×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बैंकबाट ऋण लिएर साढे ८ हजारले किने सेयर, एक अर्ब रुपैयाँ भन्दा बढी ऋण लिने ४ जना

काठमाडौँ । सेयर खरिदका लागि साढे ८ हजार लगानीकर्ताले मात्र बैंक तथा वित्तीय संस्थाबाट ऋण (मार्जिन प्रकृतिको कर्जा) लिएको भेटिएको छ । यो धितोपत्र कारोबारका लागि सेयर धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने ऋणीको संख्या हो । व्यक्तिगत ओभरड्राफ्ट, रियल इस्टेट, चालु पुँजीलगायत अन्य शीर्षकमा प्रवाह भएको कर्जा पनि सेयर बजारमा लगानी भएको हुन सक्छ । तर ती शीर्षकमा प्रवाह भएको कर्जा उपयोगको क्षेत्र यकिन गर्न अप्ठ्यारो हुन्छ । यसकारण यहाँ बैंक तथा वित्तीय संस्थामा सेयर धितो राखेर धितोपत्र कारोबारका लागि लिएको कर्जाको मात्र विश्लेषण गरिएको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्म ८ हजार ५ सय ६४ जना ऋणीले धितोपत्र कारोबारका लागि बैंक तथा वित्तीय संस्थामा सेयर धितोमा कर्जा लिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यसअनुसार एक करोड रुपैयाँभन्दा कम कर्जा लिने लगानीकर्ताको संख्या सबैभन्दा बढी (६ हजार ९ सय १० जना) छ । १ करोडदेखि ४ करोडसम्म ऋण लिने १ हजार १ सय ४३ र ४ करोडदेखि १२ करोडसम्म ऋण लिने ३ सय ८० जना छन् । १२ करोडदेखि २० करोडसम्म ऋण लिने ६३, २० करोडदेखि ५० करोडसम्म ऋण लिने ५८ जना, ५० करोडदेखि १ अर्बसम्म ऋण लिने ६ जना र १ अर्बदेखि डेढ अर्बसम्म ऋण लिने २ जना छन् । डेढ अर्ब रुपैयाँभन्दा बढी कर्जा लिने पनि २ जना मात्र रहेको राष्ट्र बैंकले जनाएको छ ।
पछिल्ला केही सातायता सेयर बजार उच्च दरले बढ्न सकेको छैन । अधिकांश कारोबार दिनमा घटेको छ । यो गिरावटलाई लगानीकर्ताले राष्ट्र बैंकले सेयर धितो कर्जामा गरेको कडाइसँग जोडेका छन् । तर गत आवमा सेयर धितोमा कर्जा लिएका लगानीकर्ताको संख्या हेर्दा एउटा संस्थाबाट ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँभन्दा बढी कर्जा लिन नपाइने राष्ट्र बैंकको पछिल्लो व्यवस्थाले १ सय ३३ जना लगानीकर्तालाई मात्र असर परेको देखिन्छ । किनकि गत आवमा १ सय ३३ जना लगानीकर्ताले मात्र सेयर कारोबारका लागि १२ करोड रुपैयाँभन्दा बढी कर्जा लिएको राष्ट्र बैंकको तथ्यांक छ ।

गत साउनमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई छोटो समयका लागि सेयरमा लगानी गर्न कडाइ गरेको थियो । मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा एक संस्थाबाट बढीमा ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट बढीमा १२ करोड रुपैयाँभन्दा धेरै लिन नपाइने व्यवस्था गरेको छ । सेयर बजारमा बढोत्तरी आएसँगै ठूलो संख्यामा नयाँ लगानीकर्ता थपिएका छन् । यसअनुसार गत आवमा मात्र सेयर बजारमा २० लाख १३ हजार लगानीकर्ता थपिएको नेप्सेको तथ्यांक छ । सोमबारसम्म ४३ लाख ७४ हजार लगानीकर्ताले डिम्याट (सेयर अभौतिकीकरण) खाता खोलेका छन् । अघिल्लो असारमा डिम्याट खाता संख्या १७ लाख २३ हजार ६ सय थियो । २०७७ असारदेखि २०७८ असारसम्म तुलना गर्दा भने बजारमा करिब २१ लाख नयाँ लगानीकर्ता थपिएको देखिन्छ । यो सेयर बजारको कुल लगानीकर्ता संख्या हो । गत असारसम्म दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको संख्या ८ लाख ७७ हजार पुगेको नेप्सेको तथ्यांक छ । २०७७ असारमा यस्तो संख्या २ लाख ४५ हजार थियो ।

गत आवमा मात्रै बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा बढाएर दोब्बर पुर्‍याएका छन् । यो सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले अर्थतन्त्रका विभिन्न क्षेत्रमा प्रवाह गरेको कर्जाको वृद्धिदरमध्ये सबैभन्दा बढी हो । यो बैंक तथा वित्तीय संस्थाले सूचीकृत कम्पनीका सेयर धितो राखेर प्रवाह गरेको कर्जा हो । यसअनुसार गत आवको अन्त्यसम्म बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा कुल १ खर्ब ६ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो आवको तुलनामा गत आवमा ५५ अर्ब ८७ करोड रुपैयाँ (११०.८ प्रतिशत) बढी हो । -कान्तिपुरबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: