×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेती नदी जलविद्युत् आयोजनाको ‘पावर हाउस’को काम सुरु, निर्धारित समयभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य

अर्थ सरोकार

प्रकाशित मिति : २० माघ २०७७, मंगलवार

PRIME CA

सेती नदी जलविद्युत् आयोजनाको ‘पावर हाउस’को काम सुरु, निर्धारित समयभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य

  • अर्थ सरोकार सम्बाददाता
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका-२ सार्दिखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको ‘सिभिल’तर्फको काम धमाधम भइरहेको छ । कोरोना कहरका बीच गत वैशाखदेखि माछापुच्छ्रेमा निर्माण सुरु भएको सो आयोजनाको सिभिलतर्फ ‘सेटलिङ बेसिनमा आरसिसी स्ट्रक्चर’ ‘एप्रोच क्यानल’ तथा ‘हेडवक्र्स’ र नदी ‘डाइभर्सन’ काम भइरहेकामा यही माघको पहिलो सातादेखि विद्युत्तगृह (पावर हाउस) निर्माण सुरु गरिएको आयोजनाले जनाएको छ ।
सार्दिखोलाको चिन्तेबगरमा २९ रोपनी जमिनमा विद्युत्तगृह बनाउन लागिएको छ । मेसिनरी उपकरणबाट विद्युत्तगृहका लागि खन्ने काम भइरहेको आयोजनाले जनाएको छ । आयोजनामा अहिले १०० मजदुरले काम गरिरहेका छन् । नदी जलप्रवाहमा आधारित आयोजनाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी ६ हजार ४०० मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर १८७ मिटर उचाइबाट निर्माणाधीन पावर हाउसमा खसालेर विद्युत्त उत्पादन गर्ने योजना छ । पाइपमार्फत लगिएको पानी पावर हाउसमा रहने १२ दशमलव ५ मेगावाट क्षमताका दुई वटा टर्वाइनमा जोडिने भएको छ । पाइप लाइनका लागि जमिन रेखाङ्कन सकिएको छ ।
लुम्बिनी प्रदेशको बुटवलमा रहेको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले सेती नदी जलविद्युत्त आयोजनाको प्रवर्धन गरेको हो । गत साउनदेखि २७ महिनाभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएकामा कार्यतालिका अनुसारनै काम अघि बढेकाले तोकिएको समयअगावै विद्युत्त उत्पादन हुने भिजन लुम्बिनी ऊर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिएका छन् । उनका अनुसार हालसम्म आयोजनाको ३० प्रतिशत हाराहारीमा प्रगति भएकामा सभिलितर्फको प्रगति २० प्रतिशत छ । आयोजनाको सिभिलतर्फको काम रसुवा-लुना जेभीले गरिरहेको हो । उत्पादित विद्युत् ४ किमी दूरीमा रहेको लाहाचोकमा निर्माणाधीन नेपाल विद्युत प्राधिकरणको सबस्टेशनमा जम्मा गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना छ ।
कम्पनीका अध्यक्ष पोखरेलले आयोजनाको हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइन (प्रसारण लाइन) निर्माणका लागि बोलपत्र आह्वान भएर मूल्याङ्कन सकिएकाले सम्झौताको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । प्रसारण लाइनका लागि ‘सर्भे’ सकिएको छ । सम्झौतापछि केही दिनभित्रमा आयोजनाको पूर्ण क्षमतामा समग्र काम अघि बढ्ने स्पष्ट पनि पारेका छन् । उनले भने “आयोजना निर्माणका लागि गर्नुपर्ने सबै कागजी प्रक्रिया पूरा गरेका छौँ । सिभिलतर्फको काम तीव्रताका साथ भइरहेको छ । अहिलेको कार्यप्रगतिबाट निर्धारित समयभित्र तोकिएको लगानीमा आयोजना सम्पन्न गर्न सक्छौँ भन्ने विश्वास छ ।” ५ अर्ब रुपैयाँ लगानी रहेको आयोजनामा ३ अर्ब ५० करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् । बैंक वित्तीय संस्थासँग लगानीसम्बन्धी सम्झौता यसअघि नै सम्पन्न भइसकेको आयोजना प्रबन्धक इञ्जिनियर लेखनाथ पाण्डेले बताएका छन् ।
बाँकी रकम प्रवद्र्धक कम्पनी तथा स्थानीयवासीले लगानी गर्नेछन् । उनका अनुसार आयोजनामा लगानीका लागि स्थानीयवासीसमेत उत्साहित छन् । स्थानीय ६०० जनाले आयोजनामा लगानी गरेका छन् । जलविद्युत् आयोजनाका लागि आवश्यक ७० रोपनी निजी जमिन स्थानीयवासीबाट खरिद गरिसकिएको तथा सरकारी ३० रोपनी क्षेत्रफल जमिन र वन क्षेत्रका केही रुख कटान गर्नुपर्ने भएकाले सोको प्रस्ताव वन मन्त्रालयमा पेश गरिएको आयोजनाका सामाजिक विकास प्रबन्धक बमबहादुर गुरुङले जानकारी दिए । आयोजनाले उत्पादन गरेको विद्युत् बर्खायामको ६ महिना ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसा प्रति युनिटमा विद्युत् प्राधिकरणले खरिद गर्ने सम्झौता गरेको छ । आयोजनाले सामाजिक उत्तरदायित्व अन्तर्गत माछापुच्छ्रेको स्थानीय सरकार, शैक्षिक संस्था तथा विभिन्न क्लबहरुलाई सहयोग गर्दै आएको जनाएको छ । सामाजिक उत्तरदायित्वबाट वार्षिक ९० लाख रुपैयाँ सहयोग गर्ने सम्झौता स्थानीय सरकारसँग भएको बताइएको छ । रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: