सर्लाही । लालबन्दी नगरपालिका– २ जुटपानीमा करिब २० करोडको लगानीमा एकल गाईफार्म सञ्चालन गरिएको छ । स्थानीयवासी अप्सरा सिलवालले ‘कामधेनु गौशाला प्राली’ नामक कम्पनी दर्ता गरेर व्यावसायिक गाईपालन सुरु गर्नुभएको हो ।
उहाँले वडा नं २ स्थित लखनदेही नदी किनारको जग्गामा फार्म सञ्चालन गरी गाईपालन सुरु गर्नुभएको हो । सुरुमा दुई गाई पालेर गाईपालन सुरु गर्नुभएकी सिलवालले अहिले १५० गाई पाल्नुभएको छ । जमिन आफैँले खरिद गरेर १० लाख लगानी गर्नुभएकी सिलवालले अहिले १८ बिघा जमिनमा घाँस लगाउनुभएको छ । तीमध्ये ६५ गाईले दूध दिन्छन् भने ५२ ब्याउनेछन् । हाल बिहान बेलुकी गरी दैनिक ७०० लिटर दूध उत्पादन हुने फार्म सञ्चालक सिलवालले जानकारी दिनुभयो । गाईपालनमा परिवारको पूर्णसाथ रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार गाईपालनमा जग्गासहित २० करोड लगानी पुगिसकेको छ । गाई खरीद र गोठ तथा अन्य भौतिक पूर्वाधार निर्माणका साथै गाई फार्म भएको जमीन कम्पनीकै रहेका कारण हालसम्म उक्त लागत लागेको उहाँको भनाइ छ ।
सिलवालका श्रीमान् अजित शरण लामिछाने पुर्खौली पेशा पण्डित्याइमा व्यस्त रहनुहुन्थ्यो । पछिल्लो समय परिवार मिलेर आफ्नो पुर्खौली पेशा पण्डित्याई छाडेर गाईपालनमा लागेको र पण्डित्याइ पेशाभन्दा गाईपालन पेशामा आफू खुशी रहेको उहाँको भनाइ छ । गाईपालन सुरु गरेपछि अरुले पनि आफ्नो गाई फार्ममा रोजगारी पाएको लामिछानेले बताउनुभयो । फार्मलाई व्यवस्थापन गर्ने, हेरचाह गर्नेलगायतका काममा आफूले आफ्ना परिवार र आफन्तको साथ पाएको उहाँको भनाइ छ । गाई फार्म सञ्चालनबाट आफू खुशी भएको उहाँले बताउनुभयो ।
फार्ममा उत्पादन भएको दूध ४० लिटर फार्मबाट र ६६० लिटर डिडिसी तथा प्राइभेट डेरीमा दिने गरिएको उहाँले जानकारी दिनुभयो । “बिहान ५ः०० नबज्दै स्थानीय बासिन्दा दूध लिन फार्ममा आइसक्नुहुन्छ”, सिलवालले भन्नुभयो, “शुद्ध दूध पाइने हुँदा स्थानीय मात्र नभई लालबन्दी, हरिवन लगायतका बजारबाट समेत दूध लिन आउनुहुन्छ ।”
अठार बिघा जमिन कम्पनीले खरीद गरेर त्यही जमिनमा गाईलाई आवश्यकपर्ने घाँस लगाएको र गाई भैँसीका लागि आवश्यकपर्ने साइजेल नामक पौष्टिक आहारसमेत आफूहरुले नै उत्पादन गर्ने गरेको सिलवालले बताउनुभयो । गाईका लागि दैनिक करीब चार हजार २०० किलो साइलेज दाना खपत हुने गरेको छ । कम्पनीले उत्पादन गरेको साइलेज करीब ८५ टन बाहिरसमेत पठाउने गरिएको सिलवालले बताउनुभयो । हाल फार्ममा उत्पादन भएको जैविक मल पाँच टन फार्म बाहिरका नागरिकलाई दिने गरिएको उहाँको भनाइ छ । अठार बिघा जमिन क्षेत्रभित्र गाई फार्म, घाँस उत्पादन, साइलेज दाना उत्पादन, ग्यास प्लान्ट र गोबर ग्यास उद्योगसमेत सञ्चालनको तयारी अवस्थामा छ । एक हजार गाई पाल्ने योजनाका साथ शुरु गरिएको सो अभियानले अहिले १५ जनालाई रोजगारीसमेत दिएको छ । विभिन्न छ प्रजातिका गाई पालिएको फार्ममा एउटा गाईले १० लिटरदेखि २५ लिटरसम्म एकपटकमा दुध दिने गरेको सञ्चालकको भनाइ छ ।-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्