×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनिक नेपाल प्रकरणबारे Ground Zero रिपोर्ट : ‘लघुवित्तकै टर्चरका कारण रेश्माले आत्महत्या गरिन्, अव के हुन्छ?’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार

PRIME CA
laxmi sunrise bank

युनिक नेपाल प्रकरणबारे Ground Zero रिपोर्ट : ‘लघुवित्तकै टर्चरका कारण रेश्माले आत्महत्या गरिन्, अव के हुन्छ?’

कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर १ कि ३७ वर्षिया रेश्मा चौधरी युनिक नेपाल लघुवित्तबाट ३ लाख रुपैयाँ ऋण लिएकी थिइन् । पटक पटक गरेर उनको व्यवहार ठिकै चलिरहेको छ भन्ने देखेर नै लघुवित्तले ऋण दिएको थियो । तर बीचैमा उनी बिरामी परिन् । बिरामी परेपछि पैसा जति औसधिमुलोमा खर्च भएपछि उनले ऋण तिर्न सकिनन् । एक हप्ता, एक महिना हुँदै ३ महिनासम्म पनि उनलाई सन्चो भएन ।
यो बीचमा उनलाई लघुवित्तले ‘टर्चर’ दिईरह्यो । समाजमा बेइज्जत गरिदिन्छु, घरमा ताला लगाईदिन्छु भनेर लघुवित्तका कर्मचारीहरुले निरन्तर धम्क्याईरहे । पैसाजति औसधिमा खर्च गर्नुपरेपछि उनीसँग किस्ता तिर्ने पैसा भएन । लघुवित्तका कर्मचारीले रेश्मालाई मात्र होइन, रेश्माको परिवारलाई पनि ‘टर्चर’ दिन थाले । किस्ता तिरौं, पैसा छैन । नातिरौं लघुवित्तले मान मर्दन गरिदिने धम्की दिएको छ, पछिल्लो समय सार्है तनावमा थिइन् रेश्मा ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्थाबाट रेश्माले लिएको ३ लाख २० हजारमध्ये २ लाख ३९ हजार तिर्न बाँकी थियो । रेश्माले ऋण तिर्न नसकेपछि लघुवित्तले उनको ऋणको साक्षी बसेकाहरुले संस्थाबाट ऋण लिन नमिल्ने भन्दै सदस्यहरुलाई पनि उकास्ने काम गर्यो । आफुहरुले ऋण लिन नमिल्ने भएपछी उनीहरु पनि लघुवित्तकै कुरामा तयार भए र रेश्माको घरमा ताला लगाउन तयार भए । भदौ १ गते संस्थाको केन्द्र समुह बैठकमा नियमित किस्ता र ऋण ब्याज तिर्न नसकेपछि संस्थाले दबाब दिन भन्दै सूचना टाँस गर्दै बिहान ११ बजे उनको घरमा तालाबन्दी गरेको थियो । लघुवित्तले सूचना टाँस गरेपछि रेश्माको घरमा घरझगडा सुरु भईसकेको थियो । सूचना टाँस गरेर घरमा तालाबन्दी गरेपछि पनि रेश्मा किस्ता तिर्न नआएपछि पुनः संस्थाका कर्मचारी दबाब दिन भन्दै उनको घरमै पुगेका थिए । सो दिनसम्म पनि रेश्माको ज्यानलाई सन्चो थिएन । उनी लघुवित्तको ऋण तिर्न सक्ने अवस्थामा पनि थिइनन् । किस्ता तिर्न नसकेपछि लघुवित्तका कर्मचारीले केहि सदस्यहरु लिएर आए, र घरमा ताला मारिदिए । र सुनाईदिए सबै गाउँलेलाई -‘रेश्माले ऋण तिरिन, अव लघुवित्तले घरबारे सबै लगिदिन्छ।’
रेश्मालाई असह्य भयो । गाउँमा मुख देखाउन नसक्ने भएपछि उनी तनावमा परिन् । यसै पनि शरीर बिरामी थियो । घरमा ताला लागेपछि छिमेकीका अगाडी पनि मुख देखाउन गाह्रो भयो । लघुवित्तकै ‘टर्चर’का कारण घरमा घर-झगडा हुन थाल्यो । कलहले ठुलो रुप लिंदै गर्दा उनले बाँच्नु भन्दा मर्नु ठिक ठानिन्, सायद उनले भदौ २ गते आत्महत्या गरिन् । उनले देहत्याग गरेको कारण खोज्दै गर्दा लघुवित्तको ऋण देखिएपछि अहिले स्थानीयहरु लघुवित्तविरुद्ध आन्दोलनमा छन् ।
परिवार र छिमेकीको दाबी -‘लघुवित्तकै कारण ज्यान गयो’
रेश्माका छिमेकीहरु पनि रेश्माको मृत्युको कारण युनिक नेपाल लघुवित्त वित्तीय संस्था नै भएको दाबी गर्छन्। उनका एक छिमेकी भन्छन्-‘ऋण धेरै भयो, रेश्मा बिरामी थिइन्, बिरामी भएपछि लघुवित्तको किस्ता रोकियो। किस्ता रोकिएपछि लघुवित्तले घरमा ताला मारिदियो, त्यसपछि रेश्माले यो बेइज्जती सहन सकिनन् र आत्महत्या गरिन् ।’ उनका अनुसार रेश्मा लामो समयदेखि बिरामी थिइन् । बिरामी हुँदा पनि लघुवित्तले निरन्तर टर्चर दिइरहेको थियो । घरी घरमा आएर धम्क्याउने, घरी ताला मार्ने चेतावनी दिने गरिरहन्थ्यो लघुवित्त । र अन्तत: लघुवित्तले त्यसै गरेपछि रेश्मा प्राण त्याग्न बाध्य भईन् ।
उनका श्रीमान, छोरी र अन्य छिमेकी पनि रेश्माको मृत्युको कारण युनिक नेपाल लघुवित्त नै भएको दाबी गर्छन् । ‘अरु बेला किस्ता नियमित थियो । ३ महिना बिरामी हुँदा किस्ता तिर्न सकिनन् रेश्माले । यो बीचमा लघुवित्तले रेश्माको बिबसता बुझेन, बरु उल्टै घरमा ताला लगाईदियो । र अति भएपछि, सहनै नसकेपछि रेश्माले आत्महत्या गरिन् ।’ उनका अर्का एक छिमेकी भन्छन्- ‘केहि समय लघुवित्तले कुरीदिएको भए उनको ज्यान जोगिन्थ्यो ।’ उनका श्रीमान् लघुवित्तले दिएको अनावश्यक टर्चरकै कारण आफ्नी श्रीमतीको ज्यान गएको दाबी गर्छन् । ‘अरु केहि समस्या थिएन । व्यवहार चलिरहेको थियो, बिरामी भएपछि केहि किस्ता रोकिएकै हो । तर केहि किस्ता रोकिनेबित्तिकै लघुवित्तले घरमा ताला लगाईदियो । अन्तत: रेश्माले आत्महत्या गरिन् ।’
वडा अध्यक्ष भन्छन्- ‘लघुवित्तको हर्कत गैरकानुनी देखियो’
यता सो घटना घटेको गौरीगङ्गा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष डबल बहादुर दियाकोटी बोहोराले पनि लघुवित्तको टर्चरकै कारण रेश्माले आत्महत्या गरेको दाबी गरेका छन् । ‘लघुवित्तले ऋण असुली गर्ने क्रममा प्रक्रिया पूरा नगरी रेश्माको घरमा ताला लगाएको देखिन्छ । यो कानुनी रुपमा गलत छ । पैसा नउठेको खण्डमा स्थानीय प्रशासन र वडासँग समन्वय गरेर असुली गर्न सकिन्थ्यो । तर यहाँ त त्यस्तो केहि नगरी सिधै ऋणीको घरमा ताला लगाइएको छ । जुन गलत छ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै अध्यक्ष बोहोराले भने- ‘न कुनै कानुनी आधार थियो, न हामीलाई पूर्व सूचना थियो । लघुवित्तले त एकोहोरो पारामा ऋणीको घरमा ताला लगाएको छ । जुन सरासर गैरकानुनी हो । लघुवित्तले गरेको यस्तो हर्कत भ्रत्सनायोग्य छ ।’
उनका अनुसार यस्ता घटना पुन: दोहोरिन नदिन वडाले अव त्यस्तो कार्य गर्नुपरेमा वडाको अनिवार्य स्वीकृति लिनुपर्नेगरी आवश्यक निर्देशन दिने तयारीमा स्थानीय प्रसासन छ । ‘जे भयो, गलत भयो । अव आइन्दा त्यस्तो नहोस् भनेर हामीले लघुवित्तलाई आवश्यक निर्देशन दिनुपर्ने देखियो र अव हामी सोहिअनुसार अगाडी बढ्छौं ।’ रेश्माको केसको पनि छानविन हुनुपर्ने उनको तर्क छ । ‘रेश्माको केसको पनि छानविन हुनुपर्छ । हामी दोषीलाई कारवाही हुनुपर्छ भन्ने कुरामा अडिग छौँ । लघुवित्तले गलत काम गरेकै हो, र लघुवित्त कानुनी सजायको भागीदार हुनैपर्छ ।’ उनले भने ।
के भन्छ लघुवित्त ?
यता युनिक नेपाल लघुवित्तका साखा व्यवस्थापक राजकुमार चौधरी भने रेश्माको मृत्यु भएका कारण उनले कानुनअनुसार त्यसको क्षतिपूर्ति पाउने बताउँछन् । ‘उहाँ (रेश्मा चौधरी) पटक पटक हाम्रो बैठकमा आउनुभएन । पटक पटक नआएपछि हामीले उहाँलाई चेतावनी दियौँ । हामीले असुलीको उपाय अपनाएकै हो । तर जसो गर्दा पनि किस्ता र ऋणको ब्याज नआएपछि हामीले उहाँको घरमा ताला लगाईदिएको हो । पछि उहाँले मृत्यु भएको खबर हामीले पाएका हौँ। अव उहाँले हाम्रो नियम अनुसार किरिया खर्च पाउनुहुनेछ भने बाँकी ऋण कानुनअनुसार मिनाहा हुनेछ।’
उनका अनुसार किस्ता नआएपछि उनको घरमा छोरी र आमाबीच विवाद भएको लघुवित्तलाई थाहा भयो । ‘हामीले समूहको जमानीमा भएकाले उहाँलाई चेतावनी दिएको हो । उहाँको किस्ता नआएपछि हामीले असुली प्रक्रिया अगाडी बढाएको हो । हाम्रो काम नै असुली गर्ने हो । ऋण असुल नभएपछि हामीले उहाँको घरमा ताला मारिदिएको हो । ताला मारिदिएपछि उहाँको घरमा सो घटना घटेको छ भनेर जानकारी आयो । बाँकी कुरा हामीलाई केहि पनि थाहा छैन ।’ अर्थ सरोकारसँग उनले भने-‘अव उहाँको ऋण मिनाहा हुन्छ । उहाँले लिनुभएको ऋणको ३५ प्रतिशत रकम काजकिरिया खर्च भनेर पनि उहाँले पाउनुहुन्छ ।’  
लघुवित्तकि अर्की कर्मचारी सन्तरानी चौधरी ऋणीको घरमा ताला लगाउने विषयमा प्रहरी वा प्रशासनलाई खबर गर्न साध्य नहुने दाबी गर्छिन् । सुरुमा ऋण दिंदा नै सबै कुरा उल्लेख गरेका हुनाले ऋणीको घरमा ताला लगाउने कुरामा स्थानीय निकायसँग सहकार्य गर्नुनपर्ने उनको तर्क छ । ‘हामीले सुरुमा नै ऋणीलाई सबै कुरा भनेका हुन्छौँ । सोहि अनुसार तमासुख पनि बनाएका हुन्छौँ । ऋणको ब्याज नआएपछि हामीले चेतावनी पनि दिएको हो, घरमा ताला पनि मारेको हो । तर हाम्रै कारणले उहाँको मृत्यु भयो भन्ने कुरा हामी स्वीकार्न तयार छैनौँ । अव छिमेकीले के कुरा भन्नुभयो वा परिवारले के कुरा बनायो, त्यो हामीलाई थाहा हुने कुरा होइन ।’ यता बैंकका कार्यकारी निर्देशक डा. गोपाल दहितले भने ऋणीको घरमा ताला लगाउनुअघि स्थानीय प्रशासन र प्रहरीलाई खबर गर्नुपर्ने र त्यसो नगरेका कर्मचारीहरुलाई विभागीय कारवाही हुने बताएका छन् । ‘ऋणीको घरमा ताल लगाउनुअघि प्रहरीमा वा स्थानीय प्रसासनमा खबर गर्नुपर्थ्यो । त्यसो न्गारेको भन्ने खबर पाएको छु । त्यसो हो भने सम्बन्धित कर्मचारीलाई विभागीय कारवाही हुन्छ ।’ डा दहितले अर्थ सरोकारसँग भने।
यसो त पहिला व्यवहार मिलिरहेकाले आफुले रेश्मामाथि थप लगानी गरेको उनले स्वीकारेकी छिन् । ‘पहिला किस्ता र ब्याज समयमा नै आएको थियो । त्यहि अनुसार हामीले उहाँमाथि थप ऋण लगानी गरेको पनि हो ।र ऋणको ब्याज नआएपछि हामीले उहाँलाई चेतावनी पनि दिएको हो । यति गर्दा पनि ऋण नतिरेपछि हामीले उनको घरमा ताला लगाईदिएको पनि हो । पछि उहाँले आत्महत्या गर्नुभएछ ।’
प्रहरी भन्छ- ‘तालाबन्दीको जानकारी थिएन, उजुरी परेको छ, छानविन गर्दैछौँ’
यता इलाका प्रहरी कार्यालय चौमालाका प्रमुख तथा प्रहरी नायब निरिक्षक विशनदत्त भट्टले पनि लघुवित्तले ऋणीको घरमा ताला लगाउने विषयमा आफुहरुलाई जानकारी नदिएको बताएका छन् । ‘रेश्माले लघुवित्तबाट लिएको ऋणको किस्ता नतिरेको, लगातार किस्ता नतिरेपछि संस्थाका कर्मचारीले उनको घरमा गएर दबाब दिएको, र तनाब सहन नसकेपछि उनले विष सेवन गरी आत्महत्या गरेको भन्ने जानकारी प्रहरीमा आएको छ ।’ प्रहरी नायब निरिक्षक भट्टले अर्थ सरोकारसँग भने-‘घरमा ताला लगाएको विषयमा हामीलाई कुनै जानकारी छैन । हामीले त उनले विष सेवन गरेपछि मात्रै थाहा पाएका हौँ । शनिबार उनको दाहसंस्कार भएको छ ।’
यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक खगेन्द्र साउँद गौरिगंगा नगरपालिकामा रेश्माले भदौ २ गते साँझ करिब ६ बजेको समयमा विष सेवन गरेको, साढे ७ बजे उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको र राती १० बजेको समयमा उनको मृत्यु भएको बताउँछन् । ‘विष सेवन गरी आत्महत्या गरेको भन्ने विषयमा प्रहरीमा खबर आएको थियो थियो । तर के कारणले उनले आत्महत्या गरेकी हुन् भन्ने जानकारी प्रहरीमा परेको जाहेरीमा उल्लेख गरिएको थिएन । तर ऋण तिर्न नसकेरै रेश्माले आत्महत्या गरेको भन्ने बुझिएको छ ।’ साउँदले अर्थ सरोकारसँग भने –‘रेश्माले छोरीका नाममा पनि ऋण लिएकी रहिछन् र छोरीले पनि ऋणका कारण आफ्नो घरमा समस्या भएको बताएको र संस्थाले पनि ऋण तिर्न प्रेसर दिँदा विष सेवन गरेको भन्ने प्रारम्भिक अनुसन्धानमा देखिन्छ । तर घटनाको बाँकी पाटो अनुसन्धानकै क्रममा रहेको हुँदा थप कुरा भने त्यसपछि नै थाहा हुन्छ ।’
अव के हुन्छ ?
युनिक नेपाल लघुवित्तको टर्चरकै कारण उनले आत्महत्या गरेको उनको परिवार र छिमेकीको दाबी छ । तर रेश्माले कुनै पनि सुसाइड नोट नलेखेका कारण लघुवित्तका कर्मचारी यो केसमा फसिहाल्छन् भन्ने छैन ।तर वडा अध्यक्षले नै लघुवित्तले गैरकानुनी रुपमा घरमा ताला लगाएको र सोहि प्रेसर धान्न नसकेर रेश्माले आत्महत्या गरेको भन्ने तथ्य बोलेका हुनाले यो प्रकरण मिलन त्यति सहज पनि छैन ।
अर्कोतर्फ परिवारको माग भनेको ऋण मिनाहा मात्र छ । जवकि संस्था ऋण मिनाहा गर्न तयार भईसकेको छ भने किरिया खर्चवापत ३५ प्रतिशत रकम पीडीत परिवारलाई दिन पनि लघुवित्त तयार भईसकेको छ । यसको अर्थ यतिमै कुरा मिल्नेछ । तर कुरा क्षतिपूर्ति र ऋण मिनाहाको मात्र नभई समग्र लघुवित्तले गरेको मनपरीका बारेमा कोहि बोल्यो र कानुनी प्रक्रिया अगाडी बढायो भने यो केस जटिल बन्न सक्छ । यतिसम्मकि लघुवित्तका कर्मचारीले गैरकानुनी रुपमा ऋणीको घरमा ताल्चा लगाएका हुनाले लघुवित्तका कर्मचारीहरुलाई आत्महत्या दुरुत्साहनको मुद्धासमेत लाग्न सक्छ ।
यहि कारण लफडामा नपर्ने भन्दै अहिले लघुवित्तका कर्मचारीहरु यो केस मिलाउन लागि परेका छन् । उनीहरुले ऋण मिनाहा गरिदिने र किरिया खर्च पनि दिने भन्दै पिडित परिवारलाई फकाईरहेका छन् । तर यो नियमत: पाइने हुनाले थप क्षेतिपूर्ति दिइनुपर्ने र दोषी माथि कारवाही गरिनुपर्ने भन्दै स्थानीयबासीहरुले आवाज उठाईरहेका छन् । लघुवित्तले यस्तो आवाज उठाउने स्थानीयहरुलाई पनि दबाब र प्रभावमा पार्न खोजिरहेको आरोपसमेत स्थानीयको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: