×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकहरूको सेयर प्रिमियम खातामा ७ अर्ब १२ करोड

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बैंकहरूको सेयर प्रिमियम खातामा ७ अर्ब १२ करोड

१६ आश्विन २०७६, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । आर्थिक वर्ष ०७५/७६ मा बैंक तथा वित्तीय संस्थामा ७ अर्ब १२ करोड रुपैयाँ सेयर प्रिमियमका रूपमा रहेको छ । मर्जरमा गाभिने बैंकको खुद सम्पत्तिभन्दा सेयर मूल्यांकनका कारण गाभ्ने कम्पनीले कम मूल्य तिर्नुपरेको अवस्थामा बाँकी रहेको लाभ रकम सेयर प्रिमियममा जान्छ । त्यसैगरी सेयर लिलामीबाट बेच्दा बढी मूल्यमा बिक्री भएमा यसरी प्राप्त हुने रकम सेयर प्रिमियमका रूपमा राख्नुपर्छ । 
राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष ०७५/७६ को तथ्यांकअनुसार ३७ बैंक तथा वित्तीय संस्थामा सेयर प्रिमियमका रूपमा जम्मा भएको रकम ७ अर्ब १२ करोड रहेको छ । यो रकम सोही कम्पनीहरूको कुल चुक्ता पुँजी १ खर्ब २३ अर्बका आधारमा ५ दशमलव ७८ प्रतिशत हो । प्रिमियमका रूपमा जम्मा हुने रकम बोनसका रूपमा नै वितरण गर्नुपर्ने कम्पनी ऐनको प्रावधान छ । 
‘गाभिँदा कुनै बैंकको सेयरको मूल्यांकन १ सय रुपैयाँभन्दा कम गरियो भने मूल्यांकनबराबर रकम चुक्ता पुँजीमा जोडिन्छ,’ सेयर विश्लेषक प्रकाश तिवारीले भने, ‘तर, बाँकी रकम भने सेयर प्रिमियमका रूपमा रहन्छ ।’ यसरी उब्रिएको रकम सोझै चुक्ता पुँजीमा थप्न पाइँदैन । त्यही रकम बोनस सेयरका रूपमा लगानीकर्तालाई दिएपछि मात्रै चुक्ता पुँजीमा जोडिन्छ । 
नगद लाभांशका रूपमा प्रिमियम बाँड्न माग 
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको बिग मर्जर गराउने तयारी गरिरहेको समयमा कतिपय सञ्चालकहरूले प्रिमियम रकमलाई नगद लाभांश दिनसमेत लबिङ गरिरहेका छन् ।  ‘मौद्रिक नीतिमा दबाबका रूपमा मर्जरको व्यवस्था गर्ने हो भने बैंकहरूले प्रिमियमको रकम लाभांश दिनसमेत प्रयोग गर्न पाउनुपर्ने माग राखेका थिए,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘तर, राष्ट्र बैंकले यो माग मान्न सक्ने अवस्था नै थिएन ।’
प्रिमियमबाटै ३३ प्रतिशतसम्म लाभांश 
प्रिमियम रकमबाटै कतिपय बैंकले ३३ प्रतिशतसम्म लाभांश दिन सक्ने भएका छन् । नेपाल बैंकले यस्तो रकमबाट ३३ प्रतिशतसम्म लाभांश दिन सक्ने अवस्था देखिएको हो । एकै वर्षमा उच्च दरमा लाभांश दिएर रकम सबै सक्नुभन्दा क्रमशः पछिल्ला वर्षहरूमा समान दरमा लाभांश दिन पनि बैंकहरूले यस्तो रकममध्येबाट केही बचाएर राख्ने गर्छन् । पहिलो वर्षको तुलनामा दोस्रो वर्ष लाभांश दिँदा घटेर दिइएमा त्यसको नकारात्मक प्रभावसमेत मूल्यमा पर्ने हुन्छ । ६३ करोडको सेयर लिलामीमा बेच्दा ८३ करोड नाफा कायम सेयरधनीको हक लाग्ने सेयर नबिकेपछि बैंक तथा वित्तीय संस्थाले त्यसलाई लिलामीमा बेचेर गत आर्थिक वर्षमा ८३ करोड नाफा कमाएका छन् । चुक्ता पुँजी बढाउने एउटा उपाय हकप्रद सेयर निष्कासन पनि हो । कायम सेयरधनीका लागि हकप्रद सेयर जारी गरिन्छ । यो सेयर बिक्री नभएमा मात्र अन्यले लगानी गर्न पाउँछन् । लिलामी प्रक्रियाबाट बिक्री गरिने यस्तो सेयरमा लगानीकर्ताले मूल्य बढाबढ गरेर सहभागिता जनाउँछन् भने लिलामी मूल्यको औसत लिएर सोही आधारमा वितरण गरिन्छ । 
कायम सेयरधनीका लागि बिक्री गर्दा अंकित मूल्य (एक सय रुपैयाँ) मै बिक्री हुने सेयरले लिलामीमा भने त्योभन्दा बढी रकम पनि पाउन सक्छ । गत आर्थिक वर्षमा ३५ कम्पनीको नबिकेको ६३ लाख ९९ हजार कित्ता सेयर लिलामीमा बिक्री हुँदा संस्थाहरूलाई ८३ करोड नाफा भएको हो । 
कसरी जान्छ सेयर प्रिमियममा रकम 
कुनै दुई बैंक मर्जर हुँदै छन् र एउटाको सेयरको मूल्य १ सय रुपैयाँ तय भयो, तर अर्कोको १ सय रुपैयाँको सेयरको मूल्य ६५ रुपैयाँ कायम भयो । यस्तोमा मर्जरपछि बन्ने कम्पनीको चुक्ता पुँजी १ सय ६५ रुपैयाँ हुन्छ । र, बाँकी ३५ रुपैयाँ भने प्रिमियमका रूपमा रहन्छ । त्यस्तै, कुनै कम्पनीले १ सय मूल्यभन्दा बढीमा थप सेयर निष्कासन (फर्दर पब्लिक अफरिङ) गरेको छ भने १ सय मूल्य चुक्ता पुँजीमा जोडिन्छ, बाँकी प्रिमियमका रूपमा रहन्छ । हकवाला सेयरधनीले सेयर (हकप्रद सेयर) नकिनेर लिलाम बेच्दा पनि १ सयभन्दा बढी रकम प्रिमियमका रूपमा जम्मा हुन्छ । मर्जरमा स्वाप रेसियो अलग–अलग भएमा पनि प्रिमियमका रूपमा रकम जम्मा हुन्छ । नयाँ पत्रिका दैनिकबाट साभार 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: