×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मकवानपुरमा बाख्राका लागि ‘स्विमिङपुल’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मकवानपुरमा बाख्राका लागि ‘स्विमिङपुल’

Artha Sarokar

२९ आश्विन २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 

हेटौंडा – मकवानपुरमा बाख्रापालक कृषक र संस्थाहरूले ‘स्विमिङपुल’ (डिपिङ ट्याक) बनाउन थालेका छन् । जिल्लामा २० वटा स्विमिङपुल बनिसकेका छन् ।
पशुसेवा कार्यालय मकवानपुरले पुल निर्माणका लागि प्रत्येकलाई २० हजारको दरले चार लाख रुपैयाँ अनुदान सहयोग गरेको कार्यालय प्रमुख रामप्रकाश प्रधानले बताए । मकवानपुरगढी–३ मक्रान्चुलीमा क्रियाशील एउटा सहकारी संस्थाले पशुसेवाको सहयोगमा बाख्रा/बोकाका लागि स्विमिङपुल निर्माण गरेको हो ।
गाउँमा पालिएका बाख्रा र बोकाका लागि प्राविधिक दृष्टिले उपयोगी सुविधासम्पन्न ‘स्विमिङपुल’ बनेको हो ।
उक्त स्विमिङपुलमा गाउँका बाख्रा, बोका, पाठापाठीलाई पौडी खेलाउने गरिन्छ । ती चौपायाका शरीरबाट जुम्रा, किर्ना र उपियाँजस्ता बाह्य परजीवी हटाएर शारीरिक विकासमा सहयोग गर्न फरक–फरक औषधिमिश्रित पानी राखिएको स्विमिङपुलमा बाख्रा र बोकाहरूलाई चुर्लम्म डुबाउने गरिएको छ ।
औषधिमिश्रित पुलमा बाख्रा र बोका एवं पाठापाठीहरूलाई डुबाएपछि तिनीहरू स्वस्थ र फुर्तिलो हुने गर्छन् । यस्तो गर्दा चौपायामा भएका बाह्य परजीवी हट्छन् । प्राविधिक भाषामा यसलाई डिपिङ भन्ने गरिन्छ । डिपिङ गर्ने उक्त स्थानलाई ‘डिपिङ ट्यांक’ भनिन्छ । उक्त ट्यांक झट्ट हेर्दा मानिसले प्रयोग गर्ने स्विमिङपुलझैं देखिन्छ ।
बाख्रापालक कृषक र सहकारी संस्थाहरूले बाख्रा, खसी र बोकामा लाग्ने किर्ना र जुम्रालगायत रोगहरूबाट बचाउन डिपिङ ट्यांक अर्थात् स्विमिङ पुल निर्माण गरिएको हो । खसी, बाख्रा, पाठापाठीलाई डिपिङ ट्यांक गर्दा बाह्य परजीवीको सहन क्षमता न्यून गर्ने उद्देश्यले फरक प्रकारका औषधिमिश्रित पानी प्रयोग गर्ने गरिएको छ । मालाथिन, नोभान र लाइजटिक औषधि पानीमा घोलेर डिपिङ ट्यांकमा चौपायालाई पालैपालो डुबाउने गरिन्छ । ‘डिपिङ ट्यांक पार गरेपछि मात्र चौपाया बाहिर निस्कन सक्छ ।
डिपिङ गरेपछि चौपाया मानसिक र शारीरिक तनावमा रहने भएकाले उनीहरूलाई कम्तीमा एक साता तनावमुक्त अवस्थामा राख्नुपर्छ,’ प्रधानले भने, ‘ खसी र बाख्रालाई स्विमिङपुलमा डुबाएपछि शरीरका बाहिरी भागमा रहेका परजीवीहरू सबै मर्छन् ।’ स्विमिङपुलमा डुबाएपछि खसी र बाख्रालाई जुका र नाम्लेजस्ता आन्तरिक परजीवी हटाउन औषधि खुवाउने गरिन्छ । उक्त कार्यलाई प्राविधिक भाषामा ‘ड्रेन्चिङ’ भनिन्छ ।
उक्त कार्यक्रमअन्तर्गत प्राजिक्विन्टल, फेभेन्डाइजोल र अक्सिक्लोजानाइड औषधि खुवाएर आन्तरिक परजीवी हटाउने प्रयास गरिने पशु प्राविधिकहरूले बताए । गत आवमा पशुसेवा कार्यालयले बकैया गाउँपालिकाको धियालमा ५ वटा, मकवानपुरगढी गाउँपालिका ५ र थाहा नगरपालिकामा ५ वटा र ५ वटा ५० वटाभन्दा बढी बाख्रा पालेका कृषकहरूलाई स्विमिङपुल निर्माण गर्न सहयोग गरेको थियो । मकवानपुरमा बाख्रापालक कृषकका संख्या बर्सेनि बढ्दो छ । जिल्लामा ८८ वटा बाख्राका फार्महरू छन् । – कान्तिपुरबाट 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी