×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थतन्त्र सुधारमा सरकारले उपेक्षा गरेको भन्दै अर्थविद्हरुद्धारा चिन्ता व्यक्त, अर्थतन्त्र गम्भीर संकटतर्फ गइरहेको टिप्पणी (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार

PRIME CA
laxmi sunrise bank

अर्थतन्त्र सुधारमा सरकारले उपेक्षा गरेको भन्दै अर्थविद्हरुद्धारा चिन्ता व्यक्त, अर्थतन्त्र गम्भीर संकटतर्फ गइरहेको टिप्पणी (भिडियो)

काठमाडौं । अर्थतन्त्र सुधारमा सरकारले उपेक्षा गरेको भन्दै अर्थविद्हरुले चिन्ता व्यक्त गरेका छन् । मंगलवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै अर्थविद्हरुले नेपालको अर्थतन्त्र संकटोन्मुख हुँदासमेत सरकारले उपेक्षा गरेको भन्दै चिन्ता जाहेर गरेका हुन् । अर्थविद् डा. डिल्लीराज खनालले नेपालमा अर्थतन्त्रका संकेतहरु राम्रो नभएको र अर्थतन्त्र गम्भीर संकटतर्फ गइरहेको बताउनु भयो । उहाँले सरकारले अहिलेबाट नै बढी सजग भएर नीति निर्माण गर्न आवश्यक रहेको पनि बताउनु भयो । अर्थविद् खनालले नेपालको अर्थतन्त्रमा एकातिर अर्थतन्त्र ह्रासमुलक हुने, मन्दीतिर जाने हो कि भन्ने हुने, अर्कोतिर सधैँ आयात व्यापक रुपमा बढ्ने र मूल्यवृद्धि पनि व्यापक हुने किसिमको जटिल भ्रुणहरु देखिएको बताउनु भयो । उहाँले अर्थविद्हरुले देशको अर्थतन्त्र गम्भीर रहेको कुरा बारम्बार भनेपनि सरकारका जिम्मेवार व्यक्तिहरुले यसमा चासो नदिएको बताउनु भयो । जिम्मेवार पक्षले समेत अर्थतन्त्र सुधारमा चासो नदेखाउँदा श्रीलंकाको झल्को आएको बताउनु भयो ।

अर्थविद् खनालले भन्नुभयो, ‘अर्थतन्त्रका संकेतहरु राम्रा छैनन्, गम्भीर संकटतर्फ अर्थतन्त्र जाँदैछ । त्यसो भएको कारणले पनि अहिलेदेखि नै सरकार बढी सजग भएर कतिपय नीतिहरु लिनुपर्छ । त्यो नीति पनि बजेट वा पूँजीगत खर्चको मात्रै पक्ष भएन । मौद्रिक वा वित्तिय नीतिसँग मात्रै पनि सम्बन्धित भएन । व्यापार नीति, फरेन एक्सचेन्ज रिजर्भसँग विनिमय नीतिसँग । त्यसपछि उद्योगसँग पनि अन्तरसम्बन्ध भयो । एकातिर अर्थतन्त्र ह्रासमुलक हुने, मन्दीतिर जाने हो कि भन्ने हुने, अर्कोतिर आयात व्यापक रुपमा बढ्ने, सधैँ आयात व्यापक रुपमा बढ्ने र मूल्यवृद्धि पनि व्यापक हुने यस्तो किसिमको जटिल र एकले अर्कोलाई अन्तरसम्बन्ध झनै गहिरो बनाएर जाने प्रवृतिहरु, भ्रुणहरु देखिएका छन् । त्यसो भएको हुनाले पनि सरकार सजग हुनुपर्छ । हामीले यो धेरै पहिलादेखि भन्दै आएका थियौँ । तर सरकारका जिम्मेवार मान्छेहरुले ७ प्लस प्रतिशत आर्थिक वृद्धि गर्छौं भन्ने ढंगले उहाँहरुले प्रपोगाण्डा प्रचार गर्नुभयो । त्यसले प्रकारान्त जुन किसिमको संकटोन्मुखता तर्फ अर्थतन्त्र गइरहेको छ, त्यसलाई संवेदनशील हुने र सरकारले प्रो एक्टिभ्ली कहाँ कसरी, हस्तक्षेप गर्नुपर्छ, त्यसमा पनि अहिलेको ओपेन इकोनोमीमा, खुला अर्थतन्त्रमा सबैको भुमिका जोडिएको हुन्छ । सम्बन्धित सरोकारवाला, निजी क्षेत्र र त्यसका विज्ञहरु सबैलाई राखेर सामग्रीकतामा धेरै क्षेत्रलाई समेटेर अघि बढाउनु पर्नेमा सरकार त्यसमा चासो दिएको देखिएन । यसमा सरकारको उपेक्षा देखियो । सरकारको संवेदनशीलता देखिएन । यसले कता कता श्रीलंकाको झल्को दिन्छ ।’

त्यस्तै अर्थविद् प्राध्यापक डा. विश्वम्भर प्याकुरेलले सरकारको रेमिट्यान्स कुन गतिमा गइरहेको छ भन्ने कुराको आँकलन गर्न नै गाह्रो हुन थालेको बताउनु भयो । उहाँले नेपालमा अहिले अर्थमन्त्रालय, योजना आयोग र राष्ट्र बैंकबीच समन्वय नभइरहेको भन्दै यी तीनै अंग एकै ठाउँमा उभिएर अर्थतन्त्र सुधारका लागि नयाँ नीति ल्याउनुपर्ने बताउनु भयो । अर्थविद् प्याकुरलले नेपालमा पनि राजनीतिक दलहरुमा परिवारवादलाई छोड्न नसकेकोले सानो भ्रष्टाचार मात्रै बाहिर आउने गरेको बताउनु भयो । उहाँले ठूला भ्रष्टाचारका मुद्दाहरुको सुनुवाइ नहुँदा अर्बौं रुपैयाँ फ्रिज भइरहेको बताउनु भयो ।

अर्थविद् प्याकुरेलले भन्नुभयो, ‘पछिल्लो महिनाको कुरा गर्ने हो भने रेमिट्यान्स ७१/७२ अर्ब मात्रै थियो एक महिनामा । आजको मितिमा अर्थमन्त्रालयले हामीलाई दिएको सूचनाअनुसार ९१ अर्ब रेमिट्यान्स एक महिनामा आयो भनेर भनिएको छ । यो महिनैपिच्छे जाने हो भने यति उतारचढावहरु देखिन्छ, कुन प्रवृतिमा यो गइरहेको छ भनेर आँकलन गर्नलाई धेरै गाह्रो छ । सरकारमा भएका मुलभुत तीन अंगहरुमा पनि एकाकार भएको देखिँदैन । योजना आयोग एकातिर छ, राष्ट्र बैंक एकातिर छ, अर्थमन्त्रालय एकातिर छ । यस्तो बेलामा मुलुकलाई संकटमा नधकेल्ने हो भने यस्ता निकायहरुको बीचमा समन्वय कायम भएर उनीहरुले लिने पोलिसीले नेपाली जनता, मुलुकलाई, नेपालको समग्र अर्थतन्त्रलाई प्रभाव पार्ने हुनाले त्यतातिर हामीले दृष्टिगत गर्न जरुरी छ । श्रीलंकामा पनि करप्शन नीति बढ्यो, करप्शनलाई नियन्त्रण गर्न सकिएन । त्यहाँ पोल्टिकल पार्टीहरुले परिवारवादलाई छोड्न सकेका छैनन् । नेपालमा पनि त्यही नै छ । सानोतिनो मान्छेहरुले खाएको पैसाहरु भ्रष्टाचार गरेको देखिन्छ, ठूला केसहरु कति छन् छन् । अहिले अदालतमा पनि विभिन्न किसिमको राजनीतिक समस्या आइरहेको हुनाले अदालतले निर्णय गर्न नसकेर म्यानपावरको समस्या भएको हुनाले हाम्रो खर्बौं रुपैयाँ मुद्दामा अड्किएर बसिरहेको छ ।’

त्यस्तै अर्थविद् डा. चन्द्रमणि अधिकारीले अहिले अर्थतन्त्रमा नेपाल परनिर्भर हुँदा यसको गम्भीर संकट देखिएको बताउनु भयो । उहाँले भोलिको नेपालको अर्थतन्त्र कस्तो हुन्छ भन्ने कुराको अनुमान गर्न कठिन भइसकेको बताउनु भयो । अर्थविद् अधिकारीले नेपालको अर्थतन्त्रमा पनि धेरै अनिश्चितता आइसकेको भन्दै यसको अग्र पंक्तिमा श्रीलंका देखा परेको बताउनु भयो ।

अर्थविद् अधिकारीले भन्नुभयो, ‘हामीलाई ग्लोवल्ली असर परिसक्यो । २००८ मा खास गरेर युरोप र अमेरिकाको अर्थतन्त्रमा असर गरेको थियो । अहिलेको अर्थतन्त्रले सबैलाई तपाई हामीलाई भ्याइसक्यो । हामी अहिले त्यतिबेला भन्दा १२ वर्षमा हामी पनि विश्व अर्थतन्त्रसित धेरै अत्यन्त अचाक्ली हुनुपर्ने भन्दा धेरै बढी निर्भर भयौँ । हामी अन्तरनिर्भर होइन कि परनिर्भर भयौँ । विश्वको अर्थतन्त्रमा अहिले आइएमएफको चिफकै कुरा मात्र होइन, कसैले पनि भोलि ठ्याक्कै यसो हुन्छ भनेर प्रेडिक्ट गर्न सक्ने, अनुमान गर्न सक्ने अवस्था छैन । त्यति अनिश्चितता आइसकेको हुनाले अब त्यसको प्रभाव विश्वमै पर्छ । त्यसको फन्ट लाइनमा श्रीलंका देखिएको छ ।’

अर्थविद् अधिकारीले राष्ट्रिय योजना आयोग, अर्थमन्त्रालय र अन्य मन्त्रालयहरु मिलेर मौद्रिक नीतिबाट भएको नकारात्मक कुरालाई आर्थिक र वित्तिय नीतिबाट हस्तक्षेप गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले विदेशबाट आउने विप्रेषण किन घट्यो भन्ने कुरा पत्ता लगाउन जरुरी रहेको बताउनु भयो । हेर्नुहोस् भिडियोः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: