×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘फेद न टुप्पोको पूँजीबजार !’ : विकास केसीको लेख

PRIME CA

‘फेद न टुप्पोको पूँजीबजार !’ : विकास केसीको लेख

१८ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < ३ मिनेट

काठमाडौं । पूँजीबजारका आरोह र अवरोहहरुका बारेमा यससँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध राख्ने सबै सहभागीहरु परिचित नै हुन्छन् । पूँजीबजारका नयाँ सहभागीहरु विशेष रुपमा यी आरोह र अवरोहहरुसँग परिचित हुन अत्यन्त जरुरी छ । बजारको गति र दिशालाई सहर्ष स्विकार गर्न सकेको खण्डमा मात्र पूँजीबजारसँगको यात्रा सहज, सरल, सुन्दर र दिर्घकालिन हुन्छ । पूँजीबजारको गतिलाई असर पार्ने भनेर उल्लेख गरिएका विभिन्न कारक तत्वहरु विश्लेषक भनिएका ब्यक्तिहरु र विभिन्न सञ्चारमाध्यमबाट पढ्न, सुन्न र देख्न पाईन्छ । यस्ता पात्र र प्रवृत्तिहरु यात्राका विभिन्न कालखण्डमा आउने र जाने गर्दछन् । पूँजीबजारले यस्ता पात्र र प्रवृत्तिहरुसँग न भेटेको हुन्छ, न यीनिहरुसँग सल्लाह नै गरेको हुन्छ । बजार आफ्नै लयमा हिडेको हुन्छ । बजारको गतिसँग ततः ततः समयमा मेल खान गएका घटनाक्रमहरु केवल संयोगमात्र हुन् ।

हिमचुचुरीबाट उद्गम भएको पानीको बहावले यात्राका क्रममा विभिन्न चरणहरु पार गरेको हुन्छ । यसको बहाव मानिसको नियन्त्रणमा हुँदैन् । यसको वहावलाई आँकलन गर्न त सकिन्छ तर ठोकुवा गरेर भन्न सकिन्न । यात्रामा जति नै उतारचढाव भएतापनि अन्ततः सागरमा गएर मिसिनु पानीको वहावको धर्म हो । बजारको यात्रा पनि पानीको वहाव जस्तै हो । बजारलाई जहाँ जानु छ (तल वा माथि) त्यहाँ पुगेरै छाड्छ । यति समयभित्र बजार यहाँसम्म पुग्न सक्छ भन्नु हाम्रो वैयत्तिक स्वतन्त्रता हुनसक्छ, तर यस किसिमका आँकलनलाई मान्नैपर्छ भन्ने बाध्यता बजारलाई छैन् र हुँदैन् । बजार हामीले भने अनुसार चल्दैन हामी बजारले भने अनुसार चल्नुपर्छ । यही नै हाम्रो धर्म हो ।

पूँजीबजारको बहावलाई पानीको बहावसँग तुलना गर्दै वेभ थियोरीको विकास गरियो । यसरी आर. एन. एलियटले प्रतिपादन गरेको वेभ थियोरी परिमार्जित भएर अहिले नियो वेभका रुपमा आएको छ । ग्लेन निलिले परिमार्जित गरेको नियो वेभ थियोरी बजारको गति आँकलन गर्न मार्केट टेक्निसियनहरुद्वारा विश्वव्यापीरुपमा प्रयोग हुँदै आएको छ । यद्यपी ग्लेन निलि स्वयंले आफ्नो एक सेमिनारको सेसनमा बजारको दिशा आँकलन गर्नु र बजारमा सहभागी हुनु विल्कुलै फरक विषय भएको बताएका छन् । यसैगरी करिब चार दशकको वेभ थियोरी अध्ययन र अनुसन्धानको क्रममा क्रिप्टोकरेन्सीमा लगानी नगर्नु आफ्नो जीबनको सबैभन्दा ठूलो भुल रहेको भनेर निलि स्वयंले स्विकार पनि गरेका छन् ।

अब अर्को एक महत्वपूर्ण प्रसंगका बारेमा चर्चा गरौं । बजारमा अपट्रेन्डमा हुँदा हामी टुप्पो अर्थात टप पैल्याउन ब्यस्त हुन्छौं र बजार डाउनट्रेन्डमा हुँदा फेद अर्थात बटम पत्ता लगाउन आतुर देखिन्छौं । यो फेद र टुप्पोको चक्करमा बजारका महत्वपूर्ण मुभहरु मिस गरेको हामीसँग प्रशस्त उदाहरणहरु रहेको हुनुपर्छ । बढ्दो बजारमा टप लाग्ने डरले पैसा बनाउन सकिन्न भने घट्दो बजारमा बटम आउट भयो भन्दै किन्दा झन् घाटामाथि घाटा थपिँदै जान्छ । सामाजिक सञ्जालका हिजोका बुमबुम अभिब्यक्ति आज क््रयास क््रयासमा परिणत हुन्छन् । यूट्युबका प्राविधिक विश्लेषणका पसलेहरुको बोली नै फेरिन्छ । हिजो बनेको हृयामरलाई आजको वियरिस ईन्गल्फिङले, बुलिस बेल्ट होल्डलाई डार्क क्लाउड कभर वा वियरिस काउन्टर अट्याकले, ग्रेभस्टोन डोजी वा ईन्भर्टेड हृयामरलाई ट्विजर टपले ईन्भ्यालिड गरिदिन्छ । मुमिङ एभरेजको सपोर्टपनि ५, २०, ५०, १०० हँदै २०० पिरियडसम्म पुग्छ । आरएसआई ओभरसोल्ड जोनमा आयो भनेर किन्यो अलिकति बढछ, ४० को रेजिस्टेन्स लिन्छ अनि फेरी तल । आरएसआईको नर्मल डाईभर्जेन्स हो कि रिभर्स डाईभर्जेन्स थाहै पाईँदैन् । आज बोलिङ्गरको मिड ब्याण्डमा सपोर्ट भन्यो भोलि लोवर ब्याण्डमा सपोर्ट भन्यो, त्यसपछि जिब्रो लत्रे जस्तै तलै लत्रिन्छ । त्यस्तै, एलियटिसिनहरुको त झन् वेभ काउन्ट क्षणभरमै बदलिन्छ ।

हो, पढ्न, सुन्न र हेर्न सबैको पर्छ । सबैले बजारप्रति आफ्नो धारणा राख्न पनि पाउनुपर्छ । प्राविधिक विश्लेषण सिक्नुपर्छ र त्यसको प्रयोग पनि जरुरी छ । तर जसको जे विचार, विश्लेषण र धारणा भएतापनि बजारको गति र दिशालाई स्विकार्नुपर्छ । आफ्नो ट्रेडिङ र ईन्भेष्टमेन्टको निर्णय आफू स्वयंले गर्नुपर्छ । त्यस्तो निर्णय सही भएपनि गलत भएपनि उक्त निर्णयको पूरा जिम्मेवारी आफैले लिने बानी बसाल्नुपर्छ । संसारको कुनैपनि थियोरी र टुल्सले बजारको फेद र टुप्पो पत्ता लगाउन सक्दैन् र बजारको दिशा ठोकुवा गरेर भन्न सक्दैन् । बजारको गतिको विपरित चल्नु भनेको आफैलै आफैमाथि गर्ने सबैभन्दा ठूलो अपराध हो । पानीको बहावको विपरित गएमा डुबिने निश्चित छ ।

अन्त्यमा अब के गर्ने त ? बजारमा फेदमा किन्छु र टुप्पोमा बेच्छु भन्ने धारणालाई आजै तिलान्जलि दिनुहोस् । यो चक्करमा यात्राका अझै धेरै वर्ष खेर जानेछन् । बजारप्रति आफ्नो एकोहोरो धारणा नबनाउनुहोस् । अपट्रेण्डमा बुल र डाउनट्रेण्डमा बियर बन्ने बानी बसाल्नुहोस् । नेपालमा सर्ट सेलिङको ब्यवस्था लागु भएको खण्डमा बियर बनेर पनि राम्रो कमाई गर्न सकिन्छ । सेबोनले आगामी बर्षभित्र लागु गर्ने भनिएको फ्युचर्स र अप्सन्स्का तयारी गर्नुहोस् । बजारको माथिको लयलाई स्विकार गरेजस्तै तलको चाललाई पनि सहर्ष स्किार गर्नसक्नु नै लगानीकर्ताको धर्म हो । बजारको दिशालाई आँकलन गरेर महत्वपूर्ण समय खर्ची आफ्नो ईगो स्याटिस्फाई गर्ने कि बजारको गतिलाई स्विकार गरेर पैसा कमाउने हो, यो निर्णय लगानीकर्ता स्वयंको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: