्थात २२ औँ स्थानमा देखिएको छ ।
स्ट्याण्डर्ड चाटर्ड बैंक
नाफाका आधारमा अगाडी देखिने बहुराष्ट्रिय कम्पनीको रुपमा रहेको स्ट्याण्डर्ड चाटर्ड बैंक चुक्ता पुँजीमा भने कमजोर छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका २४ वाणिज्य बैंकमध्ये चुक्ता पुँजीको आधारमा यो बैंक २१ औँ स्थानमा देखिएको छ ।
दोश्रो त्रैमाससम्मको वित्तीय विवरणलाई हेर्ने हो भने यस बैंकको हालको चुक्ता पुँजी तीन अर्ब ७४ करोड ९९ लाख रुपैयाँ छ । आर्थिक बर्षको नाफाबाट ३३ प्रतिशत बोनस वितरण गरी चुक्ता पूँजी झण्डै चार अर्ब रुपैंया पुर्याएको छ । यसबाहेक, बैंकले १२९० रुपैयाँ प्रतिकित्ताका दरले २५ लाख ५८ हजार एक सय ४० कित्ता थप नयाँ सेयर निष्काशन गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । उक्त नयाँ सेयर जारी गरेपछि बैंकको चुक्ता पुँजी चार अर्ब रुपैयाँ पुग्नेछ । त्यसपछि पुँजी बढाउन के गर्ने भन्नेबारे यस बैंकले कुनै रणनीति लिएको देखिदैन । अब चुक्ता पुँजी पुर्याउने समय पनि साँघुरिँदै गएको र मर्जरमा जाने नजाने भन्ने विषयमा पनि निर्णय नभएकाले अबको पाँच महिनाभित्र ८ अर्ब पुर्याउन यस बैंकलाई निकै चुनौतिपूर्ण छ ।
नेपाल एसबिआई बैंक
यो बैंक निकै नाफा कमाउने बैंक हो । तर चुक्ता पुँजीको विषयमा भने यस बैंकले राष्ट्र बैंकलाई जिस्काइरहेको जस्तो देखिन्छ । किनभने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तीन अर्ब ८८ करोड रुपैयाँ चुक्ता पुँजी भएको यस बैंकको दोश्रो त्रैमाससम्म आइपुग्दा पनि त्यति नै छ । यस बैंकको हालको चुक्ता पुँजी तीन अर्ब ८८ करोड ३७ लाख रुपैयाँ रहेको छ । रिजर्ब कोषमा मध्यम देखिएको यस बैंकले अहिलेकै अवस्थामा चुक्ता पुँजी पुर्याउने सम्भावना न्युन देखिन्छ । किनभने अहिलेको हिसाबमा यस बैंकले अझै पौनै पाँच अर्ब रुपैयाँ थप गर्नुपर्ने छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका २४ वाणिज्य बैंकमध्ये चुक्ता पुजीको आधारमा यो बैंक २० औँ स्थानमा देखिएको छ । अबको पाँच महिनामा पौनै पाँच अर्ब थप गर्न बोनसबाहेकका अन्य रणनीति भने बैंकले तय गरेको देखिँदैन ।