
बनेपा । बनेपा नगरपालिका–५ घोगेचौरस्थित शिर मेमोरियल अस्पतालले कर्मचारीको आधा पारिश्रमिक कटौती गरेको छ । अस्पताल प्रशासनले वैशाख महिनाको आधामात्रै पारिश्रमिक दिएको जनाउँदै कर्मचारीले विरोध जनाउँदै आएका छन् । अस्पताल प्रशासनले विश्व नै कोरोना भाइरसले आक्रान्त बनाइरहेको वर्तमान अवस्थामा अस्पतालको सेवा कम हुँदै जाँदा कर्मचारीको सेवा समय घटाइएको तथा वैशाख महिनाको बाँकी आधा पारिश्रमिक पनि परिस्थिति सहज बनेपछि दिने जनाएको छ । कर्मचारीले भने बाँकी पारिश्रमिक कहिले दिने वा नदिने अस्पताले कुनै जानकारी नगराइ ‘श्रम शोषण’ गरेको आरोप लगाउँदै आएका छन् ।
कर्मचारीको काम आधा कटौती गर्दा अस्पतालद्वारा बिरामीलाई दिइने सेवामा कमी भएको अस्पतालस्थित नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका उपाध्यक्ष ऋतुपूर्ण श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालले आधा काम कटौती गरी बेतलबी बस्न बाध्य बनाएको छ, यसो गर्न पाइँदैन ।” अस्पताल प्रशासन काम र पारिश्रमिकको विषयमा छलफलमा बस्न नचाहेको उहाँले आरोप लगाउनुभयो ।
अस्पतालका प्रशासकीय अधिकृत सुन्दर थापाले अस्पताल पूर्ण सञ्चालनमा नआउँदासम्म कर्मचारीको सेवा आधा घटाउन बाध्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कर्मचारीको वैशाखको बाँकी आधा पारिश्रमिक परिस्थिति सहज भएपछि दिइने र जेठ महिना लाग्दा बिरामीको चाप कम हँुदै गएपछि सेवा पनि आधा घटाउने सहमति भएको छ ।” उहाँका अनुसार उक्त सहमति अस्पताल प्रशासन र कर्मचारी युनियनले संयुक्तरूपमा गरिएको हो ।
वर्तमान परिस्थितिमा कर्मचारी कटौती गर्नुभन्दा सेवाअवधि घटाउँदा दुवै पक्षलाई उत्तम विकल्प देखिएको थापाले बताउनुभयो । अस्पतालमा विभिन्न विभागमा ३०० कर्मचारी कार्यरत छन् । जेठ महिनादेखि कर्मचारीलाई सुविधा यथावत राखी तालिका मिलाएर १५ दिन काम गर्ने सहमति गरेको अस्पताल प्रशासनले जनाएको छ ।
यस्तै काभ्रेपलाञ्चोककै अर्को धुलिखेल अस्पतालले भने चैत महिनादेखि नै पूर्ण सेवा सञ्चालन हुन नससकेको जनाउँदै कर्मचारीको सेवासुविधा कटौती गर्दै आएको छ । आम्दानी घटेर संस्था नै सङ्कटमा गएको तथा आकस्मिकबाहेकका सेवा सञ्चालन नगर्ने, थोरै चिकित्सक र कर्मचारीले मात्रै सेवा दिने जनाउँदै अस्पतालले चैतमा २५ प्रतिशत र वैशाख महिनामा ७५ प्रतिशतसम्म सेवासुविधा कटौती गरेको हो ।
धुलिखेल अस्पताल एवं काठमाडौँ विश्वविद्यालय शिक्षण अस्पतालका मेडिकल साइन्सका डिन डा रोजेन्द्र कोजूले अस्पतालले आफैँ आम्दानी गरी सञ्चालन हुनुपर्ने बाध्यता भएकाले कर्मचारीको केही सेवा कटौती गर्न बाध्य भएको बताउनुभयो । उहाँले काम गरेका कर्मचारीले पारिश्रमिक तथा भत्ता पाइरहेको बताउँदै वर्तमान अवस्थामा काम नगर्दाको अवस्थामा भत्ता काटिनु स्वाभाविक रहेको उल्लेख गर्नुभयो । “पारिश्रमिक नपाउने अवस्था होइन, हालको विषम परिस्थितिमा काम नगर्दाको अवस्थाको भत्ता नपाउँदा कर्मचारीले सन्तोष नै मान्नुपर्छ जस्तो लाग्छ”, उहाँले भन्नुभयो । अस्पतालका विभिन्न विभागमा चिकित्सक, मेडिकल, अफिसर, नर्स तथा पारामेडिक्सलगायत एक हजार कर्मचारी कार्यरत छन् । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्