×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चार्जिङ स्टेशनलाई चिनियाँ कम्पनीले ल्याएको ट्रान्सफर्मर गुणस्तरहीन प्रमाणित, ‘काम नलाग्ने’ भन्दै फिर्ता पठाइयो

PRIME CA
GLOBAL IME BANK

चार्जिङ स्टेशनलाई चिनियाँ कम्पनीले ल्याएको ट्रान्सफर्मर गुणस्तरहीन प्रमाणित, ‘काम नलाग्ने’ भन्दै फिर्ता पठाइयो

१५ भाद्र २०७९, बुधबार

पढ्न लाग्ने समय: < ४ मिनेट

काठमाडौं । चार्जिङ स्टेशनका लागि चीनबाट ल्याइएको ट्रान्सफर्मर गुणस्तरहीन पाइएपछि फिर्ता पठाइएको छ । चीनबाट आयात गरिएका ट्रान्सफर्मरको गुणस्तर ‘लो–क्वालिटी’को पुष्टी भएपछि नेपाल विद्युत प्राधिकरणले ती ट्रान्सफर्मर फिर्ता पठाएर चार्जिङ स्टेशनमा आफ्नै ट्रान्सफर्मर प्रयोग गर्न थालेको छ ।

यसो त ‘मेड इन चाइना, आज छ भोली छैन’ भन्ने भनाई प्रख्यात छ नेपालमा । यसभन्दा अघि पनि चीनबाट स्वास्थ्य तथा विभिन्न प्रयोजनका लागि आयात गरिएका उपकरणहरु गुणस्तरहीन भएका घटना विगतमा थुप्रै देखिन्छन् । झण्डै १५ वर्ष अघि प्राधिकरणले चिनियाँ कम्पनीसँग ७ अर्ब बराबरको ४ हजार ६ सय ५७ वटा ट्रान्सफर्मर खरिद गरेको थियो । तर, सो ट्रान्सफर्मरहरु गुणस्तरहीन भएको पुष्टी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राधिकरणका ५० भन्दा बढी कर्मचारीमाथि मुद्धा हालेको थियो ।

सोचेभन्दा बढी गुणस्तरहीन

देशभर ५१ ठाउँमा चार्जिङ स्टेशन संचालन गर्न लागेको विद्युत प्राधिकरणले सुरुवातमै ट्रान्सफर्मर गुणस्तरहीन भएको भन्दै फिर्ता चीनबाट ल्याइएका ट्रान्सफर्मर फिर्ता पठाइदिएको छ । देशभरका ३२ स्थानमा ५१ वटा चार्जिङ स्टेशन निर्माणको जिम्मा चिनियाँ कम्पनी वानब्याङ इनर्जीले पाएको थियो । तर, सो कम्पनीले चार्जिक स्टेशनका लागि भनेर ल्याएको ट्रान्सफर्मर प्राधिकरणको गुणस्तरभन्दा पनि निकै तल्लो स्तरको रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् ।

‘हाम्रो उद्धेश्य जतिसक्दो चाँडो देशभरका ५१ ठाउँमा विद्युतीय चार्जिङ स्टेशन सञ्चालनमा ल्याउने हो । त्यसैका लागि अहिले हाम्रो तयारी तिव्र छ । तर चार्जिङ स्टेशनका लागि भनेर ल्याइएका ट्रान्सफर्मरमा धेरै लस आयो ।’ प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने -‘ट्रान्सफर्मर गुणस्तरहीन छ भन्ने थाहा हुँदाहुँदै राख्ने कुरा भएन, त्यसैले फिर्ता पठाएका छौँ । तत्कालका लागि हामीले चार्जिङ स्टेशनमा आफ्नै ट्रान्सफर्मर प्रयोग गरेका छौँ ।’

ट्रान्सफर्मर आएपछि रिप्लेस गरिने
चीनबाट ल्याइएका ट्रान्सफर्मर गुणस्तरहीन पाइएपछि फिर्ता पठाएर आफ्नो ट्रान्सफर्मर प्रयोग गरिएको भएपनि चिनियाँ कम्पनी वानब्याङ इनर्जीले मापदण्ड अनुसारको ट्रान्सफर्मर ल्याएपछि रिप्लेस गरिनेछ । तर तत्काल चार्जिङ स्टेशन सञ्चालनका लागि चीनबाट ट्रान्सफर्मर ल्याउन ढिला हुनेभएपछि हाल प्राधिकरणले आफ्नै ट्रान्सफर्म प्रयोग गरेको छ ।

अहिले नेपाल विद्युत् प्राधिकरणले सञ्चालनको तयारीमा ल्याउन लागेका चार्जिङ स्टेशनमा नेपाल इराक इन्जिनियरिङ कम्पनी (निक)को ट्रान्सफर्मर प्रयोग गरिरहेको छ । हाल प्रयोग गर्दैै आएको सो ट्रान्सफर्मर प्राधिकरणको गुणस्तर अनुसार रहेको घिसिङको भनाई छ । ‘चीनबाट ल्याइएको ट्रान्सफर्मर गुणस्तरहीन पुष्टी भएपछि हामीले निककै ट्रान्सफर्मर ल्याउने प्रयास गरेका थियौँ । तर, निकले दिन नसक्ने भएपछि आफैसँग भएको ट्रान्सफर्मर प्रयोग गरेका हौँ’, उनले भने, ‘चीनबाट ट्रान्सफर्मर ल्याउन समय लाग्छ, आएपछि अहिले प्रयोग भएका ट्रान्सफर्मरको ठाउँमा रिप्लेस गरिनेछ ।’

चीनबाट ट्रान्सफर्मर आइपुग्न दुई/तीन महिना लाग्छ । विद्युतीय चार्जिङ स्टेशनमा अहिले २०० केभी क्षमताका ट्रान्सफर्मर प्रयोग गरिएको छ ।

चिनियाँ कम्पनीले सम्झौता अनुसार काम गर्न सकेन

यसो त नेपालका विभिन्न आयोजनाहरुमा चिनियाँ कम्पनीको मनपरी उस्तै छ । समयमा काम नसक्ने प्रवृतिले अहिले पनि नेपालका ठूला आयोजनाहरु अलपत्र परेका छन् । यसैबीच नेपालमा विद्युतीय चार्जिङ स्टेशन निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी यो परियोजनामा पनि असफल साबित भएको छ । नेपाल विद्युत् प्राधिकरण र चिनियाँ कम्पनी वानब्याङ इनर्जीसँगको सम्झौता अनुसार गत असार ८ गतेम्ममा चार्जिङ स्टेशनको काम फत्ते गर्नुपर्ने थियो । तर, हालसम्म नेपालमा एउटमात्रै चार्जिङ स्टेशनको मात्रै औपचारिक रुपमा उद्घाटन गरिएको छ ।

मंगलबार नेपाल विद्युत प्राधिकरणले रत्नपार्कस्थित आफ्नै प्रांगढमा एउटा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ । मंगलबार उर्जामन्त्री पम्फा भुसालले उद्घाटन गरेको सो स्टेशनमा ६० किलोवाटका दुईवटा डीसी र २२ किलोवाटको एसी चार्जर गन राखिएको छ । यद्यपि सो चार्जिङ स्टेशनले १२० किलोवाट सिंगल डीसी गनले चार्ज गर्न सक्छ ।

दुई महिनाभित्र ५१ वटै चार्जिङ स्टेशन सञ्चालनमा आउने
मंगलबार देशभरको ५१ वटामध्ये एउटा चार्जिङ स्टेशन उद्घाटन गर्दै प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले आगमी दुई महिनामा सबै चार्जिङ स्टेशन सञ्चालनमा ल्याउने तयारीमा प्राधिकरण रहेको जानकारी दिएका छन् । ‘हाल बल्खु, साझा पेट्रोलपम्प, खुर्कोट लगायत ५ स्थानमा चार्जिङ स्टेशन तयार भइसकेको छ, सञ्चालनको प्रक्रियामा मात्रै बाँकी छ’, उनले भने, ‘अन्य ठाउँहरुमा पनि निर्माणको काम तिव्र गतिमा चलिरहेको छ ।सञ्चालनमा आएको चार्जिङ स्टेशनमा सवारीसाधन अनुसार आधादेखि एक घण्टामा फुल चार्ज गर्न सकिन्छ ।’

प्राधिकरणले सातै प्रदेशका प्रमुख राजमार्ग र बसपार्क क्षेत्रमा चार्जिङ स्टेशन निर्माण गर्न लागेको छ । वाग्मती प्रदेशमा काठमाडौं उपत्यकाभित्र ७, मुग्लिन–कुरिनटारमा ४, मलेखु, सिन्धुली, हेटौंडा र भरतपुरमा २-२ वटा र बनेपामा एउटा गरी २० वटा निर्माण गर्न लागिएको छ । प्रदेश १ मा दमक, भद्रपुर, कन्काई, विराटनगर र इटहरी गरी ५ स्थानमा चार्जिङ स्टेशन निर्माण गर्न लागेको प्राधिकरणले मधेस प्रदेशको वीरगंज, सिमरा, चन्द्रनिगाहपुर, ढल्केबर, बर्दिबास र राजविराज गरी ७ ठाउँमा चार्जिङ स्टेशन सञ्चालनमा आउने जनाएको छ । त्यस्तै गण्डकी प्रदेशको पोखरामा ३, नवलपुर, दमौली र स्याङ्जामा १-१ गरी ६ वटा निर्माण हुँदैछ । लुम्बिनी प्रदेशको बुटवलमा ३, बर्दघाट र सुनवलमा २-२ वटा गरी ८ वटा, नेपालगन्ज, भालुवाङ र दाङमा १-१ स्टेशन निर्माण हुँदैछ ।

त्यस्तै कर्णाली प्रदेशको सुर्खेतमा एउटा चार्जिङ स्टेशन निर्माण हुँदैछ भने सुदूरपश्चिम प्रदेशमा महेन्द्रनगर, धनगढी र डडेलधुरामा १-१ गरी तीनवटा चार्जिङ स्टेशन निर्माण गरिरहेको प्राधिरकणले जनाएको छ । प्राधिकरणका अनुसार प्राधिकरणले २५ स्थानमा चार्जिङ स्टेशन निर्माणका लागि नेपाल प्रहरीसँग द्धिपक्षीय सम्झौता (एमओयु) गरेको छ । प्रहरी कल्याण कोषद्धारा हाल सञ्चालित ५ वटा पेट्रोल पम्प, प्रस्तावित ४ वटा पेट्रोल पम्प र बाँकी प्रहरी कार्यालयहरुका अन्य उपयुक्त स्थानहरु गरी २५ ठाउँमा चार्जिङ स्टेसन स्थापना गरिनेछ । सशस्त्र प्रहरीसँग १७ स्थानमा चार्जिङ स्टेशन निर्माणका लागि सम्झौता भएको छ । प्रहरी कल्याणकारी सेवा केन्द्रद्धारा संचालित २ वटा पेट्रोल पम्प र मातहतका कार्यालयहरुका १५ उपयुक्त स्थानहरु गरी १७ ठाउँमा चार्जिङ स्टेसन स्थापना गर्ने गरी सम्झौता भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: