×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामान आयात निर्यात गर्नेमा वीरगञ्ज भन्सार शीर्ष स्थानमा, हेर्नुहोस् अन्य भन्सार कार्यालयको अवस्था कस्तो छ ?

PRIME CA

सामान आयात निर्यात गर्नेमा वीरगञ्ज भन्सार शीर्ष स्थानमा, हेर्नुहोस् अन्य भन्सार कार्यालयको अवस्था कस्तो छ ?

१८ फाल्गुन २०७६, आईतवार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौं – मुलुकको अन्तर्राष्ट्रिय व्यापारका लागि भनेर स्थापना गरिएका कुल २४ भन्सारमध्ये १७ वटा भन्सार नाकाबाट हुने निर्यात असाध्यै न्यून रहेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिनाको विवरण अनुसार ती भन्सार कार्यालयबाट निर्यात असाध्यै न्यून देखिएको हो । त्यसमा ८ भन्सार कार्यालयको निर्यात शून्य प्रतिशत रहेको उल्लेख गरिएको छ ।
विभागका अनुसार भद्रपुर जलेश्वर, जनकपुर, महेशपुर (नवलपरासी), सर्लाही, सेती (कैलाली), सिरहा, सुनसरी, सुथौली (कपिलवस्तु), तातोपानी, ठाँडी (सिरहा) लगायतका भन्सार कार्यालयबाट सो अवधिमा निर्यात प्रतिशत शून्य रहेको पाइएको छ । विभागको विवरण अनुसार नेपाल र भारतबीचको प्रमुख भन्सार नाका वीरगञ्जबाटै निर्यातसमेत बढी भएको देखिएको छ । सो भन्सारबाट कुल ३१.४१ प्रतिशत निर्यात भएको छ ।
यस भन्सारबाट चालु आवको ७ महिनामा २० अर्ब ४० करोड ५५ लाख १३ हजार बराबरको निर्यात भएको छ । यस्तै, भैरहवा भन्सारको हिस्सा दोस्रोमा छ । यस भन्सारबाट कुल २८.४५ प्रतिशत निर्यात भएको छ । विभागका अनुसार सो भन्सारबाट १८ अर्ब ४८ करोड ४१ लाख ११ हजार बराबरको निर्यात भएको हो । त्यस्तै, तेस्रोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय छ ।
यस भन्सारबाट १४ अर्ब ९ करोड ६० लाख ९३ हजार बराबरको निर्यात भएको छ । प्रतिशतका आधारमा सो भन्सारबाट २१.७० प्रतिशत निर्यात भएको छ । चालु आवको ७ महिनामा कुल ८ खर्ब ३ अर्ब ६० करोड २८ लाख १३ हजार बराबरको सामान आयात भएकामा ६४ अर्ब ९७ करोड १२ लाख २७ हजार बराबरको निर्यात भएको छ । 
विभागको विवरण अनुसार सामान आयात गर्नेमा पनि वीरगञ्ज भन्सार नै शीर्ष स्थानमा रहेको छ । सो भन्सारबाट २ खर्ब ७५ अर्ब ६९ करोड २६ लाख ९९ हजार बराबरको माल सामान आयात भएको छ । प्रतिशतका आधारमा यस भन्सारको हिस्सा ३४.३१ प्रतिशत रहेको छ । यस्तै, दोस्रोमा भैरहवा भन्सार कार्यालय रहेको छ । यस भन्सार कार्यालयबाट मात्रै १ खर्ब ३७ अर्ब ३० करोड ४१ लाख १८ हजार बराबरको सामान आयात भएको छ । त्यो भनेको कुल आयातको १७.०९ प्रतिशत हो ।
यस्तै, वीरगञ्ज सुक्खा बन्दरगाहबाट १ खर्ब एक अर्ब ३५ करोड ९५ लाख ९६ हजार बराबरको मालवस्तु आयात भएको छ । विराटनगर भन्सारबाट ८४ अर्ब ७६ करोड ६६ लाख ८९ हजार बराबरको आयात भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट ८१ अर्ब ५० करोड ६८ लाख ५३ हजार बराबरको माल वस्तु आयात भएको छ । प्रतिशतका आधारमा कुल आयातमध्ये १०.१४ प्रतिशत हिस्सा सो भन्सार कार्यालयले राखेको छ ।
विभागका अनुसार रसुवा भन्सारबाट २६ अर्ब २३ करोड ३६ लाख ८७ हजार, नेपालगञ्ज भन्सारबाट ३० अर्ब ४० करोड २६ लाख ७६ हजार, कृष्णनगर भन्सारबाट १२ अर्ब २६ करोड २४ लाख ६ हजारको आयात भएको छ । यसैगरी, कैलाली भन्सारबाट १० अर्ब ९७ करोड ५७ लाख २९ हजार बराबरको मालवस्तु आयात भएको छ । चालु आवको ७ महिनाको अवधिमा मुलुकको कुल व्यापार घाटा भने ७ खर्ब ३८ अर्ब ६३ करोड १५ लाख ८६ हजार रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: