×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लुकाउन खोजिएको एउटा तथ्य : ‘रिलायन्स लाइफकै ‘बदमासी’का कारण घटेको थियो सर्जन बिक प्रकरण…’

काठमाडौं । सीआईबीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको एउटा घटनाले यति बेला बजार तातेको छ ।बीमा रकमको लोभमा नक्कली विवाह गरेर सर्जन बिकको हत्या गरिएको सो केसलाई लिएर अहिले बीमा कम्पनीहरुमा मात्र होइन बीमा समितिमा पनि ठुलै चर्चा छ ।  २०७८ साल बैशाख २ गते सवारी दुर्घटनामा परी ज्यान गुमाएको भनी बीमा रकम लिएको भन्दै रिलायन्स लाइफ इन्स्योरेन्सले केहि समय अगाडी काठमाडौँको एउटा पाँचतारे होटलमा बीमा समितिका कार्यकारी निर्देशक र अध्यक्षसहितको टोलीबाट सो रकम हस्तान्तरण गरेको थियो । तर सो केस दुर्घटना थिएन, बरु हत्या थियो । सीआईबीले सबै तथ्य बाहिर ल्याएपछि अहिले यो घटनामा को दोषी भन्ने चर्चा-परिचर्चा पनि हुने गरेको छ । तर अरु गलत र बीमा कम्पनी सहि भन्ने तथ्य देखाउन खोजेर कम्पनीले गरेको बदमासी लुकाउन पनि ठुलै ‘चाल’ चालिएको बुझ्न गाह्रो छैन।
भएको के थियो ? कहाँ कहाँ चुकेको थियो कम्पनी ?
कम्पनीमा बीमा गराइएकाको रकम दाबी गर्दा दाबी गर्नेले बैजनाथ गाउँपालिका ६ लालपुरस्थित भित्री सडकमा टोपबहादुर रानाक्षेत्रीले चलाएको भे.१ ख २४९१ नम्बरको मिनी बसको ठक्करबाट भे.१ प १७२७ नम्बरको मोटरसाइकलमा सवार सर्जन विक घाइते भएको, घाइते भएका विकको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको, दुर्घटनामै विकको मृत्यु भएको प्रहरीको प्रारम्भिक स्थलगत रिपोर्टले देखाएको तथ्य प्रस्तुत गरेर कम्पनीबाट बीमा रकम भुक्तानी लिए । योजना अनुसार नै प्रहरी बोलाएर दुर्घटनाको नाटक सम्पन्न भएकाले अदालतले पनि सवारी र्दुघटनाका दोषीका रुपमा बस चालक टोपबहादुर राना क्षेत्रीलाई १ महिना कैद र २ हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो । विकले रिलायन्स लाइफ ईन्स्योरेन्समा सावधिक जीवन बीमा र म्यादी जीवन बीमा गरेका थिए ।
सोही आधारमा उनकी श्रीमती सपना मल्लले बीमा रकमका लागि कम्पनीमा दाबी गरिन् । कम्पनीले पनि २०७८ साउन १३ गते ‘पोलिसी’ अनुसारको २ करोड ५० लाख रुपैयाँ उनै सपना मल्ललाई बुझायो । तर माथिको सबै घटनाक्रम ‘फेक ‘ थियो । उनको सवारी दुर्घटनामा मृत्यु भएको थिएन, बरु उनलाई मारिएको थियो । बीमा रकम हत्याउन नक्कली सवारी चालक बनेर टोप बहादुर राना १ महिना जेल बसेका थिए । सुरुमै डिजाइन गरिएको हत्या योजना अनुसार सबै काम फिल्मी शैलीमा पूरा भएका थिए ।  प्रहरीको रिपोर्ट दुर्घटना नै भनेर बन्यो, अदालतले सोहि अनुसार आदेश दियो । मृत्यु भएकाकी श्रीमती भनिएकीले बीमाको दाबी भुक्तानी लिइन् । तर घटना त्यस्तो नभएर अर्कै थियो ।  यो केसमा बीमा कम्पनीका अभिकर्ता, बीमा रकम पाउने मल्ल लगायतले सबै घटना योजनामा नै गरेका थिए ।
मोटरसाइकल धनी सरदार अहमद खाँ ले नै सर्जनको बीमा गराएका थिए। यहि तथ्यलाई नेपाल पूनर्बीमा कम्पनीले केसबारे रि-इन्भेष्टिगेट गरेको थियो ।
रिलायन्सले हेरेन कि हेर्न चाहेन यी तथ्य ?
एक त जसको मृत्यु भएको छ भनिएको थियो, तीनको आर्थिक हैसियतका बारेमा कम्पनीले वास्ता नै गरेन । घटना हुनुभन्दा १ महिना अघिमात्रै सर्जन र सपनाको विवाह र बीमा संगसंगैजस्तो भएको तथ्यबारे कम्पनी जानकार थियो । अर्थात, उनीहरुको २०७७ चैत्र २ गते वडा कार्यालयमा विवाह दर्ता भएको थियो । त्यसको १ महिना नबित्दै सर्जनको दुर्घटनामा परी मृत्यु भयो । मृत्यु भएका विकको सपना मल्लसँग सो भन्दा अघि कहिल्यै भेटसमेत नभएको र बीमा भुक्तानीको प्रोसेसको फलोअपका लागि अरु कोहि नै लागि परेको थियो भन्ने विषयबारे पनि कम्पनी जानकार थियो । मृतक विकले चलाएको मोटरसाइकल धनी र बीमा गराउने व्यक्ति एउटै रहेको तथ्यबारे पनि कम्पनीका कर्मचारी जानकार थिए । यति हुँदा पनि ‘किन लफडामा पर्ने, पुनर्बीमा छँदैछ, अदालत र प्रहरीको कागज पनि बोलिहाल्छ’ भन्ने शैलीमा बीमा कम्पनीले भुक्तानी प्रक्रिया अगाडी बढायो ।
रिलायन्स लाईफ इन्स्योरेन्सले मृतकको श्रीमती भनेर रकम बुझाएको सपना मल्ललाई सर्जनको परिवारले चिन्दैनथ्यो । उनी मृतक सर्जनको मृत्यु संस्कारमा समेत पुगेकी थिइनन् । न त बीमाबापतको रकम सर्जनको परिवारले नै पाएका थिए । केबल कानुन बमोजिम पाउने क्षतिपूर्तिबापतको ६ लाख रुपैयाँ मात्रै मृतकका दाईले लगेका थिए । र यो सब चर्चा सीआइबीले अनुसन्धान गर्नुअघि नै कम्पनीमा चर्चा भईसकेको विषय थियो । यतिसम्म कि कम्पनीमा उच्च अधिकारीहरुलाई विभिन्न कार्यक्रममा ‘यस्तो भएको छ रे हो ?’ भनेर केहिले सोधेको चर्चा पनि बाहिर थियो ।
सर्जनले गरेको सावधिक र म्यादी जीवन बिमाको रकम निकै ठूलो थियो । यति ठुलो रकमको बीमा गर्ने कारण र आधार नदेखिनु र बीमा गरेको एक महिनामै मृत्यु हुनु थप रहस्यमय रहेको भन्दै पुनर्बीमाले सीआईबीमा खबर गर्यो । पुनर्बीमाले इन्स्योरेन्स कम्पनीलाई पैसा भुक्तानी गर्नुपूर्व शंका लागेपछि यो फाइल अगाडी बढाएको थियो । तर त्यसअघि नै कम्पनीभित्रै फेक दाबीमा कम्पनीले आँखा चिम्लिएको हल्ला चलिसकेको थियो । त्यहि हल्ला पुनर्बीमासम्म पुगेपछि पुनर्बीमाले यस विषयमा खोजिनिधि गरेको थियो ।
पुनर्बीमाबाट अनुसन्धान गरिदिन अनुरोध निवेदन आएपछि सीआईबीले पनि विशेष टोली बनाएर अनुसन्धान थाल्यो । घटनाको अनुसन्धानका क्रममा प्रहरीले एउट नयाँ पात्र फेला पार्यो ‘सञ्जिव अर्याल’, जो घटनाका मुख्य योजनाकार समेत हुन् । सोधपुछका क्रममा अर्यालले सर्जनको प्रथम बीमा शुल्कबापतको ५ लाख ४० हजार रुपैयाँ तिरिदिएका थिए । उनै अर्यालले सपनालाई ‘डिपेन्डेन्ट भिसा’मा अष्ट्रेलिया पठाउने भन्दै सन्जिवसँग भेट गराएका थिए र ‘कोर्ट म्यारिज’ गर्न समेत सुझाएका थिए । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका अनुसार अर्यालले मृत्यु बीमाबापत प्राप्त २ करोड ५० लाख मध्ये ८० लाख ३६ हजार आफुले राखेका थिए । ६० लाख दिपक केसीलाई, सपनाकी आमालाई १७ लाख ४६ रुपैयाँ र सपनालाई ४६ लाख ८९ हजार रुपैयाँ बाँडेका थिए । तर पाप धुरीबाट कराउँछ भनेजस्तै अन्ततः प्रहरीले सर्जनको मृत्यु योजनाबद्ध तरिकाले गरेको हत्या भएको ठहर गर्दै ६ जनालाई पक्राउ गरेको छ ।
पुनर्बीमा छँदै नै छ नि भनेर उम्किन खोज्छ रिलायन्स !
यसो त सर्जन विक प्रकरणमा बीमा कम्पनीको कमजोरी प्रष्ट देखिन्छ । प्रहरी अनुसन्धानले पनि बीमा गर्नुपूर्व कम्पनीले मर्यादा पालना नगरेको निश्कर्ष निकालेको छ । बीमाको नियम अनुसार वार्षिक आयको अधिकतम ४० प्रतिशतसम्म मात्रै बीमा गर्न सक्ने प्रावधान छ । २ करोड बढीको बीमाका लागि ५ लाख ४० हजार रुपैयाँ तिर्न सक्ने सर्जनको स्थिति थिएन । बैंक विवरणको केवाईसी फारममा पनि मृतक सर्जनको वार्षिक आम्दानी २ लाख रुपैयाँ भने स्वघोषणा गरिएको थियो । ‘बार्षिक २ लाख कमाउने व्यक्तिले ५ लाख बढी रकम बीमाकै लागि कसरी तिर्न सक्छ ?’ प्रश्न सोचनीय थियो । बीमा गर्ने समयमा रिलायन्स लाइफ इन्स्योरेन्सका कर्मचारीलाई यो शंका पहिले नै लागेको थियो । तर त्यसउपर कम्पनीले कारबाही अगाडी बढाएन, बरु ‘जसरी भएपनि हामीलाई पनि पैसा आईहाल्छ, बीमामा यस्तो सामान्य हो’ भन्ने शैलीमा कम्पनीले आँखा बन्द गरेर बीमा स्विकृति पास गर्यो र सर्जन विकको नाममा २ करोड बढीको बीमा गरिदियो । सामान्य ५ लाखको बीमा गर्दा आम्दानीको स्रोत, पारिवारिक स्थिति लगायतको विवरण माग्ने कम्पनीले २ करोड बढीको बीमा गर्दा ‘हचुवा’को भरमा बीमा गरेको नतिजा आज एक निर्दोषले ज्यान गुमाउनुपरेको तथ्य छताछुल्ल भएको छ ।
अधिकांशलाई यो लाग्छ कि, हामी जुन कम्पनीमा जीवन बीमा गर्छौं त्यही कम्पनीले हाम्रो क्षतिको बिमाङ्क रकम भुक्तानी गर्छ । तर खासमा ती कम्पनीहरुले गर्ने बीमाको पनि बीमा गरिएको हुन्छ ‘पुनर्बीमा कम्पनी’मा । त्यही मानसिकता बोकेको रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले पनि ‘गएपनि मेरो के जान्छ र ? पुनर्बीमा छँदैछ नि’ भन्ने शैलीमा उम्किन खोजेको देखिन्छ । सर्जनले गरेको बीमाको रकम ठुलो थियो र बीमा गर्नुपूर्व उनका सम्पूर्ण डकुमेन्टले पनि यही बोलिरहेको थियो । तर ती सबै तथ्य र प्रमाणलाई नजरअन्दाज गर्दै रिलायन्स लाइफ इन्स्योरेन्सले विकको बीमा गरिदियो । अन्ततः बीमा गरेको एक महिना पनि नबित्दै विकको मृत्यु भयो । मृत्यु भएप्रश्चात पनि रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीलाई सो दाबी रकम भुक्तानीका लागी बिमितको स्थिति र आधार अपुग थियो भन्ने जानकारी थियो । तरपनि कम्पनीले कुनै प्रक्रिया अगाडी बढाएन, बरु दाबी गरिएको रकम बुझाएर ठुलै काम गरेको जस्तोगरी निकै ‘चुरीफुरी’ गर्यो ।
रिलायन्सकै कारण अध्यक्ष सिलवालको बेइज्जत, बीमा क्षेत्र झन् बदनाम !
यसै पनि कोरोनाले नेपाली निर्जीवन बीमा क्षेत्र बदनाम छ । सर्जन विक प्रकरणले जीवन बीमा क्षेत्रप्रतिको विश्वास पनि माटोमा मिलाइदिएको छ । यो प्रकरणले घटनासँग जोडिएका अनेक नयाँ तथ्यपनि छताछुल्ल भएका छन् । मृतक सर्जन विक र सपना मल्लको ‘नक्कली’ विवाहदेखी बीमा, बीमा हुँदै सवारी दुर्घटना र बीमाबापतको २ करोड बढी रकम भुक्तानिसम्म आईपुग्दा बीमा रकमकै लागी ‘हत्या’ भन्ने ‘ट्याग’ लागेको छ । यसो त सो प्रकरणमा मृतक सर्जनकी ‘नक्कली’ श्रीमति सपना मल्ललाई काठमाडौंस्थित पाँच तारे होटल मेरियटमै पुगेर बृहत समारोहकाबीच बीमा समितिका अध्यक्ष सूर्य सिलवालले २ करोड ५० लाख रकम हस्तान्तरण गरेका थिए । जुन समयमा खिचिएको तस्विर रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो फेसबुक पेजमा समेत पोष्ट्याएको थियो । रकम हस्तान्तरण गरेको सामुहिक तस्विरमा सिलवालसँगै कम्पनीका अध्यक्ष ताराचन्द्र केडिया, तत्कालीन प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली लगायत कम्पनीको सञ्चालक र व्यवस्थापनको टिम देखिन्छन् ।
बीमा रकमकै लागि दुर्घटनाको निहुँमा सर्जनको हत्या गरिएको पुष्टी भएपछि अहिले समग्र बीमा क्षेत्र झनै बदनाम बनेको छ । कम्पनीले झुठो विवरणका आधारमा गरेको बीमाबापतको रकम ‘नक्कली’ श्रीमतिलाई हस्तान्तरण गरेपछि बीमा समितिका अध्यक्ष सिलवाल पनि विवादित पात्र बनेका छन् । अहिले कम्पनीका तत्कालीन हाकिम र स्वयम् अध्यक्ष सिलवाललाई पनि सजायको भागिदार बनाउनुपर्ने आवाजसमेत उठिरहेको छ ।
रिलायन्सका अन्य दाबी भुक्तानी पनि ‘शंकास्पद’ !
रिलायन्सको सो दाबी भुक्तानीसम्बन्धिको क्लु पनि कम्पनीकै कर्मचारीले हल्लाका रुपमा बाहिर लगेका थिए । अहिले रिलायन्स लाइफ इन्स्योरेन्ससँग जोडिएर सर्जन विक प्रकरण सतहमा आएपछि कम्पनीप्रतिको विश्वासपनि घट्दो छ । सबै तथ्य थाहा हुँदाहुँदैपनि थाहा नभएको जसरी कम्पनीले झुठो विवरणका आधारमा बीमा गरेकै कारण सर्जनको मृत्यु हुन पुगेको धेरैले आंकलन गरेका छन् । यो प्रकरणकै कारण रिलायन्स लाइफ इन्स्योरेन्ससँग सम्बद्ध अन्य भुक्तानीहरुपनि शंकास्पद रहेको स्वयम् कम्पनीका कर्मचारीहरु बताउँछन् । अझ बीमा रकम तिर्ने हैसियत नै नभएकाहरुले गरेको बीमाको संख्या त नेपाली बीमा क्षेत्रमै सबैभन्दा बढी रिलायन्समै रहेको कर्मचारीहरु नै दाबी गर्छन् ।
पहिलो होइन घटना, बीमाका नाममा मान्छे मार्ने सिलसिला कहिलेसम्म ?
यसो त बीमा रकमकै लोभमा ज्यानै जानेगरी भएको यो पहिलो घटना भने होईन । नेपाली बीमा क्षेत्रमा बीमा रकमकै लोभमा आफ्नै परिवारका सदस्यको हत्या गरिएका तथ्यसमेत हामीकहाँ प्रशस्त छन् । २०७६ साल असार १६ गते प्रभु लाइफ इन्स्योरेन्सबाट बीमा रकम पाउने लोभमा रौतहटका मौलापुर नगरपालिका ६ पथरा बुधरामका ३९ वर्षिय रामकिशोर राय यादवले आफ्नी ४ वर्षिया छोरीको हत्या गरेको तथ्य बाहिर आएको थियो ।
त्यस्तै कहालीलाग्दो घटनाको अर्को साक्षी हो युनियन लाइफ इन्स्योरेन्स । पोखरा महानगरपालिका–१५ कान्तिपुर चोक बस्ने २७ वर्षीया लक्ष्मी परियार नेपालीको हत्या गरेको अभियोगमा उनकै श्रीमानसहित प्रहरीले चारजनालाई पक्राउ गरेको थियो । आफ्नै शालीसंगको अवैध सम्बन्ध लुकाउन र बीमाबापतको १ करोड रुपैयाँ पाउने लोभमा रमेश नेपालीले आफ्नै श्रीमतीको हत्या गरेका थिए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: