- रेखा चन्द / अर्थ सरोकार डटकम
काठमाडौँ – हुन त नेपाललाई भन्नमा कृषि प्रदान देश हो भनिएपनि देश रेमिट्यान्सले धानेको तथ्य नकार्न सकिन्न । र पनि अलिकति फराकिलो सोच बनाएर सोच्ने हो भने देशमा व्यावसायिक कृषि सुरु भइसकेको छ । फलस्वरूप: डिग्री गरेकाहरुले गाइ पाल्न थालेका छन् । बार्है महिना मन लागेको तरकारी बजारसम्म आइपुग्ने गर्छ । नेपालमा नै अवसर र सम्भावना हुँदा हुँदै पनि पनि कृषकले लगानीको जोखिम मोल्न नसक्दा कृषकहरु सधैं मारमा पर्ने गरेका छन् । त्यसैले वैदशिक रोजगारमा जानेहरुको संख्या दिनानुदिन बढिरहेको छ । आफ्नै माटो खन्ने हातहरुले कलिला लालाबाला छोडेर आफ्नी श्रीमतीलाई बिदाइका हातहरु हल्लाउन विवस् छन् ।
कृषि व्यवसायलाई सुरक्षित र व्यवसायिक बनाउनको लागि कृषि बीमाको उपलब्धता छ देशमा । तर यसको जानकारी सबैले लिन नसक्दा वा सरकारले यो जानकारी ठाउँ ठाउँमा पुर्याउन नसक्दा किशानहरुका लागि अझै पनि बीमा ‘आकाशको फल’ बनेको छ । सरकारले कृषिमा ७५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरेको तथ्य सबैमाझ पुग्न सकेको छैन । बीमा समितिले २०६९ साल देखि कृषि बीमा सुरु गरेको हो । समितिले निर्जीबन बीमाको व्यवसाय गर्दै आएका सबै बीमा कम्पनीलाई जिल्ला तोकेरै गाउँ–गाउँमा गएर कृषि बीमा गर्न निर्देशन समेत दिएको छ । कृषकको लगानीलाई सुरक्षित राख्न बीमा कम्पनीहहरुले कृषि बीमाका बिभिन्न खाले योजना सञ्चालन पनि गर्दै आइरहेका छन् । फलस्वरूप पछिल्ला दिनमा गाइको बीमा गर्न वडाअध्यक्ष आफैं पुगेको खबरहरु पढ्न पाइन थालेका छन् । आजको यो अंकमा हामीले कृषि बीमा सम्बन्धि केहि जानकारी प्रस्तुत गर्दैछौं।
कृषि बीमा भित्र के के पर्दछन् ?
कृषि बीमा अन्तर्गत पशुधन बीमा, पन्छी बीमा, धानबाली बीमा, आलुबाली बीमा, फलफूल बाली बीमा, माछा बीमा, च्याउ बीमा, अष्ट्रिच बीमा, मौरी बीमा आदि व्यवसायहरूको बीमा गर्न सकिन्छ ।
कस्तो नोक्सानीबाट हुने हानीको पूर्तिका लागि कृषि बीमा गरिन्छ ?
आगलागी, दैवीप्रकोप (भूकम्प, बाढी, पहिरो, आँधीबेरी), रोग तथा किरा र आकस्मिक दृर्घटनाजन्य बाह्य कारणबाट हुने कुनै पनि प्रकारको हानी नोक्सानीको बीमा गरिन्छ ।
कृषि बीमाका फाईदा
कृषकहरुले कृषि बीमा गर्दा गरेको खण्डमा कृषकहरूको सम्पत्तिको सुरक्षा गरिदिन्छ । सबै कृषकहरूको लगानीलाई सुरक्षित बनाउनु कृषि बिमाको मुल उद्देश्य हो । कृषिलाई नै मध्येनजर गरी केही वर्षअघि देखि कृषि बीमा सुरु भएको छ । सरकारले यसप्रति कृषकहरूलाई आकर्षित गर्न ७५ प्रतिशत अनुदानको व्यवस्था गरेको छ । बाकिँ २५ प्रतिशत कृषक आफैले भुक्तानी गरेपछि आफ्नो लगानीको सुरक्षा गर्न सक्छन् ।
दाबीका लागी चाहिन आवश्यक कागजातहरु
१. पूर्ण रुपले भरिएको दाबी फाराम
२. सक्कल बीमालेख (आशिंक क्षति भएको अवस्थामा बीमालेखको छाँयाप्रति)
३. सम्बन्धित प्राविधिकको प्रतिवेदन
४. सम्बन्धित गा.पा, न.पा वा वडा वा कम्तिमा नजिकको दुईजना छिमेकी-संधियारको सर्जमिन मुचुल्का
५. पासपोर्ट साइजको फोटो
कस्तो अवस्थामा कृषि बीमा दाबी गर्न मिल्दैन ?
१. चोरी भएमा
२. सरकारी निर्णयको आदेशमा नष्ट गर्नुपरेमा
३. लापरबाहीको कारण, मनोरन्जनको उद्देश्य र रिसीइबीको कारणबाट क्षति भएमा
४. जग्गा बिक्री वा स्वामित्व हस्तान्तरण भएमा
५. युद्धको कारण क्षति भएमा
६.आणविक विकिरणबाट भएको क्षति
७. माछाको सन्दर्भमा भने पोखरीको क्षमता भन्दा बढी पालिएको भएमा
८. झुटो विवरण दिएर बीमा गरेको भएमा
९. जुन प्रायोजनको लागि ल्याइएको हो, सो बाहेक अन्य प्रायोजनको लागि प्रयोग गरेमा ।
केका लागि कृषि बीमा गर्ने ?
१. कृषिको व्यवसायीकरणको लागि जोखिम न्यूनीकरण गर्न ।
२. आर्थिक सुरक्षाको लागि ।
३. कृषि ऋण प्राप्त गर्न सजिलोको लागि ।
४. कृषि व्यवसायको निरन्तरताको लागि ।