लमजुङ । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ । दसैँअघि नै जिल्लाका अधिकांश क्षेत्रमा धान पाकेर पहेँलो भए पनि किसानले दसैँ चटारोका कारण धान काट्न भ्याएका थिएनन् । दसैँ टीका लगाएर किसान धान काट्न सुरु गरेका थिए । तर गत असोज ३१ गतेदेखि परेको बेमौसमी अविरल वर्षाका कारण लमजुङमा ७२ दशमलव २१ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुर्याइएको छ । कृषि ज्ञान केन्द्र लमजुङका अनुसार जिल्लामा कूल क्षेत्रफल १४ हजार ९७३ हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीमध्ये शून्य दशमलव ५ प्रतिशत क्षेत्रफलमा क्षति पुगेको छ ।
केन्द्रका प्रमुख सुदिप खतिवडाले भन्नुभयो, ‘अधिकांशमा ठाउँमा आंशिक क्षति भएको छ । दसैँ मनाउँदै गर्दा समेत धान पाकेकाले थन्काउनलाई काटेको अधिकांश धानबालीमा क्षति हुनपुगेको उहाँको भनाइ छ । जिल्लामा अधिकांश क्षेत्रमा किसानको पाकेको धानमा लगातारको वर्षाले क्षति पुर्याएको र अहिले पनि वर्षा जारी रहेकाले क्षतिको यकिन विवरण आउन नसकेको कृषि ज्ञानकेन्द्रले जनाएको छ । ‘दुई दिनसम्म धान काट्यौँ, अहिले लगातारको पानीले पाकेको धान सखाप पारेको छ, अब कसरी धानलाई भित्र्याउने भन्ने चिन्ता छ’, राइनास नगरपालिका-८ का लालमाया श्रेष्ठले भन्नुभयो, ‘कमेरो फाँटमा धान काटेको थिएँ, पाँच हलको धान खेतमा क्षति पुगेको छ ।
दुःख गरेर उब्जाएको धान पनि थन्काउन नपाएपछि कसरी खाने भन्नुपर्ने स्थिति आउन थालेको छ ।’ ‘यसपटक समयमा नै पानी परेपछि धान रोपाइँ पनि समयमा गरौँ, मलको अभाव पनि थिएन । धान पनि राम्रो थियो तर अहिले घरमा भित्र्याउन लाग्दा पानी परेर ठूलो क्षति भयो’, उहाँले भन्नुभयो । वर्षाले धानबालीमा क्षति पुर्याउँदा किसान निराश बनेको उहाँको भनाइ छ । त्यस्तै मध्यनेपाल नगरपालिकाका मोहन पौडेलले भन्नुभयो, ‘यहाँका अधिकांश खेतका धान पानीले डुबाउनुका साथै क्षति पुर्याएको छ । महिनौं खटिएर गरेको धानखेती क्षति हुँदा किसान रोएको उहाँको भनाइ छ । जिल्लाका अधिकांश किसानको समस्या उहाँहरु जस्तै छन् ।
जिल्लामा ४५ हजार ९९० मेट्रिक टन धान उत्पादन हुने गरेको अनुमान छ । तर यसवर्ष धान उत्पादन घट्ने ज्ञान केन्द्रको अनुमान छ । जिल्लामा धानबाली मात्र नभइ अन्य बन्दा, काउली, नर्सरी लगायतमा क्षति पुगेको छ । केन्द्र प्रमुख खतिवडाका अनुसार एक हजार ३५० हेक्टरमा तरकारी खेती गरिएकोमा ७ हेक्टरमा क्षति पुगेको छ । त्यस्तै, मास, कोदोलगायतका अन्नबालीमा समेत क्षति पुगेको छ । दसैँ मनाएर खुसीका साथ बाली थन्काउने तयारीमा रहेका जिल्लाका किसानलाई बेमौसमी वर्षाले किसानको खुसी खोसिदिएको छ । दुःख गरेजति अन्नबाली नउब्जने भए पनि खेती गरेका किसानलाई झन् समस्यामा पारेको छ । -रासस