×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कारोबारसम्बन्धि ७ प्रश्न र जवाफ : कस्तो कर्जामा बैंकको ब्याजदर सस्तो हुन्छ ? अव ब्याज बढ्छ कि घट्छ ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ श्रावण २०७९, आईतवार

PRIME CA
laxmi sunrise bank

बैंकिङ कारोबारसम्बन्धि ७ प्रश्न र जवाफ : कस्तो कर्जामा बैंकको ब्याजदर सस्तो हुन्छ ? अव ब्याज बढ्छ कि घट्छ ?

काठमाडौँ । बैंकिङसम्बन्धी सामान्य ज्ञानको अभावले पछिल्लो समय धेरैले बैंकिङसम्बन्धि भ्रम पालिरहेका छन् ।बैंकबाट पाइने कर्जा, बैंकको ब्याजदर लगायत धेरैको धेरैथरी जिज्ञासामा ग्राहकहरु ‘कन्फ्युज्ड’ छन् । र त आजको अंकमा हामीले बैंकिङ सम्बन्धि ७ प्रश्नमा बैंकर महेश राज जोशीको जवाफ प्रस्तुत गर्दैछौँ ।  जसमा हामीले कस्तो कर्जामा बैंकको ब्याजदर सस्तो हुन्छ, अव ब्याज बढ्छ कि बढ्दैन लगायतका विषयलाई प्रस्तुत गरेका छौँ ।

१. बैंकहरुमा कर्जा कहिले बाट खुल्छ ?

बैंक तथा वित्तीय संस्थाहरुका लागि असल कर्जा सबै भन्दा ठुलो सम्पति हो । कर्जा प्रवाह बैंकहरुका लागि पहिलो प्राथमिकतामा हुने भएकोले बैंकहरुले कर्जा बन्द गरेको होइन, लगानीयोग्य रकमको अभावले हाल कर्जा प्रवाह हुन नसकेको हो । सामान्य अर्थमा बैंकसँग रु १०० निक्षेप (जम्मा पैसा) हुँदा बढीमा रु ९० सम्म मात्र कर्जा प्रवाह गर्न पाउँछन् । उक्त लगानीयोग्य रकम हाल नेपालका बैकहरुमा कमी भएकोले कहिलेबाट सहज हुन्छ भन्ने प्रश्नको उत्तर कुनै मितिमा हुँदैन । समग्र देशको अर्थतन्त्रमा भरपर्ने भएकोले बैंकहरुमा लगानीयोग्य रकमको उपलब्धतासँगै कर्जा प्रवाह सहज भएर जान्छ।

२. आर्थिक वर्ष २०७९-८० को मौदिक नीति सार्वजनिक भईसकेको अवस्थामा के अव निक्षेप र कर्जाको ब्याजदर बढ्छ त ?

नेपाल राष्ट्र बैकले मौदिक नीति मार्फत बैंकदर र नीतिगत दरहरु बढाएर बैंकहरुलाई ब्याजदर बढाउन प्रोत्साहन गरेपनि २०७९ साउन २० गते शुक्रबार बसेको बैठकले तत्काल ब्याजदर नबढाउने निर्णय गरेकोले तत्काल मुद्दती निक्षेपमा ११.०३ प्रतिशत ब्याजदरले निरन्तरता पाउने छ ।

नेपाल राष्ट्र बैकको ई.प्रा. निर्दैशन नंं १५ को बुदा नंं. १ को उप बुदा नंं ३ को संशोधनपश्चात संस्थागत मुद्दती निक्षेप (बोलकबोल समेत)मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा दुई प्रतिशत बिन्दुले कम हुने भएकोले यस अघि संस्थागत निक्षेपमा बैंकहरुले १०.०३ प्रतिशत ब्याज दिदै आएकोमा अब उपरान्त संस्थागत निक्षेपको ब्याजदर ९.०३ प्रतिशतमा कायम रहने छ । निक्षेपको ब्याजदरमा घटबड नहुदा कर्जाको ब्याजदरमा समेत ठूलो उतारचढाव आउन पाउँदैन ।

३. आर्थिक बर्ष २०७९-८० को मौदिक नीतिले २०७९ असार मसान्तसम्म तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज  २०७९ असोज मसान्तसम्म भुक्तानी गरेमा हर्जना तथा पेलान ब्याज नलाग्ने भनेको हो र ?

व्यक्तिगत तथा व्यापारिक कर्जामा होईन । हालको तरता संकटको समाधान भनेकै निक्षेपमा बृद्धि तथा नन पफर्मिङ कर्जाहरुको नियमितता नै हो । साउनयता मात्र करिब १ खर्ब निक्षेप बैकिङ प्रणालीबाट बाहिरिएको छ । निक्षेप बृद्धिमा बढेको चाप संगै २०७९ असार मसान्तसम्म तिर्नुपर्ने कर्जाको ब्याज अनिवार्य रुपमा नियमित गराउनुपर्ने छ । आर्थिक वर्ष २०७९-८० को मौदिक नीतिको कार्यदिशानै हालको कर्जा उत्पादनशील क्षेत्रमा प्रवाह गराई आर्थिक बृद्धिमा सहयोग पुर्याउनुभएकोले बैंक तथा बित्तीय संस्थाबाट अधिकतम् रु ५ करोडसम्म औद्योकिक कर्जा उपयोग गरेका उद्यम व्यवसायहरुले २०७९ असार मसान्तसम्म तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज २०७९ असोज मसान्तसम्म भुक्तानी गरेमा थप हर्जना तथा पेनाल ब्याज नलाग्ने व्यवस्था गरेको हो ।

४. कस्तो कर्जामा बैकको ब्याजदर सस्तो हुन्छ ?

रु २ करोड सम्मको खाद्यान्न उत्पादन,पशुपंक्षी,मत्स्यपालन, निर्यातजन्य उद्योग, शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग, हस्तकला तथा सीपमूलक व्यवसाय एवम् उद्यम ब्यवसाय (आयात सम्बन्धी व्यवसायबाहेक) संचालनका लागि कर्जा प्रवाह गर्दा बैंकहरुको आधारदरमा २ प्रतिशतसम्म मात्र थप गरी ऋणको ब्याज तोक्नुपर्ने भएकोले उक्त क्षेत्रमा लगानी हुने कर्जाको ब्याजदर तुलनात्मकरुपमा अरुभन्दा सस्तो हुन्छ ।

हालको नयाँ व्यवस्था बमोजिम निजी क्षेत्रलाई सूचना प्रविधिपार्क तथा औद्यिकिकपार्क निमार्ण गर्न कर्जा प्रवाह गर्दा समेत आधारदरमा अधिकतम २ प्रतिशत बिन्दुसम्म मात्र प्रिमियम थप गरी ब्याजदरको निर्धारण गर्नुपर्ने भएकोले उक्त क्षेत्रमा कर्जाको ब्याजदर तुलनात्मकरुपमा अरुभन्दा सस्तो हुन्छ ।

५.कोभिड – १९ बाट प्रभावित क्षेत्रमा संलग्न ब्यवसायीहरुले पाउने सुविधाहरुको हालको व्यवस्था के-कस्तो छ ?

हाल कोभिड–१९ बाट प्रभावित क्षेत्रमा प्रवाह गरिएको कर्जामा पाउने विभिन्न सुविधा-सहजीकरण नेपाल बैंक राष्ट्रबैंकले जारी गरेको एकीकृत निर्देशन २०७८ को संशोधन-परिमार्जन मार्फत हटाईएकोले सम्पूर्ण व्यवसाय साविकको आधारमा बैंक नियमनुसार हालको व्यवस्था लागु हुनेछ ।

६. हाल बैंकहरुमा रहेको अधिविकर्ष कर्जा (ओभरड्राप्ट)को सिमा घटाउन भनेर आउने सूचनाहरु किन र कस्ता प्रकारका हुन ?

आर्थिक वर्ष २०७९÷-८०को मौदिक नीतिमा व्यवस्था भए बमोजिम घर-जग्गा धितो राखी नयाँ कर्जा प्रवाह गर्दा-कर्जा थप गर्दा वा कर्जा नविकरण गर्दा सोको धितो सूरक्षणको मूल्याङ्कनको काठमाडौँ उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशत कायम गरिएकोले सो मुल्याङ्कन अपुग भएमा बैंक नियमअनुसारको थप धितो वा पूनरमुल्याङ्कन गरी कर्जाको उपत्यकाभित्र कम्तीमा ३३३.३४ प्रतिशत र अन्य स्थानमा  कर्जाको २५० प्रतिशत कायम हुने गरि ब्यवस्था मिलाउने वा कर्जा लिमिट घटाई उल्लेखित व्यवस्था बमोजिमको कर्जा सिमाभित्र कर्जा कायम गर्नुपर्ने हुन्छ ।

 ७. बैंकहरुले प्रदान गर्ने आधुनिक प्रविधियुक्त डिजिटल सुविधा उपयोग गर्दा किन विभिन्न समस्याहरु देखा पर्दछन् ?

आजको युग साईबर-डिजिटल युग हो । प्रविधिको प्रयोगमा जति सुविधाहरु हुन्छन्, त्यति चुनौतिहरु पनि हुन्छन् र साथै डिजिटल ज्ञानको आवश्यकता पनि हुन्छ । बैकहरुले ठुलो लगानी डिजिटल सुबिधाहरुमा गर्दै गर्दा सोही अनुरुपको डिजिटल वित्तीय साक्षरता तथा सतरकता समेत आवश्यक हुन्छ । कुनै पनि असामान्य कारोबार देखिएमा तुरुन्त बैंकमा सम्पर्क राखी आवश्यक जानकारी लिने तथा कुनै पनि अवस्थामा ई–बैकिङका पासवर्ड,ओटिपि,पिन नम्बरहरु कुनैपनि व्यक्तिलाई सेयर नगरी सुरक्षित राख्न ग्राहक अति सचेत र होसियार हुनु आवश्यक हुन्छ । हाम्रो जस्तो बिकासउन्मुख देशमा  ई–बैकिङ प्रयोग गर्ने साधनहरु समेत घरभित्र साझारुपमा प्रयोग हुनेभएको तथा उक्त साधनहरुको मर्मत गर्न समेत जो–जसलाई दिने अवस्थामा पनि डिजिटल प्रविधिको उपयोगमा जोखिमहरु बढ्दै जाने भएकोले कुनै पनि प्रलोभनमा नपरी सचेत र होसियार भई डिजिटल प्रविधिको प्रयोग गर्दा यसको यपयोगबाट हुने जोखिमबाट बच्न सकिन्छ । अन्य कुनैबेला सर्भर जाम जस्ता प्राविधिक समस्याहरुको समाधान निश्चित समयमा समाधान गर्ने भएकोले बचत रकम सधै सुरक्षित रहने गर्दछ ।

(उत्तरकर्ता महेश राज जोशी नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाको शाखा प्रबन्धक हुन्) 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: