×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपाल बैंकको बेथिति-१ : चरम लापरवाही गरेको ठहर गर्दै बैंकलाई १ करोड क्षतिपूर्ति भराउन अदालतको आदेश !

काठमाडौँ । पछिल्लो समय एकपछि अर्को काण्डमा बदनाम हुँदै आएको नेपाल बैंक लिमिटेडले कर्जा प्रवाह गर्दा चरम लापरवाही गरेको खुलासा भएको छ । धितो राखिएको अचल सम्पत्तिको बीमा नगरी कर्जा प्रवाह गरेको ठहर गर्दै बैंकलाई अदालतले १ करोड क्षतिपूर्ति दिन आदेश दिएसँगै बैंकको यस्तो लापरवाहीको तथ्य बाहिर आएको हो । ऋणीले बैंकमा धितो राखी ऋण लिंदा सो धितो राखेको अचल सम्पत्तिको बीमा गर्नुपर्ने प्रचलित कानुनविपरित ‘ह्या ! हामी मिलाईहाल्छौँ नि’ भन्ने शैलीमा’ ऋणको बीमा नगरेको पाइएपछि अदालतले बैंकलाई क्षतिपूर्ति भराउने आदेश दिएको हो ।

ऋणीले नै बीमाका लागि लिखित स्विकृती दिँदासमेत केहि पैसाको लोभमा परेर बैंकले बीमा नगरेको पाइएपछि ग्राहक अदालत गएका थिए । अदालतले ऋणीका पक्षमा फैसला सुनाउँदै क्षतिपुर्ति बाफत १ करोड बढी रकम तिर्नुपर्ने फैसला भएको हो । बैंकमा मुलुकी देवानी संहिता २०७४ को दफा ६७२, ९१०, ९२० र ६७५, ९१० बमोजिम दुष्कृतिजन्य कार्य भएको जिल्ला अदालतले गरेको फैसलामा ठहर गरिएको छ ।
भएको के हो ?
नेपाल बैंक लिमिटेडबाट ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ दोभान बजार स्थायी घर भएका हार्ड व्यापारी जिवन प्रसाद पौडेलले ८० लाख रुपैयाँ ऋण लिएका थिए । बैंकबाट लिएको ऋणको उनको समयमा नै किस्ता र ब्याज तिर्दै आएका थिए । तर उनको ऋण चुक्ता नहुँदै उनको हार्डवेयर पसलमा आगलागी भयो । आगलागी भएपछि उनले बीमा वापतको रकम दाबीका लागि बैंकमा सपूर्ण प्रक्रिया पूरा गरे । कर्जाको धितोको अनिवार्य बीमा गरिएको हुन्छ भन्ने थाहा पाएका उनले सम्पूर्ण कागजसहित बैंकमा दाबीका लागि पठाएपछि बल्ल थाहा भयो- ‘नेपाल बैंकले त धितोको बीमा नै गरेक रहेनछ।
अझ अचम्मलाग्दो कुरा त के छ भने पौडेलले आफ्नो धितोको बीमावापत शुल्क तिर्नसमेत बैंकलाई स्वीकृति दिएका थिए । उनले आफ्नो खाताबाट बीमावापतको रकम तिर्न स्वीकृति दिंदा पनि बैंकले सो धितोको बीमा नै गरिदिएन ।
बैंकले बीमा नै नभएका कारण उनको बीमा दाबी गर्न नसकिने बताएपछि पौडेल अदालत गए । अन्तत: अदालतले पौडेलका पक्षमा फैसला गर्यो र सो बीमावापतको रकम बैंकलाई नै तिराउन फैसला गर्यो ।
लिखित स्वीकृति दिएपनि बैंकले बीमा नगर्दा पौडेललाई क्षति भएको अदालतले ठहर गरेसँगै बैंकले गर्नुपर्ने काम कसरी गर्दोरहेनछ भन्नेसमेत प्रमाणित भएको छ । बैंकले यसरी धेरै कर्जाको धितोको बीमा नगरेको पाइएको छ । सानातिना ऋणीलाई हप्काएर नै तह लगाउने बैंक यतिबेला पौडेल जागरुक हुँदा कानुनी फन्दामा परेको छ र अन्तत: बैंकले १ करोड रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने भएको छ ।
ताप्लेजुङ जिल्ला अदालतले नेपाल बैंक लिमिटेड केन्द्रीय कार्यालय धर्मपथ,काठमाडौं र नेपाल बैंक लिमिटेड ताप्लेजुङ शाखाले १ करोड ३ लाख ११ हजार ४ सय ३८ रुपैयाँ ७५ पैसा क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेसँगै बैंकले गरेको लापरवाहीको ठुलो मूल्य यतिबेला बैंकले चुकाउनुपर्ने भएको छ ।
उँधोगतिमा नेपाल बैंक, काण्ड त कति हो कति !
यसो त नेपाल बैंक लिमिटेड पछिल्लो समय विभिन्न काण्ड र विवादमा पर्दै आएको छ । यसअघिको महालेखाकोप्रतिवेदनले पनि नेपाल बैंकमा व्यवस्थापनले ऋण असुल गर्न चासो नदेखाएको भन्दै ऋण उठाउनुपर्ने निष्कर्षस उल्लेख गरिदिएको थियो । केहि समय अगाडी महालेखा परीक्षकको प्रतिवेदन सार्वजनिक गरी बैंकले ५४६ ऋणीबाट साँवा र ब्याज गरी ६१ अर्ब ३८ करोड रुपैयाँ ऋण उठाउन बाँकी रहेको र उक्त ऋण उठाउने प्रक्रिया गतिलो नभएको भन्दै घुमाउरो पारामा व्यवस्थापनको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाएको थियो । पछिल्ला दुई प्रतिवेदनले पनि बैंकको व्यवस्थापनको कार्यक्षमतामाथि गम्भीर प्रश्न गरेको छ । महालेखाको उनान्साठीऔँ प्रतिवेदनले पनि बैंकको क्षमतामाथि गम्भीर प्रश्न उठाउनुले नेपाल बैंकभित्रको मनोमानीसमेत छताछुल्ल भएको छ ।
बैंकका सीइओ भन्छन्, ‘केहि पनि थाहा छैन’
यता बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले भने आफुलाई यस विषयमा केहि पनि थाहा नभएको दाबी गरेका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै सीइओ अधिकारीले आफुलाई सो विषय अदालत गएको भन्ने थाहा भएपनि यसको फैसलाबारे आफुलाई केहि पनि थाहा नभएको दाबी गरेका हुन् । ‘अदालतमा केस विचाराधीन छ भन्ने थाहा थियो, तर फैसला नै भईसक्यो र बैंकले केस हार्यो भन्ने थाहा छैन । यस विषयमा जानकारी आएपछि तपाईंलाई भनौंला ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै सीइओ अधिकारीले भने- ‘अहिले भने म यो विषयमा अपडेटेड छैन ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: