काठमाडौँ – लोकसेवाको जागिर धेरैको सपना हुन्छ । सरकारी जागिरको समाजमा रहेको इज्जत, र जीवनको सुरक्षा हुने हुनाले पनि यसको क्रेज बढ्दै गएको हो । तर जति यसको क्रेज छ, यसको पढाइ त्यति सजिलो भने पक्कै छैन । लोकसेवामा नाम निकाल्न ठुलै कसरत गर्नुपर्छ ।
भुवन पाण्डे, २०७० सालको लोकसेवा आयोगले लिएको शाखा अधिकृतको परीक्षामा पहिलो नम्बरमा नाम निकाल्ने निजामती कर्मचारी हुन् । हाल सामान्य प्रशासन मन्त्रालयमा रहेका अधिकृत पाण्डे गुल्मीको सामान्य किसान परिवारमा जन्मिएका हुन् । त्यहीँको सरकारी विद्यालयबाट एसएलसी पास गरेका २६ वर्षका पाण्डेले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनीसँग लोकसेवा परीक्षाको सेरोफेरोमा प्रतिमा सिलवालले गरेको कुराकानी :
निजामती सेवाप्रति कसरी आकर्षित हुनुभयो ?
हाम्रो गाउँका धेरैजना सरकारी सेवामा छन् । एक किसिमले भन्ने हो भने गुल्मी जिल्लामा निजामती सेवामा लाग्नुपर्छ भन्ने संस्कार नै छ । यद्यपी मलाई भने पहिलेदेखि गणित विषयको शिक्षक बनेर शिक्षण सेवामा नै लाग्छु भन्ने थियो । स्नातकको परीक्षा दिएपछि मलाई लोकसेवाको तयारी गर्ने रुची भयो । सँगै पढेका साथीहरु सबै स्कूल पढाउन गाउँतिर गए । मलाई पनि पढाउने अवसर आएको थियो तर गाउँ जान मन लागेन । मेरा दुई दाजुमध्ये एकजना शाखा अधिकृत र एकजना गाविस सचिव हुनुहुन्छ ।
केही मात्रामा दाजुहरुको पनि प्रभाव हो । तर, लोकसेवाको तयारी गर्ने मेरो एक्लो निर्णय हो । निजामती सेवामा लागेर जनताको नजिकमा काम गर्न सक्छु भन्ने लाग्यो । अर्कोतर्फ वृत्तिविकासको अवसर, समाजको प्रतिष्ठित पेशा र जागिरको स्थायित्वको कारणले पनि निजामती सेवामा मेरो आकर्षण भयो । लोकसेवा तयारीको पुस्तक किनेर पढ्न थालें । विस्तारै निजामती सेवामा नै मेरो भविष्य छ जस्तो लाग्यो ।
लोकसेवा परीक्षाको तयारी चाहिँ कसरी गर्नुहुन्थ्यो ?
म कहिल्यै इन्ष्टिच्युट गइन । पुस्तक किनें, एउटै पुस्तकमा केन्द्रित भएर तयारी गर्न थाले । बिहान ६ बजे पढ्न बस्थें । चार घण्टासम्म पढ्थें । त्यसपछि खाना बनाउँथे । खाना खाएर दिनभर पढ्थेँ । दिउँसो चार÷पाँच बजेसम्म पढेपछि चिया पिउन निस्किन्थें । बाहिर निस्किँदा पनि दिमागमा पढेका कुराहरुलाई दोहोर्याएर सम्झिने कोशिस गरिरहन्थें । बेलुका सात बजेतिर कोठा फर्केर खानाको तयारीमा लाग्थेँ । त्यसपछि दाजुसँग दिनभर पढेका विषयमा छलफल गरेर सुत्थें । भोलिपल्ट पनि त्यही रुटिन दोहोरिन्थ्यो । मैले पहिलो पटक २०६७ सालमा नायब सुब्बाको परीक्षा दिएँ ।
त्यसै वर्ष बालाजु औद्योगिक क्षेत्र, विद्युत प्राधिकरणमा पनि सहायक स्तरको परीक्षा दिएँ । पहिलो पटकमा नै नायब सुब्बामा नाम निस्कियो । २०६७ माघ ९ गते पाठ्यक्रम विकास केन्द्र सानोठिमीमा नायव सुब्बाको जागिर सुरु गरें । एक वर्ष त्यहाँ काम गरेपछि सहकारी डिभिजन कार्यालय ललितपुरमा काम गरें । अधिकृतको तयारी गरिरहेको थिएँ । २०६९ सालमा अधिकृतको परीक्षा दिँदा वैकल्पिकको दोश्रो नम्बरमा नाम निस्कियो । दोस्रोपटक २०७० सालमा पनि परीक्षा दिएँ । प्रशासन, लेखा र व्यवस्थापिका संसदमा एकैपटक दिएको थिएँ । तीनै वटामा लिखितमा उत्तीर्ण भएँ । मौखिक अन्तर्वाता भने प्रशासनमा मात्रै दिएँ । पहिलो नम्बरमा नाम निस्कियो ।
पहिलो पटक नाम ननिस्किदा कस्तो अनुभूति भयो ?
लोकसेवा आयोगको तयारी गर्दा कहिल्यै पनि कमजोर मनोवल बनाउन हुँदैन । मैले पहिलोपटक नायव सुब्बामा नाम निकालें । त्यतिबेला नै मैले थाहा पाएको थिएँ, लोकसेवा आयोग नेपालको एकमात्रै निश्पक्ष परीक्षा हुने सरकारी निकाय हो । यहाँ कतैबाट सोर्सफोर्सले जागिर खाने सम्भावना हुँदैन । त्यसैले मैले मेहनत जारी राखें । पहिलोपटक अधिकृतमा वैकल्पिकमा नाम देखेपछि अर्कोपटक पहिलो नम्बरमा नै पर्नुपर्छ भन्ने मेरो मनमा थियो । मेहनत गरे सफल हुन सक्छु भन्ने आँट पनि थियो । त्यसैले मनमा कुनै आत्मग्लानी नराखी मेहनत गर्न थालें । अन्ततः पहिलो नम्बरमा नाम निस्कियो ।
लोकसेवामा नाम निकाल्न कसरी पढ्नुपर्छ ?
मैले पढ्दा सँधै रुटिन बनाएर पढें । अधिकृतको तयारी गर्दा मसँग थोरै समय हुन्थ्यो । बिहान ५ बजे उठ्थें । ६ बजेदेखि १० बजेसम्म पढ्थें । भूगोल, इतिहास, संस्कृति, विज्ञान, खेलकुद आदि खण्डलाई सँगै अघि बढाउने गरी रुटिन बनाउथें । आधा घण्टा भूगोल पढियो भने आधा घण्टा इतिहास, त्यसैगरी अरु खण्डलाई पनि बराबर समय छुट्याउने । मैले पढ्दा अपनाएको यो तरिकाले चाहिँ सबैभन्दा सजिलो विषयवस्तु सम्झिन हुन्थ्यो । एउटा विषय पढिसकेपछि लामो समय नहेर्दा बिर्सिन सकिन्छ । सबै विषयलाई उत्तिकै समय दिँदा एकातिर सम्झिन सजिलो अर्कोतिर एउटा विषय मात्रै पढ्दा दिक्क लाग्न सक्छ ।
फरक फरक विषय हुँदा पढ्न पनि रमाइलो हुने । अर्को महत्वपूर्ण कुरा, मैले पढ्दा जहिल्यै तुलना गरेर पढ्थें । सामान्य ज्ञानहरुमा तिथिमिति सम्झनु पर्दा त्यो मितिसँग नजिक पर्ने आफ्नो नजिकमा भएका घटना वा कसैको जन्मदिन सम्झिने गर्दा पनि सजिलो हुन्थ्यो । कुनै विषय भने सुत्र बनाएर पढ्दा पनि सम्झिन सजिलो हुन्थ्यो । जस्तो कि भित्री मधेशका जिल्लाहरुको नाम सम्झिन पर्यो भने, ‘सुमन र निउसे दाङतिर गएछन्’ सुत्र लगाउँथे । लामा नामहरु सम्झिन यस्ता छोटो तर रमाइलो वाक्यबाट सजिलो हुन्थ्यो । घरबाट बाहिर निस्किँदा दैनिक घटना बुझ्न पत्रपत्रिका पढ्ने बानी पनि अधिकृतको तयारीको लागि महत्वपूर्ण पक्ष हो ।
अनि लेख्ने तरिका नि ?
सबैभन्दा महत्वपूर्ण परीक्षाको प्रस्तुति नै हो । पहिलो कुरा परीक्षामा समय व्यवस्थापन गर्नुपर्छ । लोकसेवाका धेरै परीक्षार्थीहरुले प्रश्नको गहिराई अनुसार समय व्यवस्थापन गर्न नसक्दा अनुत्तीर्ण हुने गरेका छन् । लोकसेवा आयोगले अधिकांश प्रश्नमा तीनवटा प्रश्न जोडेको हुन्छ । जस्तो कि कुनै प्रश्नमा अवधारणा, परीभाषा तथा त्यसको समस्या या चुनौती ।
यस्ता प्रश्नको जवाफ दिँदा विश्लेषणात्मक ज्ञान अधिकृत तहको परीक्षार्थीमा हुनै पर्छ । उत्तर लेख्दा सरल भाषा, सटिक प्रस्तुति, सफा अक्षर अनि अर्थ खुल्नेगरी आफ्नै शैलीको जवाफ महत्वपूर्ण हुन्छ । सामान्य वाक्यबाट उत्तरको सुरुआत गर्ने । सकेसम्म अरुको भन्दा पृथक बनाउने कोशिस गर्ने । सटिक जवाफ दिने । मैले लोकसेवा आयोगको १० नम्बरको प्रश्नमा तीन पेज उत्तर लेख्थें ।
जसमा सरल भाषामा सुरुआत, तथ्य, तथ्याङ्क र सकेसम्म चित्रद्वारा विषयवस्तुतलाई थप प्रष्ट्याउने र निश्कर्ष सटिक तर चोटिलो । यत्ति भए उत्तर दमदार हुन्छ र जाँचकीलाई प्रभावित पार्न सकिन्छ ।
पुस्तक छनोट कसरी गर्नुहुन्थ्यो ?
पुस्तक छनौट पनि लोकसेवामा महत्वपूर्ण छ । तर, लोकसेवा तयारी गर्दा धेरै पुस्तक चहार्नु हुँदैन भन्ने मेरो अनुभव छ । बजारमा आएका पुस्तकहरुमध्ये सबै पुस्तकमा लोकसेवा तयारीको लागि चाहिने ७० प्रतिशत विषयवस्तु समेटिएका हुन्छन् । एउटा मात्रै पुस्तक ल्याएर त्यसको सबै विषयवस्तु अध्ययन गरेमा ७० प्रतिशत ज्ञान परीक्षार्थीमा हुन्छ । पढ्दा जहिल्यै एउटा लेखकको पुस्तकलाई मात्रै आधार बनाउनुस् । त्यो पुस्तक पढेर सकिएपछि मात्रै बजारका अन्य पुस्तकमा आँखा डुलाउनुस् । म त भन्छु गहन अध्ययन गर्ने भनेको एउटा मात्रै पुस्तकको हो । बाँकी ३० प्रतिशत ज्ञान दैनिक भएका समसामयिक घटना, सञ्चारमाध्यममा दैनिक आउने लेख, घटना, राष्ट्रिय अन्तर्राष्टिय घटनाको अपडेटबाट पाउन सकिन्छ ।
पहिलो हुँदापनि तपाईंले किन सामान्य प्रशासन रोज्नुभयो ?
हो, मैले पनि रोज्ने अवसर पाएको थिएँ । त्यसैले सामान्य प्रशासन मन्त्रालय रोजें । प्रशासन भनेको जनतासँग सिधा सम्पर्क हुने क्षेत्र हो । प्रशासन तर्फ जानुको पहिलो कारण नै जनताको नजिकमा रहेर काम गर्ने चाहनाले हो । सामन्य प्रशासन नै रोज्नुको अर्को कारण भने निजामती कर्मचारीसँग सम्बन्धित क्रियाकलाप बुझ्नका लागि हो ।
म निजामती सेवामा नयाँ हुँदा नै कर्मचारीसँग सम्बन्धित योजना, नीति, सरुवा बढुवा, वृत्ति विकासका बारेमा जानकारी राख्नको लागि हो । साामन्य प्रशासन मन्त्रालय कर्मचारीको केन्द्रीय निकाय भएकोले पनि पहिलो अनुभव मलाई यहि मन्त्रालयबाट लिन रुची भयो । निजामती सेवाका कर्मचारीको सरुवा प्रत्येक दुई वर्षमा हुन्छ । विस्तारै अन्य क्षेत्रको पनि अनुभव लिन पाइन्छ ।
यो पनि पढ्नुहोस् :