बलेवा । परम्पारागत हलोका सहारामा खेतबारी जोत्नेका हातमा अहिले मेसिन छ । सङ्घीय, प्रदेश र स्थानीय सरकारले अनुदानमा दिएका ‘मिनिटेलर’ हलो (आधुनिक हालो)ले परम्परागत शैली फेरिएको छ । कतिपयले व्यक्तिगत लगानीमा आधुनिक हलोको जोहो गरेका छन् ।
केही वर्ष पहिलेसम्म दिनभर जोत्दा नसकिने खेतबारी अहिले एक/दुई घण्टामा जोतेर सकिन्छ । डिजेल र पेट्रोलका सहायतमा चल्ने ‘मिनिटेलर’ गाउँगाउँमा पुगेपछि हिजो गोरुका पछि हलोको अनौ समाउनेहरुले अहिले मिनिटेलरको गियर त चलाएका छन् तर प्राविधिक ज्ञानको अभावमा बीचमै रोकिने हलो मर्मत कसरी गर्ने भन्ने समस्या भने कायम थियो ।
“किसानलाई उपकरण मात्रै होइन, प्राविधिक ज्ञानको पनि आवश्यकता छ, उपकरणको सही प्रयोग नहुँदा परम्परागत शैलीमा भन्दा धेरै दुःख हुन्छ”, जैमिनी नगरपालिकाको कृषि शाखाका प्राविधिक रवीन्द्र शर्मा भन्नुहुन्छ, “एक वर्ष पहिलेसम्म हामीले प्रविधि मात्रै दियौँ, अहिले प्राविधिक ज्ञान पनि दिने अभियानमा छौँ ।” कृषि शाखाले यस वर्ष मात्रै मिनिटेलर मर्मत गर्नसक्ने २१ किसान तयार पारेको छ ।
दस दिन लामो प्रयोगात्मक तालिमको व्यवस्था गरेर किसान आफैँले मेसिन मर्मत गर्नसक्ने बनाइएको छ । “घरको हलो बिग्रिँदा बजार पुर्याउनुपर्ने, मर्मत खर्च पनि किसानले धानिनसक्नुको महँगो”, जैमिनीकै किसान प्रेम पौडेलले भन्नुभयो, “तालिम पाएपछि आफ्नो मात्रै होइन छिमेकीको हलो बिग्रिए पनि अब हामी आफैँ बनाउँछौँ ।” तालिम पाएपछि किसानहरु उत्साहित छन् ।
जैमिनी नगर प्रमुख इन्द्रराज पौडेलले तालिमले प्राविधिक ज्ञान दिने र कृषकहरुलाई नै सहज बनाउने जानकारी दिनुभयो । किसान सबल नहुँदासम्म कोही पनि सुरक्षित नहुने उहाँको तर्क थियो । उहाँले नगरपालिकाले अनुदानमा दिएका कृषि सामग्रीहरु बिग्रिएर प्रयोगविहीन बनेकाले यो तालिमले कृषकहरुको सामग्रीको सदुपयोग हुनेमा आशा व्यक्त गर्नुभयो ।
कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र पोखराको प्राविधि सहयोग लिएर नगरले किसानलाई तालिम दिएको हो । कृषि मेसिनरी औजार मर्मत तालिम अवधिभर कृषकहरुले प्रयोगात्मक अभ्यास गरेका थिए । नगरले कृषि औजार बिग्रेको भए निःशुल्क मर्मतसम्भारसमेत गर्ने प्रबन्ध गरेको छ । “हामीले अहिले तयार गरेका किसानले अरूलाई पनि सिकाउँछन्,” प्राविधिक शर्मा भन्नुहुन्छ, “अब प्राविधिक ज्ञानको अभावमा किसानले महँगो मूल्य तिरेर मर्मत गर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ ।” बागलुङका दसवटै स्थानीय तह र कृषि ज्ञान केन्द्र बागलुङले हरेक वर्षका कार्यक्रममा यान्त्रिकीकरणका लागि मिनिटेलर हलो वितरण गर्ने गरेका छन् भने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फतसमेत कृषिमा यान्त्रिकीकरण थालिएको छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्