×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया क्यापिटलको ‘गैरकानुनी’ धन्दा ! ग्राहकका गोप्य विवरणलाई यसरी गरियो चरम ‘दुरुपयोग’ !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार

PRIME CA
laxmi sunrise bank

एनआईसी एशिया क्यापिटलको ‘गैरकानुनी’ धन्दा ! ग्राहकका गोप्य विवरणलाई यसरी गरियो चरम ‘दुरुपयोग’ !

काठमाडौँ । एनआईसी एशिया क्यापिटलले ग्राहकका गोप्य विवरणहरुको प्रचलित कानुनविपरित प्रयोग गरेर चरम दुरुपयोग गरेको खुलासा भएको छ । ग्राहकले बुझाएको विवरण सम्बन्धित कामका लागि मात्र प्रयोग गर्न पाइने प्रचलित कानुन विपरित संकलित तथ्यांकहरुलाई आफुअनुरुप प्रयोग गरी कम्पनीले ‘गैरकानुनी’ काम गरेको खुलासा भएको हो । विशेषगरी म्युचुअल फन्ड बिकाउनका लागि कम्पनीले यस्तो काम गरेको खुलासा भएको हो ।नेपालको कानुन र अन्तराष्ट्रिय कानुन हेर्ने हो भने पनि ग्राहकका विवरण ग्राहकको अनुमतिबेगर प्रयोग गर्न पाईदैन । कम्पनीले गरेको यस्तो कामको चौतर्फी आलोचना हुँदैगर्दा केहि ग्राहकहरुले आफ्नो विवरण एनआइसी एशियाले दुरुपयोग गरेको भन्दै यस विषयमा आवाज उठाईदिन अर्थ सरोकारलाई अनुरोधसमेत गरेका छन् ।
भएको के हो ?
न तपाईंले एनआईसी एशिया क्यापिटलमा डिम्याट खोल्नुभएको छ, न एनआईसी एशिया बैंकमा तपाईंको खाता छ । तर राती ११-१२ बजेतिर तपाईंलाई एनआईसी एशिया क्यापिटलको प्रचारात्मक सामाग्रीसहितको म्यासेज मोबाइलमा आउँछ । तपाईंको इमेलमा क्यापिटलले आफ्नो प्रचार पठाउँछ ।  झट्ट सुन्दा सामान्य विषय त हो जस्तो लाग्छ । तर कानुनले सो काम गर्न बर्जित गरेको छ । ग्राहकको अनुमतिबेगर ग्राहकलाई ग्राहककै नम्बर प्रयोग गरेर यस्तो काम कसले र किन गरिरहेको छ भन्ने विषय यतिबेला अधिकारकर्मीहरुले उठाईरहेका छन् । तर एनआईसी एशिया क्यापिटलले आफ्ना ग्राहकको गोप्य विवरण यसरि ‘दुरुपयोग’ गरिरहेको छ ।
कानुनका जानकार भन्छन्- ‘जुन प्रयोजनका लागि ग्राहकका विवरण कसैले लिएका हुन्छन्, त्यहि प्रयोजनका लागि मात्र सो विवरण प्रयोग गरिनुपर्छ । त्यो बाहेक जुनसुकै अवस्थामा जस्तो सुकै कामका लागि पनि ती विवरण प्रयोग हुन्छ भने त्यो गलत हो ।’ क्यापिटलले कुनै न कुनै काममा ठोकिएका ग्राहकको फोन नम्बर र इमेल आईडिलाई संकलन गरी डाटाबेस बनाएको छ । र कम्पनीमा सीइओ रामेन्द्र रायमाझीको जोडबलमा ग्राहकका ती गोप्य विवरणहरुलाई कम्पनीको आवश्यकता अनुसार प्रयोग गरिरहेको छ । जुन प्रचलित कानुनले बर्जित गरेको छ ।
एनआईसी एशिया क्यापिटलकै कर्मचारी भन्छन्- ‘अन्तबाट पनि डाटा किनेका छौँ, डाटा बेचेरै म्युचुअल फण्ड बेच्न सक्यौँ’
यता एनआईसी एशिया क्यापिटलका कर्मचारीले भने कम्पनीले थुप्रै ग्राहकका डाटा अन्तबाट किनेर राखेको दाबी गरेका छन् । ‘मेरो जागिर जाने हुनाले स्रोत गोप्य राखिदिनु होला । तर कम्पनीले विभिन्न बैंकका आइटीका मान्छेसँग मिलेर अन्य बैंकका कर्मचारीको डाटासमेत किनेको छ । हाम्रो सिष्टममा एनआईसी एशियासँग नजोडिएका ग्राहकका फोन नम्बर र इमेलहरु पनि छन् । हामीले सीइओको निर्देशनमा ती विवरणहरु प्रयोग गरिरहेका छौं । प्रहरी, वा धितोपत्र बोर्डबाट आइटी जानेको राम्रो मान्छे आएर हेर्ने हो भने कम्पनीले ती विवरणहरु दुरुपयोग गरेको स्पष्ट देख्न सकिन्छ ।’
उनका अनुसार कम्पनीले सोहि डाटाहरुको आडमा केहि समय अगाडीको म्युचुअल फण्डसमेत बेच्न सफल भएको थियो । ‘हाम्रो म्युचुअल फण्ड गतिलो छैन भन्ने तथ्य धेरैलाई थाहा थियो । म्युचुअल फण्ड नबिक्ने भएपछी केहि सोसल पेजहरुमा विज्ञापन पनि गर्ने र ग्राहकका विवरणमा समेत खर्च गर्ने रणनीति अनुसार हामीले अन्तबाट पनि विवरणहरु किनेका थियौं । त्यसैले पनि एनआईसी एशियासँग कुनै पनि सम्बन्ध नरहेका व्यक्तिको मोबाइलमा पनि हाम्रा एसएमएसहरु गएका छन् ।’ उनका अनुसार राती सुत्ने बेलामा मान्छेले आइपीओ भर्न सम्झन्छ भनेर रातीसमेत एसएमएस गर्ने गरिएको थियो ।
कानुन व्यवसायी न्यौपाने भन्छन्- ‘यो त साइबरजन्य कसुर हो’
ग्राहकका विवरणहरु बटुलेर यसरी आफ्नो प्रचार गर्नु, राती-राती एसएमएस गरेर ग्राहकलाई दुख दिएको भान पार्नु, वा ग्राहकका इमेलमा कम्पनीले ग्राहकले नचाहेका जानकारीहरु पठाउनु साइबरजन्य कसुर भएको तर्क अधिवक्ता कन्चनकृष्ण न्यौपानेको छ । ‘ग्राहकका कुनै पनि विवरणहरु दुरुपयोग गरिनु साइबरजन्य कसुर हो । यसमा साइबर कानुन आकर्षित हुन्छ । कोहि ग्राहकले सो एसएमएसका कारण वा सो इमेलका कारण आफुलाई समस्या भान भएको उजुरी साइबर ब्युरोमा दियो भने, त्यस्तो काम गर्ने संस्था वा व्यक्तिलाई कारवाही हुन्छ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै अधिवक्ता न्यौपाने भन्छन्- ‘कम्पनीलाई जुन प्रयोजनका लागि ग्राहकले विवरण दिएको छ, सो प्रयोजनका लागि बाहेक कुनै पनि संस्था वा व्यक्तिले ग्राहकका निजी विवरण प्रयोग गर्न पाउँदैन ।
सीइओ भन्छन्- ‘अरुले पनि गरेका छन्, त्यहि भएर गरेको हो, कसैले नगर भन्छ भने गर्दैनौं’
यस विषयमा बुझ्दा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीको तर्क पनि सार्है गैरजिम्मेवारपूर्ण छ ।’अरुले पनि गरेको हुन्छ त्यस्तो त । मलाई पनि एनएमबि क्यापिटलले एसएमएस पठाईरहेको हुन्छ । अरुले पनि गरेकोले हामीले पनि गरेको हो ।’ रायमाझीले भने । ग्राहकका विवरण अन्यत्र ठाउँमा किनेको भन्ने शंकाबारे भने उनले त्यसो नभएको बताए । ‘यी सब एनआईसी एशियाकै ग्राहकका विवरण हुन् । हामीले जानकारी दिन मात्र एसएमएस र इमेल गरेको हो । विवरण दुरुपयोग गर्ने कुनै पनि बदनियत हाम्रो छैन ।’ ‘अनि सूचना पनि राती-राती जान्छ त ?’ हाम्रो प्रश्नमा रायमाझी भन्छन्- ‘त्योचाहिं टेक्निकल कारण हो । हामीले दिउँसो पठाएको एसएमएस राती गएको हुनुपर्छ ।’
साथै उनले आफुलाई कोहि ग्राहकले त्यसो नगर्न भनेको अवस्थामा उनीहरुको फोन नम्बर र इमेल आफ्नो सिष्टमबाट हटाउन सक्नेसमेत दाबी गरे । ‘कसैले मेरो फोनमा वा मेरो इमेलमा केहि नपठाउनु भनेर आयो भने हामी सोहि अनुसार अगाडी बढौंला । तर ग्राहकका नम्बर र इमेल प्रयोग गरेर ग्रुप एसएमएस वा ग्रुप इमेल त अरुले पनि पठाउँछन्, हामीले पनि त्यतिमात्र गरेका हौँ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: