×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मुलुकको व्यापार घाटा थप चुलिँदै, ६ महिनामा ४६. ६४ प्रतिशतले बढ्यो व्यापार घाटा !

काठमाडौँ । मुलुक आर्थिक संकटतिर उन्मुख भइरहेका बेला अर्को व्यापार घाटा चुलिँदै गएको तथ्याङक सार्वजनिक भएको छ । आइतबार भन्सार विभागले चालू आर्थिक वर्षको ६ महिनाको वैदेशिक व्यापार आयात तथा निर्यातको अवस्था सार्वजनिक गर्दै मुलुक चरम व्यापार घाटामा गएको जानकारी गराएको हो । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा व्यापार घाटा ४६. ६४ प्रतिशतले बढेको छ । यसरी ६ महिनामा ४६. ६४ प्रतिशतले नेपालको वैदेशिक व्यापार घाटा भएर ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख पुगेको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ६ खर्ब ४४ करोड ६१ लाखको भएको थियो । एक वर्षको अवधिमा २ अर्ब ८० अर्ब ४ करोड ५६ लाख रुपैयाँले व्यापार घाटा वृद्धि भएको छ ।
भन्सार विभागको तथ्याङक अनुसार चालु आर्थिक वर्षको ६ महिनामा मुलुकको वैदेशिक व्यापार ५४.८६ प्रतिशतले वृद्धि भएर ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाख पुगेको छ । गत वर्षको सोही अवधिमा ७ खर्ब २२ अर्ब ४५ करोड रुपैयाँ वैदेशिक व्यापार भएको थियो । त्यस्तै, चालु आर्थिक वर्षको ६ महिनामा आयात र निर्यात दुबैमा वृद्धि भएको छ । पछिल्लो ६ महिनामा नेपालमा विभिन्न वस्तु तथा सेवा आयात ९ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख रुपैयाँ बराबरको भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा यस्तो आयात ६ खर्ब ६१ अर्ब २४ करोड ५३ लाखको आयात भएको थियो । यसरी गत आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षको ६ महिनामा ५९ दशमलव १३ प्रतिशतले वृद्धि भएको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा नेपालबाट निर्यात हुने वस्तु तथा सेवामा १ खर्ब १८ अर्ब ८५ करोडको निर्यात गरेको छ । गत आर्थिक वर्षमा यस्तो निर्यात ६० अर्ब ७९ करोड ९२ लाख गरिएको थियो । यो निर्यात गत वर्षको भन्दा ९५.४८ प्रतिशतले वृद्धि भएको छ ।
चालू आर्थिक वर्षको ६ महिनामा नेपालमा १४८ देशबाट विभिन्न वस्तु तथा सेवा नौं खर्ब ९९ अर्ब ३४ करोड २७ लाख रुपैयाँ बराबरको आयात गरिएको छ । पछिल्लो ६ महिनाको अवधिमा सबैभन्दा धेरै भारतबाट सामान आयात भएको भन्सार विभागको तथ्याङकले देखाएको छ । यसरी सो अवधिमा भारतबाट ६ खर्ब ३ अर्ब ५४ करोड ५१ लाखको सामान आयात भएको छ । त्यस्तै भारत पछि सबैभन्दा धेरै समान आयात चीनबाट भएको छ । चालू आर्थिक वर्षको ६ महिनामा चीनबाट १ अर्ब ४५ अर्ब ९१ करोड ३६ लाख मूल्य बराबरका वस्तु आयात भएको छ । नेपालको कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ८९.३७ प्रतिशत रहेको छ भने निर्यातको हिस्सा १०.६३ प्रतिशत रहेको छ । यसरी आयात बढ्दै जाँदा विदेशी मुद्राको सञ्चिति घट्दै गएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार हाल ७.५ महिनाको लागि मात्रै आयात धान्ने विदेशी मुद्रा सञ्चिति रहेको छ ।
नेपालले दुई छिमेकी मुलुकबाट यतिधेरै वस्तु आयात गरेता पनि नेपालबाट भारत र चीनमा एकदमै थोरै मात्र सामान निर्यात भएको छ । पछिल्लो ६ महिनाको अवधिमा नेपालले भारतमा ९६ अर्ब ५६ करोड तथा चीनबाट ४५ करोड ६२ लाख ४७ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको भन्सार विभागले जनाएको छ । चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा डिजेलको आयात सबैभन्दा धेरै रहेको छ । डिजेल पछिल्लो ६ महिनामा ६१ अर्ब ४७ करोड रुपैयाँ बराबरको आयात भएको छ । त्यस्तै, पेट्रोल २९ अर्ब २७ करोड रुपैयाँका बराबरको आयात भएको छ भने सोयाविन तेल ३६ अर्ब ५४ करोड रुपैयाँको आयात भएको छ । जसमा २९ अर्ब २३ करोड रुपैयाँ बराबरको खाना पकाउने ग्याँस आयात भएको छ । २७ अर्ब ४९ करोड रुपैयाँको पाम तेल आयात भएको छ ।
यस्तै, निर्याततर्फ पनि सोयाविन तेल र पाम तेलको हिस्सा धेरै रहेको छ । प्रशोधन गरिएको पाम तेल ११ अर्बभन्दा बढीको निर्यात भएको छ भने सोयाविन तेल ३४ अर्ब रुपैयाँ भन्दा धेरैको निर्यात भन्सार विभागले जनाएको छ ।
भन्सार विभागको तथ्याङकले वैदेशिक व्यापार घाटा बढेको देखाएको छ भने यस अगाडि नेपाल राष्ट्र बैंकले समग्र मुलुकको वित्तीय विवरण अनुसार अर्थतन्त्रका सबैजसो सूचक ऋणात्मक स्थितिमा पुगेका छन  । मुलुक भित्रिने र बाहिरिने विदेशी मुद्राको अवस्था देखाउने शोधनान्तर हालसम्मकै उच्च घाटामा पुगेको छ । विदेशी मुद्रा सञ्चिति पौने २ खर्ब रुपैयाँले कमी आएको छ । मूल्यवृद्धि पाँच वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । रेमिट्यान्स लगातार घटिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: