Skip to content
LAXMI SUNRISE BANK

अनिल शाहहरुले बुझून् / बुझ्नुपर्छ, ‘कानुन पालना गर्नका लागि हो, न कि मिच्नका लागि’ (सम्पादकीय)

अर्थ सरोकार

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
नेपाली बैंकिङ क्षेत्रमा बिगतदेखि निकै चर्चा हुने गरेको विषय हो, ‘अनिल शाहको तलव ।’ प्लस टु पढ्ने केटाकेटी देखि बैंकिङको ‘ब’ नबुझ्ने बुढाबुढीसम्मले बुझेको तथ्य केहि थियो भने, ‘अनिल शाह सबैभन्दा बढी तलव खाने बैंकर हुन् ।’ यसो त बैंकिङमा करियर बनाउन खोज्नेहरु सबैको चाहाना अनिल शाहजस्तै हुने भन्ने गरेको छ । व्यवस्थापन पढेका विद्यार्थीहरुको चाहानापनि अधिकांसको त्यस्तै छ । उनीहरुलाई बुझाइएको पनि त्यहि छ । अझ नेपालमा त त्यस्ता कार्यक्रमहरु पनि हुन्छन् जहाँ अनिल शाहलाई बैंकर होइन ‘मोटीभेटर’को रुपमा बोलाइन्छ । हुन पनि अनिल शाह स्टेज पाएपछि आएसम्मको गफ दिन्छन् र जनताले बैंकमा काम गर्न बुझाएको पैसाको प्रवाह नगरी त्यस्तै ‘फोकट’का कार्यक्रममा दौडिन्छन् भन्ने पनि धेरैलाई थाहा छ ।
उनको यहि प्रवृतिका कारण मेगामा भद्रगोल बन्यो । मेगालाई जस्तो ‘मेगा’ बनाउने भनेर ‘मेगा’ छिरेका थिए उनी, ठिक विपरितको भद्रगोल मेगा बनाएर छाडे । छोटोमा भन्दा सर्वाधिक विवादित, र अघोषित असक्षमजस्तै बनेर अनिल शाहले मेगा छोडेको तथ्य कसैसामु पनि लुकेको छैन । अर्को तथ्य के पनि हो भने सीइओबाट सजिलै कसैलाई सञ्चालक समितिले निकाल्न सक्थ्यो भने अनिल शाह धेरै अघि मेगाबाट बाहिरिसक्थे होलान् भन्ने चर्चा मेगाकै सञ्चालकहरुले गर्ने गरेका छन् । अन्तत: मेगामा कार्यकाल नथपिने भएपछि अनिल शाहले मेगामा आफ्नो जागिर रहँदै सेञ्चुरीसँग सीइओ बन्ने सम्झौता गरे । तर गैरकानुनी ।
नेपालमा भएजति पत्रकार आफ्नै खल्तीका हुन् र राष्ट्र बैंक पनि आफ्नै बारीको हो जसरी कानुन मिच्दैछु भन्ने थाहा पाउँदा पाउँदै उनले हेपावा प्रवृति देखाए र अनिल शाहले नमिल्ने तलवको कागजमा सहि गरे । तर पाप धुरीबाट कराउँछ, उनले सोचेजस्तो सजिलो पनि छैन नेपाल राष्ट्र बैंक र गलतलाई गलत भन्न बसेका मिडियाहरु पनि छन् भन्ने कुरा चरितार्थ हुँदा उनको तलव गैरकानुनी रहेको समाचार अर्थ सरोकार डटकमले ब्रेक गर्यो । अर्थ सरोकार डटकमको समाचारलाई नै आधार बनाएर नेपाल राष्ट्र बैंकले सेञ्चुरी बैंकलाई अनिल शाहको तलवका बारेमा स्पष्टीकरण सोध्यो । बैंकको ‘केटाकेटी’ पाराको स्पष्टीकरणपछी अन्तत: नेपाल राष्ट्र बैंकले सेञ्चुरीले जे गर्यो, त्यसो गर्न मिल्दैन भन्ने आशयको पत्र सेञ्चुरी बैंकलाई पठायो ।
अव अनिल शाहसँग दुइ विकल्पमात्र बाँकी रहे । कि तलव घटाएर सेञ्चुरी आउने, कि गरिसकेको सम्झौता भंग गरेर अन्य बैंकमा जाने । यी दुइमध्ये जुन काम गरेपनि उनको नैतिकतामाथि प्रश्नचिन्ह उठ्ने पक्कापक्की छ । यी दुइमध्ये जुन काम गरेपनि उनी थप विवादमा आउनेसमेत पक्कापक्की छ । यसले अनिल शाहलाई कानुनको राम्रै पाठ सिकाएको हुनुपर्छ ।
जे नभएको भए हुन्थ्यो, त्यो भइ नै सक्यो । अव चिन्ता गर्नु वा आवेगमा अरुलाई दोष थुपार्नुभन्दा पनि अनिल शाह सुध्रनुपर्छ । कानुन भनेको पालना गर्नका लागि हो, मिच्नका लागि होइन भन्ने बुझ्नुपर्छ । कानुनभन्दा माथि रहेर मैले जे गरेपनि हुन्छ भन्ने दम्भबाट मुक्त हुनुपर्छ भन्ने कुरा बुझ्नुपर्छ । अनिल शाहमात्र होइन अनिल शाहजस्ता थुप्रै अन्यहरुले पनि बुझ्नुपर्छ, ‘ कानुन पालना गर्नका लागि हो, न कि मिच्नका लागि’ हाम्रो खबरदारी यतिका लागि हो, ‘देशमा कानुन छ, र कानुन अनुसार चल्नुपर्छ ।’
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK