आज उ फरक देखिएकी थिइ । सधैं सर्ट र जिन्स पाइन्टमा सजिने उनी आज कुर्तामा देखीइन् । मुहारमा फरक चमक थियो, मन फुरुङ्ग भएजस्तो पनि । ढोकाबाट छिर्दै गर्दा उनले मुस्कुराउंदै भनिन्, ‘गुड मर्निङ’ !
‘अहो ! के हो यार यस्तो ?’ उसलाई तलदेखि माथिसम्म हेर्दै मैले सोधें ।
‘आज अलि राम्री देखिएको छु है ?’ उसले कपाललाई पछाडी सार्दै केहि लजाउँदै भनिन् ।
‘तिमीभन्दा पनि कुर्ता निकै राम्रो छ यार !’
म बोलेको मात्र के थिएँ, उ झर्कीहाली । ‘कहिलेकाहीं त प्रशंसा गर्नपनि जान्नु नि ! कति अगाडीको कुर्ता खोजीखोजी लगाएँ । उसलाई राम्रो लाग्छ भनेर ।’ उ रिसाई ।
‘लौ मैले कहिले भनें र ?’
मेरो बोली सिद्धिन नपाउँदै उ झन् रिसाएर बोली, ‘हिजो कफी खाँदा त्यो बाटोमा देखिएकी केटीलाई इसारा गर्दै कुर्तामा कति राम्रो देखिन्छन् है केटिहरु भनेको होइन ?’
म झसङ्ग भएँ । जिस्किएर भनेको कुरा बल्ल याद भयो ।
‘कस्तो कस्तो कुरा याद आउँछ है ?’ मैले भनें ।
‘यस्तो बुझ्नलाई माया हुनुपर्छ महोदय, पत्थरको मन बोकेर हुँदैन । तपाईंले हिजो त्यस्तो भन्दा कति रोयो होला मेरो मन !’ टेबलको ल्याबटप खोल्दै उ बोली ।
‘लौ अरुलाई प्रसंशा गर्दा पनि रुनु पर्छ त ! कस्तो अचम्मको मन रैछ !’ मैले मुस्कुराउँदै फेरी बोलें ।
‘पीडा त्यो प्रसंसामा थिएन, आफ्नो कुर्ता नलगाउने बानीमा थियो । दराजतिर कता हो कुन्नी राखेको छु, सम्झंदा झन् पीडा भयो । मेरो खुइलिएको जिन्स पेन्ट खुइलिन लागेको सर्ट र त्यो सँगै धेरै पटक खुइलीसकेको जिन्दगी रोयो, अनि किन नरोओस् यो मन !’
उ भावुक हुन थालेपछि मैले सम्झाएँ, ‘सरी ! तिमी साच्चै राम्री देखिएकी छौ । जिस्काउनपनि नहुने है तिमीलाई ?’
‘जिस्काउनै परे बरु झुटो तारिफ गर्नु नि ! मन त आनन्द हुन्छ ।’ मेरो हातमाथि हात राख्दै उ फेरी बोली, ‘थाहा छ ? म आज एकदम खुसी छु नि !’
उनले ‘म खुसी छु’ भनेको त्यो पहिलोपटक थियो सायद । ‘लु भनेपछि आज पार्टी ! के भयो । सुनौं न त खुसीको कुरा ।’ मैले सोधें ।
‘मेरो भाइ कलेजमा थर्ड भएछ, बोर्ड एक्जाममा । त्यत्रो कलेजभर पूरै ।’ उसले रसिला आँखाहरु बनाएर भनी ।
‘है ! भाइ कलेजमा थर्ड हुँदापनि यत्रो खुसी ! म कति पटक फर्ष्ट भएँ होला, खै यस्तो खुसी त भइन होला’
‘तपाईंसंग खुसी हुने अरु बहानापनि त थिए होलान नि !’ उसले मुखवाट आवाज र आँखाबाट आँशु एकै पटक निकाली ‘
किन हो किन आज उसको माया लागेर आयो । ‘सरी यार ! म बोल्नै जान्दिन । भाइलाई मेरो तर्फबाट पनि बधाई भन्दिनु है !’ मैले उसका आँखाका आँशु पुछ्दै भने ।
‘मलाइ नराम्री भन्ने, कुर्ता मात्र राम्रो भन्ने अनि सरी मात्र भनेर हुन्छ ?’ उ केहि मुस्कुराएजस्तो गरी बोली ।
‘अनि के गर्नु त ?’ मैले सोधें ।
‘गल्ती गरेपछि सजाय त दिनुपरिहाल्यो नि ! मलाइ ३ वटा स्निकर्स किन्दिनुस् ।’ उ जोडले मुस्कुराई ।
‘त्यो पनि ४० रुपैयाँवाला । सर जीको १२० झ्वाम ! हीही’ उसको आँखामा ठुलै खुसीहरु झल्कन थाले ।
‘तिमी यसरिनै खुसी हुनु, चकलेट त एक कार्टुन नै किनिदिम्ला नि !’ मैले भनें
‘ल ! अहिले पनि त चकलेट एक कार्टुन नै त हुने भयो नि ! चकलेट ३ वटा कार्टुन एउटा’ मेरो नाक समाएर उसले खुब मीठो मुस्कान सहित भनी ।
‘धेरै नाक नसमाउ है ! सिंगान निचोरिएला नि फेरी ?’ मैले जिस्काएं ।
उ जोडले हाँसी । ‘मलाइ त कस्तो आज भ्यालेन्टाइन डे जस्तो पो लागि रहेको छ त !’ उ फेरी बोली ।
‘तिमीलाई पनि बेला न कुबेला बजिमेला भनेजस्तो हुन्छ है ? कहाँबाट सम्झ्यौ आज भ्यालेन्टाईन डे ?’
‘माया गरेको मान्छेले चकलेट किनिदिन्छु भनेपछि नसम्झने कुरा नै छैन नि !’ उ बोली ।
म केहि बोलिन । बोल्ने ठाउँ पनि थिएन । उ मलाइ माया गर्छे भन्ने कुरा पनि थाहा छ । म उसको मायामा पर्न हुँदैन भन्ने पनि थाहा छ । उसको बिगतले ढुंगा भएको मेरो मन कता कता मलाइ पनि उ मन पर्न थाल्यो भने के गर्ने होला भनेर आतिन्छ । त्यहि बेला उ यस्तै यस्तै कुराहरुले फसाउछे । मसँगपनि मेरा बाध्यता छन् । परिवारभन्दा ठुलो कुरा मेरा लागि केहि होइन भन्ने कुरा राम्रोसँग बुझेको छु मैले । उसलाई मैले अंगाले भनें, सम्भावित धेरै कष्टहरु मेरा आँखामा आइरहेका छन् । उ भित्र ठुलो रोग छ भन्ने डर पनि छ । मैले अंगालेपछि मेरो परिवारले उसको यथार्थता थाहा पायो भने जीवनभर मेरो परिवारको मसँग गुनासो हुनेछ ।
‘म उसलाई निको बनाउँछु । उ भित्रका हरेक पीडाहरुलाई मेटाएर म उसलाई स्वतन्त्र र पीडारहित बनाउँछु । पूर्वप्रेमीले दिएको धोकादेखि परिवारले दिएको पीडासम्मका घाउहरु निको बनाएर म उसलाई कसैको जिम्मा लगाउँछु । तर अहँ मेरा आफ्नै वाध्यताको परिधिमा रहेर, म उसको हुनु हुँदैन । मन त आखिर मन नै हो । माया गर्छु भन्ने ठानेपछी जो कोहि पनि राम्रो लाग्छ । उ पनि नराम्रो होइन । उसको बिगतप्रति पनि उसको केहि दोष छैन । तर समाज आखिर त्यहि समाज हो जोसँग लड्नु छ । उसको पीडासँग सति गएर आफ्नो परिवार ध्वस्त कसरी बनाउँ म ?’
यहि सोचीरहंदा उ फेरी बोली, ‘चकलेट दिन तयार तपाईंले मलाई फिल्म देखाउनचाहिं कहिले लैजाने नि ?’
झसङ्ग याद आयो । मेरा केहि भाइहरुले फिल्म बनाएका छन् । जयनेपाल हलमा च्यारिटी शो हुँदैछ ।’
‘लु फिम हेर्न जाने । बेलुका जय नेपाल हलमा । तर कार्यक्रम फर्मल हो । हामी अतिथि हौँ । स्टेजमा गएर टोकन अफ लभ थाप्नु पर्छ पनि भनेका छन्।’ मैले भनें ।
‘लु त्यसो भए तपाईं आयोजकबाट टोकन अफ लब थाप्नुस्, म चाहिं तपाईंबाट लभमात्र थाप्छु ।’ उ बोली।
साच्चै आज उ रोमान्टिक बनेकी छे । कारण उसको भाइको खुसी मात्र होइन, अरु केहि हुनुपर्छ ।’ मैले सोचें ।
‘तिम्रो कुरा सुनेर साच्चै भ्यालेन्टाइन डे नै जस्तो लाग्यो मलाइ पनि ।’ म बोलें ।
‘है ! भ्यालेन्टाइन डे मा के गर्ने प्लान छ ?’ उसले सोधी ।
‘एक्लो ज्यान के गर्नु ! यसरी नै रोमान्टिक भयौ भने तिमीसँग एक कप कफी पिउनुपर्छ ।’ म बोल्दा उ यति उत्साहित भइनकि मानौं त्यति सुन्नको लागि उ धेरै बेरदेखि तड्पीरहेकी थिइ ।
‘रियल्ली?’
उसको प्रश्नमा मैले ‘हो त !’ भनी जवाफ फर्काएँ ।
‘अनि तिमीचाहीं के गर्छौं नि ?’ मैले सोधें ।
‘तपाईंलाइ गिफ्ट दिन्छु ।’ उ बोली ।
‘के दिन्छौं ?’
‘भुजा ! अस्ती खाएको वाला । राती काम गर्दा भोक लाग्छ भनेको होइन ? त्यो भुजा खाँदा मेरो याद पनि संगै आओस् ! अनि त्यो दिन त जवर्जस्ती नै भएपनि रोमान्स गरिन्छ !’ उ जोडले हाँस्न थालेपछि मैले कुरा मोडें :
‘हैट, त्यस्तो पनि गिफ्ट हुन्छ, गिफ्ट भनेको त घडी, मोबाइलहरु पो हुन्छ त !’ मैले भनें ।
‘कस्तो महँगो मान्छे के ! झन् भुजाले टारौं भनेको ? अस्ती भर्खर नयाँ मोबाइल किन्दा १६००० सकियो । कहाँबाट ल्याउनु त्यत्रो पैसा ! म त ४० रुपैयाँको भुजामा टार्ने हो ।’
‘हाहा है ! त्यसो भए म पनि आज तिमीलाई स्निकर्स होइन ओरेन्ज बल किनिदिन्छु हुन्छ ?’
‘नाइँ के !’ बच्चाले जिद्धि गरेजसरी उ बोली ।
‘ ल ल तिमी काम गर । म निस्कें । आउँदा स्निकर्स पनि ल्याईदिन्छु ।’ म बोलें ।
ढोकामा पुगेपछि खै के मन लाग्यो कुन्नि म फेरी बोलें, ‘राम्री देखिएको छौ । अझ फर्मल सर्ट र पाइन्टमा कति राम्री देखिन्छौ होला । बेलुका फिल्म हेर्न जाँदा मपनि फर्मल हुन्छु । तिमी पनि फर्मल हुनु है !’
उसले हुन्छ भनेर मुन्टो हल्लाई ! र भनी ‘त्यसो भए म अलि चांडो निस्किन्छु । ड्रेस चेन्ज गर्न ।’
‘हुन्छ । फिल्म ५ बजेदेखि हो क्यार ! काम सकेर जानु । बानेश्वरमै भेटौंला ।’
‘हुन्छ । उसले फेरी मुन्टो हल्लाई ।
बेलुका भेट भयो बानेश्वरमा ।
‘लु लिउ तिम्रो स्निकर्स !’ मैले उसका लागि ल्याईदिएको चकलेट दिंदै भनें, ‘एउटा कुरा त भन्ने बिर्सेछु यार !’
‘के ?’ उसले सोधी ।
‘उहाँहरु पनि आउनुहुन्छ होला ।’
उनले मेरो संकेत बुझिहाली ।
‘होर ! झन् रमाइलो हुन्छ त्यसो भए । पख्नुस है यो खुसीको कुरा म मामुलाई सुनाउछु ।’ मैले हुन्छ भनें ।
उनले आमासंग कुरा गरी । आज विहान देखि देखिएको उसको मुहारको खुसी उस्तै थियो ।
ट्याक्सी चढ्ने बेलामा उ फेरी बोली, ‘सुन्नुस् न त्यो टोकन तिनीहरु आए भने स्टेजमा लिन म जान्छु नि है !’
‘हुन्छ’ मैले भनें ।
काँधमा टाँसीएर उ फेरी बोली, ‘म कति खुसी छु भनेर तिनीहरुले देख्नेछन् ।’
म केहि बोलीन । किनकी उनले जे सोचेरहेकी छे त्यो मलाइ ठिक लाग्दैन थियो। आफ्ना आफन्तसंग केहि कुरामापनि रिस गर्नु हुँदैन भन्ने पक्षमा थिएँ म । उसलाई यहि कुरामा बेला बेलामा गाली पनि गर्थें । तर आज मैले केहि भनी न। भन्न आवश्यक पनि ठानिन ।
‘उ आए, म छोटो कुरा गर्छु है !’ उसले आफ्ना मान्छेहरु देखाउंदै भनी ।
मैले पनि चिनेको हुनाले सामान्य कुरा भयो । उसले भनेजस्तै उ स्टेजमा गइ टोकन अफ लभ थाप्न । संयोग बस् दुइवटा मायाको चिनो लिनुपर्ने भयो । दुइ जना नै स्टेजमा खादा लगाएर उक्लिंदा साथीले फोटो खिचिदियो र उनलाई दियो ।
‘ओहो ! बेहुला बेहुलीनै पो जस्तो देखिएछ त ?’ फर्कंदै गर्दा ट्याक्सीमा उनी बोली ।
‘होर ? त्यसो भए सांझ परिगो त ! कि हनिमून पनि मनाउन जाने हो ?’ मैले जिस्काएं ।’
‘यस्तै हुन्छ के ! कतै जाउँ, कतै बसौं भनेर कति भनें मान्नुभएन । आज भाइलाई घर आउंछु भनेको छु ।’ उ रिसाई।
‘जिस्काएको मात्रै हो। कहाँ अव तिमिसँग गएर रात विरात बस्नु !’ म बोलें ।
उ काँधमा मुन्टो अडाएर बोली, ‘सबै खुसी एकैदिन पनि चाहिएको छैन । आज धेरै खुसी भएको छु । तिनीहरुले पनि मेरो खुसी देखे होलान् ।’ उ युद्ध जितेझैं गरिरहेकी थिइ ।
ट्याक्सी उसको डेरा अघिको गल्लीमा रोकाएर, उसलाई विदा गरें । म घर फर्किएँ ।
मनभरी कुरा खेल्यो । ‘आखिर किन उ आज यति धेरै खुसी भएकी छे ? आखिर के भयो होला ? आफन्तप्रति किन यति रिस ? अचम्म छ !’
लेख्दै थिएँ, उही रिमाज । उही उनैका कथा । आज १३ फेब्रुअरी भनेर लेख्न थालेको लेख्दा लेख्दै १४ भइसकेछ । काम थुप्रै बाँकी थिए । आज नसुत्ने निर्णय गरियो र सुरु गरें आफ्नो काम ।
विहान सुर्य नउदाउँदै कतै भेटिएकी एक साथीले फोन गरी । ‘सुरज जसरी पनि भेट्नु छ तिमीलाई आज ! अहिले नै !’
‘होइन तिनलाई आज भ्यालेन्टाइन डेको दिन किन भेट्नु पर्यो ? कि मलाइ प्रपोज नै हान्न लागि कि क्या हो ? यसो त उनी फेसबुकमा पनि खुब मायाका कुरा गर्थिन् । के हो के हो ।’
‘हुन्छ आउ न ! म उठीसकें ।’
एका विहानै उ आइ ! हातमा केहि बोकेर ।’ रंगीन कागजले बेरिएको । साथमा एउटा चिठी पनि !
‘अचम्म हुन्छ है नसोचेको मान्छे बाट आज अचम्मको कुरा हुने भयो ।’ मैले सोचें ।
‘म तिमीलाई यो दिनमात्र आएको, म जान्छु ।’ उनी लजाएरे बोलिन् ।’
‘लौ एकछिन पख न ! चिया पिएर जाउ ! धेरै पछी भेटेको ।’
‘नाइँ, अर्को दिन पिउँला’ उनी केहि लजाएझैँ गरी ।
चिठी र गिफ्ट एकै पटक खोलें । गिफ्ट देखेर अचम्म लाग्यो । पत्र पढ्न थालें।
सुरज,
तपाईं पक्कै पनि कुशल हुनुहुन्छ होला । म पनि बाँचेको छु । प्लीज यो चिठी पूरै नपढी नाच्यात्नु । तपाईंले च्यात्नु नै हुन्छ भनेर छोटो लेखेको छु । म धेरै भन्न र बुझाउन चाहान्न । समयले पूरै बुझाउनेछ । आजको दिन जीवनमा पीडा दिएका प्रेमीहरुलाई त सम्झिएँ भने तिमीसंग त म हारेको मान्छे । कहिले नहार्ने बाउकि कहिले नहार्ने छोरीले पहिलो पटक हारेकी मान्छे ।
तिमी विरुद्ध म लाग्नु परेको मेरो वाध्यता बुझेका छौ होला । मैले पनि तिमि भित्रको म प्रतिको विद्रोह बुझेको छु । विरोध गर्दै जाउँ । यहि विरोधले एक दिन तिमीलाई र मलाई संगै भेटाउनेछ, त्यो चाहे कठघरामा किन नहोस्। अनि देख्न पाउनेछु तिमीलाई । त्यहि अवसरमा । तिमीलाई याद नै छ होला सुरज, त्यो दिन मैले भुजा दिने बाचा गरेको थिएँ आजको दिनमा र तिमीले नजानिँदो पाराले घडी मागेका थियौं ।
आज त्यहि पठाएको छु । प्लीज लगाउनु है ! हरेक पटक तिमीले लगाएको घडीले मलाइ सम्झियोस् । मलाइ त तिमी एक सेकेन्ड पनि सम्झन चाहान्नौ भन्ने थाहा छ । रात विरात धेरै नबस्नु, स्वास्थ्यको ख्याल गर्नु, बसेको दिन भोक लाग्यो भने यहि भुजुरी खानु है ! तिमीसँग रोमान्स गर्ने कुरा त सपना नै हो, विपनामा मैले भोगीरहेको नारकीय जीवनका बारे पनि सुनाउला अर्को पत्रमा ! प्लीज यो पत्र ल्याउनेलाइ केहि पनि गाली नगर्नु !’
म छाँगाबाट खसेजस्तै भएँ । उनले दिएको घडी र भुजा घर्रामा राखेर पुन: रिमाज लेख्दै गएँ । अव त झन् कति लेख्नु छ कति । कतै मेरो उपन्यासले नयाँ मोड त लिएन ? वा कतै यो म माथिको षडयन्त्र त होइन ? दिमागमा अनेक कुरा खेलीरहेका छन् ।
सुरज प्याकुरेलको प्रकाशोन्मुख कृति उपन्यास ‘रिमाज’ को एक अंश
बाँकी अर्को अंशमा….