काठमाडौँ । आजभन्दा २५ वर्षअघि पूर्वबाट तत्कालीन एनआईसी बैंकको पहिलो शाखा विस्तार हुँदा धेरैको प्रश्न थियो-‘नयाँ बैंकले के नै गर्ला र ?’ हुन त सुरुवातीका दिनहरुमा धेरैले यस्तो सोच्नु अन्यथा थिएन । बैंकको प्रगति यहाँसम्म आउन सक्छ भन्ने कुरामा मानिसका फरक-फरक खालका धारणा हुनु स्वभाविक पनि हो । व्यापारिक भिड, अपर्याप्त बैंकिङ्ग साक्षरतासहितको समाज र बैंकको पहिलो शाखा भएकैले लक्ष्य हासिल गर्न बैंकलाई चुनौति हुने नै भयो । त्यो बेला बैंकको पहिलो टिमसँग नम्बर १ बन्नुको कुनै विकल्प थिएन ।
पाँच औँला अलग–अलग रहँदा लाग्ने ‘पञ्जा’को चोटभन्दा सबै औँला मिलेर बनेको ‘मुक्का’को चोट गहिरो लाग्छ । यही तथ्यलाई बुझेको तत्कालीन एनआईसी बैंकको ‘स्टार्टर टिम’ अन्ततः बैंकिङ्ग क्षत्रकै लागि पूरानो बैंकिङको सट्टा नयाँ युगको बैंकिङ सुरु गर्ने ‘कडी’ टिमका रुपमा साबित भयो । बैंकले स्थापनाको दोस्रो वर्ष नै ५ मिलियन घाटा बेहोर्नु परेको थियो । तर पनि बैंकको ‘स्टार्टर टिम’ बिचलित भएन । बरु अझै सशक्त बन्ने अठोटका साथमा बैंकले ग्राहक लक्षित ‘प्रोडक्ट’ ल्याउँदै गयो, फरक फरक स्किम र ग्राहकमुखी सेवा वितरण गर्दैगयो । बिस्तारै ग्राहकको माया र विश्वास कमाउँदै गएको एनआईसी बैंकले बर्षैपिच्छे प्रगतिमा छलाङ्ग मार्न थाल्यो ।
‘सुरुवातमा नयाँ बैंक, नयाँ सेवाका साथमा काम गर्न हामी उत्साहित थियौँ । पहिलो वर्ष त्यही उत्साहका साथमा कार्य सम्पादन गर्दै गयौँ । तर दोस्रो बर्ष नै बैंक घाटामा गयो तरपनि बैंकको नेतृत्व नम्बर १ बन्ने विश्वासमा अटल थियो’, बैंकका एक पूराना कर्मचारी भन्छन्- ‘त्यसबेला हामीलाई बैंकको नेतृत्वबाट ठुलो ढाडस मिलेको थियो । बैंक घाटामा जाँदा पनि हामीलाई त्यो कुराको आभास कहिल्यै भएन । बरु नेतृत्वको विश्वास र संकल्पले काम गर्न थप उर्जा मिलेको थियो ।’