×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कैलाश बैंककाे कराेडाैं ठगीमा ठूला कर्मचारी जाेगाइँदै, साना पक्राउ पर्दै


अर्जुन गिरी
पोखरा – कैलाश विकास बैककै लापरवाहीका कारण लामाचौर शाखाका तत्कालीन शाखा प्रबन्धक रविचन्द्र खनालले रकम हिनामिना गरी भागेको स्थानीयले आरोप लगाएका छन् । ‘बैककै दोष अनि हिरासतमा निर्दोष’ भन्दै लामाचौरका स्थानीय र ठगीमा परेका ग्राहकले बैकमा नाराबाजी गरेका छन् ।
हुन पनि लामाचौर शाखाका प्रबन्धक खनाल २०७३ चैत ३१ गतेदेखि बैकको करिब ३ करोड रकम हिनामिना गरि भागेका छन् । उनलाई बैंकको क्षेत्रीय कार्यालय पोखरामा चैत ३० गते सोधपुछका लागि ल्याइएको स्रोतले जनाएको छ ।
‘आर्थिक हिनामिना गरेको छ भन्ने थाहा पाएपछि तुरुन्तै कारवाही गर्नुपर्ने होइन ?’ स्रोतले प्रश्न गर्‍यो, ‘तर उसलाई त्यतिकै छाडियो, भोलिपल्ट ऊ भाग्यो ।’ चैत्र ३० गते खनालले आइएमइमा आएको केही रकम पोखरा ब्रान्चबाटै निकालेको स्रोतले बतायो ।
होइन केही महिना अघिबाटै चलेका यो घोटाला आन्तरिक लेखापरीक्षण (अडिट)ले पनि पत्ता लगाउन सकेन । २०७४ साल वैशाख ३ गते खनाल बैकमा उपस्थित हुनपर्ने थियो । उनी नआएपछि त्यही दिन बैकमा अन्तरिक रुपमा भूकम्प गएको बैंक स्रोतले बताएको छ । ‘बिदा हुनु १ दिनअघि चैत ३० गते उनको गल्ती थाहा पाएपछि बैकले सामान्य हिसाबमा छाड्यो,’ स्रोतले सुनायो, ‘२, ३ दिनको बिदा पारेर उनी भागे ।’
विकास बैकका इन्टर्नल अडिटर प्रिसल पोख्रेलले अडिटमा घोटाला नदेखिएको जिकिर गरे । ‘हामीले स्याम्पलिङको आधारमा अडिट गर्ने हो,’ उनले भने, ‘त्यसमा कुनै त्यस्तो गल्ती देखिएन ।’ स्रोतका अनुसार बैकको अडिटरले पहिले नै यस्ता गडबडी चाल पाउँछन् । ‘सम्पलिङ अडिट होस् या फुल अडिट, यो पत्ता लगाउने जिम्मा अडिटरकै होइन र ?’ स्रोतले प्रश्न गर्‍यो, ‘अनावश्यक रुपमा तल्लो कर्मचारी फस्ने अनि ग्राहक मर्कामा पार्ने काममात्र भएको छ ।’
बैकले चरम लापरवाही गर्दै निर्दोष कर्मचारीलाई मात्र हिरातमा राखेको लामाचौरका स्थानीय सविन जिसीको आरोप छ । ‘तल्लो तहका कर्मचारीमात्र कसरी दोषी हुन सक्छन् ? जबकी उनीहरुलाई ३ देखि ५ लाखसम्म मात्र चेक साट्ने अधिकार हुन्छ,’ उनले थपे, ‘सहकारीका २ वटा २० लाख भन्दा धेरैका चेक साट्दा माथिल्लो तहका कर्मचारी दोषी हुन्छन् कि नाइ ?’
बैकमा ठूलो रकमको जिम्मा लिने अधिकारीलाई जोगाएर अन्य कर्मचारीलाई घानमा पारेको उनको दाबी छ । ‘सबै योजनाबद्ध ढंगले गर्ने ब्रान्च मेनेजर अनि क्षेत्रीय कार्यालय प्रमुखलाई पक्राउ गर्ने कि नगर्ने ?,’ उनले प्रश्न गरे ।
अहिले पक्राउ परेका ३ र पहिला पक्राउ परेका ४ कर्मचारीविरुद्ध बैंकिङ कसुर ऐन २०६४ अनुसार मुद्दा चलाइने भएको छ । लामाचौर शाखाका अपरेसन इन्चार्ज शिवराम अधिकारी, सहायक कर्मचारीहरू रिगु आचार्य, रविना थापा र सीमा पन्थ पक्राउ परेका हुन् ।
त्यसैगरी पोखरा ब्रान्चका अपरेसन इन्चार्ज लक्ष्मी कँडेल, टेलर हेर्ने सुष्मा शर्मा र दीपिका कोइरालालाई सिआइबीले उच्च अदालत दाङ बुटवल इजलासबाट बैंकिङ कसुर मुद्दामा मंगलबार ७ दिनको म्याद थपेर कास्की प्रहरीकहाँ राखेको छ ।
बैकले पोखरा ब्रान्चका मेनेजर बुद्धि बराललाई संरक्षण गरेको स्रोतको आरोप छ । उनलाई आवश्यक परेको खण्डमा उपस्थित हुने प्रतिवद्धतामा बैककै अनुरोधमा छाडिएको प्रहरी स्रोतले जनायो ।
‘अन्य कर्मचारीलाई सामान्य सोधपुछ भन्दै पक्राउ गरेर हिरासतमा राख्ने, केही कर्मचारीलाई संरक्षण गर्ने बैकको नीति राम्रो भएन,’ पक्राउ परेकी एक कर्मचारीका आफ्न्तले भने, ‘तोल गुरुङ र कृष्ण आचायलाई प्रहरीले सोधपुछका लागि बोलाउदा समेत बैकले संरक्षण गरेर राखेको छ ।’
बैकका केही कामबाट स्थानीयमा शंका उब्जेको पक्राउ परेकी कर्मचारी रिगु आचार्य केसीकी सासु मैयाँ केसीले बताइन् । ‘सँगै काम गर्ने अन्य कर्मचारी बैकमै बसेर काम गर्ने, ८ महिने गर्ववतीलाई कहिले बुटवल कहिले हिरासतमा राख्ने यो कस्तो न्याय हो ?’ उनले भनिन् ।
आफैले राखेको १ करोड ६७ लाख रुपैया बैकबाटै हराएको गुनासो सोनिज गुरुङले समाधानसँग बताए । ‘बुवाले राख्नु भएको रकम मेरो खातामा नामसारी गर्नुपर्ने थियो,’ उनले भने, ‘रकम आउदै छ भन्दै रविचन्द्रले डुबाए ।’ आफ्नो खातामा रहेको १९ लाख रुपैयाँसमेत नरहेको गुरुङले बताए ।
मंगलबार ठगिएका ग्राहक, हिरासतमा परेका व्यक्तिका आफन्त र बैकबीच भएको पहिलो बैठक निष्कर्ष विहीन भएको स्थानीय नवीन भण्डारीले बताए । ‘बैठकमा बैंकले आफ्नो कुरामात्र गर्‍यो,’ उनले भने, ‘बैकले कानुन बमोजिम अघि बढ्ने भन्दै गैरजिम्मेवार कुरा गर्‍यो ।’ लामाचौर शाखामा ताला लगाइएको उनले बताए ।
‘माग पूरा नभएसम्म ताला खोल्न दिदैनौ,’ उनले भने, ‘माग पूरा भएन भने क्षेत्रीय कार्यालय पोखरा समेतमा ताला लागाउछौ ।’ चेकमा फर्जी हस्ताक्षर गर्ने व्यक्तिको पहिचान खोल्नुपर्ने, ठगीमा परेका ग्राहकको रकम यथाशीघ्र तिर्नुपर्ने र निर्दोष कर्मचारीलाई रिहा गर्नुपर्ने उनीहरूको माग छ ।
यो प्रकरण अहिले कास्की प्रहरीले नै हेरेको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रवक्ता एसपी मीरा चौधरीले बताइन् । ‘यसअघि हामीले त्यो घटना आफैले हेरेका थियौ,’ उनले भनिन्, ‘अहिले त्यो घटना हेर्ने सम्पूर्ण जिम्मा कास्की प्रहरीको हो ।’
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले बताए । ‘अनुसन्धानका लागि हामीले केहीलाई पक्राउ गरेका छौं,’ उनले भने, ‘केही दिनमा अनुसन्धान सकिएपछि मात्र उहाँहरुको बारेमा के गर्ने भन्ने थाहा हुन्छ ।’
हिनामिना रकम तिर्दै रविकी पत्नी
६ महिनाअघि मात्रै लामाचौर शाखाका तत्कालीन ब्रान्च मेनेजर खनालले बैंकका ग्राहकको खाताको पैसा र व्यक्तिगत रुपमा समेत पैसा उठाएका थिए ।
उनी सम्पर्कविहीन भएपछि बैकले आफ्ना शाखा प्रबन्धक सम्पर्कविहीन बनेको र पैसा अनियमितता गरेको भन्दै उजुरी दियो । प्रकरण अदालसम्म पुगेपछि जिल्ला अदालतले रविको नाममा रहेको सम्पूर्ण जग्गा रोक्का गर्‍यो । रविकी श्रीमती लक्ष्मीलाई बैंक र प्रहरीबाट दबाब आउन थाल्यो ।
श्रीमान्ले गरेको गल्ती सुधार्न लक्ष्मीले केही रकम तिरिसकेको स्रोतले बतायो । ‘हिनामिना गरेको करिब ३ करोडमध्ये २ करोड हाराहारीमा रवीन्द्रको परिवारले रकम तिरिसकेका छन्,’ स्रोतले भन्यो । स्रोतका अनुसार लक्ष्मीले आफ्नो माइतीपट्टिको जग्गा धितो राखेर रकम तिरेकी हुन् ।
‘रविको सबै जग्गा रोक्का छ,’ स्रोतले भन्यो, ‘माइती पक्षको जग्गा राखेर कैशाल विकास बैकले नै १ करोड जति ऋण दिएपछि त्यो रकमसमेत थपेर लक्ष्मीले ऋण तिरेकी हुन् ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: