×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय बाणिज्य बैंकमा डरलाग्दो सुनकाण्ड : धितो राखेको सक्कली सुन फिर्ता दिंदा नक्कली ! (पीडीतको बयानसहित)

PRIME CA
GLOBAL IME BANK

राष्ट्रिय बाणिज्य बैंकमा डरलाग्दो सुनकाण्ड : धितो राखेको सक्कली सुन फिर्ता दिंदा नक्कली ! (पीडीतको बयानसहित)

६ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: < ४ मिनेट

काठमाडौँ। तपाईं हामीले सोच्न पनि नसक्ने कुरा हो कि बैंक र त्यसमा पनि सरकारी बैंकमा रकहेको सक्कली सुन झिक्दा नक्कली भएर आउन सक्छ भनेर । तर राष्ट्रिय बाणिज्य बैंकको हकमा भने यस्तै भयो । इलाम नगरपालिका ८ कि बिना चेम्जोङ्गले सदरमुकामस्थित राष्ट्रिय वाणिज्य बैंकबाट गत असार १० मा सुन धितो राखेर ऋण लिएकी थिइन् । दुखका बेला ऋणको जोहो गर्न मिल्ने भएपछी आफुले दुख गरेर आर्जन गरेको अन्दाजी ७ आनाको औंठी, ४ आनाको पञ्चरत्न चुरा, अन्दाजी २ तोला ४ आनाको २ थान सिक्री र अन्दाजी १ तोलाको एउटा सिक्री बैंकमा राखेर उनले १ लाख ४७ हजार रुपैयाँ ऋण लिइन् । बैंकमा राखेको सुन तलमाथि हुनसक्छ भन्ने कुरा उनले सपनामासमेत सोचेकी थिइनन् । विस्तारै व्यवहार मिलाएकी उनले लिएको ऋणको पहिलो किस्ता ३ हजार ८ सय ८० र दोस्रो किस्ता ३ हजार ५ सय ३५ रुपैयाँ तिरिको रेकर्ड बैंकमा देखिन्छ । बैंककै रेकर्ड हेर्ने हो भने गत फागुन १ गते तेस्रो किस्तामा १ लाख ४९ हजार ४ सय ६० रुपैयाँ तिर्दा उनको ऋण चुक्ता भएको देखिन्छ ।

तर ऋण चुक्ता गरेको दिन बैंकले शंकास्पद गतिविधि देखायो । ऋण चुक्ता गरेकै दिन आफ्नो गहना फिर्ता माग्दा उनलाई बैंकले २ घण्टा पछि आउनु र आफ्नो सुन फिर्ता लैजान भनियो । उनी पनि बैंकको प्रक्रिया होला र प्रक्रियामा समय लागेको होला भन्ने लागेर २ घण्टापछि बैंक पुगिन् । बैंकमा उनलाई बैंकका कर्मचारीले धितो राखेको गहना फिर्ता पनि दिए । तर यतिबेला उनको हातमा परेको सुनको गहना नक्कली थियो ।

तर झट्ट हेर्दा सुन आफुले राखेको सुन नभई अर्को भएको शंका लागेपछि उनले बैंकका कर्मचारीलाई सुन आफुले राखेको सुन नभएको शंका भएको बारे बताईन् । तर बैंकका कर्मचारीले उल्टै ‘सबैले विश्वास गर्ने बैंकलाई तपाईंले नगर्ने ?’ भनेर हप्काएर पठाए । बैंकका कर्मचारीले यति भनिसकेपछि उनी घर फर्किन त फर्किन, तर मनमा कतै कतै सो सुन आफ्नो होइन कि भन्ने शंका भयो उनलाई । यसो त बैंकले यतिबेलासम्म देखाईरहेको अनेक व्यवहारले उनलाई शंका उब्जाउने ठाउँ दिएको थियो । आफुलाई दिनुअघि नै बैंकले लाहाछाप खोलेर ल्याएको बताउने बिना भन्छिन- मैले राख्न दिएको सामान फिर्ता दिँदा मेरैअगाडि लाहाछाप खोल्नुपर्नेमा अघि नै खोलिएको थियो,’

बैंकका कर्मचारीले सबैले विश्वास गर्ने बैंकलाई तपाईंले नगरेर हुन्छ ? भनेपछि उनी घर फर्केकी थिइन् । घर फर्केकी बिनाले सो सुन लगाउन खोज्दा सिक्रीमा हुकसमेत नभएको पाईन् । हुक भएको सिक्री बैंकमा दिएकी बिना थप शंका गर्ने स्थितिमा पुगिन । त्यसपछि उनी सिक्रीमा हुक लगाइ माग्न ज्वेलरीमा गइन् । जव उनी सुन पसलमा गइन्, त्यतिबेला प्रमाणित भयो कि बैंकले उनलाई दिएको सिक्री सुन नभएर सुनको जलप मात्र लगाएको नक्कली गहनामात्र थियो । सुन पसलेले उनको सिक्रीलाई सुन नभई सुनको जलपमात्र लगाइएको भनेपछि उनी छाँगाबाट खसेजस्तै भइन् । नहुन पनि किन, दुखले आर्जेको सम्पत्तिले जोहो गरेको सुन बैंकले नक्कली बनाएर फिर्ता दिएपछि जो कोहि पनि छाँगाबाट खसे जस्तो हुने नै भयो । त्यसपछि सिक्री बोकेर उनी बैंक नै पुगिन् । तर यतिबेला बैंक म्यानेजरले उनलाई ‘आफूले जिम्मा बुझेर लगेको सामान फिर्ता ल्याउन नमिल्ने’ जबाफ दिए । हस्ताक्षर गरेर बुझिसकेको सामान फिर्ता नहुने भन्दै बैंक मेनेजरले उनलाई उल्टै तपाइँ जे गर्नुहुन्छ, गर्नुस् भनेर थर्काए ।त्यसपछि उनी प्रहरी र सिडिओकहाँसमेत गइन् । त्यहाँबाट पनि हेरौंला, बुझौंला भन्ने आश्वासनबाहेक केही नपाएपछि उनले पत्रकारसम्मेलन नै गरेर आफ्नो दुखेसो पत्रकारहरुसमक्ष राखेकी छिन् । धितो राखेर फिर्ता पाएका अरू सिक्री र पञ्चरत्न भने आफ्नै रहेको उनको भनाई छ ।

नक्कली सुन प्रकरणमा के भन्छ बैंक ?
यस विषयमा बैंकको तर्क भने झारा टार्ने खालको मात्र छ । बिना चेम्जोङको सक्कली सुनलाई बैंकले नक्कली भनेर दिएको विषयमा बुझ्दा बैंकका शाखा प्रबन्धक इन्द्र कार्की बैंकबाट आफ्नो सामान (सुन) बुझेर लिएपछि केहि दिन पछि मात्र ‘यो सामान मेरो होइन’ भन्ने गुनासो आउँदा आफुहरुले केहि गर्न नसकेको तर्क गर्छन् । बैंकको सीसीटिभि फुटेज हेर्दा बिनाले सामान फिर्ता लिएको, र लिएका बेला बैंक कर्मचारी सर्मिला ढुंगानासँग संवाद गरेको देखिन्छ । यस विषयमा बैंकलाई प्रहरी र सीडीओलेसमेत बुझेका थिए । तर ठुलो बैंकको धक्कु लगाएर बैंकले निरन्तर यो प्रकरणमा आफु चोखिने प्रयास गरिरहेको आरोप बैंकमाथि छ । यसो त सुन फिर्ता दिने बेलामा लाहाछाप सुरुमै किन खोलियो भन्ने विषयमा पनि बैंकको जवाफ झारा टार्ने खालको मात्र छ । कार्कीले लाहाछाप चाहिँ सुन फिर्ता दिने बेलैमा खोलिने र ऋण चुक्ता गरेपछि पनि राखेको ठाउँबाट धितोको रुपमा रहेको सुन झिकेर फिर्ता दिन केही समय लाग्नसक्ने तर्क गरेका छन् । बैंकका अन्य अधिकारीहरु पनि यस विषयमा बैंकको केहि पनि गल्ती नभएकोझैं गरेर आफु माथि रहेको देखाउन खोजिरहेका छन् ।

राष्ट्रिय बाणिज्य बैंकमा भएजस्तै घटना केहि समय अघि महालक्ष्मी बिकास बैंकमा पनि भएको थियो । केहि समय अगाडी ललितपुरकी विष्णु महर्जनले २०७२ फागुनमा ऋण लिँदा राखेको धितो बराबरको २५ तोला सुन राख्दा सक्कली थियो भने ऋण चुक्ता गर्दा सुन नक्कली भएको देखिएको थियो । ६ वर्षपछि साँवा र ब्याज चुक्ता गरेर महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखासँग धितो फिर्ता माग्दा बैंकले नक्कली रहेको भन्दै फिर्ता दिन नमानेपछि उनी न्यायका लागि प्रहरी र मिडियासमक्ष पुगेकी थिइन् । तर पटक पटक अनेक खालका सुन काण्ड घट्ने सो बैंककि ग्राहकले नेपाल राष्ट्र बैंक र प्रहरी परिसर, ललितपुरमा जाहेरी दिएपछि बैंकले उनको सुन फिर्ता दिएको हो । बैंकबाट १४ लाख ऋण लिएबापत उनले सुन धितो राखेकी थिइन् । त्यही सुन ६ बर्षपछि नक्कली भएको दाबी बैंकले गरेपछि उनी प्रहरी र नेपाल राष्ट्र बैंकसम्म पुगेकी थिइन् । यो घटनाले पनि बैंकमा सुन हराउँछ वा मिस युज हुने रहेछ भन्ने तथ्यलाई थप पुष्टी गरेको छ । यसअघि सिटिजन्स बैंकमा पनि यसैगरी ग्राहकले धितोमा राखेको सुन मिसयुज भएको प्रमाणित भएपछी बैंकमा काम गर्ने कर्मचारी जेल जानुपरेको थियो । यस्ता घटनाले पनि राष्ट्रिय बाणिज्य बैंकमा समेत सुन मिसयुज भएको छ भन्ने बुझ्न गाह्रो नहुने तर्क ग्राहकहरुको छ ।

तर फरक के छ भने महालक्ष्मी बिकास बैंकको केसमा ग्राहक राष्ट्र बैंकसम्म पुग्न सजिलो थियो । काठमाडौँमा राष्ट्रिय मिडियाहरुको पहुँच समेत थियो र ग्रहाकले आफ्नो सुन फिर्ता पाइन् । तर इलाममा बिनाको घटनामा न प्रहरी सिरियस छ, न सीडीओ नै । प्रहरी र सीडीओ यस कारण पनि यो केसमा सिरियस छैनन् कि प्रशासन र प्रहरीले पनि पटक पटक विभिन्न काममा राष्ट्रिय बाणिज्य बैंकको सहयोग लिइरहेको हुन्छ । अनि निमुखा जनताको आवाज कसले सुन्ने ? कसले बुझ्ने ? हुन त बिनाको यो केस केहि राष्ट्रिय मिडियाहरुमासमेत सार्वजनिक भईसकेका छन् । तर आफु देशको ठुलो बैंक भनेर घिरौंलाजस्तो नाक बनाउने यो बैंकका अधिकारीहरुले यो केसलाई सामसुम बनाउन खोजेको बुझ्न गाह्रो छैन ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: