×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कैलाशको कर्तुत : ‘नियम भन्दै गराइयो खाली चेकमा हस्ताक्षर, ऋणीकि छोरीलाई धम्क्याएर झ्वाम् पारियो १ करोड १९ लाख’


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- प्रत्येक महिनाजसो कुनै न कुनै काण्ड बाहिरिने कैलाश बिकास बैंकको अर्को काण्ड बाहिरिएको छ । पोखराका एक व्यवसायीलाई ब्ल्यांक चेकमा हस्ताक्षर गर्न लगाएर बैंकका एक कर्मचारीले १ करोड १९ लागि ठगी गरेको भन्दै व्यवसायीले नेपाल राष्ट्र बैंकमा हारगुहार गरेपछि बैंकभित्रको यस्तो काण्ड बाहिर आएको हो । नेपाल राष्ट्र बैंकमा उजुरी गरेर अर्थ सरोकार डटकमको सम्पर्कमा आएका पोखराका व्यवसायी रेशम राज पन्थीकजा अनुसार कैलाश विकास बैंक लामाचौर शाखाका तत्कालीन शाखा प्रमुख नरेन्द्र थापाले पन्थी इन्ड्रस्टिजको रकम ठगी गरिएको हो ।
पन्थी इन्ड्रस्टिजका सञ्चालक रेशमराज पन्थीले अर्थ सरोकार डटकमलाई दिएको जानकारी अनुसार कैलाश बिकास बैंकका लामाचौर शाखाका तत्कालीन शाखा प्रमुख थापाले खाली चेकमा हस्ताक्षर गर्न लगाएर आफ्नो कम्पनीको छाप र हस्ताक्षरसहितको खाली चेक आफैंसँग राखेर आफूलाई जानकारीसमेत नगराइ व्यक्तिगत हिसावले ऋण स्वीकृत गराई रकम हिनामिना गरेका छन् । सेवा शुल्क लगायत केहि शुल्कहरु बैंकको नियम अनुसार भुक्तानी गर्नुपर्ने भन्दै उनले खाली चेकमा हस्ताक्षर गर्न लगाएको उनको आरोप छ । 

नियम विपरित भए काम, यसरी खुल्यो ठगीको रहस्य ! 
पन्थी पोखराका चलेका व्यवसायी हुन् । व्यवसाय विस्तारका लागि उनले बैंकसँग ५ करोड रुपैयाँ ऋण माग गरेका थिए । सोहि अनुसार कैलाश विकास बैंकले स्ट्याण्डर्ड चार्टड बैंकमा रहेको निजको धितो फुकुवा गराउन १ करोड ७५ लाख रुपैयाँ दिएको थियो । यसो त उक्त रकम पनि प्रक्रिया नै नपुर्याई दिएको देखिन्छ । उक्त रकम बैंकले धितो रोक्का हुनु पूर्व पन्थीलाई उपलब्ध गराएको देखिन्छ । बैंकले उपलब्ध गराएको बैंक स्टेटमेन्टअनुसार गत भदौ १३ गते १ करोड ५० लाख रुपैयाँ ऋण लगानी गरेको देखिन्छ । तर तत्कालिन शाखा प्रमुख थापाले ऋण लगानी एक महिनापछि हुने भन्दै आवश्यक प्रक्रियाका लागि भन्दै खाली चेकमा हस्ताक्षर गराउन लगाई चेक र कम्पनीको छाप आफैंसँग राखेको पन्थीको भनाइ छ । 
उनको बैंक स्टेटमेन्ट अनुसार गण्डकी ईन्जिनियरिङका नाममा ४५ लाख, लेकसाईड हार्डवयरमा १३ लाख, सोवित पहारीको नाममा ४ लाख ५० हजार, आर्क दी आर्किटेक्चरको नाममा २० लाख, पन्थी डेरीको नाममा २५ लाख, निशा पन्थीको नाममा ५ लाख विभिन्न समयमा साटिएको देखिन्छ । उल्लेखित कुनै पनि रकम पन्थी कम्पनी तथा पन्थी परिवारले नलिएको पन्थीको दावी छ ।
छोरीलाई समेत फसाएर ठगी !
यता व्यवसायी पन्थीले बैंकका ब्रान्च मेनेजरले आफु देशमै नभएको बेला आफ्नी छोरीलाई धम्की दिएर समेत विभिन्न ठाउँमा हस्ताक्षर गर्न लगाएको आरोप लगाएका छन्। ‘मेरो खाताबाट रकम बाहिरियो भन्ने जानकारीसमेत मेरो मोबाइलमा वा अन्त कतै पनि आएन । व्यवसाय गर्न म र मेरी छोरीको संयुक्त खाता भएका बेला मेरी छोरीलाई बोलाएर धम्की दिएर विभिन्न ठाउँमा हस्ताक्षर गर्न लगाइएको छ । कहिले पनि व्यावहारिक काम नगरेकी छोरीलाई डेढ करोड फस्ने भो भनी अत्याएर चेकमा हस्ताक्षर गर्न लगाइएको छ । बदनियत बोकेर बैंकले मलाई डुबाउने खेल खेल्यो ।’ अर्थ सरोकार डटकमसँग उनले भने । उनका अनुसार चीनबाट कम्पनीमा मेसिन भित्र्याउन एलसी खोल्नुपर्ने भएकाले बैंकमा स्टेटमेन्ट हेर्दा पन्थीले आफ्नो खातामा रहेको रकम हिनामिना भएको जानकारी पाएका हुन् । उनका अनुसार रकम हिनामिना भएको तथ्य बैंकले पनि स्वीकारेको छ । तर रकम हिनामिना भएपछि आफुले आफ्नो व्यवसायका लागि माग गरेको केहि रकमसमेत बैंकले दिएको पैसा नचलाएको भन्दै रकम निकासा नगरिदिएको देखेर आफु अचम्ममा परेको बताए । ‘रकम हिनामिना भएको पनि बैंकलाई थाहा छ । अनि मलाइ पैसा चलाईएको छैन, त्यसैले रकम दिन्न पनि भन्छ । बैंकले मलाइ उल्टै समस्यामा मात्र पार्ने काम गरेको छ ।’ उनले भने । 
     
यता व्यवसायी पन्थीकि छोरी निशा पन्थी भने ऋण रोकिने डर र पैसासमेत फिर्ता गर्नुपर्ने धम्कीआएपछि बाध्य भएर बाबुलाई नभनी आफूले चेकमा हस्ताक्षर गरेको निशाको भनाइ छ । ऋणमध्ये थप २ करोड पन्थी इन्ड्रस्टिजका लागी ऋण स्वीकृत गरेको थियो । ‘नरेन्द्र सर(तत्कालीन ब्रान्च मेनेजर) ले मलाई बैंकमा बोलाएर विभिन्न व्यक्ति तथा संस्थाको नाममा चेक काट्न लगाई हस्ताक्षर गर्न लगाउँदै बाबालाई भनिस भने ऋण लगानी पनि रोकिदिन्छु र तैंले पहिलाको रकम १ करोड ७५ लाखसमेत फिर्ता गर्नुपर्छ भन्नुभयो । पछि पो हामीलाई फसाइएको रहेछ ।’ अर्थ सरोकार डटकमसँग उनले भनिन्, ‘हस्ताक्षर नगरे ऋण लगानी रोकिदिने र ऋण लगानी पूर्व दिएको १ करोड ७५ लाख समेत फिर्ता गर्नुपर्ने धम्की आएपछि मैले हस्ताक्षर गरेको हुँ ।’ 

के भन्छ बैंक ?
यता बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले भने आफ्ना कर्मचारी नरेन्द्र थापालाई हाल बैंकबाट निलम्बन गरिएको र उनीमाथि अनुसन्धान भइरहेको बताएका छन् । ‘हामीले तत्कालिन शाखा प्रमुख थापालाई लामाचौर शाखाबाट लेकसाइड शाखामा सरुवा गरी निलम्बन गरिसकेका छौँ । थापाजीको विषयमा थप अनुसन्धान भइरहेको छ । यता निलम्बन गरिएका तत्कालीन शाखा प्रमुख थापाले भने पन्थीको रकम आफूले हिनामिना नगरेको बताए । निशा पन्थीले विभिन्न व्यक्ति तथा संस्थालाई पन्थी डेरीको रकम दिएको उनको दावी छ । ‘मैले कुनै पनि रकम हिनामिना गरेको छैन । हिनामिना गरेको पुष्टी भए कारबाही भोग्न तयार छु ।’ उनले भने। 
राष्ट्र बैंक पुग्यो केस !
यता कैलाश बिकास बैंकबाट आफु ठगिएपछि व्यवसायी पन्थी नेपाल राष्ट्र बैंकमा उजुरी लिएर पुगेका छन् । उनले सीआइबीमा समेत उक्त उजुरीको बोधार्थ पठाएका छन् । ‘राष्ट्र बैंकमा उजुरी गरिसकेको छु । कतैबाट पनि न्याय पाइन भने नांगै बैंक अगाडी धर्ना बस्छु । कैलाश बिकास बैंक लुटेरा बैंक रहेछ । अव यो बैंकमा कुनै पनि कारोबार गर्दिन । अरुलाई पनि कारोबार नगर्न सल्लाह दिन्छु । बैंकले मलाइ यो कुरा बाहिर नलैजान र चैत्र १५ गतेसम्म पैसा फिर्ता दिन्छु, हामीबाट गल्ती भएकै हो समेत भनेको थियो । तर आज चैत्र १६ गते कतै पनि न्याय नपाएपछि म अर्थ सरोकार डटकमको कार्यालयमा आएको हुँ । यसअघि पनि महिन्द्रा कम्पनीले मलाइ ठगेको गुनासो अर्थ सरोकार डटकमले प्रकाशित गरिदिएपछि कम्पनीले मलाइ पैसा फिर्ता दिएको थियो । यसपाली पनि अर्थ सरोकारको सहयोगको अपेक्षा राखेको छु ।’ उनले भने । यता नेपाल राष्ट्र बैंकले भने उक्त केसको अनुसन्धान भइरहेको जनाएको छ । यस्तो छ नेपाल राष्ट्र बैंकमा पुगेको उजुरी 

 

यस विषयमा तयार गरिएको अर्थ सरोकार टेलिभिजन कार्यक्रम हामी यसै साता प्रशारण गर्नेछौं ।  
यो पनि पढ्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: