×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जोसियलः कोरोना कहरकाबीच मौलाएको डलरको सपना…(सेतो हात्ती)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

जोसियलः कोरोना कहरकाबीच मौलाएको डलरको सपना…(सेतो हात्ती)

Artha Sarokar

२३ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: ११ मिनेटभन्दा कम

  • हरक सिंह धामी

व्यवसायको मालिक वा संस्थापकको रुपमा एक व्यक्ति वा व्यक्ति समुह रहने र मातहत सदस्य थप्दै जाने र थपिएका सदस्यहरुले पनि आफु मातहत सदस्य थप्दै जाँदा जुन संरचना तयार हुन्छ त्यसैलाई पिरामिड शैलीको व्यवसाय भनिन्छ ।

यो छोटो समय र मेहनतमा अत्यधिक फाइदा लिने तरिका हो । परम्परागत स्वरुपका व्यवसाय अफलाईन माध्यमबाट सञ्चालन हुन्थे, प्रत्यक्ष भेटघाटको माध्यमबाट सदस्य बनाइन्थ्यो भने अहिले सूचना प्रविधिको माध्यमबाट एकैपटक सयौं/हजारौंको संख्यामा सदस्य बनाउन सक्ने अवस्था छ र यहि भइरहेको छ ।

अहिले इन्टरनेटमा खोजि गर्ने हो भने यस्तो सिरामिड शैलिको संरचना तयार पारी पैसा उठाउन प्रयोग हुने वेवसाइट सयौंको संख्यामा पाउन सकिन्छ र नेपालमा पनि दर्जन बढी संख्यामा पाउन सकिन्छ तर सबैभन्दा अग्रणी स्थानमा office.jocial.com नै देखिएको छ जसको बारेमा कुनै सरकारी निकायलाई कुनै पनि जानकारी नै छैन भन्दा फरक नपर्ला ।

पिरामिड शैलीको संरचना
केहि समय पहिले पिरामिड शैली (नेटवर्क) तयार पारी बस्तु खरिदबिक्री गर्ने केहि कम्पनीहरु जुन इन्टरनेटमा आधारित थिएनन् तर नेपालसम्म पनि सञ्जाल तयार पारिसकेका थिए ति पनि र नेपालमै दर्ता भएर नेपालीहरुद्बारा सञ्चालित पिरामिड व्यवसायहरु पनि नेपाल सरकारद्बारा अवैध ठह¥याई बन्द हुन पुगेका थिए र उक्त पिरामिडमा जोडिएर लगानी गरेका लाखौंको पैसा डुब्न पुगेको थियो भने केहि थान व्यक्तिहरुले चाहि मनग्गे कमाएका थिए ।

त्यसै कारण नेपाल सरकारले २०७४ कार्तिक १ गते वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४ जारी गरेको छ जस अनुसार दफा ११ मा पिरामिडमा आधारित व्यवसाय गर्न नहुने भनि ७ वटा उपदफामा कस्ता कार्य गर्न नहुने भनि तोकिएको छ ।

तर अहिलेको विश्व प्रविधिले डोर्याइरहेको र त्यसमा पनि सामाजिक सञ्जालको प्रभाव अत्यन्त छोटो समयमै देखिने हुनाले परम्परागत पिरामिड व्यवसायहरुले पनि सामाजिक सञ्जाललाई नै उपयोग गरिरहेका छन् किन भने प्राय सबैजसो सामाजिक सञ्जालहरु नेपाल बाहिरबाट सञ्चालित छन् र ति निःशुल्क नेपालमा सञ्चालन हुने गर्दछन् जसलाई नेपालका सरकारी निकायले कारवाहीको दायरामा ल्याउन कठिन हुने गर्दछ ।

कोरोना महामारीको दोस्रो लहरसँगै सामाजिक सञ्जालमा आधारित भई डलरमा पैसा कमाउन प्रलोभन दिँदै पिरामिड तयार पारेर पैसा उठाउने कार्यमा कैयौं वेवसाइटरु प्रयोग हुने गरिएको पाइन्छ र प्रायः सबैजसोको प्रलोभन भनेको छोटो समयमै डलरको थुप्रो कमाउन पाइने लालसा हुने गरेको देखिन्छ ।

यिनै वेवसाइटमध्ये Jocial नामक कम्पनिको वेवसाइट प्रयोग गरेर पिरामिड बनाउने एउटा समुह देखिएको छ जसले फेसबुक म्यासेन्जरमा लिङ्क पठाउँछ र Office.jocial .com नामको वेवसाइटमा प्रवेश गराइ प्रयोगकतालाई एउटा आइडि बनाउन लगाइन्छ ।

आइडि कसरी बनाइन्छ ?
कुनै फेसबुक साथीले सदस्यता लिएको छ भने उसले आफ्नो रिफरल लिङ्क साथीलाई म्यासेन्जरमा पठाउँछ । साथीले उक्त लिङ्क खोल्छ, त्यसमा एउटा फाराम दिइएको हुन्छ जसमा प्यान नम्बर पनि राख्ने व्यवस्था गरिएको देखिन्छ (जुन १५ दिन अगाडीसम्म थिएन) । यो फाराम भरिसकेपछि उक्त वेवसाइटमा खाता खोलिएको देखिन्छ ।

यसमा आइडी स्वतन्त्र रुपमा बनाउँन सकिदैन¸ प्रयोगकर्ताहरुको चेनमा जोडिनु पर्ने हुन्छ जुन पिरामिड आकारको संरचना बन्ने गर्दछ । यसमा प्रवेश गर्न कुनै माथिल्लो प्रयोगकर्ताको मुन्तिर बस्नुपर्ने हुन्छ । यसमा जोडिएका प्रयोगकर्तालाई इन्फ्लुन्सर भन्ने गरिन्छ । कुनै प्रयोगकर्ताको माथि रहेको व्यक्तिलाई अपलाईनर भन्ने गरिन्छ भने मातहत जोडिने सदस्यहरुलाई डाउनलाईनर ।

अपलाईनरले पठाएको खास लिङ्कको आधारमा मात्रै डाउनलाईनर यो सञ्जालमा जोडिन सक्छ सोझै कम्पनीसँग जोडिन सक्दैन जुन अन्य सामाजिक सञ्जालहरु फेसबुक, ट्विटर वा अन्यजस्तो स्वतन्त्र रुपमा सिधै कम्पनीसँग सम्पर्क गरेर खाता खोल्न मिल्ने छैन । त्यसैले यो बिचमा एजेन्टहरुको उपस्थिति हुने सञ्जाल हो ।

यसको आधिकारिकताको कुराः
यो Jocial Advertise Pvt. को नामबाट 63-66 HATTON GAREN LONDON ENGLAND EC1N 8LE ठेगाना राखेर सन् २००८ मा स्थापना गरिएको भनिएको छ तर वेवसाइट भने २०२० मा मात्रै सुरु गरिएको देखिन्छ अझ यो कोरोना महामारीको पहिलो लहरका बीच मात्रै सञ्चालनमा आएको शंका गर्ने ठाउँ प्रसस्त छन् ।

मार्क जुकरबर्गः फेसबुक, ज्याक माः अलिबाबा, एलन मस्कः टेस्ला मोटर्स, बिल गेट्सः माइक्रोसफ्ट लगायत जसको नाम सुन्नुहुन्छ उनीहरुको बारेमा हजारौं सामग्री पाउनुहुन्छ तर यो Jocial स्थापना गर्ने व्यक्तिलाई Mr. Jamie March  भनिए पनि यो नाम गरेको व्यक्तिको स्केच भेटिन्छ तर को हो भन्ने कतै स्पष्ट जानकारी छैन ।

फेसबुकमा Jamie March को नामबाट खोजि गर्दा केहि नामहरु भेटिए पनि यो कम्पनीसँग सम्बन्धित कुनै पनि भेटिदैनन् । बरु नेपालमा नेपाली प्रयोगकर्ताहरुले एउटा पेज बनाएको भेटिन्छ भने भारतीय र बंगलादेशी मुलका केहि युवाहरु मिलेर खोलेको अर्को पेज भेटिन्छ ।

यो कम्पनी लण्डनमा दर्ता भए पनि नेपालमा कारोबार गर्न कुनै न कुनै रुपमा नेपालमा यसले अनुमती लिएको वा शाखाको रुपमा दर्ता हुनुपर्ने तर त्यस्तो छैन । नेपालका कुनै पनि सरकारी निकायमा कुनै पनि नाममा व्यवसाय दर्ता गरिएको छैन न त कुनै सार्वजनिक माध्यमबाट यसको प्रचारप्रसार भएको छ ।

अनलाईन मिटिङमा तालिम दिनेहरुले यसलाई विश्वका २१३ देशमा व्यापक रुपमा फैलिएको भन्ने गरेका छन् । फेसबुक साथीहरुसँग म्यासेज मार्फत मात्रै कुरा गरिने र अनलाईन जुम मिटिङमा ब्रेनवास गर्ने काम गरिन्छ । अनलाईन मिटिङमा सदस्यहरुलाई मन्त्रमुग्ध पार्दै डलरको सपनामा डुबाउन सक्ने व्यवसायिक व्यक्तिहरु जसले आफू मातहत ठूलो सञ्जाल बनाएर मनग्ये पैसा कमाएका हुन्छन् (यिनलाई मेगा-सुपर इन्फ्लुन्सर भनिन्छ) नै परिचालित हुन्छन् ।

यहि वैशाख ५ गते एउटा अनलाईनमा यो सञ्जालले ठगिगरिरहेको भन्ने समाचार आयो तर यसको कुनै व्यक्ति वा कुनै कम्पनीले खण्डन गरेन बरु अनलाईन मिटिङमा आफ्नो बचाउ गर्ने र आफू नेपालको कानून बमोजिम सञ्चालित छौं भनेर आश्वस्त पार्ने भन्दा पनि अरुले त ठगिरहेकै छन् हामीले गरे के भो त भन्दै विभिन्न भ्रष्टाचार काण्डका कुरामा भुल्याउने गरेको पाइएको छ । तपाईहरु ढुक्क भएर सञ्जाल विस्तार गर्नुहोस्, नडराउनुहोस् भन्ने गरिएको छ ।

प्रलोभन के छ ?
यसको वेवसाइटमा एउटा ६० डलर तिरेर ३ महिनाको लागि र अर्को २४० डलर तिरेर १ वर्षको सबस्क्रिप्सन प्लान खरिद गर्नुपर्ने हुन्छ । प्रत्येक महिना २ देखि ३ विज्ञापन फेसबुकमा सेयर गर्नुपर्ने हुन्छ जसबाफत महिनामा ४० देखि ६० डलर खातामा आएको देखाउँछ । आफुले आफु मातहत कुनै सदस्य थप गर्दा ३ डलर थप प्राप्त हुन्छ ।

३ जना सदस्य थप गर्दा २०० डलर, ६ जना थप गर्दा १००० डलर, ९ जना थप गर्दा २००० डलर, १२ जना थप गर्दा ५००० डलर, १५ जना थप गर्दा १०००० डलर र १८ जना थप गर्दा २० हजार डलर गरी १८ जना पुग्ना जम्मा ३८२०० डलर (जुन अहिलेको दरमा गणना गर्दा ४४ लाखभन्दा बढी हुन जान्छ) प्राप्त हुने भनिएको छ । अनलाईन जुम मिटिङ स्थानीय (प्रदेशस्तर), काठमाडौंबाट र भारतबाट सञ्चालन भई डलरको प्रलोभन देखाइन्छ । सुपर-मेगा इन्फ्लुन्सरहरुलाई आफ्ना अनुभव सुनाउन लगाएर लोभ देखाउने गरिन्छ । कसैले १५ दिनमा ३८२०० डलर कमाउन सफल भएको कसैले ७ दिनमै कमाएको भनेर प्रभावित पार्ने काम गरिन्छ ।

तर प्राप्त हुने डलर एकमुष्ट आउँदैन र कुनै पनि रकम झिक्न मिल्दैन । न त कुनै बैङ्क खातामा स्थानान्तरण गर्न मिल्छ किनभने जुनसुकै बैङ्कले पनि कुनै कम्पनीसँग कारोबार गर्दा सरकारको सम्बन्धित निकायद्बारा अनुमति प्रदान गरिएको आधिकारिक कागजात माग्ने गर्दछ जुन दर्ता नै नभएपछि हुने कुरा भएन । दिनमा ४–६ वटा अनलाईन मिटिङहरु गरेर नयाँ सदस्य थप्न युद्धस्तरमा लाग्न र कुनै पनि निकायबाट हामिलाई केहि हुँदैन हामी वैध हौं भनेर भनिने गरिएको छ ।

डलरको लालचमा लकडाउनको अवधिमा घरभित्र बसेका सबैजसोले यसमा आवद्ध हुन खोजिरहेको देखिएको छ । यसमा आवद्ध गर्नलाई जसरी पनि लोभ्याउने¸ कुनै राम्रो कमाएको दलाललाई आफ्ना अनुभव सुनाएर लठ्याउने गरिन्छ भने आबद्ध भइसकेपछि यो ठिक रहेनछ भनेर कुरा उठायो भने तिम्रो पैसा गयो जे गर्न सक्छौं गर, तिमि नभए अर्कोले डलर कमाउछ भन्दै उक्साउने गरेको पाइन्छ ।

त्यसो भए पैसा कसरी कमाइन्छ त ?
नेपालको लागि कसलाई जिम्मा दिइएको छ त्यो त बुझिएको छैन तर विगत २० वर्षदेखि नेटवर्क मार्केटिङ् गर्दै आएका केहि व्यक्तिहरु मात्रै अनलाईन जुममा देखिएका छन् ।

तिनिहरुले भारत गएर नगद बुझाउने बुझिएको छ भने उनिहरुले आफु मातहत बनाएकाहरुबाट नगद प्राप्त गर्छन् भने माथि उल्लेख गरिए जस्तै ३, ६, ९, १२, १५ र १८ जना बनाए वाफत प्राप्त हुने डलरबाट तलका सदस्यहरुको सब्स्क्रिप्सन पैसा बुझाइ दिने र तलबाट प्राप्त नगद आफु राख्ने गर्छन् । त्यसैगरी तल्लोतह सम्मका सदस्यहरुले रकम संकलन गर्ने गर्दछन् । मातहत कुनै सदस्य बनाएका अपलाइनरहरुले नगद पैसा कमाउने गर्दछन् भने सबैभन्दा तल्लो तह जसले आफू मातहत कुनै सदस्य बनाएको हुँदैन उसले नगद पैसा कमाउनै सक्दैन ।

२ जना वा कम सदस्य थप्न सक्ने सदस्यले एक पैसा पनि नगद कमाउन सक्दैन । उनीहरुले ३८२०० डलरको सपना देखेर पैसा बुझाउने बाहेक केहि गर्न सक्दैनन्¸ ठगिएका मात्रै हुन्छन् । उनीहरुले जसरी पनि आफुलाई पैसा बुझाउने आफुभन्दा मुनि सदस्य थप्नैपर्छ । जसको खातामा डलर प्राप्त भइरहेको देखिन्छ उसले पनि एकमुष्ट त्यो पैसा झिकेर छोड्न मिल्दैन नयाँ सब्स्क्रिप्सन गरिरहनु पर्छ ।

यो नेटवर्कको खातामा प्राप्त डलर नेपालमा रहेका बैङ्कको डलर खातामा साट्न सकिन्छ भनिएको छ । तर नेपालका जुनजुन बैङ्कहरुले डलर खाता सुविधा दिएका छन् ति सबैले कम्पनी वा व्यक्तिका लागि सुविधा दिए पनि व्यक्तिको हकमा डलरमा कमाउने तर बैधानिक निकाय-संस्थामा काम गर्ने व्यक्ति हुनुपर्ने तथा संस्थाको हकमा दर्ता भएको डलरमा कमाउने वा कारोबार गर्ने संस्था हुनुपर्ने व्यवस्था छ र बैङ्कले मागेका (नेपाल राष्ट्र बैङ्कले तोकेका ) आवश्यक कागजात दिनुपर्छ ।

कुनै पनि बैङ्क वित्तीय संस्थाले हचुवाका भरमा न त डलर खाता खोल्न सुविधा दिन्छ होला न त डलर रकम जम्मा गर्न आधार खोज्दछ । यदि डलर खाता प्रयोग गर्न मिले पनि बैङ्कले तोकेका व्यवस्था पुरा गरेर घुमाउरो तरिका प्रयोग गरेर नै सुविधा प्राप्त हुनेछ जुन साधारण सदस्य भइ पैसा बुझाइरहेकाहरुको हकमा असम्भव प्रायः देखिन्छ । डलर खाता खोल्ने र नियमन गर्ने सम्बन्धमा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ ले स्पष्ट व्यवस्था गरेको छ ।

विज्ञापन कसरी सेयर हुन्छन् ?

फेसबुक र Jocial बिच लिङ्क कायम गर्नुपर्ने हुन्छ यो वेवसाइटमा राखिएका विज्ञापन सिधै सेयर गर्न मिल्दैन । विज्ञापनमा लेखिएको बाहेक आफुले कुनै शब्द अक्षर थप गर्न मिल्दैन । विज्ञापनहरु अंग्रेजीमा लेखिएको हुन्छ जसलाई न त कसैले पढ्छ न कसै अन्यले सेयर वा लाइक गरेको देखिन्छ¸ अनौठो छ । फेसबुकमा Privacy  सबै Public राख्नुपर्ने हुन्छ ।

को को संलग्न छन् ?
कोहि अछुतो छैन । यो पूर्ण रुपमा सोसल मिडियामा आधारित छ । यसभन्दा पूर्वका नेटवर्क मार्केटिङमा आमसर्वसाधारणलाई वस्तु खरिद गर्न लगाइन्थ्यो र कम साक्षरहरु बढी ठगिएका थिए भने यसपाली प्रविधिमा पहुँच भएकाहरुलाई लक्षित गरिएको छ र यसमा कतिपय कर्मचारी, शिक्षक, विभिन्न संघ संगठनका उच्च तहका व्यक्तिहरुलाई प्रभावित पारिएको छ । तर ति प्रभावित मध्ये कतिपय पहिल्यैदेखि नेटवर्क मार्केटिङमा संलग्न रहेका पाइएको छ । अझ कतिपय कस्ता पनि भेटिएका छन् भने बरु सरकारी नोकरी नै छोड्न तयार तर यसमा १८ जना डाउनलाईनर जसरी पनि थप्ने र लगभग ४४ लाख कमाइहाल्ने ।

यो ठगीमा बढी सावधानी अपनाइएको देखिएको छ र यो अन्तर्राष्ट्रिय रुपमै संगठित गिरोहद्बारा सञ्चालित छ । यसमा समाजका प्रतिष्ठित व्यक्तिहरु पनि अल्मलिएर पसेको देखिएको छ जसले समाजमा सहजै प्रभाव पार्छन् त्यसैले यिनिहरुलाई इन्फ्लुन्सर भनिने गरिएको हो । यिनले भन्दा सबैले पत्याउने र सहजै जालमा पर्ने गरेको देखिन्छ ।

पुरातन शैलीको नेटवर्क व्यापारमा वस्तु खरिद गर्नुपर्ने हुनाले जोकोही अझ बढी सर्वसाधारण नै ठगिने गरेका थिए भने यस फेसबुक चलाउन जान्ने¸ अलिअलि इन्टरनेट चलाउन जान्नेहरुलाई हप्तौसम्म मिटिङमा राखिन्छ र तयार पारिन्छ ।

यसमा बहालवाला कर्मचारी, सेवानिवृत्त कर्मचारी, शिक्षक, विमा अभिकर्ता, विभिन्न संघसंस्था नेतृत्व तहकै व्यक्तिहरु पनि संलग्न रहेको पाइएको छ । यि वर्गको समाजमा पकड राम्रो हुने हुनाले पनि यिनिहरुलाई जालमा पारिएको छ । केहिले राम्रै रकम जम्मा गरेको हुनाले नेटवर्क अझ विस्तार गर्न लागिपरेको देखिन्छ तर उनीहरुले पनि डाउनलाइनरको पैसा खाने बाहेक आफ्नो खातामा देखाइएको डलर कुन बैङ्क वा अन्य ठाउँबाट झिकेका छन् थाहा छैन ।

कम्पनी लण्डनमा दर्ता भएको हुनाले नेपालमा सदस्यहरुबाट उठाएको पैसा पक्कै पनि बाहिर गइ रहेको देखिन्छ तर यो वेवसाइट प्रयोग गरेर कमाएको पैसा कुन कानून अन्तरगत नेपाल बाहिर पठाइन्छ भन्ने कुनै स्पष्टता छैन । एकजना वा केन्द्रिय टिमले भारतमा लगेर बुझाउने गरिएको बुझिएको छ जुन हुण्डि अन्तरगत पनि पर्ने देखिन्छ ।

यो अनलाईन ठगीको एक स्वरुप हो । झट्ट हेर्दा यो फेसबुक फ्रेन्ड फ्रड जस्तो देखिन्छ किनभने यसमा फस्नेहरु फेसबुकमा जोडिएका साथीहरु मात्रै हुन्छन् भने अर्को तर्फ यसमा आबद्ध हुन पहिल्यै पैसा तिर्नुपर्छ र पहिले कमाएको डलर खातामा आउन र प्रयोग गर्न पुनः सब्स्क्रिप्सन खरिद गर्न पैसा तिर्नुपर्दछ त्यसैले यो सब्स्क्रिप्सन ट्र्याप हो । त्यसैले यो पूर्ण रुपमा सब्स्क्रिप्सन ट्र्याप र फेसबुक फ्रेन्ड फ्रडको सम्मिश्रणयुक्त अनलाईन ठगी हो जुन साइबर क्राइम अन्तरगत पर्ने देखिन्छ । यसले वस्तु कारोबार नभएर सेवाको कारोबार गरेको देखिन्छ ।

त्यसो भए के गर्ने त ?
नेपाल सरकारले नियमन गर्न तत्काल कारवाही थाल्नुपर्छ । अहिले सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट एकै दिनमा लाखौंलाई सदस्य बनाउन सकिने अवस्था छ । यस्तो अवस्थामा आवश्यक नियमन नगरि ढिलासुस्ती गर्ने हो भने भोलिको दिनमा यसबाट ठगिएको उजुरी दिनेहरुको संख्या देख्दा अत्यास लाग्ने खालको हुनेछ तर पैसा फिर्ता दिने कुनै व्यक्ति वा संस्था हुनेछैन ।

त्यसैले कुन कानून अन्तरगत कुन निकायको अनुमतिमा यस्तो कारोबार सञ्चालित छ तत्काल पत्ता लगाइ नेपालको कानूनले जायज ठान्छ भने सहि बाटोमा डो¥याउनु पर्छ तर अव कुनै निकायमा दर्ता भई सञ्चालन गरिए पनि यतिञ्जेल अवैध रुपमा ठूलो रकम उठाई सकेकोमा क्षमा दिन मिल्दैन । प्रचलित कानून बमोजिम हुनुपर्ने देखिन्छ । यो सञ्जालमा जानी नजानी पसेकाहरु उम्कने अवस्था छैन । कि त आफुले बुझाएको पैसाको माया मारेर छोड्नुप¥यो कि डलरको लोभमा यो गैरकानूनी गुप्त धन्दामा हिडिरहनु प¥यो जुन कुनै न कुनै दिन दण्डित हुने निश्चित छ ।

यसबाट थप नेपाली पैसा अवैध रुपमा विदेशिनबाट जोगाउने सबैभन्दा ठूलो र अन्तिम अस्त्र भनेको नेपाल सरकारले यो वेवसाइटलाई सञ्जाल निर्माण गरी अवैध रुपमा पैसा उठाउन प्रयोग भएको र नेपाली पैसा अवैध रुपमा देश बाहिर पठाइरहेको कसुरमा नेपालमा बन्द गराउनु पर्छ । यो गर्ने वित्तिकै यसमा हजारौं डलर कमाएको भन्नेहरुको डलर यत्तिकै शुन्य हुन्छ । र नेपाल सरकारको कुनै पनि निकायमा दर्ता नभई अवैध रुपमा सदस्य बनाउँदै पैसा उठाउनेहरुबाट ठगिएकाहरुको पैसा फिर्ता गराउनु पर्छ ।

अन्त्यमा, हरेक सचेत नागरिक जो आफु ठगिएको मन पराउँदैन उसले अरुलाई सदस्य बनाउँदै भविष्यमा धोका दिने काममा लाग्नु हुँदैन र लागिसकेकाहरुले जसरी पनि आफ्नो पैसा जुन सब्स्क्रिप्सन वाफत बुझाउनु भएको छ,  फिर्ता लिन कोसिस गर्नुपर्छ ।

किनभने १८ जना सदस्य थपेर विज्ञापन सेयर गरेकै भरमा आधा करोड जति पैसा कमाउन सकिन्छ भने छिटै धनि हुन इच्छा सबैलाई हुन्छ । यति सर्टकट तरिकाले लाखौं कमाइन्छ भने कि त्यो कुनै खजाना लुटेर हुन सक्छ कि त ठूलो संख्यामा लोभमा पर्नेहरुलाई ठगेर । नत्र नेपाल जहाँको करिब एक चौथाई जनसंख्या गरिबीको रेखामुनी छ, ४० लाख बढी युवाहरु घर छोडेर परदेशिन बाध्य छन्, सबैलाई यसमा जोड्न सकिन्छ र २-४ महिनामै चालिसौं लाखको मालिक बनाउन सकिन्थ्यो ।

अझ म त भन्छु सरकारी घोषणाद्बारा नै सबै नेपालीलाई यसमा आबद्ध गराएर गिरबी निवारण गरिन्थ्यो होला । त्यसको लागि बैङ्कहरु पनि विना धितो ऋण दिइहाल्थे सहजै । त्यसैले कानूनी रुपमा नचिनिएका र दण्ड सजायको भागिदार हुन सक्ने र ठगि हो भनिन सक्ने कुनै पनि कार्य चाहे अनलाईन या अफलाईन, चाहे पिरामिड शैलिका होउन् या प्रत्यक्ष बिक्री गर्ने, संलग्न नहुनु नै उचित हुनेछ । सबै बेलैमा सचेत बनौं र सचेत बनाऔं । यो महामारीको बेला कसैलाई ठगिनबाट बचाउनु मानवीय धर्म पनि हो । यो विषयमा हरेक नेपालीको अभिभावक भएको नाताले नेपाल सरकारका सम्बन्धित निकायहरुको बेलैमा ध्यान पुग्न जरुरी छ र कानूनको दायरामा ल्याउनु पर्ने देखिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी