
तस्बिरमा ‘मिस लियो नेपाल–२०१७’ का विजेताहरु
हप्तैपिच्छे बजारमा नयाँ–नयाँ सुन्दरी र ह्यान्डसम जन्मिइरहेका छन् । राजधानीसहित देशका मुख्य सहरहरुमा ‘मिस’ र ‘मिस्टर’को धन्दा खुब फस्टाइरहेको छ । सुन्दरताको नापतौल गर्ने बहानामा आयोजकहरुले प्रतिस्पर्धीको खल्ती रित्याउँदैछन्, आफ्नो भर्दैछन् । यतिसम्म कि विजेताले घोषणा गरिएका पुरस्कारसमेत पाउँदैनन् । कसरी सौन्दर्य प्रतियोगिता अस्वस्थ हुँदैछ ? किन एउटै व्यक्तिले दर्जनौं प्रतियोगिता गरिरहेको छ ? प्रतियोगितामा ‘फिक्सिङ’ कसरी हुन्छ ? कसरी लुटिँदैछन् प्रतिस्पर्धीहरु ? अनिल यादवको खोजी ।
चार महिनाअघि काठमाडौंको एक पार्टी प्यालेसमा ‘मिस लियो नेपाल–२०१७’ नामक सौन्दर्य प्रतियोगिता आयोजना भयो । देशभरका लियोहरुको सहभागिता रहेको प्रतिस्पर्धामा सबैलाई उछिन्दै चितवनकी निकिता मगरले विजेताको ताज पहिरिइन् । त्यही ताज पहिरिएर घर (चितवन) पुगिन् र भव्य स्वागत पनि पाइन् । तैपनि उनी खुसी छैनन् । खुसी हुने ठाउँ पनि छैन किनभने उनले डेढ महिनाको कडा मिहनेतपछि विजेता भए पनि पाउनुपर्ने पुरस्कार उनले अहिलेसम्म पाएकी छैनन् । आयोजक लियो क्लब अफ काठमाडौं, डाउन टाउन र लियो क्लब अफ पोखरा पिस भ्यालीले अहिलेसम्म पनि उनलाई घोषणा गरेको स्कुटर र एक लाख रुपैयाँ नगद पुरस्कार दिएको छैन्, अरु अवसर त परै जाओस् ।
०००
गत वर्षको मङ्सिरमा पोखरामा आयोजित ‘मोडल्स ब्याटल’ नामक सौन्दर्य प्रतियोगितामा त रोचकै घटना घट्यो । निर्णायकले प्रतिस्पर्धाको निर्णय पनि आयोजकलाई बुझाइसकेका थिए तर आफू टप थ्रीमा नपरेको भन्दै एक प्रतिस्पर्धीले बखेडा झिकेपछि निर्णय नै नसुनाई आयोजक गायब भए । विजेताका लागि ठिक्क पारिएको क्राउनलगायत सामग्री पनि फुटाइयो र प्रतिस्पर्धाबाट ताज पहिरिने प्रतिस्पर्धीको सपना पनि त्यत्तिकै तुहियो ।
०००
यी दुई घटना त सहर–बजारमा भइरहेका सुन्दरी प्रतियोगिता भित्रका कुरुप तस्बिर झल्काउने प्रतिनिधि उदाहरण मात्रै हुन् । यतिबेला बजारले हप्तैपिच्छे नयाँ–नयाँ सुन्दरी र ह्यान्डसम जन्माइरहेको छ र यो क्रम घट्ने तर्खरमा छैन, दिनानुदिन बढिरहेको छ । महिनैपिच्छे दर्जनौं ‘मिस’ एन्ड ‘मिस्टर’हरु यहाँ उत्पादन भइरहेका छन् । आयोजकका ठूल्ठूला सपनामा लोभिएर प्रतिस्पर्धामा भाग लिनेहरुले पछि चर्को धोका खाइरहेका छन् । चम्किलो ताज पहिरिने लोभ राख्दा प्रतिस्पर्धी रित्तिइरहेका छन्, उता आयोजक मोटाइरहेका छन् । बजारमा ‘ताज’को व्यापार यसरी फस्टाइरहेको छ कि एउटै व्यक्तिले दर्जनौं सौन्दर्य प्रतियोगिता (ब्युटी पेजेन्ट) आयोजना गरिरहेका छन् ।
१८ वर्षदेखि फेसन क्षेत्रमा कार्यरत कोरियोग्राफर रोजिन शाक्यका अनुसार बर्सेनि १५ प्रतिशतका दरले सौन्दर्य प्रतियोगिताको आयोजना बढिरहेको छ । ‘अघिल्लो वर्ष देशभरमा डेढ सयको हारहारीमा भएको थियो भने काठमाडौंमा ६० जति भएको थियो होला,’ उनले भने, ‘तर यो वर्ष अहिले नै काठमाडौंको संख्या ६० कटिसक्यो । ’
यता सन् २०१२ की मिस नेपाल माल्भिका सुब्बा बढ्दो ताजको व्यापारदेखि चकित छिन् । ‘यहाँ त ब्युटीका नाममा बिजनेस भइरहेको छ,’ उनी भन्छिन्, ‘त्यो पनि चाहिनेभन्दा बढी भइरहेको छ । आयोजकले पैसा लिएअनुसारको क्वालिटी पनि दिन सकिरहेका छैनन् । अब प्रतिस्पर्धी चनाखो हुनुप¥यो, सबै कुरा बुझेर मात्र भाग लिनुप¥यो ।’
सन् २०१६ की ‘सुपर मोडल नेपाल’ इच्छा कार्कीको मत पनि माल्भिकासँग मिल्छ । भन्छिन्, ‘यहाँ त च्याउसरी सुन्दरी प्रतियोगिता भइरहेको देखेर मलाई अचम्म लागिरहेको छ । यसरी सुन्दरताको व्यापार त गर्नुभएन नि ! थोरै प्रतियोगिता होस् तर स्तरीय होस् ।’
घोषणामै सीमित पुरस्कार
राजधानी र मोफसलका मुख्य सहरहरुमा आयोजना भइरहेका यस्ता सुन्दरी प्रतियोगिताले प्रतिस्पर्धीलाई आकर्षित गर्न विभिन्न पुरस्कारको लोभ देखाउँछन् तर पछि ती पुरस्कार घोषणामा मात्रै सीमित हुन्छन् । डमी चेक त थमाइन्छ तर पछि नगद उपलब्ध गराइँदैन । ‘घर, पढाइ सबै छाडेर प्रतिस्पर्धामा भाग लिइएको हुन्छ तर पछि पाउनुपर्ने पुरस्कार नपाउँदा मन कताकता दुख्दो रहेछ,’ मिस लियो नेपालकी विजेता निकिता मगरले शुक्रबारसँग भावुक हुँदै भनिन्, ‘जित्नुअघि ठूल्ठूला सपना देखाइन्छ, जितेपछि केही नपाउँदा दुःख त लाग्ने नै रहेछ । एक महिनाको मिहिनेतको फल पाउँछु भन्ने हुन्छ, त्यहीअनुसार मिहिनेत पनि गरिएको हुन्छ तर पछि जब पाइँदैन नि, चित्त दुखेर आउँछ ।’
यता पूर्व मिस नेपाल माल्भिका सुब्बा आयोजकले घोषणा गरेअनुसार पुरस्कार नदिने प्रवृत्ति रोक्नका लागि अब प्रतिस्पर्धी स्वयम्ले आवाज उठाउनुपर्ने बताउँछिन् । ‘अब भनेजस्तो पुरस्कार नदिनेविरुद्ध मुद्दा चलाउन थाल्नुप¥यो,’ विभिन्न सौन्दर्य प्रतियोगितामा कोरियोग्राफरको रुपमा काम गर्ने गरेकी उनी भन्छिन्, ‘म आफैँले त तीन वर्षअघि मिस एन्ड मिस्टर भ्यालेन्टाइनको कोरियोग्राफी गर्दाको पारिश्रमिक एक लाख रुपैयाँ अहिलेसम्म पाएको छैन । प्रभाष कटुवाल भन्ने चिनेकै भाइले अर्गनाइज गरेको थियो तर पैसा नदिइ फरार भयो । त्यसपछि त नयाँ मान्छेसँग काम गर्नुअघि म १० चोटी सोच्छु । यस्तो अवस्थामा कन्टेस्टेन्टले कसरी पाइरहेका होलान् ? धेरै सचेत हुनुपर्ने अवस्था छ ।’
लामो समयदेखि सहरमा हुने सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धी ‘सप्लाई’को काम गर्दै आएका एक एजेन्टका अनुसार कतिपय प्रतियोगितामा पुरस्कारको व्यवस्था नै हुँदैन भने कतिपयमा हुन्छ तर निश्चित सर्तहरु राखिएका हुन्छन् । ‘जस्तो एउटा स्कुटी पुरस्कार राखिएको छ भने त्यो लिनका लागि प्रतिस्पर्धीले निश्चित रकम आयोजकलाई बुझाउनुपर्ने हुन्छ,’ ती एजेन्टले नाम नलेखिदिने सर्तमा यहाँभित्रको फोहोरी खेल सुनाए, ‘प्रतिस्पर्धीलाई त्यो कुरा जित्नुअघि भनिएको हुँदैन, जितेपछि मात्र भनिन्छ । त्यसो हुँदा प्रतिस्पर्धीले त्यसरी पैसा तिरेर पुरस्कार लिन तयार हुँदैनन् अनि लफडा हुने हो । अधिकांश प्रतियोगितामा हुने नै यही हो ।’ उनी आयोजकलाई ‘किङ कोब्रा’ र प्रतिस्पर्धीलाई ‘भ्यागुता’को संज्ञा दिँदै भन्दै थिए, ‘किङ कोब्राले भ्यागुतालाई त खाइ हाल्छ नि, यो प्रकृतिको नियम नै हो ।’
प्रतिस्पर्धीलाई सहभागी गराउन आयोजकहरुले म्युजिक भिडियो, फिल्म लगायत विभिन्न टुर प्याकेजहरुको पनि अवसर प्रदान गर्ने भनेर विज्ञापन गरेका हुन्छन् तर कार्यक्रम सकिएपछि अधिकांश केसमा विजेताले त्यही ताजमा चित्त बुझाउनुपरेको छ ।
शुक्रबारकर्मीले थुप्रै सौन्दर्य प्रतियोगिताका विजेतासँग भेट्यो जसले पुरस्कार नपाएको स्वीकारे तर मिडियामा बोल्न चाहेनन् । ‘एक वर्षसम्म आयोजकलाई नसोधी केही नगर्नु भनेर सम्झौता गराइएको छ,’ एक पेजेन्टकी विजेताले भनिन्, ‘पुरस्कार त मलाई पनि दिएका छैनन् । संस्थाको बारेमा मिडियामा बोलिस् भने टाइटल नै खोसिदिन्छु भनेर तर्साएका छन्, त्यसैले केही नलेखिदिनुस् । पछि यही पा’को टाइटल पनि खोसियो भने त बर्बादै हुन्छ, सबै मिहिनेत खेर जान्छ । बेकारमा अनावश्यक रिस्क किन मोल्नु ?’
महँगो शुल्क, झुर व्यवस्थापन
ब्युटी पेजेन्टका आयोजकहरुले प्रतिस्पर्धीबाट विभिन्न शीर्षकमा महँगो शुल्क लिने गरेका छन् तर शुल्क लिएअनुसारको सन्तुष्टि र व्यवस्थापन भने गर्दैनन् । आफ्नो फिल्म ‘ऐश्वर्य’ रिलिजको पूर्वसन्ध्यामा अभिनेता रमेश उप्रेती थुप्रै सौन्दर्य प्रतियोगितामा अतिथि र निर्णायकका रुपमा पुगे । अमेरिकाबाट फर्किएपछि दर्जनौं ब्युटी पेजेन्टमा महŒवपूर्ण भूमिकामा सहभागिता जनाएका उनी अधिकांश पेजेन्टको व्यवस्थापन झुर हुने बताउँछन् । ‘धेरै पेजेन्टमा जजका रुपमा पुगिसकेँ,’ उनले भने, ‘यहाँ मैले कार्यक्रमको स्तरीयता बहुत कम देखेको छु । फिनाले त स्तरीय हुँदैन भने त्योभन्दा अघि ट्रेनिङ कस्तो हुन्छ होला ? म अनुमान लगाउन सक्छु । गर्नका लागि मात्र गरिएको जस्तो देखिन्छ । फिनालेमा प्रस्तुत हुँदा त प्रतिस्पर्धी पर्फेक्ट हुनुपर्ने तर कतिपयले त प्रश्न नै बुझ्नुुहुन्न, जवाफ त परको कुरा । आयोजकले पनि जे पाए त्यही व्यवस्थापन गरिरहेका हुन्छन् । सबै प्रतिस्पर्धीको मन राखिदिनका लागि सबैलाई टाइटल दिएको देख्दा विरक्त लागेर आउँछ । प्रतिस्पर्धा पनि कहीँ यस्तो हुन्छ र ?’
मिस्टर नेपाल, मिस्टर/मिस राजधानी लगायत सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएका एक्सपोज नेपालका प्रबन्ध निर्देशक दिनेश शाहीले अहिले आफ्नो नेतृत्वमा नेपाल राष्ट्रिय मोडलिङ संघ गठन गरेका छन् । संस्थामा सौन्दर्य प्रतियोगिताका आयोजकहरुलाई समेट्न खोजिरहेका उनी ब्युटी पेजेन्टको संख्या वृद्धि तर व्यवस्थापन झुर भइरहेको स्वीकार्छन् । ‘यहाँ आयोजकअनुसार एउटा प्रतिस्पर्धीले ट्रेनिङ शुल्क भनेर १० देखि २५ हजार रुपैयाँसम्म पैसा लिइरहेका छन् तर त्यो अनुसारको क्वालिटी नदिएको पाइन्छ । यहाँ आयोजकको ध्यान पैसा कमाउनेतिर मात्र छ । जसको जति क्षमता छ उसले त्यहीअनुसार कमाइरहेको छ । यहाँ एउटा इभेन्टबाट दुई लाखदेखि २० लाख रुपैयाँ कमाउनेसम्म छन् ।’
ब्युटी पेजेन्टमा भाग लिनका लागि सुरुमा फर्म भर्नुपर्ने हुन्छ । फर्म शुल्क कार्यक्रमअनुसार ५ सयदेखि २ हजार रुपैयाँसम्म हुन्छन् । त्यसपछि ट्रेनिङ शुल्क, फोटोसुट, पहिरन लगायतमा पनि प्रतिस्पर्धीको खर्च हुने गरेको छ ।
मूल्यहीन ‘ताज’
हप्तैपिच्छे जन्मिइरहेका सुन्दरी र ह्यान्डसमहरुको जिन्दगीमा ताजले के परिवर्तन ल्याइरहेको छ त ? केही अपवादबाहेक अधिकांशले कुनै फड्को मारेको पाँइदैन । न आयोजकले नै उनीहरु कुनै अवसर दिलाउन सकेको छ । यो सब देख्दा लाग्छ– युवायुवती, महिला र बालबालिकाहरु मूल्यहीन ‘ताज’को पछि लागेर आफ्नो समय बर्बाद गरिरहेका छन् । प्रतिस्पर्धामा धेरैभन्दा धेरैलाई सहभागी गराउने बहानामा आयोजकहरुले सुरुमा प्रतिस्पर्धीसँग अनेक सपना बाँडेका हुन्छन्, चिल्ला गफ लगाउने गर्छन् तर पछि दृश्य फेरिन्छ ।
वर्षमा सबैभन्दा धेरै ब्यूटी पेजेन्ट गर्ने व्यक्तिका रुपमा चिनिएका रिबन इन्टरटेन्मेन्टका निर्देशक निशु झा आफूहरु झुटा सपना नबाड्ने बताउँछन् । उनी हाकाहाकी भन्छन्, ‘हामीले दिने भनेको तालिम मात्र हो । कसैले पुरस्कार स्पोन्सर गरिहाल्यो भने डेलिभर गरिदिने हो । नत्र ट्रेनिङ दिएपछि सानो फिनाले कार्यक्रम गरेर एउटालाई विजेता घोषित गरि ताज पहिरिदिने हो । अनि बच्चाहरुले त्यही टाइटल बेचेर गरिखान्छन् ।’
यता मिस ब्यूटी क्विन–२०१७ की विजेता मनिषा पाण्डेलाई यो प्रतिष्पर्धामा भाग लिनुअघि कार्यक्रम ‘मिस नेपाल’जत्तिकै स्तरीय र महत्वपूर्ण होला भन्ने अपेक्षा थियो । तर अहिले जित हासिल गरेर पनि उनी सन्तुष्ट छैनन् । ‘मलाई त जितेर पनि जितेजस्तो महसुस भएको छैन्,’ उनले भनिन्, ‘साथीहरुले २५ हजार रुपैयाँ हो पुरस्कार भनिरहेका थिएँ तर त्यही नगद १० हजार रुपैयाँ पाएँ । फेसबुकमा २–४ वटा फोटो हालियो, बधाई खायो अनि सकियो । मलाई त आफू जहीँको तँही छु भन्ने लाग्छ । म त जसोतसो जितेर मोटिभेट भए, नजित्नेहरु कसरी सन्तुष्ट भए होलान् ? ’ उनले विजेता भएपछि दिइने भनिएको म्युजिक भिडियो अवसरदेखि टुर प्याकेजसम्म केही पनि पाएकी छैनन् ।
रनवे नेपाल २०१५ की विजेता श्रेया थापाको जीन्दगीमा पनि ‘ताज’ले कुनै परिवर्तन ल्याउन सकने । ‘अनुभवका लागि भाग लिएकी थिएँ, खासै केही उपलब्धी भएन,’ उनले भनिन्, ‘जितेर पनि पुरै सन्तुष्ट छुइन । निकै मिहेनत गरेर ताज जितिएको हुन्छ तर कुनै अवसर पाइएन । केही न केही प्लेटफार्म हुनुपर्ने हो तर भएन । झन अहिले त च्याउसरी ब्यूटी पेजेन्ट भएर यसको भ्यालू नै घटिसक्यो । ’
सात महिनाअघि सम्पन्न सौन्दर्य प्रतियोगिता ‘मोडल लाइक अ स्टार’ की विजेता स्वेच्छा केसीलाई पनि ‘ताज’ ले कुनै पपुलर स्टार बनाएन । प्रतियोगितामा भाग लिएपछि न उनले केही पुरस्कार नै पाइन, न कुनै अवसर । मुख्य टाइटलसँगै बेस्ट वार्क र मोस्ट ट्यालेन्टेडको सबटाइटलचाँही पाएकी थिइन् । अहिले उनी आफ्नै बलबुतोमा मोडलिङ क्षेत्रमा स्थापित हुन खोजिरहेकी छिन् । भन्छिन्, ‘म मेरो प्यासनका कारण ब्यूटी प्याजेन्टमा सहभागी भएकी थिएँ, आयोजकहरु आफै संघर्षको चरणमा हुन्छन् त्यसैले उनीहरुबाट कुनै अवसरको अपेक्षा थिएन र पाइनँ पनि । ’
नाममात्रैको ‘अडिसन’
रोचक पक्ष त के छ भने प्रत्येक ब्यूटी पेजेन्टमा ‘अडिसन सम्पन्न’ भन्दै खबर आउँछ । सामान्य ढंगले बुझ्दा अडिसन भनेको प्रतिष्पर्धी छनौट गर्ने एउटा माध्यम हो तर यहाँ कुनै छनौट हुँदैन । ‘अडिसन भनेको एउटा औपचारिकता मात्रै भइरहेको छ,’ एक इभेन्ट आयोजक भन्छन्, ‘जति जनाले फर्म भर्छन् उतिजनै सहभागी हुन्छन् अनि त्यसपछि सबैले एक–एकवटा सब टाइटल बुझाउछन् । सबैले पैसा खर्च गरेका हुन्छन् त्यसैले एक–एकवटा सब टाइटल दियो भने उता उनीहरु पनि खुशी हुन्छन्, यता हामीले पनि कुनै विवादको सामना गर्नुपर्दैन् । ’
यसरी हुन्छ ‘फिक्सिङ’
ब्यूटी पेजेन्ट सम्बन्धी जानकारहरु भन्छन्, ‘६० प्रतिशत भन्दा बढी यस्ता प्रतियोगिताहरु नियोजित हुन्छन् अर्थात् त्यहाँ ‘फिक्सिङ’ भइरहेको हुन्छ ।’ अन्तिम स्पर्धाका दिन दर्शकदिर्घामा कसले जित्ला भन्ने बजोड कौतहुलता जागेको हुन्छ तर स्टेज पछाडी पहिल्यै विजेताको नाम तयार भइसकेको हुन्छ ।
यही कारण थुप्रैपल्ट लफडा पनि भएका छन् । तीनवर्षअघि सिजन मिडियाका प्रबन्ध निर्देशक प्रदीपराज वन्त रकम लिएर पनि उपाधी नदिलाएको आरोपमा दरबारमार्गस्थित प्रहरी प्रभागमा थुनिएका थिए ।
मिस ई–कलेजको उपाधि दिलाउने भन्दै दुई लाख रुपैयाँ लिएर पनि उपाधि नदिएको भन्दै एक युवतीले दरबामार्ग प्रहरी प्रभागमा उजुरी गरेकी थिइन् । त्यतिबेला ती युवतीको ट्रेनिङ अवधिमा खर्च भएको थप ३५ हजार रुपैयाँ पनि फिर्ता गरेर वन्तले केस मिलाएका थिए । धेरै ब्यूटी पेजेन्ट आयोजना गर्ने आयोजकका रुपमा वन्तको नाम पनि आउने गर्छ ।
तीनवर्षअघि नै नेक्स्ट मोडल नेपालले आयोजना गरेको ‘मोडेल अफ दी इयर’ नामक सौन्दर्य प्रतियोगितामा पनि धाँधली भएको भन्दै कार्यक्रमस्थलमै कुटाकुट भएको थियो । त्यतिबेला एक प्रतियोगी अस्पतालमै पुग्ने गरी घाइते भएका थिए ।
आयोजकको धेरै पैसा कमाउने दाउ र कार्यक्रमको बजेट समस्या भएपछि अधिकांश प्रतियोगितामा ‘फिक्सिङ’ हुने गरेको एक फेसन एन्ड मोडलिङ एजेन्सीका एक एजेन्टले नाम नखोलिदिने सर्तमा बताए । कस्तो–कस्तो अवस्थामा फिक्सिङ हुन्छ त ? ‘मुख्यतः बिजनेस घाटामा जाने भएपछि नै हो,’ उनले भने, ‘आयोजकले कार्यक्रम गर्नुअघि नै यो कार्यक्रबाट यति कमाउँछु भनेर टार्गेट गरेको हुन्छ, त्यो अनुसार नहुने भएपछि प्रतिष्पर्धीसँग छुट्टाछुट्ट ‘डिल’ गरेर उपाधीको मोलमोलाइ हुने गर्छ । मिति स्थगित हुने अधिकांश कार्यक्रमहरुमा फिक्सिङ हुनेगर्छ किनभने आर्थिक समस्याकै कारण त्यो स्थगित भएको हुन्छ । ताजका लागि प्रतिष्पर्धीले १ लाखदेखि ५ लाख रुपैयाँसम्म तिरेको सुनेको छु । ’
अधिकांश केसमा दर्शकलाई कार्यक्रममा ‘फिक्सिङ’ भएजस्तो अनुभुति नै हुँदैन । कसरी ? ‘जसले ताजका लागि पैसा तिरेको हुन्छ उसले पहिल्यै प्रश्न र जवाफ दुवै पाइसकेको हुन्छ । दर्शकका रुचीअनुसारको जवाफ तयार गरिएको हुन्छ । त्यो जवाफ पढेपछि दर्शकदिर्घाबाट हुटिङ आइहाल्छ अनि कसले गर्छ शंका ?,’ ति एजेन्टले आयोजकको ‘फिक्सिङ टेक्निक’ सुनाए, ‘कतिपय केसमा प्रतिष्पर्धीको कलमको मसी र लेखिएको जवाफको रङ नमिल्न सक्छ । उसले कालो पेन बोकेको छ तर जवाफ निलो अक्षरमा लेखिएको पनि हुनसक्छ । त्यस्तो अवस्थामा फिक्सिङ अनुमान लाउन गाह्रो भएन । त्यसैले त्यो समयमा प्रतिष्पर्धी चनाखो भएर चेक गर्न पनि सक्छन् तर त्यतिबेला अधिकांशको ध्यानमा तोकिएको समयमा प्रश्नको जवाफ लेखिसक्ने तिर नै हुन्छ । ’
प्रतिष्पर्धी कि टिकट सेलर ?
सौन्दर्य प्रतियोगितामा भाग लिने प्रतिष्पर्धीहरुले ट्रेनिङ शुल्कमात्रै तिरेर धर पाउँदैनन्, आयोजकको बिजनेस बढाइदिन पनि उनीहरुले मद्दत गर्नुपर्छ । सबैभन्दा बढी टिकट बेच्नेलाई ‘भिवर्स च्वाइज अवार्ड’को लोभ देखाइएको हुन्छ । आयोजकअनुसार कतिले १० त कतिले १५ वटा टिकट अनिवार्य बेच्न लगाएका हुन्छन् । मिस ब्यूटी क्विन नेपाल– २०१७ मा सहभागी जनाएर बेस्ट स्टाइलिस्टको सबटाइटल समेत पाएकी एल्जिना राईका अनुसार त्यो कार्यक्रममा हरेकले अनिवार्य १५ वटा टिकट काट्नुपर्ने व्यवस्था थियो । ‘टिकटको दर १ हजार रुपैयाँ थियो । मैले १५ वटामा ७ वटाचाँही बेचेँ, अरुचाँही आफ्नै गोजीबाट हाले,’ उनले सुनाइन् । त्यही प्रतियोगितामा कसले बढी टिकट बेच्ने भनेर प्रतिष्पर्धा नै चलेको थियो । श्रोतका अनुसार भिवर्स च्वाइज अवार्ड पाउने लोभमा एकजना प्रतिष्पर्धीका लागि उनको आफन्तले ७० हजार रुपैयाँको टिकट किनिदिएका थिए । तैपनि उनले अवार्ड पाएनन् किनभने अर्की प्रतिष्पर्धीका आफन्तले १ लाख रुपैयाँको टिकट किनेर उनलाई पनि उछिन्न सफल भएका थिए । यो त उदाहरणमात्र हो । यसरी अधिकांश प्रतियोगितामा प्रतिष्पर्धीविच टिकट बेचविखनको होडवाजी नै चल्छ । टिकटबाटै आयोजकले राम्रो आम्दानी गरिरहेका हुन्छन् ।
वर्षेनी २० भन्दा बढी ब्यूटी पेजेन्टमा कोरियोग्राफी गर्दै आइरहेका कोरियोग्राफर रोजिन शाक्य मानसिक दबाब दिएर टिकट बेचाउनु गलत भएको बताउँछन् । ‘तर सहयोगस्वरुप कोही बेच्न तयार हुन्छ भने त्यसलेचाँही प्रतिष्पर्धीलाई मार्केटिङको तालिम पनि हुन्छ,’ उनले बताए ।
नेपाल स्टार मोडल– २०१६ की फस्ट रनरअप सबनम चौधरीले पनि प्रतियोगिताका बेला १० वटा टिकट अनिवार्य बेच्नुपरेको थियो । प्रतिष्पर्धामा भाग लिँदा पनि ५० हजारजति खर्च भएको थियो । ‘कोही पनि प्रतिष्पर्धीलाई टिकट बेच्ने रहर हुँदैन तर के गर्ने हामी बाध्यतामा हुन्छौं । प्लिज मेरो टिकट लिइदिनु भनेर हात जोड्ने रहर कुनचाँही मोडललाई हुन्छ र ?,’ उनले गुनासो पोखिन् । मोडल लाइक अ स्टारकी विजेता स्वेच्छा केसीलाई पनि १० वटा टिकट अनिवार्य बेच्नु भनिएको थियो तर उनले २० वटासम्म बेचेको बताइन् । उता रनवे नेपाल २०१५को उपाधी चुमेकी श्रेया थापाले पनि टिकट अनिवार्य बेच्नुपर्ने अवस्थाको सामना गरेको बताइन् । यता १ हजार रुपैयाँ दरको टिकट बेच्न लगाउने तर फिनालेमा आउने दर्शकलाई पानीसम्म नखुवाउने प्रवृत्तिप्रति पनि मिस ब्यूटी क्विनकी विजेता मनिषा पाण्डेको चित्तदुखाइ छ । ‘आफन्तलाईसम्म टिकट कटाएर कार्यक्रममा लगियो तर एक बोतल पानीसम्म पिउन नपाउँदा एकदमै गुनासो गर्नुभयो,’ उनले सुनाइन्, ‘त्यसैले म ग्यारेन्टीसाथ भन्न सक्छु त्यस्तो कार्यक्रममा एकपल्ट टिकट काटेर गएको मान्छे अर्कोपल्ट फर्केर जाँदैन ।’
प्रतिष्पर्धी खोज्न ‘दलाल’
केही फेसन एन्ड मोडलिङ एजेन्सीहरु छन् जसको काम नै यस्ता ब्यूटी पेजेन्टहरुका लागि प्रतिष्पर्धी खोजिदिने हो । ति एजेन्टहरुका लागि प्रतिष्पर्धी खोज्ने सजिलो माध्यम हो– फेसबुक । मिस ब्यूटी क्विनमा सहभागिता जनाएकी एल्जिना राईंले पनि यस्ता एजेन्टको सामना थुप्रैपल्ट गर्नुपरेको छ । ‘तिमी राम्री छौं, तिमीलाई मोडलिङमा रुची छ हो ? , छ भने म अवसर दिलाइदिन्छु जस्ता कुरा गर्दै कार्यक्रममा भाग लिन अनुरोध गर्दै फेसबुकमा म्यासेज पठाइरहेका हुन्छन्,’ उनले सुनाइन् । काठमाडौं, पुतलिसडकमा रहेको ड्रिम्स अनलिमिटेड एउटा यस्तै एजेन्सी हो जसले कमिसन लिएर विभिन्न पेजेन्टका लागि प्रतिष्पर्धी खोजेर पठाउने गर्छ । ‘मोडलिङप्रति रुची भएकाहरुलाई ब्यूटी पेजेन्टसम्म पु¥याएर हामी पुलको काम गर्ने गछौं,’ ड्रिम्स अनलिमिटेडका विजय श्रेष्ठले भने, ‘खुबी र क्षमता हुनेहरु जित्छन् र माथि उठ्छन्, नहुनेहरु त्यत्तिकै हराउँछन् । ’ शुक्रबारकर्मी उनको कार्यलयमा पुग्दा उनले तत्काल ‘मिस एन्ड मिसेस ब्यूटीफुल नेपाल’, ‘मिस ब्यूटी क्विन नेपाल’ र मिस तामाङ’सौन्दर्य प्रतियोगिताको फारम आइपुगेको भन्दै देखाएका थिए ।
जो पनि जुरी
कोरियोग्राफर रोजिन शाक्यका अनुसार यहाँ थरीथरीका आयोजक छन् । ‘कोही आफ्नो भाषा, संस्कृतिको प्रवद्धन गर्ने भन्दै जातिय कार्यक्रम गरिरहेका छन्, कोही राष्ट्रको पहिचान अन्तराष्ट्रियस्तरसम्म लाने भनेर गरिरहेका छन्,’ उनले भने, ‘व्यवसायसँग जोडेर गर्नेहरु पनि धेरै छन् । कतिपयचाँही देखासिकी र एकअर्काको रिसका भर पनि गरिरहेका छन् । उद्देश्य नै क्लियर नभइकन गर्नेहरु पनि छन् । यि सबैले एकै ठाउँमा काम गर्दा को राम्रो, को नराम्रो भनेर छुट्टयाउन गाह्रो भएको हो ।’
यस्ता कार्यक्रमको जुरीचाँही कस्तो मान्छे भइरहेका छन् ? नेपाल राष्ट्रिय मोडलिङ संघका अध्यक्ष दिनेश शाही भन्छन्, ‘यहाँ जो पनि जुरी भइरा’छ । एउटा ब्यूटी कन्टेस्टमा भाग लिएर विजेता नभएको मान्छे पनि जुरु भइरा’छ । आफूभन्दा जुनियर र काम नलाग्ने मान्छे प्रमुख जुरी राखेकाले मैले एउटा कार्यक्रमबाट त उठेरै हिडेको छु ।’ कतिपय स्पोन्सरहरुले पनि आफूलाई जुरी राख्न अनुरोध गर्ने गरेको उनले बताए ।
अहिले जुरीको सर्टिफिकेट देखाएर विदेश भिषा लगाउने जमात पनि बढेको छ । वर्षेनी ‘द सुपर मोडल’, ‘मिस इन्डिजिनियस’ र ‘सिन्ड्रेला नेपाल’ नामक तीनटा सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएका पेसिफिक इभेन्ट एन्ड म्यानेजमेन्टका टेन्जिङ शेर्पाले आफूलाई जुरी राखिदिन अनुरोध गर्नेहरु धेरै हुने गरेको बताए । ‘मलाई जुरी बनाइदिनुप¥यो भन्छन्, किन भनेर बुझ्दा त विदेश जानलाई डकुमेन्ट हुन्छ रे,’ उनले सुनाए ।
अर्को नौलो कुरा त के छ भने अधिकांश ब्युटी कन्टेस्टमा राखिने जुरीले कुनै पारिश्रमिक पाउँदैनन् । रनवे नेपालको विजेता भएपछि श्रेया थापा केही ब्युटी पेजेन्टमा निर्णायकका रुपमा पुगिन् । ‘पारिश्रमिक पाइँदैन रै’छ,’ उनले सुनाइन्, ‘सर्टिफिकेट पाइयो, टोकन अफ लभ पाइयो, अनि त्यही खाजा, जुस खान पाइन्छ, त्यति हो ।’
बालबालिका र गृहिणीलाई सजिलो
सही र गलत छुट्याउन नसक्ने उमेर समूहलाई लिएर सौन्दर्य प्रतियोगिता गर्दै पैसा कमाउन खोज्नेहरुको जमात पनि यहाँ बढ्दो छ ।इभेन्ट अर्गनाइजर दिनेश शाहीका अनुसार यहाँ बालबालिका र गृहिणीको सौन्दर्य प्रतियोगिता गर्न अरुभन्दा सजिलो छ । कसरी ? ‘बालबालिकाका लागि उनीहरुका बाआमा जति पनि खर्च तयार हुन्छन्, त्यहाँ भावनाले काम गरिरहेको हुन्छ, विवाद हुने सम्भावना पनि हुँदैन त्यसैले पछिल्लो समय धेरै यस्तो कार्यक्रम गर्न सक्रिय छन्,’ उनले सुनाए ।
त्यस्तै गृहिणीहरुलाई विभिन्न प्रलोभन देखाएर ‘मिसेज’ टाइटल दिएर प्रतियोगिता गर्नेहरु पनि बढिरहेका छन् । ‘गृहिणीहरु पैसा पनि खर्च गर्छन्, एउटा–एउटा सबटाइटल दियो भने मख्ख पनि पर्छन्,’ एक इभेन्ट अर्गनाइजरले बताए ।
अन्तर्राष्ट्रियको धन्दा
सौन्दर्य प्रतियोगिताका लागि भन्दै नेपालबाट विदेश पठाउने प्रचलन पनि अहिले बढेको छ तर नेपालबाट प्रतिनिधित्व गराइने सबै विदेशी सौन्दर्य प्रतियोगिता स्तरीय भने हुँदैनन् । ‘हामी निश्चित रकममा विदेशको इभेन्टको टाइटल किन्छौँ र इच्छुक प्रतिस्पर्धीलाई नाफा खाएर बेच्छौं,’ एक इभेन्ट अर्गनाइजरले नाम नलेखिदिने शर्तमा भने, ‘यस्तो गर्ने यहाँ हामीमात्र होइन, अरु धेरै छन् । विदेशमा हुने भन्नेबित्तिकै नेपालीहरु मख्ख पर्छन् तर त्यहाँ हुने सबै ब्युटी कन्टेस्ट कहाँ स्तरीय हुन्छन् र ?’
न मापदण्ड, न नियमन निकाय
सौन्दर्य प्रतियोगितासम्बन्धी कुनै मापदण्ड नहुँदा र यसलाई नियमन गर्ने कुनै निकायहुँदा यहाँ मनपरी भइरहेको छ । हरेक आयोजक आफूले राम्रोसँग इभेन्ट गरिरहेको तर अरुले नगरेको भनेर आक्षेप लाउँछ । कोही आफू गलत भन्न तयार छैनन् । मिसेस नेपाल इन्टरनेसनल, सुपर मोडल कन्टेस्ट, मिस टिन आफ दि इयर, मिस एन्ड मिस्टर एसइइ अफ द इियर लगायत सौन्दर्य प्रतियोगिता गर्दै आएका रिबन इन्टरटेन्मेन्टका निशु झा मापदण्ड र नियमन निकाय नहुँदा यसरी च्याउसरी सौन्दर्य प्रतियोगिता भइरहेको बताउँछन् । ‘यो सबै भएको भए करको दायरामा पनि आउँथ्यो, यसले राज्यलाई फाइदा नै पुग्थ्यो,’ उनले बताए ।
यता मिस इन्टरनेसनल नाम दिएर सौन्दर्य प्रतियोगिता आयोजना गरिरहेका गायक÷संगीतकार धनिराम राई बजारमा च्याउसरी कार्यक्रम भइरहेको स्वीकार्छन् र भन्छन्, ‘त्यही ‘भल्गर’ तरिकाले भइरहेका कार्यक्रमहरुलाई ‘ट्रिटमेन्ट’ गर्नेगरी कार्यक्रम गरिरहेको छु । फिनालेका दिन विजेतालाई कार, स्कुटर र नगद दिने तयारीमा छु ।’
कसले कति आयोजना गर्छ ?
यहाँ एउटै व्यक्तिले दर्जनौं सौन्दर्य प्रतियोगिता आयोजना गर्छ । उनीहरुको एक मात्र ध्येय– जतिसक्दो धेरै पैसा कमाउने नै हो । बर्सेनि आधा दर्जन बढी सौन्दर्य प्रतियोगिता आयोजना गर्नेमा निशु झा, एएनपी मिडिया हाउसका लभबहादुर कार्की, प्रदिपराज वन्त, हिमानी सुब्बा लगायत पर्छन् । दिनेश शाही, चाँदनी लामिछाने, पूजा निरौला, हेमा मानन्धर, रवि धमला, सानु खान, ओसिमा बानु, खगेश रन्जित, धिरज तन्डुकार, आनन्द सिंह लगायत पनि ब्युटी पेजेन्टको अर्गनाइजरका रुपमा परिचित छन् । एउटै व्यक्तिले वर्षमा युवायुवती, गृहिणी, बालबालिका, विद्यार्थी, जातजाति सबैलाई फोकस्ड गरेर कार्यक्रमहरु गरिरहेका पनि छन् । विभिन्न आकर्षक नाम दिएर आयोजकहरुले कार्यक्रम गरिरहेका छन् ताकि सहभागी लोभिउन् ।
०००
‘ग्राहक सचेत भए व्यापारीले ठग्न सक्दैन’
रोजिन शाक्य
कोरियोग्राफर
यहाँ बर्सेनि ब्युटी पेजेन्ट १० देखि १५ प्रतिशतको हारहारीमा बढिरहेको छ । अघिल्लो वर्ष काठमाडौंमा ६० गरी देशभरबाट १ सय ३० को हारहारीमा भएको थियो । यो वर्ष त काठमाडौंमा अहिले नै ६० कटिसक्यो । ब्युटी कन्टेस्टको ह्विम नै चलिरहेको छ अहिले । आयोजक पनि थरीथरीका छन् । कोही भाषा संस्कृतिको प्रवद्र्धन गर्ने भन्दै जातीय शीर्षकमा कार्यक्रम गरिरहेका छन् । कोही व्यवसायकै रुपमा ब्युटी कन्टेस्ट चलाइरहेका छन् । उद्देश्य नै प्रस्ट नभई आयोजना गर्नेहरु पनि छन् । कोही उसले गर्न सक्छ, मैले किन नगर्ने ? भन्दै ईख लिएर पनि गरिरहेका छन् । थरीथरीका आयोजकले एकैपल्ट काम गर्दा को ठीक, को बेठीक छुट्याउन गाह्रो भइरहेको छ ।
नियमन निकाय नभएर यो सब भएको हो । बढी गरियो या बढी गर्न किन पाइयो भन्ने प्रश्नको जवाफ हामीले पाएनौं । सप्लाई धेरै, डिमान्ड कम भएकाले धेरै पेजेन्ट हुँदा धेरै विजेताले अवसर पाउन सकिरहेका छैनन् ।
प्रतिस्पर्धी पनि थरीथरीका छन् । कोही सिक्छु, कोही जित्छु, काही फुर्सदको समय सदुपयोग गर्छु भनेर आइरहेका छन् त कोही लहलहमा लगेर आउने गर्छन् ।
प्रतिस्पर्धी ठगिने गरेको कुरा पनि छ । म त के भन्छु भने प्रतिस्पर्धी आफैँ सजग र सचेत हुन जरुरी छ । कुन कार्यक्रमको स्तर कस्तो हो ? भाग लिँदा के पाइन्छ ? सबैकुरा बुझेर सहभागी हुनुप¥यो किनभने ग्राहक सचेत भए व्यापारीले ठग्न सक्दैन ।
‘स्कुटी र एक लाख पुरस्कार पाएकी छुइनँ’
निकिता मगर
मिस लियो नेपाल– २०१७
म लायन्स क्लबअन्तर्गत लियोकै मेम्बर भएकाले यो प्रतियोगितामा भाग लिएकी थिएँ । हामीलाई तालिममा पनि कसरी सामाजिक काम गर्ने भन्ने कुरा नै बढी सिकाइएको थियो । यो प्रतियोगिताको फाइनलका लागि घर (चितवन)बाट काठमाडौं डेढ महिनाजति बसियो । घर, पढाइ छाडेर खुब मिहिनेत गरियो । दुई पल्ट त कार्यक्रमको फिनाले डेट नै स¥यो । पछि मैले ताज जितेँ । ताज जित्दा को खुसी नहोला ? तर चार महिना बढी भइसक्यो मैले पाउने भनेको पुरस्कार स्कुटी र एक लाख रुपैयाँ नगद अहिलेसम्म पाएकी छैन । पुरस्कार पाइन्छ भनेर त्यही अनुसार मिहनेत गरिएको हुन्छ तर जब पाइँदैन नि, मन दुःखेर आउँछ ।
‘पुरस्कार नदिनेलाई अब मुद्दा चलाउनुपर्छ’
माल्भिका सुब्बा,
पूर्व मिस नेपाल
ब्युटी पेजेन्टहरु धेरै भइरहेको छ तर आयोजकले पैसा लिएअनुसार क्वालिटी दिन सकिरहेका छैनन् । यहाँ ब्युटीको नाममा बिजनेस भइरहेजस्तो छ । यहाँ मापदण्ड राख्नुपर्ने अवस्था देखियो । भाग लिन जानेले पनि सबै कुरा बुझेर जानुप¥यो । अर्गनाइजर को हो ? के पाइन्छ ? सबै कुरा बुझेर जानुप¥यो, हावाको भरमा पछि लाग्नुभएन । आयोजकले पनि भनेजस्तो पुरस्कार दिएन भने मुद्दा चलाउनुपर्ने बेला भइसक्यो ।
अर्को कुरा यस्तो प्रतिस्पर्धामा आउने भनेको नाम र दामका लागि नै हो । मिस नेपालबाट सुरु भएको यस्तो प्रतियोगितामा धेरैजनाले राम्रो गरेको देखेर नयाँहरु आकर्षित हुनुभएको जस्तो लाग्छ तर टाइटल जिते भन्दैमा मिडियामा आउने ग्यारेन्टी भने हुँदैन । ब्युटी पेजेन्टमा ट्रेनिङको व्यवस्था हुन्छ तर कसले सिकाउँछ, कसरी सिकाउँछ नबुझी १५–२० हजार तिर्न तयार हुनुभएन ।
यहाँ राज्यको नियमन निकाय पनि चाहिएको अवस्था छ । एउटा आयोजकले कति कार्यक्रम गर्छ ? कति शुल्क लिन्छ ? सबै कुराको अनुगमन हुन थाल्यो भने यो संख्या आफैँ नियन्त्रित र व्यवस्थित हुन्छ भन्ने लाग्छ ।
यहाँ प्रतियोगितामा ‘फिक्सिङ’को कुरा पनि उठ्छ । यस्ता कुरालाई प्रमाणसहित अगाडि ल्याउनुपर्छ । लुकाएर राखेपछि कसरी हुन्छ ? यहाँ पीडा लुकाएर हुँदैन, बाहिर ल्याउनुपर्छ ।
‘एउटा सोचेर गा’को अर्कोमा परियो’
एल्जिना राई
मिस ब्युटी क्विन, बेस्ट स्टाइलिस्ट २०१७
खासमा मैले मिस ब्युटिसियनका लागि भनेर फर्म भरेकी थिएँ । यो प्रतियोगितामा भाग लिँदा ब्युटिसियनका रुपमा देशभर चिनिएला भन्ने लागेको थियो । १२ हजार ट्रेनिङ फी तिरेकी पनि थिएँ । मलाई खबर नै नभई त्यसको अडिसन सकिएको रहेछ । पछि मलाई त्यसको सट्टा ‘मिस ब्यूटी क्विन’ मा भाग लिन लगाइयो । अनुभव बटुलिन्छ भनेर मैले पनि लिइदिएँ । ट्रेनिङको अन्तिम अन्तिमतिर यसको चाहिँ १५ हजार फी भनेर थप तीन हजार मागियो । सुरुमा त्यही फीभित्र सबै कुरा समेटिने बताइएको थियो । पछि स्वीमिङ जाँदा, फोटोसुट गर्दा सबै आफैँ खर्च गर्नुप¥यो । ड्रेसमा पनि खर्च भयो । जति सोचेर गएको थिएँ त्यो अनुसार पाइन । सहभागी जति सबलाई एक–एकवटा टाइटल दिएको देखेर चकित भएँ ।
‘पेजेन्टले केही हुनेवाला छैन’
रमेश चौधरी
मोडल हन्ट नेपाल सिजन ३, सेकेन्ड रनरअप
दाइको प्रोत्साहनले गर्दा म प्रतियोगितामा सहभागी भएको हुँ । मोडल हन्टभन्दा अघि फेस अफ नेपाल–२०१७ मा पनि भाग लिएको थिएँ । मोडल हन्टमा भाग लिँदा ट्रेनिङ, कपडा, खाजा, ट्राभल सबै गरेर १ महिनामा त्यही १ लाख जति खर्च गरियो । टिकट बेचेरै आउनु भन्ने उर्दी थियो । त्यसैले ६–७ वटा बेचियो । त्यत्रो खर्च गर्दा पनि फिनालेमा प्रतिस्पर्धीलाई खाने खानाको व्यवस्था नहुँदा दुःख लाग्यो । मैले दुइटा पेजेन्टमा भाग लिएपछि के बुझे भने पेजेन्टले केही हुनेवाला छैन । आफूलाई अघि बढाउनलाई आफैँ क्षमतावान हुनुपर्ने रै’छ, अरुले अवसर देला भनेर कुरेर हुँदैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्