×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नागढुङ्गा-मुग्लिन सडक विस्तार गर्ने तयारी अघि बढाइने, निर्माण सुरु भएको ५ वर्षभित्र सम्पन्न गर्ने

काठमाडौं । पूर्व-पश्चिम राजमार्गलाई विस्तार गर्ने सरकारको योजनाअनुसार नागढुङ्गा-मुग्लिन सडक बिस्तार अघि बढाइने भएको छ । यसअघि मुग्लिन-नारायणगढ सडक विस्तार गरिएकामा आगामी आवदेखि नागढुङ्गा-मुग्लिन विस्तार गर्ने तयारी अघि बढाइएको छ । सो सडक निर्माण सुरु भएको पाँच वर्षमा सकाउने लक्ष्य लिइएको छ । सडकको लम्बाइ ९२ किमी रहेको छ । विश्व बैंकको सहुलियतपूर्ण ऋणमा सडक विस्तारको काम अघि बढाउन लागिएको हो । उक्त खण्डमा विस्तारको काम तीन खण्ड गरेर अघि बढाइने नागढुङ्गा-मुग्लिन सडक योजनाले जनाएको छ । तीन खण्डमा नारायणगढ-नौबिसे, नौबिसे-मलेखु र मलेखु-मुग्लिन गरेर विस्तार गरिने छ ।
तीन खण्डमध्ये नागढुङ्गा-नौबिसे र नौबिसे-मलेखु खण्डको प्रारम्भिक अध्ययन सकिएको योजना प्रमुख अमृतमणि रिमालले बताउनुभयो । उहाँका अनुसार सो खण्डको मूल्याङ्कन सकिएर विश्व बैंकमा स्वीकृतिका लागि पठाइएको छ । तीन खण्डमा आगामी आवमा ठेक्का प्रक्रियामा जाने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘आगामी आवमा ठेक्कामा गएर दशैँसँगै निर्माण शुरु हुनेछ ।’ विस्तारका लागि ठेक्का प्रक्रियामा जानु पहिले सडकको अधिकार क्षेत्र खाली गरिएको प्रमुख रिमालले बताउनुभयो । सो खण्डमा अहिले रुख र खम्बा सार्न प्रक्रिया अघि बढाइएको छ । त्यस्तै पुल निर्माण गर्ने स्थानमा जग्गाको मुआब्जाका लागिसमेत प्रक्रिया थालिएको उहाँले बताउनुभयो । सो खण्डमा २६ पुल निर्माण हुनेछ । सडक कम्तीमा ११ मिटर चौडाइ हुने बताइएको छ ।
मुग्लिन-नारायणगढ खण्डमा जस्तै यो खण्डमा पनि अहिले भएका पुल त्यहीँ छाडेर त्यसको आसपासमा नयाँ पुल निर्माण गर्न लागिएको छ । सडकको अधिकार क्षेत्रमा व्यक्तिगत सम्पत्ति नभएकाले निर्माणस्थल खाली गर्न समस्या नहुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सडकको केन्द्रबाट १५/१५ मिटर लिँदा ठूलो समस्या हुने छैन ।’सडक निर्माणका लागि वातावरणीय अध्ययन गर्न प्रक्रिया अघि बढाइएको प्रमुख रिमालले बताउनुभयो । सम्बन्धित डिभिजन कार्यालयलाई पत्राचार गरेर प्रक्रिया थालिएको छ । उहाँले भन्नुभयो, ‘ती कार्यालयबाट स्वीकृति भने आइसकेको छैन ।’ काठमाडौँ उपत्यकाबाट देशका पश्चिमतर्फ जाने सवारीसाधन सबैभन्दा बढी गुड्ने भएकाले नागढुङ्गा-मुग्लिन सडकमा सवारी चाप धेरै हुने गरेको छ । वैकल्पिक सडकबाट सवारीसाधनलाई पठाएर निर्माण गर्दा समयमै काम सकाउन सकिन्छ ।
मुग्लिन-गल्छी खण्डसम्म वैकल्पिक सडक नभएकाले सोही सडकमा सवारी साधनलाई सञ्चालन गरेर सडक निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो । यो खण्डमा भित्तामा एक लेन कटिङ गरेर एकातिरबाट सवारीसाधन जान दिने र अर्को लेनमा निर्माण अघि बढाइने योजनाले जनाएको छ । गल्छीबाट नागढुङ्गासम्म भने वैकल्पिक सडक प्रयोग गर्न सकिन्छ । सो सडकका विकल्पका रुपमा गल्छी-लामिडाँडा-भीमढुङ्गा र सीतापाइला-धार्के विकल्पमा प्रयोग गर्न सकिन्छ । पहिले ६/७ मिटर चौडाइ रहेकामा अहिले सडकलाई ११ मिटर हुने गरी विस्तार गर्न लागिएको हो । पहिले भन्दा झण्डै दोब्बर चौडाइको सडक भएपछि सो खण्डमा सवारी जामको समस्या हल हुने आशा गरिएको छ। 
काठमाडौँ उपत्यकाबाट बाहिरिने विभिन्न नाकामध्ये सबैभन्दा बढी सडक जाम यही सडकमा हुने गर्छ । सरकारले नागढुङ्गा-सिस्नेखोला खण्डमा सुरुङमार्ग निर्माण अघि बढाइरहेको छ । नागढुङ्गा-मुग्लिन सडक सम्पन्न भएपछि काठमाडौँ भित्रने वा काठमाडौँबाट बाहिर जाने सवारीसाधन सजिलै आउजाउ गर्न सक्नेछन् । यसअघि ३६ किमी लम्बाइको मुग्लिन-नारायणगढ सडक सम्पन्न भइसकेको छ । सो खण्डमा पुल निर्माण अघि बढिरहेको छ । उक्त खण्डमा चट्टान भएका ठाउँमा बाहेक चौडाइ ११ मिटर रहेको छ । सडक कम्तीमा नौ मिटरदेखि बढीमा ११ मिटरसम्म चौडा बनाइएको योजनाले जनाएको छ । रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: