Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशियाको त्यो ‘स्टार्टटर टिम’ जसका कारण आज बैंक ‘नम्बर १’ बन्यो…

अर्थ सरोकार

काठमाडौँ । आजभन्दा २५ वर्षअघि पूर्वबाट तत्कालीन एनआईसी बैंकको पहिलो शाखा विस्तार हुँदा धेरैको प्रश्न थियो-‘नयाँ बैंकले के नै गर्ला र ?’ हुन त सुरुवातीका दिनहरुमा धेरैले यस्तो सोच्नु अन्यथा थिएन । बैंकको प्रगति यहाँसम्म आउन सक्छ भन्ने कुरामा मानिसका फरक-फरक खालका धारणा हुनु स्वभाविक पनि हो । व्यापारिक भिड, अपर्याप्त बैंकिङ्ग साक्षरतासहितको समाज र बैंकको पहिलो शाखा भएकैले लक्ष्य हासिल गर्न बैंकलाई चुनौति हुने नै भयो । त्यो बेला बैंकको पहिलो टिमसँग नम्बर १ बन्नुको कुनै विकल्प थिएन ।

वि.सं. २०५४-५५ सालमा स्थापना भएको तत्कालीन एनआईसी बैंकको पहिलो सिइओका रुपमा केआर आईएर थिए । सुरुवाती बैंक, त्यसमा पनि क्षेत्रीय बैंकलाई लिडर बन्न निकै मुस्किल थियो । अझ पुरानो सोचले भरिएको युगमा ‘एडभान्स टेक्नोलोजी’ ग्रहण गर्न ग्राहक पनि ‘रिस्की’ ठान्थे । तर पनि सिइओ आईएर एक्लो थिएनन् । बरु उनीसँग नयाँ जोस् र दुरदर्शी निर्णय गर्न सक्ने शाखा प्रबन्धक जनक शर्मा पौडेल, सहायक प्रबन्धक राजेन्द्र सिवाकोटी, फाईनान्स अफिसर भेषराज खतिवडासहितको सिंगो टिम थियो ।
यसो त त्यसबेला बैंकको शाखामात्रै बलियो थिएन, बरु बैंकको संचालक समितिसमेत त्यत्तिकै बलियो र सक्रिय थियो । बैंकको पहिलो संस्थापक अध्यक्ष जगदिश अग्रवाल रहँदा संचालक सदस्यमा वाशुदेव गोल्याण, तुलसीराम अग्रवाल, लोकमान्य गोल्छा, सुवासचन्द्र संघाई, निर्मल कुमार अग्रवाल, र सिताशरण पाण्डे थिए । सबैको लक्ष्य एउटै थियो- ‘बैंकलाई कुनैपनि हालतमा देशकै ‘नम्बर १’ बैंक बनाउने ।’

पाँच औँला अलग–अलग रहँदा लाग्ने ‘पञ्जा’को चोटभन्दा सबै औँला मिलेर बनेको ‘मुक्का’को चोट गहिरो लाग्छ । यही तथ्यलाई बुझेको तत्कालीन एनआईसी बैंकको ‘स्टार्टर टिम’ अन्ततः बैंकिङ्ग क्षत्रकै लागि पूरानो बैंकिङको सट्टा नयाँ युगको बैंकिङ सुरु गर्ने ‘कडी’ टिमका रुपमा  साबित भयो । बैंकले स्थापनाको दोस्रो वर्ष नै ५ मिलियन घाटा बेहोर्नु परेको थियो । तर पनि बैंकको ‘स्टार्टर टिम’ बिचलित भएन । बरु अझै सशक्त बन्ने अठोटका साथमा बैंकले ग्राहक लक्षित ‘प्रोडक्ट’ ल्याउँदै गयो, फरक फरक स्किम र ग्राहकमुखी सेवा वितरण गर्दैगयो । बिस्तारै ग्राहकको माया र विश्वास कमाउँदै गएको एनआईसी बैंकले बर्षैपिच्छे प्रगतिमा छलाङ्ग मार्न थाल्यो ।

‘सुरुवातमा नयाँ बैंक, नयाँ सेवाका साथमा काम गर्न हामी उत्साहित थियौँ । पहिलो वर्ष त्यही उत्साहका साथमा कार्य सम्पादन गर्दै गयौँ । तर दोस्रो बर्ष नै बैंक घाटामा गयो तरपनि बैंकको नेतृत्व नम्बर १ बन्ने विश्वासमा अटल थियो’, बैंकका एक पूराना कर्मचारी भन्छन्- ‘त्यसबेला हामीलाई बैंकको नेतृत्वबाट ठुलो ढाडस मिलेको थियो । बैंक घाटामा जाँदा पनि हामीलाई त्यो कुराको आभास कहिल्यै भएन । बरु नेतृत्वको विश्वास र संकल्पले काम गर्न थप उर्जा मिलेको थियो ।’

‘जग बलियो भए घर स्वभाविकै बलियो हुन्छ’ भनेझैँ बलियो रहेको तत्कालिन एनआईसी बैंकको पहिलो टिमको नतिजा आज बैंक मुलुकभरमै सर्वोत्कृष्ट बैंक बन्न सफल भएको छ । देशभरमै सबैभन्दा धेरै शाखा विस्तार गरेको एनआईसी एशिया बैंकमा कर्मचारीको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । प्रत्येक वर्ष बिजनेशमा दोब्बर बढोत्तरी गर्दै आएको एनआईसी एशिया बैंक देशभरमै राज्यलाई सबैभन्दा बढी राजस्व बुझाउने बैंकका रुपमा स्थापित भएको छ । यति मात्र होईन, नविनतम् प्रविधिलाई गुणस्तरीयताको प्रतिक मान्ने एनआईसी एशिया बैंक अहिले प्रविधिमा पनि अन्य बैंकहरुभन्दा शिर्ष स्थानमै छ । समग्रमा एनआईसी एशिया बैंक अहिले बैंकमात्र होईन अधिकांशको ‘साथी’ बनेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK