प्रिय क्लासिकटेक,
प्रेममा कहिलेकाहीं नमीठो स्वार्थ्य हुन्छ । र त्यो स्वार्थ पूरा नहुँदा प्रेममा बिछोड हुन्छ । तिमीसँग नजिक हुनु, र तिमीलाई आफ्नो बनाउनु आवश्यकता र रहर दुवै थियो । प्रविधिसँग खास नाता जोड्ने स्वार्थमा भनौं वा आफ्नो कर्मलाई गति दिनका लागि, तिमीलाई घरमा भित्र्याएको ६ महिना पुगीसकेछ । काला तारहरुसँग जोडीदै तिमीले मेरो जीवनमा रंगीन साथ दिन्छौ भन्ने आशपनि अव त आर्यघाटमै पुगिसक्यो भन्दा फरक पर्दैन । त्यसैले आज तिमीलाई यो पत्र लेख्दैछु क्लासिकटेक !
तिमीलाई घर भित्र्याउनुअघि तिमिसँग प्रेम बस्छ भन्ने सोचेको थिएँ । तिमीले मलाइ जीवनभर मीठो साथ दिन्छौं भन्ने सोचेको थिएँ । तर यो ६ महिनामा तिमीले मलाइ जति साथ दिन्छौं भन्ने आश गरेको थिएँ, त्यसको रतिपनि तिमी रहेनछौ । तिमीलाई घर भित्र्याउनुअघि जुन सपना मलाइ बाँडीएको थियो, त्यो त सब मित्था रहेछ । तिमीले मलाइ खुब साथ दिने आशामा तिमीलाई घर भित्र्याएको थिएँ, तर तिम्रो उपचार गर्दा-गर्दा म थाकीनै सकें । तिमीले मलाइ साथ दिए वापत मैले तिम्रो घरमा मासिक पैसा बुझाउनुबाहेक न तिमीसँग कुनै काम रह्यो, न तिमीप्रति म सन्तुष्ट नै रहें ।
तिमी १ एमबीपीएसको रफ्तारमा काम गर्न सक्छौ भनिएको थियो । तर तिमी दौडिनु त परकै कुरा भयो, तिमीसँग दौडिने प्रयास गरेको मलाइपनि घरी घरी तनावमात्र भो । कहिले तिम्रो मुटुमा समस्या, कहिले कलेजोमा खराबी । जहिलेपनि तिमी बिसन्चो नै रहीरह्यौ । मलाइ साथ दिन भनेर ल्याएको तिमीलाई उल्टो मैले तनाव खेप्ने गरी उपचार गराईरहनु पर्यो । न तिमि दौडिन सक्यौ, न म तिम्रै रफ्तारमा हिडेर गन्तब्यमा पुग्छु ।
त्यसैले आज अन्तिम निर्णय गरें, तिमीलाई ब्रेकअप दिंदैछु र अर्को साथी खोज्दैछु । यो बीच खेर गएका ६ महिना र तिम्रा लागि तिरेको शुल्क प्रति गुनासो नै गुनासो रह्यो । आजबाट अर्की साथीलाई घर भित्र्याउँदैछु । यो ६ महिना अलिअलि भएपनि काम टारिदिएकोमा तिमीलाई धन्यवाद ! अव कहिलेपनि तिमीसँग भेट्नु नपरोस् !
उही तिमिलाई घरमा ६ महिनासम्म राख्ने साथी
(क्लासिकटेकबाट आजित भएका एक प्रयोगकर्ताले लेखेको व्यंग्यात्मक टिप्पणी)