×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फलोअपः सिद्धार्थ र लक्ष्मी बैंकले ग्राहक ठग्न छोडेनन्, सिआश्वा शुल्कका नाममा अवैध रकम असुल्दै ! (प्रमाणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार

PRIME CA
laxmi sunrise bank

फलोअपः सिद्धार्थ र लक्ष्मी बैंकले ग्राहक ठग्न छोडेनन्, सिआश्वा शुल्कका नाममा अवैध रकम असुल्दै ! (प्रमाणसहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सि-आश्वा शुल्कका नाममा बढीमा ५ रुपैयाँ लिन सक्ने सर्कुलर जारी गरेको एक साता बढी समय बितिसक्दा पनि सिदार्थ र लक्ष्मी बैंकले सि-आस्वा शुल्कका नाममा अवैध रकम असुल गर्ने कामलाई निरन्तरता दिएको पाइएको छ । अवैध रकम असुल गरेका बैंकहरुले पनि भकाभक सो रकम सम्बन्धित खातावाला कै खातामा फिर्ता गरिरहेको र केहि बैंकले त सि-आश्वा शुल्क नै खारेज गरेको अवस्थामा लक्ष्मी बैंक र सिद्धार्थ बैंकले भने नियम विपरित रकम असुलेर ग्राहक ठगिरहेको पाइएको हो ।

आफुहरु पीडित भएको भन्दै सिद्धार्थ र लक्ष्मी बैंकका ग्राहकहरुले अहिले अर्थ सरोकारलाई सो अवैध रकम फिर्ता गर्न पहल गरिदिन आग्रह गरिरहेका छन् । अर्थ सरोकारलाई प्राप्त प्रमाण हेर्ने हो भने सिदार्थ बैंकले अहिले पनि सि-आस्वा शुल्कका नाममा ग्राहकबाट १० रुपैयाँ र लक्ष्मी बैंकले २५ रुपैयाँ असुलीरहेको छ । यी दुई बैंकले असुल गरिरहेको शुल्क बोर्डले जारी गरेको उर्दीभन्दा दोब्बर र पाँच गुणा बढी हो । गत मंगलबारदेखि लागु हुनेगरी सि-आस्वा शुल्कवापत बढीमा ५ रुपैयाँ लिन भन्दै बोर्डले सम्पूर्ण बैंकहरुलाई सूचनासमेत पठाईसकेको छ ।

यसो त यसभन्दा अघि अन्य बैंकहरुले पनि सि-आस्वा शुल्कका नाममा ग्राहकबाट गैरकानुनी रकम असुली गरेका थिए । सो विषयमा अर्थ सरोकारले समाचार सम्प्रेषण गरेपछि अधिकांशले रकम फिर्ता गरेका थिए भने केही बैंकले त सि-आस्वा शुल्क नै खारेज गरेका छन् । तर, सिदार्थ र लक्ष्मी बैंकले भने ‘निर्देशन मान्दैनौँ, हामीलाई कसले छुने ?’ भन्ने शैलीमा रकम असुलीरहेको छन् ।

‘पहिला पनि आईपीओ भर्दा १० रुपैयाँ काटेको हो । त्यो बेलामा भर्खरै नियम आएको छ, लागु नभएर होला भन्ने भयो ।’, सिदार्थ बैंकका एक ग्राहकले अर्थ सरोकारसँग भने- ‘भदौ १४ गतेमात्रै मेरो खाताबाट आस्वा शुल्कवापत १० रुपैयाँ काटिएको छ । बोर्डले निर्देशन जारी गर्ने अनि बैंकले नमान्ने भएपछि नियमको के काम ?’

यस्तै लक्ष्मी बैंकका एक ग्राहकले पनि बैंकले सि-आस्वा शुल्कको नाममा लुट मच्याइरहेको गुनासो गरेका छन् । आईपीओ भरेवापत बैंकले लिने सि-आस्वा शुल्कका नाममा लक्ष्मी बैंकले अझै पनि २५ रुपैयाँ लिईरहेको लक्ष्मी बैंकका ग्राहकको भनाई छ । ‘धितोपत्र बोर्डको निर्देशन अनुसार सि-आस्वा शुल्क त ५ रुपैयाँ लिने होइन र ?’, उनले भने, ‘बैंकले मंगलबारमात्रै मेरो खाताबाट २५ रुपैयाँ काटेको छ ।’

यो विषयमा यी बैंकहरु बोल्नसमेत मानिरहेका छैनन् । बैंकको लुटधन्दा बारे प्रश्न गर्न लक्ष्मी बैंकका प्रमुख सूचना अधिकारी पियुसराज अर्याललाई फोन गर्दा उनले हाम्रो फोन नै उठाएनन् । यता सिद्धार्थ बैंकका गुनासो व्यवस्थापन अधिकारी सुरेश राज महर्जन पनि यस विषयमा सोधिएको प्रश्नको जवाफ खोज्दा सम्पर्कमै आएनन् ।

धितोपत्र बोर्डको संचालक समितिले सि–आस्वा शुल्क बढीमा ५ रुपैयाँ लिन पाउने निर्णय गरी सो निर्णय लागु गर्न गत मंगलबार नै सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिईसकेको थियो । बोर्डले जारी गरेको निर्देशन अनुसार नै सो निर्णय मंगलबारदेखि नै कार्यान्वयनमा आएको हो । त्यसलगत्तै केही बैंकहरुले सि–आस्वा शुल्क नै खारेज गरेका छन् । अहिले एनआईसी एशिया बैंक, राष्ट्रिय बाणिज्य बैंक, नबिल बैंक र कुमारी बैंक, सानिमा बैंक, नेपाल बैंक लिमिटेडले यो सेवा निःशुल्क दिइरहेका छन् ।

धितोपत्र बोर्डका सहप्रवक्ता रुपेश केसीले भने नियम नमान्ने बैंकहरुलाई प्रचलित कानुनबमोजिम कारवाही हुने बताईरहेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: