×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

साउन लागेपछि मःम र रक्सीको व्यापार ह्वात्तै घट्यो, सेकुवा कर्नरहरु सुनसान, कस्मेटिक व्यापारी ‘मालामाल’ !

काठमाडौं । शिवजीको महिनाका रुपमा मनाइने साउन महिना लागेसँगै देशभर म:म, र रक्सीको व्यापार ह्वात्तै घटेको छ । साउनको महिनामा अधिकांस हिन्दुहरु शुद्ध शाकाहारी खाने, मासुजन्य पद्धार्थ बार्ने, मदिरा नपिउने, गर्ने गरेकाले देशभर मासुजन्य परिकारको व्यापार ह्वात्तै घटेको छ । त्यसमा पनि धेरैको प्रिय खाजा ‘मम’को व्यापार त झनै ह्वात्तै घटेको छ । मम भेज पनि हुने भएपनि, मम भन्नेबित्तिकै ननभेज ममको खपत बढी हुने नेपालमा साउन लागेदेखि नै ममको व्यापार ह्वात्तै घटेको छ । अझ त्यसमा पनि काठमाडौँ लगायत शिवालय भएका ठाउँमा त ममको व्यापार सार्है न्युन छ ।

मममात्र होइन रक्सीको व्यापार पनि साउनमा ह्वात्तै घटेको छ । यो महिनामा धेरैले सकेसम्म मदिरा बार्ने हुनाले पनि साउनमा मदिराको व्यापार घटेको हो । अहिले शिवालय भएका ठाउँ वरपर कतिपय रक्सी पसलहरुलाई त बोहनीसमेत गर्न धौधौ भएको छ । यसले समग्र मदिराको व्यापार त घटाएको छ नै, साउनमा मदिरा बार्नेहरुको संख्या पनि बढेको पाइएको छ । सधैंजसो ठुलो भीड हुने काठमाडौँका चर्चित मदिरा पसलहरुमा यतिबेला खासै ठुलो भीड छैन । काठमाडौँमा चलेका रेष्टूरेन्टहरुमा पनि रक्सीको व्यापार सार्है न्युन छ । बियर र हार्ड ड्रिंक्स बिक्री हुने रेष्टुरेण्टहरुमा पनि अहिले यसको व्यापार सार्है न्युन छ । अझ पछिल्लो समय त हिन्दुहरुले मात्र होइन, अन्य धर्म मान्नेहरुले पनि स्वास्थ्यका लागि भन्दै साउन बार्न थालेपछि रेष्टुरेण्टहरुमा पनि रक्सीको व्यापार ह्वात्तै घटेको छ ।

सुनसानजस्तै छन् भीआईपी सेकुवा कर्नरहरु, चलेका रेष्टुरेण्टहरुमा नै भेज आइटमको बढी बिक्री !

साउन लागेपछि मासु बार्नेहरुको संख्या यति धेरै पुगेको छ कि काठमाडौँमा भीआइपी भनिएका सेकुवा कर्नरहरुसमेत आजकल सुनसानजस्तै देखिएका छन् । निम्नबर्ग जाने सामान्य सेकुवा कर्नरहरुमा पनि यतिबेला खासै ठुलो भीड छैन । अझ पशुपति क्षेत्र वरपर, एयरपोर्ट तिर खुलेका सेकुवा कर्नरहरुलाई यति यतिबेला पसल लगभग बन्द नै छ जस्तो स्थिति छ । व्यापारीहरु साउनमा र त्यसमा पनि साउने सोमबारमा व्यापार नै नहुने, हुँदा पनि सार्है कम हुने, सेकुवाको ग्राहक नहुँदा रक्सीको व्यापार पनि घट्ने र यो महिना व्यापार धान्न नै धौधौ हुने गरेको बताउँछन् ।

‘साउन लागेदेखि नै व्यापार छैन । अझ साउने सोमबारमा त व्यापार झनै छैन । त्यसमाथि पनि एयरपोर्ट त पशुपति जाने बाटो नै भयो । त्यसैले पनि यहाँ साउनमा खासै व्यापार हुँदैन ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै एयरपोर्ट परिसरमा सेकुवा व्यापार गर्ने एक सेकुवा कर्नरका संचालकले भने- ‘यो महिना सबैभन्दा कम व्यापार हुने समय हो । व्यापार नै नहुने त होइन । रेगुलर ग्राहकहरु आउनेगर्नुभएको छ । तर अरु समयमा जस्तो आज सेकुवा खाईदिउँ न त भन्नेहरु सार्है कम छन् ।’ उनका अनुसार सेकुवाका ग्राहक कम भएपछि रक्सीको व्यापार पनि कम हुने गरेको छ । ‘धेरैले सेकुवा खाएपछि रक्सी खान्छन् । अव सेकुवाका ग्राहक नै नभएपछि रक्सीको व्यापार नहुने नै भयो । यो महिना अरु सामान्य महिनाभन्दा झन्डै ६० प्रतिशतले व्यापार घटेको छ ।’

यता साउन लागेसँगै काठमाडौँका चलेका रेष्टुरेण्टहरुमा नै ननभेज आइटमहरु सार्है कम बिक्री हुने गरेको पाइएको छ । ‘अरु बेला भन्दा साउनको समयमा एक त रेष्टुरेण्टहरु नै खासै चल्दैनन्, ग्राहकहरु नै हुँदैनन् । हुँदा पनि धेरैजसोले भेज आइटम खाईरहेका हुन्छन् ।’ एयरपोर्ट परिसरमा संचालन भईरहेको एक होटलका संचालक भन्छन्, ‘अहिले त जुनसुकै समय जे पनि खाने ग्राहकहरुले मात्र व्यापार धानेका छन् । कतिपय ग्राहकले केहि पनि बार्दैनन् । जुनसुकै बेला पनि रक्सी खान तयार हुन्छन् । कतिले त विहानैदेखि रक्सी खोज्छन्, त्यस्ता ग्राहकले मात्रै अहिलेको व्यापार धानेको छ ।’ उनका अनुसार चलेका खाजा घर र रेष्टुरेण्टहरुमा पनि साउनको महिनामा भेज आइटम बढी बिक्री हुने गरेको छ । ‘कतिपय व्यापारी साथीहरुले यस्तो समयमा विशेष भेज आइटमहरुको डिजाइनसमेत गर्ने गरेका छन् । आस्थाभन्दा ठुलो कुरा केहि हुँदैनरहेछ ।’

कस्मेटिक र कपडा व्यापारमा वृद्धि !

साउन लागेपछि सबैभन्दा बढी व्यापार कसैको भईरहेको छ भने त्यो कस्मेटिक पसल संचालकहरुकै भईरहेको छ । साउन महिना श्रृंगारको महिना हो । विवाहित तथा अविवाहित महिलाहरु साउनमा हरियो सारी, चुरा, पोते लगायतको पहिरनमा श्रृंगारिन्छन् । यो महिनामा महिलाहरुले आफ्नो श्रृंगारमा अत्याधिक चासो दिने भएकाले पनि साउनमा श्रृंगार समाग्रीको बिक्री तथा किनमेल बढी नै हुन्छ । साउन महिनाको सूरुवातसँगै बजारमा रहेका कस्मेटिक पसलहरु भरिभराउ भएका छन् । अरु समयभन्दा साउनमा कस्मेटिक सामानहरुको बिक्री बढेको छ । साउनमा चुरा, पोते, लगायतका श्रृंगारका सामाग्रीहरुको व्यापारबाट ब्यापारीहरु मालामाल बनेका छन् ।

‘अरु समयभन्दा तीज र साउनमा चुरापोतेहरुको माग बढी नै हुन्छ । सिजनल व्यापार भएपनि बर्षभरि पुग्नेगरी चुरापोतेको व्यापार हुने हुनाले व्यापारीहरुलाई यो व्यापार निकै फाफेको छ ।’ पाशुपत क्षेत्र परिसरमा भेटिएका एक व्यापारी भन्छन्, ‘चुरा-पोतेमा राम्रो मार्जिन छ । साउन र तीजको समयमा बेचिने चुरापोतेले बर्षभरिको व्यापार धान्छ । धेरैलाई चुरा धेरै फुटेर बिग्रिन्छ भन्ने छ, तर खासमा त्यति धेरै सामान बिग्रिंदैन ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘साउनमा चुरा पोते बेचेर बर्षभरिको खर्च धान्ने व्यापारीहरु धेरै छन् ।’

साउनको महिनामा मेहेन्दीको व्यापार पनि बढेको छ । पशुपति मन्दिर परिसर वरिपर पनि यतिबेला अधिकांश पसलहरुमा मेहेन्दीको व्यापार ह्वात्तै बढेको छ । पसलमै मेहेन्दी लगाईदिनेदेखि फुटपाथमासमेत मेहेन्दी व्यापारी र मेहेन्दी लगाउनेहरुको भीड छ । ‘साउन लागेपछि पसलमा ग्राहकको भिड धेरै नै बढेको छ । मेहेन्दी, चुरा, पोते लगायतका सामानहरुको व्यापार ह्वात्तै बढेको छ ।’ कस्मेटिक व्यापारी रमेश कुमार यादवले भने- ‘कुनै दिन त ग्राहकको आवश्यकता नै पूरा गर्न गाह्रो हुन्छ । कोरोनापछि अलि बढी व्यापार हुन थालेकाले हामीलाई पनि यो बर्ष ग्राहकको डिमाण्ड पूरा गर्न धौधौ भईरहेको छ ।’ उनका अनुसार साउन सकिंदै गर्दा बढी सामान ल्याउनसमेत ‘रिस्की’ हुने हुनाले पनि व्यापारीहरु संयमित भएर व्यापार गरिरहेका छन् । ‘थोरै ल्याउँदा डिमाण्ड नै पुग्दैन, धेरै ल्याउँदा नसकिने डर हुन्छ । अहिले स्टक सकिएन भने फेरी अर्को साउन कुर्नुपर्छ, जुन सार्है झन्झटको विषय हो। ‘ यादवले भने।

यस्तै साउनमा कस्मेटिकमात्र होइन कपडाको व्यापार पनि ह्वात्तै बढेको छ । यो समय विशेषगरी हरियो सारी, हरियो कुर्ता, पहेलो कपडा र राता पहिरनको व्यापार ह्वात्तै बढ्ने गरेको छ । ‘पहिला-पहिला राता पहिरन धेरै बिक्थे, अहिले साउनको समयमा पहेंलो र हरियो बस्त्र बढी बिक्ने गरेको छ ।’ पाशुपत क्षेत्रमा भेटिएका एक अर्का कपडा व्यापारी भन्छन्- ‘कपडा बिक्ने भनेको एउटा दशैंमा बढी हो, एउटा तीज र साउनमा बढी हो । अझ साउने सोमबारका लागि साउनका शनिबार र आइतबार कपडा किन्नेहरुको संख्या सार्है बढ्ने गरेको छ ।’ उनका अनुसार दशैँ र साउनमा बेचिने कपडाले उनीहरु बर्षभरिको खर्च धान्न सक्छन् ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: