×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सेयर अझै सस्तोमा किन्न पाइन्छ

दुर्गाप्रसाद काफ्ले
सेयर लगानीकर्ता
विद्यार्थी जीवनदेखि नै सेयर बजारमा लगानी सुरु गरेका दुर्गाप्रसाद काफ्ले धितोपत्र बजारमा लगानी गर्दा हतारिन नहुने बताउँछन् । सेयर बजारलाइ पूर्णकालीन पेशाको रुपमा आत्मसात गरेका उनले पछिल्लो समयको सुधार भने धेरै समयसम्म टिक्ने कुनै आधार नरहेको बताए ।
आर्थिक सूचकहरूले सपोर्ट नगरे पनि सेयर बजार एकोहोरो बढिरहनु अनौठो भएको उनको तर्क छ । हाल आर्थिक सूचकहरू बजार वढ्ने वा घट्ने गरी परिवर्तन नभएको उनको तर्क छ । तर, नेपालको सेयर बजारमा धेरै चलखेल हुने भएकाले केहीले पनि ठूलो असर नगर्ने उनले बताए । करिब ८ वर्ष सेयर बजारमा सक्रिय भएर लगानी गरेका काफ्लेसँग बजारको पछिल्लो अवस्थावारे कारोबारले गरेको कुराकानी :

सेयर बजार त बढ्न थाल्यो, अब सुधारको बाटोमा गएको हो भन्न सकिन्छ ?
सेयर बजार तत्कालका लागि बढेको जस्तो देखिए पनि दीर्घकालका लागि बढ्ने अवस्था छैन । आगामी दिनहरूमा केही कम्पनीहरूको नयाँ निष्कासन पनि आउँदै छ । त्यसमा लगानी गर्ने लगानीकर्ताले बजारको सेयर बिक्री गरेर नै हो ।
साथै चैतमा अधिकांश कम्पनीहरूको हकप्रद सेयरमा लगानी गर्नुपर्ने अवस्था छ । त्यसका लागि पनि लगानीकर्ताले सेयर बिक्री गर्ने भएकाले बजार तत्काल बढ्ने अवस्था छैन । स्थानीय तहको चुनाव भएको खण्डमा बजार बढ्नसक्ने अवस्था हो । तर, समयमा चुनाव हुने स्थिति पनि देखिएको छैन । त्यसैले तत्काल नै सेयरमा लगानी बढाउन हतार नगरेको नै राम्रो हुन्छ ।
अर्थतन्त्रका सूचकहरू पनि लगानी बढाउन उत्प्रेरित गर्ने गरी सकारात्मक नभएको हुनाले केही समय अझै बजारलाई हेरेर बस्दा नै उपयुक्त हुन्छ । केही दिनदेखि देखिएको सुधारलाई बजारमा चलखेल सुरु भएको भन्न पनि सकिन्छ । 
बजारको चलखेल भन्नुभयो, बजारमा कस्तो चलखेल हुन्छ र ?
नेपालको बजार बढ्ने वा घट्ने भन्ने थाहा नै हुँदैन । बजार बढ्न वा घट्न कुनै कारण पनि चाहिँदैन । बजारमा चलखेल भइरहेको छ । अहिले बजार वढेर २ हजार पुगे पनि एक हजारमा झर्छ । बिनाकारण फुलेको बजार टिक्दैन ।
अर्थतन्त्र सुधार भएको छैन । रेमिट्यान्सको आप्रवाह घटेको छ । बजारमा चलखेल भन्नाले एउटा समूहले एउटा हल्ला फैलाउँछ त्यसको पछि दौडने लगानीकर्ता धेरै छन् ।
हल्लाको भरमा सेयर किन्ने तथा बिक्री गर्ने निर्णय गर्ने लगानी भएकाले चलखेल गर्ने समूह हावी देखिएको हो । विश्लेषण गरेर कम्पनी छानेर लगानी गरेको खण्डमा चलखेल नियन्त्रणमा आउँछ । 
भनेपछि अझै सेयर किन्ने समय भएको छैन ?
निरन्तर बढेर १८८१ अंकमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक कालो धन प्रमुख कारण थियो । त्यसलाइ छानबिन गर्ने कुराले नै बजार उच्च अंकले घटेको थियो । तर, पछि त्यो कुरामा कसैले चासो दिएन । कालो धन र बैंक वित्तीय संस्थाको कर्जाका कारण उचालिएको बजार घट्ने त निश्चित थियो । 
हाल मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने सेयर किन्ने तथा बिक्री गर्ने केही गरेको छैन । हेरेर बसेको छु । चैतपछि सेयर बजारको लगानी वढाउने सोचमा छु । तत्कालका लागि बजारमा सानासाना हल्ला बढाउने घटाउने काम हुन्छन् । तर, त्यसले दीगो रूप लिन सक्दैन ।  
सेयर बजारमा लगानी गर्दा जोखिम पनि धेरै हुन्छ भन्छन्, तपाइँले कसरी लगानी गर्दै आउनु भएको छ ?
हालको समयमा सेयर बजारको प्रतिफलभन्दा पनि बैंकमा निक्षेप राख्दा आउने प्रतिफल धेरै देखिन्छ । बजार सुधारको गतिमा हुँदा कर्जा लिएर लगानी गर्दा पनि नाफा नै हुने अवस्था थियो । सेयर बजारलाइ विगत ८ वर्षदेखि नजिकबाट हेर्दै आएको छु ।
त्यो समयमा कम्पनी विश्लेषण गरेर लगानी गर्दा पनि खासै फरक परेको देखिनँ । बढ्दो क्रममा कमजोर कम्पनी र बलियो मानिएका कम्पनी दुवैको सेयर मूल्य वढेको छ । घट्ने अवस्थामा पनि दुवै कम्पनीको घटेको छ ।
त्यसैले कम्पनी छानेर लगानी गर्दा पनि बढ्दो समयमा राम्रो देखिने भए पनि घट्दा काम गरेको छैन । समान्यतया मैले सेयरमा लगानी गर्दा कम्पनीको आम्दानीको बिगतको अवस्था र वर्तमान हेरर निर्णय गर्छु । 
सेयर बजारको पोर्टफोलियो कसरी व्यवस्थापन गर्दै आउनु भएको छ ?
केही समयअघि लगानीको ठूलो हिस्सा सेयर बजारमा मात्र केन्द्रित थियो । तर, हाल सेयर बजारमा धेरै लगानी छैन । त्यसैले पनि योजनावद्ध रूपमा लगानी व्यवस्थापन गर्नेभन्दा पनि बजारसँग नियमित रुपमा जानकार भइ लगानी गर्ने गरेको छ । तत्कालका लागि त मैले भनिसके लगानी गर्ने वा बिक्री गर्ने केही गरेको छैन ।
नेपाल धितोपत्र बोर्डले आइपीओ तथा एफपीओको समय छोट्याउने विषयमा तपाइँलाइ कस्तो लाग्छ ?
वित्तीय क्षेत्रको समस्या समाधानमा बोर्डले चासो राख्नु ठिक हो । तर, समयअवधिभन्दा अघि बाँडफाँड गर्न भनेर अर्को कम्पनीलाई नयाँ निष्कासन अनुमति दिने निर्णय गर्नु सही होइन ।
यस विषयमा धितोपत्र बोर्डको निर्णय स्ट्याण्डर्ड चार्टड बैंकको नयाँ निष्कासनका लागि पैसा जुटाइदिएको जस्तो देखिन्छ । यो ठिक भएन । बजारमा हुने चलखेलको विषयमा साना लगानीकर्तालाई थाहा भएको अवस्था छैन । बजार घट्दै गएको खण्डमा बैंकहरूमा पनि समस्या आउँछ । सेयर बजार धेरै कर्जामा चलेको छ । मुख्य लगानीकर्ताहरू कर्जा लिएर लगानी गरेको अवस्था हो । 
पछिल्लो समय सेयर बजार विकासको लागि आवश्यक पूर्वाधारहरू निर्माण भएका छन्, लगानीकर्ताको दृष्टिकोणवाट कस्तो महसुस गर्नुभएको छ ?
बजारका सन्दर्भमा केही सुधार पक्कै भएको छ । काठमाडौंभन्दा बाहिर सेयर कारोबार हुने अवस्था अझै पनि छैन । त्यसलाई पहिले सुधार गर्नुपर्छ । हल्ला धेरै भए तर काम थोरै भएका छन् ।
लगानीकर्ताका संगठनहरू पनि बजार घट्दा आन्दोलन गर्ने मात्र गर्छन् । ब्रोकरलाई देशव्यापी बनाउने र अनलाइन कारोबार प्रणाली गर्ने हो भने राम्रो हुन्थ्यो । साथै सेयर बजारमा विभिन्न समूहका कम्पनीहरूको सहभागिता वढाउन सकेको खण्डमा बजारको दिगो विकास हुन्थ्यो । 
  • कारोबार दैनिक बाट 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: