×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईसियुमा नेपालको बुलबजार ! विकास केसीको लेख

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आईसियुमा नेपालको बुलबजार ! विकास केसीको लेख

२५ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौं । पूँजीबजारमा बुलिस र वियरिस चक्रका बारेमा लगानीकर्तामाझ निक्कै चासो र द्विविधा रहेको पाईन्छ । लगानीकर्ताको लगानीको निर्णयलाई यस चक्रले प्रभावित पार्ने गर्दछ । हाल नेपालको पूँजीबजारमा पनि यस विषयले अन्यौलता सिर्जना गरेको छ । बजार बुलिस चक्रमै रहेको वा वियरिसतर्फ उन्मुख भएको हो भन्ने तर्कहरुलाई प्राविधिक विष्लेशणको आधारमा यस लेखमार्फत प्रष्ट पार्ने जमर्को गरेको छु ।

पूँजीबजारको विश्लेषणमा प्रयोग हुने विभिन्न औजारहरु (Tools) छन् । ती औजारका प्रभावकारीता लामो अभ्यास र अनुभव पश्चातमात्र सिद्द हुने गर्दछन् । अझ ती औजारका प्रयोगमार्फत पूँजीबजारको मूल्य र दिशाको भाविमार्ग प्रक्षेपण गर्न कुन र कति समयावधिको विश्लेषण गर्ने भन्ने प्र्रश्न महत्वपूर्ण हुन्छ । लामो, मध्यम र छोटो समयकालागि गरिने प्राविधिक विश्लेषणको नतिजा फरक फरक हुन्छ । सर्वप्रथम प्राविधिक विष्लेशणको जगका रुपमा लिइएको चाल्र्स डावले प्रतिपादन गरेको डाव थियोरी (Dow Theory) अनुसार प्राईमरी, ईन्टरमिडियट र माईनर ट्रेन्डअन्तर्गत बजारले हाईयर हाई र हाईयर लो बनाउँदै जान्छ भने त्यसलाई अपट्रेन्ड वा बुलबजार भनिन्छ । त्यस्तै तिनै ट्रेन्डअन्तर्गत बजारले लोवर हाई र लोवर लो बनाउँदै जान्छ भने त्यसलाई डाउनट्रेन्ड वा वियरिस बजार भनिन्छ । नेपालको पूँजीबजारको सन् १९९८ देखि सन् २०२२ सम्मको प्राईमरी ट्रेन्डलाई चार्टमा हेर्ने हो भने हामी विगत २४ वर्षदेखि बुलबजारमै छौं ।

अब प्राविधिक विश्लेषणलागि प्रयोग हुने औजारमध्ये यस लेखकले प्रयोग गर्ने गरेको Relative Strength Index (RSI) ईन्डिकेटरको माध्यमबाट ईन्टरमिडियट ट्रेन्ड अन्तर्गत बुलबजार वियरिसतर्फ कसरी उन्मुख हुने गर्दछ र हामी अहिले कुन अवस्थामा छौं भन्ने धारणा प्रस्तुत गर्न गईरहेको छु । (RSI) बजारको मोमेन्टम वा गति मापन गर्ने ईन्डिकेटर हो । यसलाई ० देखि १०० भित्र ब्यान्डेड गरिएको हुन्छ । जे. वेल्स् वाईल्डरले प्रयोग गर्ने गरेको ७०–३० को ओभरबट ओभरसोल्ड को पुरानो कन्सेप्टलाई एन्ड्रयु कार्डवेलको ६०–४० को नयाँ सिद्घान्तले प्रतिस्थापन गर्दै (RSI) रेन्जको प्रयोग गर्ने गरिएको छ । सन् २०००, २००८ र २०१६ को बुलबजार ईन्टरमिडियट ट्रेन्ड अन्तर्गत वियरिसचक्रतर्फ जाँदै गर्दा (RSI) ईन्डिकेटरको आधारमा चार्टमा एउटा समानता पाईन्छ । यी तिनवटै अवस्थामा नेप्सेले उच्च विन्दुहरु क्रमशः ५४६, १११९ र १८७८ (क्लोजिङका आधारमा) चुमेर तल झर्ने क्रममा लगभग एउटै समयअवधिमा Monthly RSI ६० र  Weekly RSI ४० मुनि गएपछि बजार ईन्टरमिडियट ट्रेन्ड अन्तर्गत वियरिस चक्रमा प्रवेश गरेको तथ्य चार्टमा पाईन्छ ।

अब हामी वर्तमान अवस्थामा फकौं । हाल नेप्सेले क्लोजिङका आधारमा अहिलेसम्मै उच्चतम विन्दु ३१८२ पुगेर ओरालो झर्ने क्रममा छ । विगतको जस्तै ईन्टरमिडियेट ट्रेन्डअन्तर्गतको बुलबजार समाप्तिमा  (RSI)  ईन्डिकेटरले देखाएकोे समानताको नजिकनजिक अहिले हामी पुग्ने अवस्थामा छौं ।. Monthly RSI ५४.२४ मा (यद्यपी अप्रिल महिना अन्त्य नभएको) र . Weekly RSI ले ४० को विन्दु छोईसकेको छ । प्राविधिक विश्लेषणमा प्रयोग हुने कुनै पनि ईन्डिकेटरहरु आफैमा सतप्रतिशत प्रभावकारी हुँदैनन् । यसमा अपवादहरु हुने गर्दछन् । यस्तै अपवाद सन् २०१२ को वियरिस बजारबाट सन् २०१६ को बुलबजारको यात्राको क्रममा देखिएको थियो । सन् २०१५ को मार्चमा नेप्से १०८९ विन्दुबाट ८४१ विन्दुमा झरेको थियो । करिब २२% को त्यो रिट्रेशमेन्टमा. Monthly RSI ६० भन्दा थोरै तल र. Weekly RSI छोटो समयको लागि ४० भन्दा थोरै तल आएको थियो । त्यसपश्चात बुलबजारले निरन्तरता पायो र सन् २०१६ जुलाई मा बजारले १८७८ को उच्च विन्दु बनाई क्रमशः ईन्टरमिडियेट ट्रेन्ड वियरिसतर्फ उन्मुख भयो ।

यसै अपवादलाई जोड्ने हो भने सन् २०२१ अगस्तको उच्च विन्दु ३१८२ बाट हाल २४६४ सम्म आईपुग्दा हामी करिब २२.५% रिट्रेशमेन्टमा छौं ।. Monthly RSI ५४.२४ मा (यद्यपी अप्रिल महिना अन्त्य नभएको) र. Weekly RSI ले ४० को विन्दु छोईसकेको छ । बुलिस चक्रको ईन्टरमिडियेट ट्रेन्डअन्तर्गतको शुरुवाती अथवा मध्य समयमानै प्राविधिक विश्लेषणले देखाएका यी प्रतिकुल अवस्थाहरु पक्कै पनि बजारकालागि राम्रा लक्षण होईन् । बुलबजारले यसरी आफ्नो प्राकृतिक चक्र नै पुरा नगरी धर्मराउन थाल्नुमा दोषि को हो भन्नेतिर लाग्नुभन्दापनि सबै पक्ष जिम्मेवार भई पूँजीबजारको अस्थित्व बचाउन तत्काल आवश्यक कदम चाल्न जरुरी देखिन्छ ।  यसतर्फ नेपाल सरकारको अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, लगानीकर्ताका संघ संगठन लगायत सम्पूर्ण आमलगानीकर्ताको ध्यान आकर्षण हुन जरुरी छ ।

विश्व पूँजीबजारले फड्को मारेर त्यहाँका लगानीकर्ताले खुसियाली मनाईरहँदा हाम्रा देशका लाखौं लगानीकर्ताको उठीबास नहोस भन्नेमा सम्बन्धित निकाय सजग भई पूँजीबजार सुधारका कदम आजैबाट चाल्नुपर्ने देखिन्छ । “न्याउरी मारी पछुतो” को उखान चरितार्थ नहोस् र आगामि दिन पूँजीबजारको लागि उज्जवल होस् भन्ने कामना गर्दै हामी सबै लगानीकर्ता ऐकबद्ध हुन जरुरी देखिएको छ । (माथिको प्राविधिक विश्लेषण सूचनामुलक मात्र भएको र त्यसलाई आधार मानेर लगानी निर्णय नगर्न हुन सम्पूर्ण पाठकवर्गमा अनुरोध छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार प्रिमियम स्टोरी