काठमाडौँ । सेन्चुरी कमर्सियल बैंक लिमिटेडमा संचालक हुँदादेखि नै अलि फरक थिए कुसन । बैंकमा ऋण लिने प्रक्रियाकाबारेमा जानकार मात्र थिएनन् उनी, मै हुँ भन्ने बैंकका सीइओका ‘जिग्री दोस्त’ थिए उनी । सेन्चुरीमा रहंदा देखि नै उनी ऋण ‘मिलाईदिने’ काम गर्थे । यतिसम्मकि उनी कुनै पार्टीमा कसैलाई भेट्दा ‘ऋणको जिम्मा मेरो’ भनिदिन्थे । किस्सा यस्ता पनि छन् कि उनका लागि ५-७ करोडको ऋण भनेको चुट्कीको खेला थियो । उनी जति करोड ऋण हो, त्यति दिनमै कागज बनिसक्छसमेत भन्थे । सेन्चुरी कमर्सियल बैंकमा उनी संचालक हुँदा उनका साथी व्यवस्थापनमा थिए । त्यति बेलादेखि नै उनी करोड-करोडका फाइल लिएर सीइओकहाँ पुग्थे । र ऋण तुरुन्त मिलाईदिन्थे । यतिसम्मकि ऋणको मामलामा उनी बैंकका अघोसित सीइओजस्तै थिए । पढ्दा उही कोठामा बसेका साथी बैंकको सीइओ भएपछी के को डर ? उनी ऋण मिलाईदिने केसमा अब्बल थिए ।
ऋण मिलाईदिने क्रममा उनले ऋणका लागि आवश्यक कागजात के के रहेछ भन्ने पूरै बुझेनन् मात्र, ती कागजको काम बैंकभित्र के हुन्छ भन्नेसमेत बुझे । उनले ती कागजहरुलाई यसरी गहिरो अध्ययन गरे कि उनले अव ती कागज नक्कली बनाएर ऋण लिंदा कहाँ फसिन्छ, कहाँ जोगिन्छ भन्ने पनि विचार गरे । विचार गर्दै गर्दा उनी यस्तो निष्कर्षमा पुगे कि कसैले ऋण तिर्ने नै मनसाय राखेको छ भने नक्कली धितो भन्ने कहिल्यै थाहा नै हुँदैन । लालपूर्जा नक्कली, मालपोतको कागज नै सबै नक्कली भएपछी, न सक्कली जग्गाधनीले यस विषयमा थाहा पाउँछ, न ऋणको सावाँ र ब्याज आएपछि बैंकले यस विषयमा थाहा पाउँछ । यो निष्कर्षमा पुगेर उनी आफैं सबै कागज बनाउने र ऋण लिने कामको सुरु गर्ने निष्कर्षमा पुगे ।
अफिस नै खोलेर नक्कली लालपूर्जाको उत्पादन !
सेन्चुरी छोडेपछि उनले काठमाडौँमा एउटा बिना बोर्डको अफिस खोले । जहाँ लोन मिलाईदिने काम हुन्थ्यो । कसैलाई ऋण चाहिए सो ऋणसँग सम्बन्धित सबै कागजात त्यहीं बन्थे । उनी यतिसम्म बाठा थिए कि, ऋणलाई आवश्यक पर्ने लालपूर्जा, मालपोतको कागज सबै नक्कली आफैं बनाउँथे । यो बीचमा उनी लालपूर्जाको सक्कल जस्तै देखिने नक्कली लालपूर्जा कहाँ पाइन्छ भनेर आफैं धाउँथे । अनि ल्याएरै छोड्थे । अलि अगाडीसम्म ऋणको काम गर्दा त्यस्ता कागजहरु पाउने ठाउँ उनले थाहा पाईसकेका थिए । देख्दा यतिसम्म प्रोफेसल देखिन्थे उनी कि आफुसँग ३ जना चार्टड एकाउन्टेन्टसमेत राखेका थिए जसले उनलाई अडिट रिपोर्ट बनाउने देखि अन्य सम्बन्धित काममा सहयोग गर्थे । उनी भन्थे- जति करोडको ऋण हो, कागज बन्न त्यति नै दिन लाग्छ । १-२ करोडको ऋण त उनी एक दुई दिनमा निकालीसम्म दिन्थे ।
यसरी नक्कली कागज खडा गरेर उनले एक दुई पटक ऋण निकालिसकेका थिए । तर ऋण तिरीसक्दा पनि कसैले थाहा पाएन । त्यसले उनलाई थप हौसला दियो । ऋण साच्चै तिर्ने हो भने कसैले पनि थाहा नपाउने रहेछन् भन्ने अझ आत्मविश्वास बढ्यो उनमा । लालपूर्जा नक्कली बनाउन पनि जानियो, मालपोतको कागज बनाउन पनि जानियो । अव उनमा कन्फीडेन्स लेबल नै छुट्टै थियो । मालपोतको कागजका लागि चाहिने सरकारी छाप, मालपोतका कर्मचारीको हस्ताक्षर उनी सबै नक्कली बनाउँथे । उनको यो नक्कली कामको जनाकारी थोरैलाई मात्र थियो ।
तर यसपटक उनी फसे । यसकारण पनि फसे कि पैसाको मतलव खास नभएको तर आफ्नो अडानमा अडिग हुने स्वभावका गायक योगेश्वर अमात्यको फेला परे उनी । योगेश्वर अमात्यले आफ्नो जग्गाको किर्ते कागज बनाएर बैंकबाट ऋण झिकिएको थाहा भएपछी सीआइबीमा उजुरी गरे । सीआइबीमा उजुरी गरेपछि यो प्रकरण अगाडी बढ्यो ।
कुसन यतिसम्म आत्मविश्वासी थिए कि उनी यस प्रकरण सीआइबीमा पुग्दैछ भन्ने थाहा पाएपछी पनि यो प्रकरण मिलाउन तिर लागे । नक्कली जग्गा छोडेर सक्कली जग्गा मिलाईदिए बैंकलाई । बैंकलाई अव आफ्नो लोन सुरक्षित रहेको आभास दिलाईदिए । बैंकलाई यसो गर्दा यो केस टुंगिन्छ भन्ने पनि उनले नै सिकाए । तर नहुनुपर्ने अपराध भईसकेको थियो । सरकारी छाप, हस्ताक्षर, मालपोतका कागजात, लालपूर्जा सबै नक्कली बनिसकेका थिए । नभन्दै कार्तिकमा प्रहरीले उनलाई पक्राउ गर्यो । उनीसँगै ऋणीहरु पनि पक्राउ परे । पक्राउ परेपछि मात्र ती ऋणीहरुले कुसनको भित्रीकथा थाहा पाए । तर त्यो बेलासम्म धेरै ढिलो भईसकेको थियो । उनीहरु नक्कली ऋण काण्डमा परिसकेका थिए ।
पर्दा पछाडीका सहयोगीहरुलाई के हुन्छ ?
कानुनी व्यवस्था अनुसार अपराध गर्नेलाई मात्र होइन, अपराध गर्न सहयोग गर्नेलाई पनि कारवाही हुन्छ । उनलाई यस्तो नक्कली काम गर्न ३ सिएहरुले सघाउँथे । तर ती सिएहरुको नाम बयानका क्रममा प्रधानले कतै भनेका छैनन् । र तीनै सिएहरुले एक कान दुई कान गर्दा सिए क्षेत्रमा यो केस धेरैलाई पहिला नै थाहा भईसकेको थियो । यो प्रकरणमा सीआइबी अझ गहिराईसम्म पुग्न खोजेको खण्डमा उनीहरु पनि नमुछिने कुरै छैन । तर सीआइबी अहिले गलत काम गर्नेको मुद्धामात्र अगाडी बढाउने रणनीतिमा भएको बुझिएको छ ।