काठमाडौँ – बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू भइसकेको छ ।
यो निर्वाचनमार्फत प्रत्येक प्रदेशबाट ८ जनाका दरले ५६ सदस्य निर्वाचित हुनेछन् । जसका लागि निर्वाचन कर्यतालिका अनुसार झण्डै दुई दर्जन राजनीतिक दलहरूले गत माघ १० गते उम्मेदवारी दर्ता गरिसकेका छन् ।
यो निर्वाचनमा देशभरका राष्ट्रिय सभाका सदस्य, गाउँपालिकाका प्रमुख, उपप्रमुख, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी २०५६ जना मतदाताले मतदान गर्दैछन् । जसमध्ये १५०५ जना स्थानीय निकायका प्रमुख–उपप्रमुख र ५५० जना प्रदेशसभाका सांसद मतदाता छन् ।
एकल सङ्क्रमणीय निर्वाचन प्रणाालीमार्फत हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश सांसदको मतभार ४८ र स्थानीय निकायका प्रमुख र उपप्रमुखको मतभार १८ हुने तय गरेको छ ।
यही मतभारका आधारमा हरेक प्रदेशबाट ८ जना सदस्य राष्ट्रियसभाका लागि चुनिनेछन् । राष्ट्रियसभा ५९ सदस्यीय हुनेछ । राष्ट्रियसभाका ३ जना सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।
प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्पष्ट बहुमत ल्याएको वाम गठबन्धनले यो निर्वाचनमा पनि ५६ सिटमध्ये ४२ सिट जित्ने दाबी गरेको छ । बाँकी सिटमा काँग्रेस र मधेसवादीदलले जित्ने अनुमान छ ।
प्रदेश नं १ मा ३६७ मतदाता
यो निर्वाचनका मतदाता कति छन् भन्ने पहिल्यै थाहा हुन्छ । जब कि निर्वाचित जनप्रतिनिधि यस निर्वाचनका मतदाता हुने भएकाले कुन मतदताले कसलाई भोट हाल्छन् भन्ने पनि लगभग पहिल्यै थाहा हुन्छ । त्यो हिसाबमा हेर्दा प्रदेश नं १ मा सबैभन्दा बढी ५१ प्रदेश सांसद एमालेका छन् । त्यसपछि काँग्रेसका २१, माओवादीका १५, सङ्घीय समाजवादी फोरमका ३, राप्रपाका १ र स्वतन्त्र १ गरी जम्मा ९३ जना हुन्छन् । प्रदेश सांसद र स्थानीय प्रमुख, उप्रप्रमुखसहित सबै जोड्दा राष्ट्रियसभाका मतदाता यो प्रदेशमा ३६७ जना हुन्छन् ।
प्रदेश २ मा ३७९ जना
२ नम्बर प्रदेशमा राष्ट्रियसभा सदस्य, स्थानीय निकायका प्रमुख र उपप्रमुख गरी ३७९ मतदता छन् । २७२ स्थानीय जनप्रतिनिधि र १०७ सात जना प्रदेशसभा सदस्य छन् ।
२ नम्बर प्रदेशमा सबैभन्दा बढी २९ जना प्रदेश सांसद सङ्घीय समाजवादी फोरमका छन् । दोस्रोमा राजपाका २५, तेस्रोमा एमालेका २१ र चौथोमा काँग्रेसका १९ सांसद छन् । त्यसैगरी माओवादीका ११, नेससका १ र स्वतन्त्रका १ सांसद छन् ।
प्रदेश ३ मा ३४८ मतदाता
प्रदेश नं ३ मा राष्ट्रियसभा सदस्यका मतदता ३४८ छन् । जसमा एमालेका सबैभन्दा बढी प्रदेश सांसद छन् । यहाँ एमालेका ५८ सांसद छन् भने दोस्रोमा माओवादीका २३ र तेस्रोमा काँग्रेसका २१ जना छन् । विवेकशीलका ३, नेमकिपाका २, राप्रपा, राप्रपा प्रजातान्त्रिक र नयाँ शक्तिका एकएक सांसद जोड्दा ११० सांसद हुन्छन् । यो प्रदेशमा प्रदेश सांसदबाहेक स्थानीय निकायका प्रमुख तथा उपप्रमुख गरी २३८ जना जोड्दा ३४८ मतदाता हुन्छन् ।
४ मा २३० मतदाता
चार नम्बर प्रदेशमा एमालेका २७, काँग्रेसका १५, माओवादी केन्द्रका १२ छन् भने राजमोका ३ सांसद छन् । नयाँ शक्तिका २ र स्वतन्त्र १ गरी यो प्रदेशमा ६० प्रदेशसभा सांसद छन् । चार नम्बर प्रदेशमा स्थानीय निकायका प्रमुख र उपप्रमुख १७० जना जोड्दा राष्ट्रियसभाका २३० मतदता हुन्छन् । यो प्रदेशका स्वतन्त्र सांसद दिपक मनाङ्गेले शपथ लिएका छैनन् । उनले शपथ नलिएपछि उनको गणना हुँदैन ।
५ नम्बरमा ३०५ जना
५ नम्बर प्रदेशमा एमालेका ४१ सांसद छन् भने माओवादी २० र काँग्रेसका जना १९ छन् । यहाँ सङ्घीय समाजवादी फोरमका ५, राजपा र राजमोका एकएक सांसद छन् । सबै जोड्दा ८७ सांसद पुग्छन् । स्थानीय तहका २१८ मतदाता छन् । प्रदेश सांसद र स्थानीय प्रमुख र उपप्रमुख जोड्दा ३०५ जना मतदता पुग्छन् ।
प्रदेश ६ मा थोरै
राष्ट्रियसभा निर्वाचनका लागि सबैभन्दा थोरै मतदता ६ नम्बर प्रदेशमा छन् । यो प्रदेशमा जम्मा १९८ मात्रै मतदता छन् । यो प्रदेशमा एमालेका तर्फबाट निर्वाचित भएका राष्ट्रियसभा सदस्य २०, माओवादी १३, काँग्रेस ६ र राप्रपा १ गरी ४० प्रदेश सांसद छन् । त्यस्तै, स्थानीय तहका प्रमुख र उपप्रमुख १५८ रहेको यो प्रदेशमा सबै जोड्दा १९८ मतदाता हुन्छन् ।
प्रदेश नं ७ मा २२९ मतदता
यो प्रदेशमा राष्ट्रिय सभामा निर्वाचित ५३ मध्ये एमालेका २५ जना छन् । त्यसैगरी माओवादी केन्द्रका १४, नेपाली काँग्रेसका १२ र राजपाका २ जना प्रदेश सांसद छन् । ७ नम्बर प्रदेशमा स्थानीय तहका प्रमुख, उपप्रमुख १७६ जोड्दा २२९ जना मतदता हुन्छन् ।