- समाचार टिप्पणी / कमल बुढा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको गोप्य सम्झौता अनुसार प्रधानमन्त्री पदबाट राजिनामा दिएका छन् ।
बुधबार देशवासीका नाममा संम्बोधन गर्दै प्रचण्डले राजिनामा दिएका हुन्। उनले राजिनामा दिएपछि नेपालको राजनीतिक वृतमा निकै चर्चा भएको छ । खासगरी प्रचण्डले आफुले पूर्व घोषणा गरे अनुसार नैतिकतालाई निरन्तरता दिएकोले चर्चा बटुलेका हुन् ।
यहानेर आम मानिसले सजिलै बुझ्ने कुरा के छ भने प्रचण्डले नैतिक रुपमा राजिनामा दिएको यो पहिलो पटक चाँही हैन । उनि पहिलो पटक प्रधानमन्त्री हुँदा नै कटुवाल प्रकरणलाई समाल्न नसकि उनीमाथि नै महाभियोग लाग्ने सम्भावना बढेपछि नैतिक रुपमै पदबाट राजिनामा दिएका थिए ।
प्रचण्डले २० वर्ष देखि हुन नसकेको स्थानीय तह निर्वाचन आफुले गराएको भनेर जस लिन खोजेका छन् । यहाँनेर पनि कुरा के हो भने पछिल्लो दशकको युवा पिढीले त्यति धेरै मेसो नपाए पनि अघिल्लो पिढीलाई राम्रैसँग थाहा छ ।
यो २० बर्ष मध्ये १० बर्ष त प्रचण्ड आफैले स्थानीय तहको निर्वाचन हुन् नदिएर रोकेका थिए । अहिले स्थानीय तह निर्वाचन गराउन सफल भएकोमा प्रचण्डलाई उनका समर्थक शुभ चिन्तकले महान भनेर व्याख्या गर्ने गरेका छन् । यो एक हिसाबले स्वाभाविकै पनि होला ।
जतिबेला देशमा प्रचण्डकै नेतृत्वमा जनयुद्ध चलेको थियो । जनयुद्धका बेला पुरानो संसदीय व्यवस्था भन्दै प्रचण्ड नेतृत्वको माओवादीले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई राजिनामा दिन लगाएको थियो । सिद्धान्त त उनले यो व्यवस्था नै खारेज गरेर देशमा जनवादी व्यवस्था ल्याउछु भनेर लडेका थिए ।
त्यतिबेला स्थानीय तहका प्रतिनिधिले राजिनामा दिएको ठाउँमा माओवादी नेतृत्वमा जनसरकार संचालनमा आएका थिए । उनि आफैले गलत भनेर उक्त सत्ता र व्यवस्थाका बिरुद्ध लडेर १७ हजार मानिसको बलिदान गाराएपछि पनि पुन: त्यही स्थानीय तह निर्वाचन गराउँदा प्रचण्ड कसरी महान भए ?
अन्तमा उनि यहि व्यवस्थालाई सुदृढ गर्न आफै पुरानो संरचना र पुरानै सत्ताको प्रधानमन्त्री बन्न पुगे । यसरी सिद्धान्तनिष्ट रानीतिक धार छोडेर जनयुद्धका सम्पूर्ण मुद्दालाई एकातिर छोडेर संसदीय व्यवस्थामा गएका कारण पनि उनलाई अहिले आएर महान भन्न मिल्दैन ।
अर्को कुरा प्रचण्डका समर्थक शुभ चिन्तकहरुले के बुझ्न जरुरी छ भने चुनाव गराउनु भनेको कुनै चमत्कार गर्नु पनि होइन । देशको प्रधानमन्त्रीले आफु पदमा रहँदा गर्नै पर्ने नियमित काम हो यो । प्रचण्डको ठाउँमा अरु जो कोही भएपनि रुटिङ अनुसारको काम गर्नै पर्ने थियो । जुन प्रचण्डले पनि गरे ।
लेखक : कमल बुढा ।
पहिलो संबिधानसभाको विघटपछि शान्ती सम्झौता नै धरापमा पर्छ कि भन्ने शंका र सन्त्रासको स्थितीमा समेत एउटा सामान्य कर्मचारी खिलराज रेग्मी (जसले देश र जनताका नाममा कहिलै एक चिम्टी पनि सोचेको थिएन) ले पनि संविधानसभाको चुनाव आरामले सम्पन्न गराएका थिए ।
यो धेरै टाढाको कुरा पनि हैन यसलाई यति सजिलै बिर्सीहाल्नु पर्ने ? यति देख्दा देख्दै पनि हामी प्रचण्डलाई महान् भनिरहेछौँ । जसले जे काम गर्न पर्ने हो त्यही गर्दा कसरी महान् ? अनावश्यक प्रचण्डलाई भगवान मान्ने प्रचलन बन्न सक्छ।
यसले न त प्रचण्डलाइ फाइदा गर्छ न त माओवादी केन्द्रलार्इ नै । त्यसैले यसो गर्नु भन्दा प्रचण्ड सँग भएका केहि निश्चित कमजोरीहरुलार्इ अाैंल्याएर उनका समर्थक शुभ चिन्तक र कार्यकर्ताले आलोचना गरेर सच्याउन लगाउनुपर्छ ।
त्यसले मात्र माओवादी आन्दोलनलाई फाइदा गर्छ । यदि प्रचण्ड महान हुन्थे भने अघिल्लो संबिधानसभाको बिघटन नै हुने थिएन । त्यो जटिल परिस्थितिलाई उनले सामना गर्न सक्थे भने मात्र उनलाई महान भन्न मिल्ने थियो ।
अझ भन्नुपर्दा प्रचण्ड नेतृत्वको माओवादीले पहिलो चरणको स्थानीय चुनावमा अग्र स्थान हासिल गरेको भए उनले प्रधानमन्त्री पदबाट यति सजिलै राजिनामा दिने थिएनन् । अब हुने पछिल्लो चरणको निर्वाचन जहाँ-जहाँ हुँदै छ त्यहा-त्यहा माओवादी केन्द्रको अबस्था कमजोर छ भनेर विश्लेषण गरिने गरेको छ ।
त्यसैले आफुले सबै स्थानमा जितेर ठुलो पार्टी बन्ने निश्चित नभएपछि प्रचण्डका लागी अर्को चरणको चुनावसम्म कुर्नु भन्दा देउवासँग भएको आन्तरिक सहमतिअनुसार राजिनामा दिएर अबको देउवा सरकारसँग सहकार्य गर्ने बाताबरण बनाउनु नै उचित थियो ।
निश्चय पनि प्रचण्डले अघिल्लो कार्यकाल भन्दा यो पटक केही राम्रा निर्णयहरु पनि गरेका छन् । त्यसको मूल्यांकन गरिनुपर्छ । तर यति भन्दैमा उनको फेरि पनि देवत्वकारण गरियो भने देशका लागी अर्को भुल हुन् सक्छ । उनि प्रधानमन्त्री बाहेक माओवादी केन्द्रका अध्यक्ष पनि हुन् । उनि त्यो बाहेक आफैमा एक व्यक्ति पनि हुन् ।
त्यसैले कसैलार्इ पनि यति धेरै महान पगरी गुथाएर उचाल्नु हुदैन, जसले प्रगति भन्दा दुरगति नै बढी निम्त्याअाेस । उनका राम्रा कामको मूल्यांकन गर्दै खराब कामको आलोचना गरेर अगाडी बढ्ने हो भने प्रचण्डलाई आगामी दिनमा थप अझै राम्रा काम गर्ने प्रेरणा मिल्न सक्छ कि ?