×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एक करोड ८३ लाखको लागतमा जलाशय निर्माण गरिँदै, खेतीयोग्य जमिनमा सिँचाइ पुर्याउने उद्देश्य

तुलसीपुर । दाङको ५६ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ पुर्याउने उद्देश्यका साथ २०७३ सालदेखि सञ्चानलनमा आएको ‘बृहत् दाङ उपत्यका सिँचाइ आयोजना’ले फड्को मारेको छ । अहिले सिँचाइ पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ । लिफ्ट, भूमिगत सिँचाइ प्रणाली, नयाँ प्रविधिमा आधारित सिँचाइ प्रणाली, डाइभर्सन, सतह सिँचाइ प्रणालीलगायतको काम भइरहेको छ । सो क्रममा कार्यालयले १४ जलाशय निर्माण गरेको आयोजना प्रमुख राजु आचार्यले बताउनुभयो । “जिल्लाको सबै खेतीयोग्य जमिनमा सिँचाइ पुर्याउने लक्ष्यका साथ काम भइरहेको छ”, उहाँले भन्नुभयो, “थप पूर्वाधार निर्माणको काम भइरहेको छ ।”

जलाशय निर्माण गरिए पछि किसान उत्साहित भएका छन् । वर्षौँदेखी बाँझो रहेको जमिनमा सिँचाइ हुने भएको छ । आकाशे पानीको भर पर्नुपर्ने अवस्था हट्ने तुलसीपुर उपमहानगरपालिका–१८ दूधगजेरी निर्माण समितिका अध्यक्ष शेषमनि कुँवरले बताउनुभयो । “धेरै जग्गा बाँझा थिए, अब सिँचाइ गर्न सकिने अपेक्षा छ”, उहाँले भन्नुभयो, “अब वैशाख, जेठमा पनि सिँचाइ गर्न सकिने भयो ।” निर्माण गरिएका जलाशयमा बर्सात्को समयमा पानी जम्मा गरिने छ । करिब दुई लाख घनमिटर पानी अट्ने जलाशयबाट ६० हेक्टर क्षेत्रफलमा सिँचाइ गर्न सकिने कुँवरले बताउनुभयो । एक करोड ८३ लाखको लागतमा सो जलाशय निर्माण गरिँदैछ ।

घोराही उपमहानगरपालिका-२ र ४ स्थित सरेसोता जलाशय उपभोक्ता समितिका श्यामलाल भण्डारी सिँचाइसँगै माछापालन गर्ने योजना रहेको बताउनुहुन्छ । “पर्यटक आकर्षित गर्न डुङ्गा सञ्चालन गर्ने योजना छ”, उहाँले भन्नुभयो । रु दुई करोडको लागतमा निर्माण भइरहेको ३२ हेक्टर क्षेत्रफलमा सिँचाइ गर्न सकिने उक्त जलाशयको क्षमता तीन लाख घनमिटर पानी अट्ने छ । यहाँ निर्माण गरिएका जलाशय प्राकृतिक तालभन्दा कम छैनन् । जलाशयका माध्यमले जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने तुलसीपुर उपमहानगरपालिका–१८ का विष्णुप्रसाद दुलालले बताउनुभयो । “वनभोजस्थलका रुपमा विकास गर्ने योजना छ”, उहाँले भन्नुभयो । माछापालन गरेर आम्दानी गर्न सकिनेमा उहाँ आशावादी हुनुहुन्छ । पिर्थली कुइरेसोता जलाशयबाट १२७ हेक्टर क्षेत्रफलमा सिँचाइ गर्न सकिन्छ ।

जिल्लामा निर्माण गरिएका जलाशयबाट लिफ्टिङमार्फत सिँचाइ गरिने आयोजनाका सूचना अधिकारी शान्तराज गौतमले बताउनुभयो । “केही ठाउँमा सोलार र विद्युत्बाटै लिफ्टिङ गरिनेछ”, उहाँले भन्नुभयो । केही समय अघि निर्माण गरिएको घोराही उपमहानगरपालिका–२ रामपुरस्थित चेपे तालमा बृहत् सिँचाइ आयोजनाअन्तर्गत पाँच लिफ्टिङ जडान गरिएको छ । ८४ लाखको लागतमा निर्माण गरिएको उक्त आयोजनाबाट ३२ हेक्टर क्षेत्रफलमा सिँचाइ गरिँदै छ ।

जिल्लामा हालसम्म १४ जलाशय निर्माण गरिएका छन् । एक हजार ९२ हेक्टर क्षेत्रफलमा सिँचाइ गर्न सकिने तुलसीपुरमा तीन, घोराहीमा पाँच, दङ्गीशरणमा पाँच र शान्तिनगरमा एउटा जलाशय निर्माण गरिएका छन् । पछिल्लो समय जलाशयको माग बढ्दै गएपछि ‘मास्टर प्लान’ निर्माण गरिरहेको आयोजना प्रमुख आचार्यले बताउनुभयो । जिल्लाका झण्डै दुई सय ठाउँमा जलाशय निर्माण गर्न सकिने उहाँको भनाइ छ । कुनै बेला साना साना ‘सोता’ थिए । खोला बग्थे । ती खोलाबाट सीमित किसानले मात्रै सिँचाइको लाभ लिन पाउँथे । सयौँ बिघा खेतीयोग्य जमिन बाँझो हुन्थ्यो । सिँचाइको व्यवस्था नहुँदा धेरै युवा बेरोजगार भएका थिए । अहिले अवस्था फेरिएको छ । खेत–खेतमा सिँचाइ सुविधा पुगेको छ । बाँझा खेतमा अहिले लटरम्म अन्न, तरकारीलगायत उत्पादन भइरहेको छ ।-रासस

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: