काठमाडौँ – आपत् विपद नपरेसम्म नआत्तिने र ठूलो छाती भएका हामी गोर्खाली हिजो कोरोना संक्रमित ह्वात्तै बढेर २ सय १७ पुगेपछि बल्ल अलि तर्सेका छौँ । सुरूका दिनदेखि लकडाउनको पचासौँ दिन काटिसक्दा पनि हामीले निम्न गल्ती गरिरह्यौँ ।
१. सुरूका दिनहरूमै हामी होसियार भएर अन्तर्राष्ट्रिय उड़न बन्द गरी नाकाहरूमा कडाइ गर्नुपर्ने बेला उल्टै भिजिट नेपाल २०२० को प्रचार गरिरह्यौँ ।
२. देशमा लकडाउन गरियो तर भारतबाट जमातका जमात मानीस र धार्मिक गुरु–चेला नेपाल भित्रिने क्रमलाई रोक्न सकेनौँ ।
३ पासहरू वितरण भए र कतिपय पेसाकर्मीहरूको परिचय पत्र नै पास बन्यो। पास वा पासजस्तै परिचय पत्र हुने पेसाकर्मी काम होस् वा नहोस् लखर–लखर बाहिर निस्केर भीड़ बढाउन थाले । २ दिन अघि त काठमाडौंका कति ठाउँमा सवारी जामका तस्वीरहरू पत्रपत्रिकामा देखिए ।
४. बैकिङलाई अत्यावश्यक सेवा भन्दै सुरूमा अलिअलि खोल्ने अनुमति दिँदा कसले बढी शाखा खोलेर बढी कर्मचारी कार्यालयमा बोलाउने भन्नेमा होडबाजी नै चल्यो । ग्राहकको आवश्यकता कति हो र बैंकहरू कुन सीमामा रहेर त्यस्तो आवश्यकता पूर्ति गर्न सक्छन् भन्ने कुराको ख्याल गरिएन । र, कर्मचारीलाई घरमा राखेर तलब दिनुभन्दा कित कार्यालय बोलाउने वा जबरजस्ती बिदा लिन लगाउने मानसिकता हावी भयो । औषधि लिन जाँदासमेत पुलिसले लठ्ठी हान्ने बेलामा ग्राहकलाई बैंकिङ सेवा लिन जान छुट थिएन तर खोइ, कसका लागि हो, हामीले बैंकिङ खोल्यौँ ।
५. प्रभावित क्षेत्रमै पर्याप्त जाँच भएको छैन । हामी संक्रमित संख्या कम छ भनेर बढी ढुक्क भयौँ र सोहीअनुसार लकडाउन बिस्तारै खुकुलो पारेर अघि बढ्ने निर्णयमा पुग्यौँ ।
६. भारतबाट आउने नाकामा कडाइ गरियो तर, खुल्ला सीमाका अन्य चोर बाटो हुँदै हजारौं मानिस नेपाल लुकिछिपी प्रवेश गरेको न रेकर्ड न जानकारी रह्यो ।
७. शहरतिर अलि सावधानी र कडाइ भए पनि बाहिरतिर एकदम लापरवाही भएको छ, चाहे सुरक्षा अपनाउने कुरामा होस् वा मान्छे अनावश्यक भेट्ने कुरामा होस् ।
८. लकडाउन सर्वसाधारणलाई भयो तर, अलिकति मात्रै राजनीतिक वा प्रशासनिक सम्बन्ध भएका राजनीतिक वा धार्मिक नेता वा उनका आसेपासेहरू भारत भरी घुमेर पनि नेपाल पुरै घुम्न भ्याए ।
९. पत्रकार, प्रदर्शनकारी तथा बैंकरहरू कोरोनाप्रूफ छन् जस्तै उचित सावधानीविना आ–आफ्नो काममा जुटे । यसको असर अझै देखिन बाँकी छ ।
१०. सरकारको ध्यान पूर्णतया कोरोना नियन्त्रणभन्दा अध्यादेश बनाउने र खारेजी गर्ने, सरकार परिवर्तन गर्ने र बचाउने, डाक्टरको सरुवा गर्ने, कसलाई कहाँको हस्ताक्षर संकलन गर्ने अनि अनावश्यक काममा बढी गयो । प्रभावित ठाउँमा टेस्ट कीट छैन, कुनै लक्षण देखिएको छैन । सबै सासंदको पीसीआर विधिमै परीक्षण गरी कीट सकियो । हामी नागरिकको चेतनाको त कुरा गर्नु परेन ।
यसरी एउटा मान्छे नि मरेको छैन, जाबो रुघाखोकी त हो भनेर हामीमध्ये कतिपयले कोरोनालाई हेप्याँै । संक्रमित बढ्दै छन् र कति संक्रमित त संक्रमण छ भन्ने थाहा नपाई अरुलाई सार्दै हिँडिरहेका छन् । हामीलाई हाम्रो स्वास्थ्य सेवाको सीमा र भोलि यसै गरी संक्रमित बढेमा बाटैमा ज्यान जान्छ, थाहा छ तर पनि संवेदनशील हुन सकिरहेका छैनौँ । रोजनामा कमी भयो । अब निम्न काम गरौँ ।
१. प्रभावित जिल्ला र स्थान विशेषलाई पुरै सिल गरौँ । बढी प्रभावित स्थानको सबै स्वास्थ्य स्थिति र चेकजाँचमा थोरै पनि ढिला नगरौँ ।
२. भारतले नेपालीहरू फर्किन खोजेमा सहजै छाडिरहेको अवस्था छ । उनीहरूलाई चोर बाटोबाट छिराएर गाउँगाउँमा संक्रमण फैलाउन दिनुभन्दा आधिकारिक डाटा राखेर सीमा क्षेत्रकै होटल, स्कुल, पार्टी प्यालेसलाई क्वारेन्टाइन बनाऔँ । क्वारेटाइनको सर्तहरूमा कडाइ गरौँ । उल्लंघन गर्नेलाई जेलकै व्यवस्था गरौँ ।
३. अत्यावश्यक सेवाको नाममा धेरै संघसंस्था खोल्ने काम बन्द गरौँ । जीविकोपार्जनका लागि चाहिने न्यूनतम सेवा दिने संस्था, स्वास्थ उपचार गर्ने र हिँडडुल गर्नैपर्ने बाहेकलाई आवतजावत गर्न बन्द गरौँ । यस्तै, आवश्यक संस्थाका कर्मचारीलाई पनि आवश्यक परेमा बोलाइने सर्तमा घरमै बसेर काम गर्न भनौँ ।
४. कम्प्युटर फोनबाटै सम्पन्न हुन सक्ने र अनलाइन मिटिङबाटै सम्पन्न हुन सक्ने कामका लागि पनि लखर लखर गर्दै आउ भनेर कार्यालय बोलाउने प्रवृत्ति बन्द गरौँ ।
५. भारतमा बढ्दो संक्रमण हामीलाई सबैभन्दा बढी खतरा हो । बढी प्रभावित क्षेत्रका नाका र चोर बाटोहरूमा कडाइ गरौँ ।
६. अत्यावश्यक काम पारेर निस्कनैपर्ने अवस्थाबाहेक बाहिर ननिस्कऔँ ।
७. कोरोना राहतको नाममा जहाँ पायो त्यहीँ जाने गरी कुनै कोष र संस्थाको पैसा वितरण गर्ने गरी राज्य र नियामकले निर्देशन नदेओस् । जति हुन सक्छ, रकम एउटा कोषमा राखौँ । पहिला स्वास्थ्य र गाँसवासका लागि जोहो गरिने रकम अनुमानित छुट्याइ, प्रभावित व्यक्ति र प्रभावित क्षेत्रको सही तथ्याङ्क संकलन गरी बचाउने कुरालाई प्राथमिकतामा राखी राहत नगदमै दिऔँ ।
८. प्रभावित क्षेत्र वा स्थानमा भेटघाट गरी प्रभाव नभएको ठाउँमा आउने नागरिकले स्थानीय निकायमा अनिवार्य सूचीकरण गराउनु पर्ने र निज क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाऔँ । यति मात्र सावधानी नअपनाएर कोरोना संक्रमणको कारक बन्ने नागरिकलाई अपराध कायम गरी सजाय घोषणा गरौँ । यति नगरेसम्म हामी यस्तै त हो नि..!
९. स्वास्थ मन्त्रालयले स्वास्थ्यसम्बन्धी उपकरण, टेस्ट कीट र अन्य यवस्थाको सही तथ्याङ्क राखी सार्वजनिक पनी गरोस् ।
१०. एकले अर्कोको जिम्मेवारी देखाउँदै पन्छिने र गाली गर्ने होइन । हरेक परिवार र हरेक नागरिक जिम्मेवार होऔँ ।
कोरोनालाई नहेपौँ । कोरोनाको संख्या यसरी नै बढ्यो भने घरमै मर्नु को विकल्प छैन । भेन्टिलेटर होइन अस्पतालमा बेड पाइनेवाला छैन । अहिले बाँच्नु र बचाउनु पहिलो प्राथमिकता हो । संवेदनशील, संयमित र दूरदर्शी होऔँ ।