×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘एक अप्रत्याशित संकटले उब्जाएका अनेकौं अनुत्तरित सवालहरु…’ बैंकर शिवराज तिमिल्सिनाको विचार

  • शिवराज तिमिल्सिना
केहि दिनदेखि एउटा सवालको भुमरिले मेरो मन मस्तिष्कलाई आन्दोलित गर्नुका साथै एक प्रकारको कौतुहलता पनि जगाएको छ । सारा विश्व कोरोना भाईरस (कोभिड-१९ )रुपी महामारीबाट आक्रान्त छ । हाम्रो देश पनि यसबाट अछुतो रहेन । पछिल्ला दिनहरुमा अप्रत्याशित तवरले भनौँ वा परिक्षणको दायरा अलिक व्यापक भएको कारणले हो संक्रमितहरुको संख्या गुणात्मक रुपले सार्वजनिक हुँदैछ भने ३ जना संक्रमितहरूले मृत्युवरण गरेको दुःखद घटना देश, समाज अनि परिवारजनले बेहोर्नु परेको तितो यथार्थ हाम्रो सामु छ । हामी अत्यन्तै जटिल एवम् कठिन मोडमा छौं । महामारीको निराकरण या उन्मुलन के ? कसरी ? र कहिले सम्म ? जस्ता अनुत्तरित सवाल त छँदैछन्, आजको दिनसम्म यसको दिगो निदानको उपाय विश्व स्वास्थ्य संगठन तथा स्वास्थ्य क्षेत्रका अन्तराष्ट्रिय स्तरका विज्ञ चिकित्सक-वैज्ञानिकसँगसमेत छैन । 
मानव जीवनसँग प्रत्यक्ष गाँसिएको स्वास्थ्य सेवा र सुरक्षा निकायहरुका गतिविधि बाहेकका सामान्य अवस्थामा हुने लगभग सबै प्रकारका गतिविधि ठप्प प्रायः छन् । जनता सरकारद्वारा निर्देशित लकडाउनको पालना गर्दै आ-आफ्नो घरको सिमित परिधी भित्र रही सिमित सुविधा उपभोग गरी बाध्यात्मक कष्टकर दैनिकी गुजारा गरिरहेका छन्। यस्तो जटिल तथा असामान्य परिस्थितिमा आर्थिक गतिविधि गर्ने वित्तीय क्षेत्रका बैंक तथा वित्तीय सस्थांहरुले पनि सिमित आर्थिक क्रियाकालाप बाहेकका अन्य सम्पूर्ण बैंकिङ (Total Banking) गतिविधिहरु गरी नरहेको हुनुपर्छ । किनभने सेवाग्राही उपस्थित हुन सक्ने अवस्था नहुनुका साथ-साथै कलकारखाना, उद्योग, बाणिज्य लगायतका सम्पूर्ण आर्थिक कारोवार हुने क्षेत्रहरु समेत ठप्प रहेको अवस्था छ । 
यसै सन्दर्भमा सामाजिक संजाल लगायत केहि संचार माध्यमहरुमा आजभोलि बैंककर्मीलाई जोडेर लकडाउन उलङ्घन गर्नेमा उल्लेख्य संख्या रहेको भन्ने लान्छना लाग्नु र बैंककर्मीलाई सेवा संचालन गर्ने सिलसिलामा कार्यालय आवत जावतमा कठिनाई भोग्नु परेको समाचार सुन्न र देख्न पाईएको छ। अर्कोतर्फ प्रयाप्त सुरक्षा सामाग्रीहरुको अभावमा अग्रपङ्क्तिमा (Frontline) रही सेवा उपलब्ध गराउनु पर्ने बाध्यता त छँदै छ । पछिल्ला दिनहरूमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी हरूमा पनि संक्रमण देखिएको तथ्य नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पुष्टि भईसकेको छ। यस्ता समस्याहरुका बावजुद बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले पुर्याएको सेवाको मुक्त कण्ठले प्रशंसा नगरी रहन सकिन्न । यस्तो कहालीलाग्दो परिस्थितिमा आफ्नो र सकल परिवारजनको जीवन र स्वास्थ्यको समेतको हेक्का नगरी जोखिमको घडीमा समेत सेवा भावबाट प्रेरित भई बैंक तथा वित्तीय सस्थांहरुमा कार्यरत कर्मचारीहरुबाट यदाकदा व्यवस्थापकहरुप्रतिको गुनासोहरु पनि सुन्ने गरिन्छ । यस्ता गुनासाका बिषयमा उच्च व्यवस्थापन र क्रियाशील कर्मचारी युनियनहरूले समेत समयमै संज्ञानमा लिई कर्मचारीको मनोबललाई उच्च राखी रहन आवश्यक ठहर्छ । 
यो मानव सभ्यतालाई नै चुनौतिका रुपमा रहेको महामारीबिरुद्ध अहोरात्र खटिएका चिकित्सक तथा अन्य समस्त स्वास्थ्यकर्मी, सफाईकर्मी र सुरक्षा सजगताका लागि खटिएका सुरक्षाकर्मीको जति प्रशंसा गरे पनि अधुरो-अपुरो नै हुनेछ । यस्ता कर्मयोगीहरू प्रति स-सम्मान हार्दिक नमन व्यक्त नगरी रहन सकिन्न । उल्लेखित परिस्थितिमा बैंक तथा वित्तीय संस्थाहरुले पनि अत्यन्तै सिमित शाखाहरु नितान्त सिमित समयका लागि मात्र किन सञ्चालन नगर्ने ? असहज परिस्थितिमा कसले कति धेरै शाखाहरुबाट सेवा प्रवाह गर्यो भन्ने होडबाजी भन्दापनि न्यूनतम जनशक्ति परिचालन गरी न्यूनतम शाखाहरुबाट सिमित एवं प्रभावकारी सेवा प्रवाह गर्नु र ग्राहकलाई Delivery channel हरुको अधिकतम् प्रयोग गर्न उत्प्रेरण गर्नु आजको आवश्यकताका साथसाथै भोलिका लागि अवसर पनि हो भन्ने कुरा ज्ञात हुनु जरुरी छ । खासगरी यो विषम अवस्थामा बैंक तथा वित्तीय क्षेत्रले आधारभूत सेवा र व्यवसाय मात्र संचालन गरी सेवा प्रवाह गर्न बाध्य छन भने अर्कोतर्फ आम लगानीकर्ताको लगानी सुरक्षित गर्नुपर्ने दायित्व पनि हुन आउँछ । यसका लागी महामारीपश्चात के कस्ता रणनीति अख्तियार गर्ने भन्ने सवालमा आ-आफ्नो बजेट तथा कार्यक्रम मार्फत प्रस्तुत हुनु आवश्यक छ । 
त्यो २१औं शताब्दीका आम सेवाग्राही, उपभोक्ताहरुले पनि बैंक तथा वित्तीय संस्थाहरुबाट प्रदान गरिने Digital Banking प्रविधिहरुको उच्चतम प्रयोग गरी सेवा लिनुपर्दछ जस्तै (ATM, Internet Banking र Smart Banking बाट हुने विभिन्न भुक्तानी प्रणालीहरु)। तसर्थ बैंक तथा वित्तीय संस्था एवं सरोकारवालाहरुले यस्ता प्रविधिको पहुँच व्यापक एवं उपभोक्ता मैत्री बनाउनु बान्छनीय हुन्छ । अतः स्वस्थ एवं सुरक्षित जीवनबाट मात्र अन्य गतिविधिहरू सम्भव हुन्छन। जीवन नै नरहे बाँकी के? लापरवाही नगरौं ! सावधानी अपनाऔं !! सबै प्रकारका सुरक्षाविधि एवं उपायहरु अवलम्बन गरौं !!! आँफु, परिवार, समाज, मुलुक र विश्वलाई समेत सुरक्षित राख्न योगदान गरौं !!!अस्तुः …!!
-शिवराज तिमिल्सिना
कृषि विकास बैंक लि.
मुख्य कार्यालय, रामशाहपथ
काठमाण्डौ !
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: