- सुरज प्याकुरेल / अर्थ सरोकार डटकम
आफ्नो सपना पूरा गर्नु फरक कुरा होला । तर हजारौंको आदर्श पात्र बनेर सपनाको केन्द्रबिन्दु बन्नु सहज, र सानो उपलब्धि पक्कै होइन । यो बीचका कठिनाइ, भोगाई र उतारचढाव भोग्नेलाई भन्दा बढी अरु कसलाई पो थाहा हुँदो होला र ? त्यस्तै हजारौं सिए विद्यार्थीहरु र सयौं चार्टड एकाउन्टेन्टको आदर्श पात्र र सपनाको केन्द्रबिन्दु भएका छन् चार्टड एकाउन्टेन्ट रोशन कुमार न्यौपाने । हाल एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका रोशन न्यौपाने सानो दु:खले यो स्थानसम्म आएका पक्कै होइनन् । तर जति दु:ख उनले बैंकिङमा गरेका छन्, त्योभन्दा बढी उनको भिजन र ‘स्मार्ट-लिडरशिप’ र सकारात्मक सोचले उनलाई सीइओको कुर्शीको लायक बनाएको छ । धेरै पढेर होइन, स्मार्ट तरिकाले पढेर पास भइने कोर्ष चार्टड एकाउन्टेन्सी अध्ययन पूरा गरेका उनले गरेको स्मार्ट मेहेनतले आज उनी आफुमात्र सफल भएका छैनन्, नेपाली चार्टड एकाउन्टेन्सी क्षेत्रको ‘हाइट’ उँचो बनाएका छन् । सबैलाई गर्व गर्ने ठाउँ दिएका छन् ।
वाणिज्य बैंकका सीइओ बनेका आइक्यानका पहिलो प्रोडक्ट !
हुन त चार्टड एकाउटेन्ट सीइओ बनेको उदाहरण यो पहिलो होइन । यसअघि सनराइज बैंकमा सिए रत्न राज बज्राचार्य, सिटिजन्स बैंकमा राजन सिंह भण्डारी, नेपाल बंगलादेश बैंकमा सिए ज्ञानेन्द्र प्रसाद ढुंगाना सीइओ बनेका छन् । बिकास बैंकमा ज्योति बिकास बैंकका सीइओ मनोज ज्ञवाली र सांग्रीला डेभलोपमेन्ट बैंकका सीइओ सुयोग श्रेष्ठ पनि चार्टड एकाउटेन्ट हुन् । तर माथिका नामहरुमा आइक्यानकै पाठ्यक्रम पढेर सिए हुनेहरु कोहि छैनन् । अझ माथि उल्लेखित वाणिज्य बैंकका सिएहरु त सबै पूराना पुस्ताका सिए हुन् । आइक्यान र आइसीएआइ कुन राम्रो भनेर कसैले प्रश्न गर्दा उदाहरण नभेट्ने आइक्यानका विद्यार्थीहरुले अहिले गर्वका साथ भन्न थालेका छन्, ‘एनआइसी एशिया बैंकका सीइओ आइक्यानबाट पास भएका चार्टड एकाउन्टेन्ट हुन् । र उनी वाणिज्य बैंकका सबैभन्दा कान्छो सीइओ हुन् ।’ यो अवसर फगत रोशन न्यौपानेको मेहेनतका कारण सम्भव भएको हो । समग्र आइक्यानको इतिहासमा यो अध्याय पनि सुनौलो अक्षरमा पक्कै लेखिनेछ ।
‘प्रोफेसन’लाई सम्मान गर्ने एउटा ‘लिडर’
यहाँ प्रोफेसन भन्नाले सिए प्रोफेसन भन्न खोजिएको हो । रोशन न्यौपाने आफैं पनि आइक्यानका प्रोडक्ट भएका कारण उनले आइक्यानका समस्या बुझेका छन् । प्रोफेसनमा आउंदै गर्दा सिए पास गर्न कुन हदसम्मको मेहेनत गर्नुपर्छ भन्ने बुझेका छन् । अनि सिए पास भएपछि सपनाहरुले कसरी लखेट्छ एउटा सिएलाई र उ कतिसम्म सक्षम हुन्छ भन्ने पनि बुझेका छन् उनले । त्यसैले त ‘मै हुँ’ भनेर घिरौंलाजत्रो नाक बनाउने सिएहरु आफैं नेतृत्वमा हुँदा सिएलाई ‘मेनेजमेन्ट ट्रेनी’मा मागिरहेका बेला उनले सिएलाई अफिसरभन्दा तल राखेका छैनन् बैंकमा । अझ खास कुरा त के छ भने, प्रोफेसनको दम थाहा भएका उनले आफ्ना अधिकांस महत्वपूर्ण विभागको जिम्मा सिएलाई नै दिएका छन् । नेपालमा सबैभन्दा बढी सिएले काम गर्ने बैंकको सीइओ पनि सिए नै हुने सौभाग्य पाएको छ सिए क्षेत्रले । उनले गरेको यो पर्दा भित्रको योगदानलाई पनि यो क्षेत्रले सधैं सम्झिरहनेछ, सम्झीरहनुपर्छ ।
‘सोच बदलौं’ भन्ने स्लोगन राखेको बैंकका सीइओले बदलेको सोच !
सिए भएपछी अडिटर नै बन्नुपर्छ भन्ने सोच धेरैको हुन्छ । आज पनि धेरैले यहि बुझेका छन् । शंकरदेव क्याम्पसमा बिबिएस सकेर नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) मा चार्टड एकाउन्टेन्सी पढ्न भर्ना हुँदा उनीसँग पनि पास भएपछि अडिट फर्म खोल्ने सोच थियो । सिएको दोश्रो तह पास गरेपछि सीएससीमा ‘आर्टिकलशिप’ गर्दा होस्, वा त्यसपछी एसआर पाण्डेको अडिट फर्ममा काम गर्दा होस्, उनीसँग सिए फर्म खोल्ने र अडिटर हुने ‘भिजन’ थियो । तर के सफल अडिटर हुनु नै सफल सिएको परिचय हो त ? उनले सोच बदले । र त्यहि बदलिएको सोचले उनलाई बैंकर बनायो । उनी बैंकिङ जागिरमा प्रवेश गरे । इन्टरनल अडिटरको रुपमा जुनियर अफिसर भएर बैंकिङ क्षेत्रमा प्रवेश गरेका उनले त्यसपछि विभिन्न विभागको प्रमुख भएर जिम्मेवारी सम्हाल्न पाए । छोटो समयमा नै उनी नाम कहलिने बैंकर भए । करियरको आफ्नो ११ औं बसन्त लागिरहँदा उनी नेपालको सबैभन्दा ठूलो निजी क्षेत्रको बैंकको सीइओ बने । प्रोफेसनका लागि यो पनि इतिहास हो । एउटा गर्विलो इतिहास ।
‘दाजु’हरुका ‘लिडर’ भाइ !
उमेरले उनी ३८ पुगे । नेपालका वाणिज्य बैंकहरुमध्ये उनी कान्छा सीइओ हुन् । उनका सहपाठीहरु अधिकांस उनका ‘दाइ’ पर्छन् । त्यसैले भएर पनि होला उनमा घमण्ड छैन । देश अनुसारको भेष भनेजस्तै कहिलेकाहीं देशको अवस्था र समग्र बैंकिङको वातावरणले उनका कतिपय सपनाहरुमा अल्पविराम लागेका छन् । तर फरक सोचले उनलाई लिडर ‘भाइ’ बनाएको छ । सन् २००६ सालमा सिए पास गरेका उनी २०१८ सम्म आइपुग्दा नेपालको नीजी क्षेत्रको सबैभन्दा ठूलो बैंकको सीईओ भइसकेका छन् । यो ‘दशक’लाई बिदाइ गरेर सुरु भएका केहि बर्षको करियरमा उनले जुन रफ्तारले प्रगति गरेका छन्, त्यो धेरैका लागि प्रेरणाको स्रोत त पक्कै छ नै, उनलाई आदर्श मान्नेहरुको भीड पनि सानो छैन । मिझासिलो व्यवहार, ‘फिट एण्ड फाइन’ जिउडाल, मिठो र प्रष्ट बोली भएका उनै रोशन न्यौपाने धेरैका आइकन बन्न सफल भएका छन् ।
आइक्यानको एउटा ‘कस्तुरी’
दु:खको कुरा हो, इतिहास रचेका यिनै आइकनलाई अझैसम्म जति बुझ्नुपर्थ्यो, त्यति न नियामकले बुझ्न सकेको छ, न प्रोफेसनका मै हुँ भन्नेहरुले बुझ्न खोजेका छन् । मृगले कस्तुरी नचिनेझैं, आइक्यानले रोशन न्यौपानेलाई चिन्नुपर्ने जति वा चिन्नुपर्ने जसरी चिन्न सकेको छैन । यसै पनि खासै अर्काको प्रसंसा गर्न नजान्ने बर्गको बदनामी कमाएको सिए क्षेत्रले अपवादका रुपमा रहेका रोशन न्यौपानेलाई चिन्न वा बुझ्न सकेका छैनन्, खोजेका छैनन् । बुझेर पनि बुझें भन्न सकेका छैनन् । बुझेर पनि बुझेको छु भन्न चाहका छैनन् । एनआइसी एशिया बैंक त एउटा संस्था हो । त्यहाँ ‘को सिइओ बन्यो’ भन्ने त्यति महत्वपूर्ण कुरा होइन, जति नेपाल बोर्डको एउटा प्रोडक्टले देशको सबैभन्दा ठुलो निजी क्षेत्र बैंक हाँक्दैछ भन्ने गर्विलो अध्याय हो । रोशन न्यौपाने त एउटा ब्राण्ड हो । आइक्यानको एउटा ऐना । यसलाई आइक्यानले बुझ्नुपर्छ । समग्र प्रोफेसनले बुझ्नुपर्छ । ‘रोशन न्यौपानेको सफलतासँगै हजारौंको सपनाको मगमगाएको छ, इतिहास रचिएको छ । प्रोफेसनको नयाँ युगको यो एउटा सुनौलो अध्याय हो । अहँ ! यहाँ रोशन न्यौपानेलाई ‘फेइलर’ हुने कुनै छुट छैन ।’