×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मैले सेयर बजारबारे बोल्दा मलाई झुन्ड्याउनुपर्छ भने, राँची लानुपर्छ भने, र पनि भन्छु-‘बजारमा लगानी गर्ने हो, व्यापार होइन’

अर्थ सरोकार

प्रकाशित मिति : २० असार २०७९, सोमबार

PRIME CA

‘मैले सेयर बजारबारे बोल्दा मलाई झुन्ड्याउनुपर्छ भने, राँची लानुपर्छ भने, र पनि भन्छु-‘बजारमा लगानी गर्ने हो, व्यापार होइन’

काठमाडौँ । यति बेला नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको तयारी गरिरहेको छ । मौद्रिक नीतिबारे फरक-फरक मान्छेका फरक फरक धारणाहरु सार्वजनिक भईरहेका छन् । बिग्रिएको अर्थतन्त्र, चुलिएको तरलता संकट र धेरै घटेको सेयर बजारमा मौद्रिक नीति सेयर बजारमैत्री आउँछ कि भन्ने आशाका बीच यो पटकको मौद्रिक नीति धेरैको पर्खाईको विषय बनेको छ । देशको अर्थतन्त्रसँग सरोकार राख्ने जो कोहि, मौद्रिक नीतिको पर्खाईमा छन् । यसैबीच हामीले नेपाल राष्ट्र बैंकका पूर्व-गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीसँग मौद्रिक नीतिबारे कुराकानी गरेका छौं । सेयर बजारबारे उनको टिप्पणीका कारण यसअघि विवादमा समेत तानिएका क्षेत्रीसँग हामीले सेयर बजारबारे उनको बुझाईका बारे पनि सोधेका छौं । प्रस्तुत छ अर्थ सरोकारकर्मी सुदर्शन श्रेष्ठले उनै क्षेत्रीसँग गरेको यो कुराकानी :
१. मौद्रिक नीति आउँदैछ, यो पटकको नीतिले के के कुरालाई सम्बोधन गर्नुपर्छ जस्तो लाग्छ ?
यसपालीको मौद्रिक नीतिले सबैभन्दा बढी सम्बोधन गर्नुपर्ने विषय भनेको नै ‘मुद्रास्फिति’को विषय हो । नेपाल राष्ट्र बैंकले अहिलेसम्म निकालेको तथ्यांक अनुसार हालको मुद्रा स्फितिको अवस्था ७.८७ अर्थात आठ प्रतिशत हाराहारी छ । अर्कोतर्फ पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धी र चर्को महंगीको अवस्थालाई मध्यनजर गर्दै चालु आर्थिक वर्षको अन्त्यमा २ अंकको मुद्रा स्फिति अनुभुति गर्न पाउनुपर्छ भन्ने सबैको अपेक्षा हो । कोभिडका कारणले रोगजारी गुमाएका र आम्दानी शुन्य भएका न्यून तथा मध्यम बर्गीय नागरिकका लागि त मुल्यवृद्धि श्राप नै हो । नेपाल राष्ट्र बैंकले यस विषयमा विशेष ध्यान दिनुपर्छ । सम्पन्न वर्गलाई दुई-चार प्रतिशतको मृल्यवृद्धिले खासै असर गर्दैन । त्यसैले पनि यसपालीको मौद्रिक नीतिमा अलि बढी बिबेक प्रयोग गर्नुपर्छ । अन्य बर्षको भन्दा यसबर्ष कसिलो मौद्रिक नीति आउँछ भन्ने अनुमान गरेको छु ।
तर यसपाली मौद्रिक नीति तयार गर्नेहरुका लागि राजनीतिक दबाब भने चर्को छ । केहि दिन अगाडीकै कुरा सम्झिने हो भने सेयर बजारका केहि खेलाडीहरुले प्रधानमन्त्रीकहाँ पुगेर लगानीकर्ताको स्थिति ठिक छैन, मौद्रिक नीतिबाट सम्बोधन गर्न लगाईदिनुपर्यो भनेर गुनासो गर्नुभयो । प्रधानमन्त्रीले पनि उहाँहरुको समस्या सम्बोधन गर्न आदेश दिनुभयो भन्ने सुनियो । प्रधानमन्त्री भनेको त आशिर्वाद दिने ठाउँजस्तो पो भएछ- जो गएर जस्तो गुनासो, दुखेसो गरेपनि आशिर्वाद दिईहाल्ने । त्यसैले पनि यसपालीको मौद्रिक नीतिमा सम्भावना कम, चुनौति बढी छ भन्ने लागेको छ । उच्च राजनीतिक दबाब र तरलता संकटका बीच यसपालीको मौद्रिक नीति केहि कसिलो नै आउँछ कि भन्ने लागेको छ ।
२. ४-१२ को सेयर कर्जा नीति परिमार्जन गर्न आवश्यक छ ? तपाईंलाई के लाग्छ ?
अहिले सेयर मार्केटमा ४-१२ को खुबै हल्ला छ । ४ लाई हटाएर १२ को नीति ल्याउँदा जुन बैंकबाट कर्जा निकाले पनि राष्ट्र बैंकलाई के असर पर्ने हो र ? भन्ने प्रश्न पनि धेरैको छ । कतिपयले त ४-४ नगरेर बरु एउटा बैंकबाटै १२ करोड कर्जा लिन मिले पनि हुन्थ्योजस्तो कुरा गर्नुभएको छ । तर सेयर बजारमै लागिरहनेका लागि त ४ करोड त के ४ अर्व रकम पनि अपुग नै हुन्छ । लगानीकर्ताको आम्दानी बढ्दा वा सेयर बजार बढ्दा त कसैलाई खासै असर पर्दैन, तर सेयर बजार ओरालो लाग्ने परिस्थितिमा लगानीकर्ता पनि संकटमा पर्छन् भन्ने कुरा सेयर लगानीकर्ताहरुले पनि बुझ्न जरुरी छ । मुर्दावाद, जिन्दावाद र मसाल जुलुस निकाल्ने परिपाटीको जोडघटाउमा शान्ति सुरक्षा कायम गर्नका लागि पनि ४ १२ को नीति परिमार्जन गरिदिए हुन्थ्यो भन्ने हो कि सो नीति ल्याउँदा वा परिमार्जन गर्दा त्यसले पार्ने प्रभाव कस्तो हुन्छ भनेर सोच्नु महत्वपूर्ण हो भन्ने कुरा मुख्य हो । ४-१२ को नीति परिमार्जन गर्न अध्ययन नगरी र कार्यक्षेत्र नबुझी प्रधानमन्त्री र अर्थमन्त्रीले दिएको निर्देशनचाहिँ त्यति प्रभावकारी होईनजस्तो लाग्छ । र ४-१२को नीति पुनारवलोकन गर्नुपर्छ भन्ने  कुराको ठोस औचित्य छ जस्तो मलाई लाग्दैन ।
३. तपाईंका अभिव्यक्तिका कारण, तपाईंलाई त सेयर बजार विरोधी भन्छन् नि ?
सेयर बजारको विरोधी मात्र होईन, मलाई त झुण्ड्याउनुपर्छसम्म नै भन्छन् नि । म सेयर बजारको विरोधी होईन, तर सेयर मार्केटको सिद्धान्तअनुसार लगानी गर्नुपर्छ भन्ने मेरो मान्यता हो । अहिले सेयर बजारलाई धेरैले व्यापार बनाएका छन् । न यसले रोजगार वृद्धि गर्छ, न त उत्पादनमा जोड दिन्छ । उत्पादनमुखी कामबाट बचतलाई सेयर बजारमा लगाउनुपर्छ भन्ने मेरो बुझाई हो । तर बजारबाट तत्काल रिटर्नको अपेक्षा गर्नुहुन्न भन्ने मेरो तर्क हो । अहिलेको सेयर बजार भनेको विशुद्ध व्यापार भएको छ, जहाँ अभावपनि हुन्छ, कालोबजारी पनि हुन्छ । कालोबजारी गर्ने र अभावमा अभाव भएको वस्तु ल्याउन सके धेरै नाफा हुन्छ, अनि बजारमा त्यही वस्तु ब्लक भए घाटा खाएर पनि सहनुपर्छ । त्यसैले सेयरमा लगानी गर्ने लगानिकर्ताले पर्खिन सक्ने क्षमताको विकास गर्नुपर्छ । सेयरमा लगानी गर्ने हो, व्यापार होईन भन्ने मेरो कुरा हो ।
४. तपाईंले त सेयर बजार ७-७ सय मै आउँछ भनिदिनुभयो, तपाईंको खुब विरोध भएको थियो नि ? थाहा छ ?
थाहा छ । सेयर बजार ७-८ सयले घट्छ भन्दा मलाई राँची लानुपर्छ, फासी दिनुपर्छसम्म भने । तर ७ सयमै बजार नआएपनि नघटेपनि बजार १२ सय अंकले ओरालो लाग्दा, मैले पनि केहि त सत्य बोलेको रहेछु भन्ने कुरा पनि त धेरैले बुझ्नुभयो होला । अवको सेयर बजार भनेको मौद्रिक नीतिले ४ करोडको नीति फालिदिन्छ र केहि महिना खेल्न पाइन्छ भनेर लगानीकर्ताहरु बसेका छन् । तर सो नीति परिमार्जन भयो र बजार माथि नै गयो भनेपनि ६ महिनापछिको स्थिति पनि त ख्याल गर्नुपर्यो नि । होइन र ? त्यसैले अन्यत्रबाट बचत गरेर ल्याएको रकम सेयर बजारमा लगानी गरे सेयर बजार पनि तंग्रिन्छ, अलि लामो समय पर्खंदा फाइदा पनि हुन्छ ।
५. देशमा मर्जर र प्राप्तिको लहर चलिरहँदा तपाईलाई कति वटा जति बैंक भए हुन्थ्यो जस्तो लाग्छ ?
राष्ट्र बैंकले अध्ययन गरेरै ११-१२ भन्दा बढी बैंक चाहिँदैन भन्यो । अव राष्ट्र बैंकलाई विश्वास गर्दा त्यही कुरालाई समर्थन गर्नुपर्छ । तर २७बाट ११-१२मा ल्याउनु भनेको चाहिँ चुनौतिको विषय हो । देशमा मर्जर र प्राप्तिको लहरलाई बैंकहरुले पनि महशुसचाहिँ गरेको अवस्था छ । सबै कुरालाई मिलाएर लैजाने हो भने, राष्ट्र बैंकले भनेजस्तै ११-१२ वटा बाणिज्य बैंक भए नेपालमा राम्रै हुन्छ । तर २७बाट बैंकको संख्या १२मा झार्दा आइपर्ने चुनौतीहरुलाई पनि विशेष ख्याल गरेरै अगाडी बढ्नुपर्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: