- अर्थ सरोकार इन्भेष्टिगेसन ब्यूरो
काठमाडौँ- रवि क्षेत्री । २०६९ साल जेठ ३ गते उनका बाबुको स्वर्गबास भयो । बाबुको १३ दिनको काम सकेपछि उनले रितपूर्वक नाता प्रमाणित गरी आफ्ना बाबुको नाममा रहेको रकम झिक्न बाबुको खाता रहेको स्यूचाटार सहकारी पुगे उनी । सुरुमा सहकारीका मान्छेले तपाईं हाम्रै निक्षेपकर्ताको छोरो, केहि समयमा पैसा दिइहाल्छौं भनेर केहि दिन झुलाइयो । र केहि समयपछि त उनलाई पैसा नै दिन मिल्दैन भनियो । पैसा किन दिन नमिल्ने ? कारण देखाइयो, उनकी बाबुकी अर्की श्रीमती । आफ्ना बाबुले अर्को विवाह गरेको थाहा छैन उनलाई । तर सहकारी भन्छ, ‘खातावालाकि अर्की श्रीमतीको हकदावी परेको छ । पैसा दिन मिल्दैन ।’ र त्यसपछि सुरु भयो न्यायका निम्ति लडाई ।
रकम सानो थियो । तर जसरी सहकारी जालसाझीपूर्ण तरिकाले आफ्ना बाबुको नाममा रहेको रकम अरु कसैको खातामा राख्न खोजियो, तव उनले पैसाभन्दा पनि ठुलो न्यायको लडाई सम्झिए । र लडीरहे निरन्तर । सहकारीमा उनले थप खोजीनीधी गरे । खोज्दै जाँदा उनले सहकारीका थुप्रै गलत कामका प्रमाणहरु पत्तासमेत लगाए ।
प्रमाण नम्बर १
१. खातावालाको हस्ताक्षर नै नगरी शेषपछि रकम पाउने व्यक्तिको नाम कसरी फेरियो ? किन फेरियो ? यो सहकारीले आफ्नो बाबुको रकम हत्याउन खेल खेलेको रविको आरोप छ । यहाँनेर सहकारीको नियतमाथि प्रश्न उठाउने ठाउँ छ ।
प्रमाण नम्बर २
व्यक्तिगत स्वामित्वको महत्वपूर्ण कागजातमा फोटो टाँस्ने र आफुखुसी हटाउने काम कसरी र किन भयो ? यसमा सहकारीको नियतमाथि प्रश्न उठाउने ठाउँ छ ।
प्रमाण नम्बर ३
२०६९ साल जेठ महिनाको ३ गते उनका बाबुको मृत्यु भएको छ । तर २०६९ साल जेठ ४ गते उनका बाबुले स्वयम् सहकारीबाट पैसा ५० हजार रुपैयाँ झिकेको देखिएको छ । यो कसरी सम्भव भयो ? यहाँ पनि सहकारीको नियतमाथि प्रश्न उठाउने ठाउँ छ ।
प्रमाण नम्बर ४
उक्त रकमको हकदावी गर्ने र रवीका बाबुको श्रीमती भनिएकी रमा देवी बुढाथोकीको नागरिकतामा र हकदावीमा भएको हस्ताक्षर नै मिलेको छैन । अझ उनको नागरिकतामा श्रीमानको नाम पनि अर्कै छ । यदी रविका बुबासँग उनको विवाह भएको थियो भने विवाह दर्ता खोइ त ? प्रश्न यहाँ पनि छ ।
प्रमाण नम्बर ५
रमादेवीको हकदावीको निवेदन पत्रिकामा हकदावी दिन आउने सूचना प्रकाशित भएको मिति अगावै आएको छ । यो कसरी भयो ? आफ्ना श्रीमानको निधन हुँदासमेत ती महिला किरिया बसेको ठाउँमा एक पटक पनि आइनन् । तर पैसा भनेपछि किन यसरी देखा परिन् ? यसो त उनको हकदावी इमेल मार्फत आएको भनिएको छ तर सहकारीले मृतकका छोरालाईसमेत उक्त इमेल देखाउन किन मानीरहेको छैन ?
सहकारीले हदसम्मको बदमासी गरेपछि उनी न्यायका लागि लड्न नछोड्ने अठोटमा पुगेका छन् । र त बर्षौंसम्म पनि न्यायका लागि धाइरहेका छन् । यो बीचमा उनी कहाँ-कहाँ पुगेका छैनन् ? के के सम्म गरेका छैनन् ? तर उनले अझैसम्म पनि न्याय पाएका छैनन् ।
उनको सबै गुनासो सुनिसकेपछि हामी स्यूचाटार सहकारीमा पुग्यौं । त्यहाँका मेनेजरसापको कुरा र व्यवहार हेर्दा सहकारीले कतिसम्म बदमासी गर्न खोजेको छ भन्ने बुझ्न सकिन्छ । अझ सहकारीका जिम्मेवार अधिकारीले, हामीले गरेको निर्णय यहि हो, तिमीहरु जहाँ सुकै जाउ, जे सुकै गर भनेर गैरजिम्मेवार ढंगले प्रस्तुत हुनुले पनि रवी अन्यायमा परेको बुझ्न गाह्रो छैन । बाँकी यो बहसको दृश्य आफैं बोलिरहेको छ ।
विस्तृत ‘न्यूज-स्टोरी’ भिडियोमा हेर्नुहोस् !