Skip to content
LAXMI SUNRISE BANK

कसरी आर्थिक सङ्कटमा पर्यो अर्जुनधारा जलेश्वर धाम ?

अर्थ सरोकार

जलेश्वर । पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धाममा आर्थिक सङ्कट उत्पन्न भएको छ । भेटी सङ्कलनबाट सञ्चालित धाममा कोरोना महामारीका कारण भक्तजनहरु आउन छाडेपछि कर्मचारीलाई तलब दिन र बटुकहरुलाई खाना खुवाउन आर्थिक सङ्कट उत्पन्न भएको हो । 
नौ कर्मचारी र ४५ बटुकको नियमित खर्च धान्न समस्या हुन थालेको धाम विकास समितिका कोषाध्यक्ष मनोज जोशीले बताउनुभयो । “टाढा टाढाबाट आउने भक्तजन र मन्दिरमा गरिने पूजा पाठ, व्रतबन्ध, विवाहबाट आउने रकम नै आम्दानीको मुख्य स्रोत थिए”, उहाँले भन्नुभयो, “कोभिड –१९ का कारण विगत आठ महिनादेखि भक्तजन नआएपछि आर्थिक सङ्कट हुन थालेको छ ।”
मन्दिरमा मासिक रु तीन लाख खर्च हुँदै आएको उहाँले बताउनुभयो । उहाँका अनुसार कर्मचारीलाई तलब खुवाउन र बटुकको खाना खर्चका लागि स्थानीय सरकारलाई गुहार्नुपर्ने अवस्था सिर्जना भएको छ । कोरोनाको जोखिम बढ्दै गयो र मन्दिरमा पूजापाठका लागि खुल्ला गर्ने अवस्था सिर्जना नभएमा सम्पूर्ण धार्मिक संस्थाहरु आर्थिक सङ्कटमा पर्ने उहाँको भनाइ छ । 
प्रत्येक वर्ष अर्जुनधारा जलेश्वर धाममा बालाचतुर्दशीको अवसर पारेर धार्मिक अनुष्ठानको आयोजना गरी मन्दिर सञ्चालनका लागि आर्थिक सङ्कलन गरिँदै आएको थियो तर यस वर्ष कोरोनाका कारण सम्भव नदेखिएपछि सर्वदलीय बैठक बोलाएर आर्थिक सङ्कलनका लागि सहयोगको याचना गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । 
धामका प्रचार समितिका सहसंयोजक तथा पत्रकार दिपिन राईले धाम क्षेत्रको परिसरमा पर्खाल लगाउन गत वर्ष केन्द्रीय सरकारले रु ५० लाख सहयोग गरे पनि सञ्चालन खर्च कतैबाट पनि नआएको बताउनुभयो । “पूर्वको ठूलो धार्मिक सम्पति हो अर्जुनधारा धाम”, उहाँले भन्नुभयो, “सङ्कटमा बचाउने दायित्व पनि तीनै तहको सरकारको हो ।” -रासस
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK