×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘ब्याजदर आधारदरमा दुई प्रतिशतभन्दा बढी हुँदैन, बैंकिङ क्षेत्र र व्यवसाय क्षेत्र सबै गोलमाल छ’ : अर्थमन्त्री शर्मा (भिडियो)

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुले उद्योगलाई दिने कर्जाको ब्याजदर आधारदरमा दुई प्रतिशत भन्दा बढी हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ । शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ५५ औँ स्थापना दिवसको अवसरमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताउनु भएको हो । उहाँले त्यसका लागि नेपाल राष्ट्र बैंक तथा अन्य बैंकहरुसँग छलफल भईरहेको पनि स्पष्ट पार्नु भयो । पछिल्लो समय बैंकको ब्याजदर वृद्धि हुँदा उद्योगी व्यवसायीहरुलाई समस्या परेको र ती समस्या समाधानको लागि सरकारले काम गरिरहेको अर्थमन्त्री शर्माले बताउनु भयो । मन्त्री शर्माले नेपालको बैंकिङ क्षेत्र र व्यवसाय क्षेत्र सबै गोलमाल भएको बताउनु भयो । उहाँले उद्योग व्यवसायहरुलाई विकास गर्नको लागि उद्योगीहरुले सुझाव दिनुपर्ने बताउनु भयो ।

मन्त्री शर्माले भन्नुभयो, ‘पछिल्लो समयमा बैंकको ब्याजदर जसरी वृद्धि भएको छ, त्यसले उद्योग वाणिज्य क्षेत्रमा एउटा उद्योग व्यवसायीहरुलाई समस्या पैदा भएको छ । त्यसलाई कसरी समाधान गर्ने भनेर मैले वृहत छलफल शुरु गरेको छु । राष्ट्र बैंकसँग परामर्श गरिरहेको छु र यसलाई निकास दिनुपर्छ भन्ने मान्यतामा अर्थमन्त्रालय लागिरहेको छ । यो बैंकहरुले स्वतः आफैँ बढाउन पाउने खालको नीति बनिएको रहेछ । त्यो नीतिअनुसार अहिले ब्याजदर रेट निर्धारण गर्ने अधिकार स्वयं बैंकहरुको आफ्नो एशोसिएशनले गर्ने भएको हुनाले उहाँहरुसँग पनि छलफल गरेर यसलाई एउटा बीचको बाटो खोज्नुपर्ने आवश्यक्ता छ । मैले उत्पादन क्षेत्रको लोन त्यसलाई बेस रेट भन्दा दुई प्रतिशत बढी बनाउन हुँदैन भनेर राष्ट्र बैंकलाई सल्लाह दिएको छु । त्यो निर्णय गर्न र अन्य ब्याजलाई पनि एउटा निश्चित रेन्ज भन्दामाथि नजाने गरेर निर्धारण गर्नुपर्छ नत्र भने व्यवसायीहरुले एउटा स्तरमा लिएको ऋण ब्याज बढेर असफल हुने अवस्था सिर्जना हुन्छ । त्यसकारणले व्यवसायलाई बढाउनु पर्छ भन्ने कुरामा छलफल भइरहेको छ र हामी यसमा छिटै निकास निकाल्ने छौँ । नेपालको बैंकिङ क्षेत्र र व्यवसाय क्षेत्र सबै घालेमाले भएको छ । यसले पनि एउटा समस्या पैदा भएको छ । यसको बारेमा पनि म तपाईहरुको धारणा लिन चाहन्छु । यसलाई कसरी व्यवस्थापन गर्ने हो । यो एउटा जटिल विषय छ । यसले पनि समस्या पैदा गरिरहेको छ ।’

त्यस्तै, अर्थमन्त्री शर्माले हरेक वर्ष निर्यातलाई बढाउँदै लैजाने गरी सरकारले नीति बनाउने बताउनु भयो । उहाँले आयात प्रतिस्थापनको लागि उत्पादन र निर्यातमा केही वृद्धि भएपनि त्यो अपुग रहेको बताउनु भयो । अर्थमन्त्री शर्माले अब नयाँ बजेट र नीति निर्माण गर्ने बेला भएको भन्दै उद्योग विकास र वृद्धिका लागि यसमा उद्योगीहरुले राय सल्लाह दिन आग्रह गर्नुभयो । उहाँले हाल ऋण पाउने कुरामा समस्या भएको र कोभिड १९ का कारण भएको ऋणको व्यवस्था भएपछि तरलताको समस्या पनि समाधान हुने बताउनु भयो । अर्थमन्त्री शर्माले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई सहजरुपमा नेपालमा डलर खाता खोल्न पाउने व्यवस्था गरेर पनि यसलाई समाधान गरिने बताउनु भयो । उहाँले विदेशबाट बैंकहरुले ऋण लिनको लागि पनि आवश्यक निर्णयहरु गरिएको बताउनु भयो ।

मन्त्री शर्माले भन्नुभयो, ‘हाम्रो निर्यात वृद्धि गर्ने कुरा आफ्नो ठाउँमा छ तर आयात प्रतिस्थापन गर्ने उद्देश्यमा उत्पादन, आयात प्रतिस्थापनको लागि उत्पादन र निर्यातमा केही वृद्धि त भएको छ । तर त्यो निर्यातलाई वास्तविक निर्यात हरेक वर्ष निश्चित प्रतिशतमा वृद्धि गर्दै जाने लक्ष्य लिनुपर्छ भन्ने बारेमा हामी अब नयाँ नीति, योजना बनाउने क्रममा पनि छलफल शुरु गरेका छौँ । अब नयाँ बजेट र नीति निर्माण गर्ने बेला भएको हुनाले उद्योग वाणिज्य संघलगायतलाई आवश्यक सल्लाह सुझाव दिनुहुन अनुरोध गर्दछु । उद्योग व्यवसायलाई कसरी थप राम्रो गर्न सकिन्छ भन्ने बारेमा नै केन्द्रित भएर नीतिहरु निर्माण गरिनेछ । अहिले केही ऋण पाउने कुरामा समस्या र कोभिडका कारणले गरेका ऋणको व्यवस्थाहरुको पनि एउटा समयावधि सकिएपछि त्यसले एउटा हाम्रो तरलताको समस्यालाई समाधान गर्नतिर खर्च पनि वृद्धि गर्नेतिर काम भइरहेको छ । मन्त्रालयहरुले आफ्नो अर्च बढाइरहेका छन् । ऋण लगानी गरेको र फिर्ता पनि नआइरहेको अवस्था हुँदा अब आउने क्रममा पनि आइपुगेको छ । सँगै वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई एउटा डलर खाता, सहज रुपमा नेपालमा खोल्न पाउने व्यवस्था गरेर पनि त्यसलाई कम गर्ने, विदेशबाट बैंकहरुले ऋण लिनको लागि पनि आवश्यक निर्णयहरु हामीले गरेका छौँ । त्यसबाट पनि यसलाई कम गर्नको लागि र लगानी वृद्धि गर्ने, लगानी एभ्रिआई ल्याउनेतर्फ पनि हामीले विशेष ढंगले काम गरिरहेका छौँ । केही वृद्धि पनि भइरहेको छ । यी कार्यहरुबाट नै यसलाई हामीले तरलताको अभावलाई समाधान गर्न सक्छौँ ।’  मन्त्री शर्माले गोलमाल भएको बैंकिङ क्षेत्रलाई सुधार्न र व्यवस्थापन गर्ने कार्यमा मन्त्रालयले काम गरिरहेको पनि बताउनु भयो ।हेर्नुहोस् भिडियोः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: