×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मेगाका कर्मचारीको गुनासो -‘सहकर्मीलाई कोरोना लाग्यो, हाम्रो टेष्टसमेत भएन, हेड अफिसले वास्तै गरेन, रातभर निन्द्रा लागेन’

‘हेल्लो ! अर्थ सरोकार हो ?’
हरेक दिन कसै न कसैको फोन आइरहने अर्थ सरोकारमा मलिन स्वर सुनियो ।
‘हजुर हो ! को बोल्नुभयो होला ?’ हामीले उत्तर दियौँ ।
‘एउटा कुरा भन्नु थियो नामचाहिं गोप्य हुनुपर्यो ।’ उनले सुरुमै सर्त राखे ।
‘त्यो कुरामा ढुक्क हुनुस्’ कसैले केहि समाचार दिंदैछ भन्ने लाग्यो हामीलाई । त्यसैले उनलाई ढुक्क बनायौँ। 
त्यसपछि उनी अलि ठुलो स्वरमा बोले, ‘मेगाका कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भयो भन्ने खबर थाहा पाउनुनै भयो होला । तर आफ्ना कर्मचारी संक्रमित हुँदा पनि बैंक कतिसम्म गैरजिम्मेवार बनेको छ, त्यो पनि छाप्नुपर्यो ।
‘के भयो र ?’ हामीले प्रतिप्रश्न गर्यौँ ।
मेगा बैंकका ड्राइभर दाइलाई कोरोना भेटियो । बैंकको ***शाखाका कर्मचारीहरुलाई अहिले बिदामा बस्न भनिएको छ । तर हाम्रो टेष्ट गरिएको छैन । के हामीचाहिं कर्मचारी होइनौं र ? यस्तो महामारीका बेलामा पनि यस्तो लापरवाही गर्नुहुन्छ र ?
उनको कुराले हामीले बुझिहाल्यौं, उनी पनि मेगाकै कर्मचारी रहेछन् ।
‘स्थानियसँग कोअर्डिनेट हुँदै होला नि त !’ हामीले अनुमान गर्यौं ।
उनले भने, ‘यो जानकारी हामीलाई पनि दिनुपर्दैन र ? हामीलाई त केहि भनिएको छैन । क्वारेन्टाइनमा बस मात्र भनिएको छ । टेष्ट कहिले हुने हो अपडेट छैन । केहि साथीहरुको टेष्टसमेत भइसक्यो भन्ने खबर पनि छ । तर एकदम बेवास्ता गरेको छ अफिसले ।
      
‘अनि तपाईंचाहिं क्वारेन्टाइनमा हुनुहुन्छ ?’ हामीले प्रश्न गर्यौँ। 
‘छु नि ! नभई पनि भएन । टेष्ट नै भएको छैन । परिवारमा नराम्रो त्रास छ । 
‘यस्तो बेला सजग हुनुपर्यो ।’ हाम्रो कुराका कुरा थप्दै उनले भने, ‘खै ! यस्तो हुँदा परिवार तनावमा छ । साथीभाइ छिमेकी तनावमा छन् । तर हेड अफिसबाट सहानुभूतिसमेत आएन । हामीलाई वास्ता नै गरिएको छैन ।’ उनी भन्दै गए, ‘ड्राइभर दाइ यता उता गइरहनुहुन्थ्यो । मेरो पनि हाइ हल्लो भएको थियो । अफिसमा सधैं सेनिटाईजर प्रयोग पनि हुन्नथियो । कतिपय साथीहरु मास्क चिउँडोमा झुन्ड्याएर हिड्नुहुन्थ्यो ।’                         
‘तपाईं सहज रहनुको विकल्प छैन ।’ हामीले पुन आफ्नो कुरा राख्यौँ ।
उनले अलि ठुलो स्वर गर्दै भने -‘हाम्रो यस्तो अवस्था छ । हेड अफिसले वास्ता गरेको छैन । बैंकमै पनि लापरवाही बढी थियो । ह्या ! के हुन्छ र भन्ने शैलीमा काम गरेका थिए धेरैले । यो कुरालाई समाचार बनाइदिनुपर्यो । हाम्रो कुरा हेड अफिससम्म पुर्याउनुपर्यो ।’
‘हुन्छ हामी प्रयास गर्छौं’ हाम्रो कुरा नसकिंदै उनले थपे, ‘ड्राइभर दाइलाई कोरोना संक्रमण भयो भनेर हाम्रो ब्रान्च मेनेजरले सार्वजनिक रुपमा भन्न मिल्छ ? अघि उल्टै मिडियालाई गाली गर्दै थिए यहाँ केहि ।’ उनको कुरामा दम थियो। 
‘तपाईंहरु थुप्रै हुनुहुन्छ, झन् त्रास बढ्छ भनेर ड्राइभर दाइलाई हो भनिएको होला । त्रास कम गर्न यस्तो गरिएको होला । नत्र त जसले जसलाई पनि शंका गरेर झन् त्रास बढ्ने हुनसक्छ । हामीले पनि नाम गोप्य राखेर समाचार हालेका छौँ । शाखा पनि नभनेको भए हुन्थ्यो, अव सबैतिर बिएमकै बाइट आएपछि  पाठकलाई भ्रम नपरोस् भनेर हामीले पनि उल्लेख गर्यौं।’ हामीले स्वाभाविक अनुमानको जवाफ दियौँ ।
‘हुन त बैंकर भएर सेन्टिमेन्टमा डुब्नु हुँदैन होला । तर हेड अफिसबाट कसैले ‘बि सेफ’ भन्दिएको भए कति उर्जा आउँथ्यो होला । गाह्रो नहुँदासम्म सेवा गरेकै थियौँ । पछि पनि गर्छौं । तर अहिले अफिसको रेस्पोन्स राम्रो लागेन ।’
हुन्छ अलि ख्याल गर्नुहोला, तातोपानी खानुहोला, नडराउनुहोला । हामीले स्वाभाविक सान्त्वना दिने प्रयास गर्यौं ।
सुन्दा सामान्य लागेपनि उनको गुनासो सामान्य थिएन। यस्तै बेला त हो कर्मचारीले साथ खोज्ने । त्यसपछि हामीले उनीसँग नै फोन नम्बर मागे फोन लगायौँ कोरोना संक्रमित कर्मचारी कार्यरत बैंक शाखाका शाखा प्रबन्धकलाई ।
उनले सबैजाना आइसोलेसनमा हुनुहुन्छ भनेर झुट बोले । पछि सच्याए- होइन होम क्वारेन्टाइनमा हुनुहुन्छ ।
टेष्ट किन भएन ? हाम्रो प्रश्नमा उनले भने- ‘हेड अफिसबाट कोअर्डिनेट भइरहेको छ ।’
बैंकको रेस्पोन्स राम्रो भएन, टेष्ट भएन भनेर गुनासो आयो नि ! हाम्रो प्रश्नमा उनले उत्तर दिनुभन्दा गुनासो कसले राख्यो भन्ने प्रश्नमा बढी फोकस भए । हामीले स्रोत गोप्य राख्दै उनलाई नाम नभनेपछि उनले थपे – हेड अफिसमा कुरा गर्नुस् न । यहाँ त सबै बन्द छ ।    
हामीले अन्तिम प्रश्न गर्यौं, ‘ड्राइभरलाई कोरोना लाग्यो भनेर खुलाईदिनुभएछ, त्यस्तो गर्नु ठिक हो र ?’ उनले जवाफ फर्काए -मैले भनेको होइन पत्रकारहरुलाई पालिकाले भनिदिएछ।    
त्यसपछि हामीले बैंकका एचआर विभाग प्रमुख राजेन्द्र सुवेदीलाई फोन गर्यौं।    
उनले पनि अन्य कर्मचारीको टेष्ट नगरिएको स्वीकारे । ‘काठमाडौँको भए सबै गरिन्थ्यो होला, त्यहाँ के के मिलिरहेको छैन । सबैजनालाई होम क्वारेन्टाइनमा बस्नु भनेका छौं । अव आइतबारतिर टेष्ट हुन्छ होला ।’ उनले भने ।
यस्तो बेलामा अफिसले वास्ता नै गरेन भन्ने गुनासो पनि आयो नि ! हाम्रो प्रश्नमा उनले भने -‘अव सेवा बन्द छ, ठिकै होला सब।’
कर्मचारीको गुनासोलाई उधृत गर्दै हामीले सो प्रश्न पनि राख्यौँ, ‘गालीचाहिं हामी(मिडिया)ले खानुपर्छ, बैंक मेनेजरले ड्राइभरलाई कोरोना लागेको हो भनेर सार्वजनिक रुपमा भन्न मिल्छ ? गोपनियताको नीति छैन बैंकमा ?’
उनले जवाफमा भने, ‘नमिल्नुपर्ने हो । अव साथीहरुले भनेछन् ।’
अन्य शाखामा के छ स्थिति ** शाखामा पनि कोरोना लाग्यो कर्मचारीलाई भन्ने हल्ला छ त ?  हामीले अन्तिम प्रश्न गर्यौं ।  उनले जवाफमा भने, ‘होइन, होइन, अन्त त्यस्तो छैन । सब स्टाफ सुरक्षित छन्।’ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: