×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मछापुच्छ्रे बैंक घोटला प्रकरणः बैंकले जिम्मेवारी नलिने भएपछी पैसा निकाल्नेहरु ह्वात्तै बढे !

PRIME CA

मछापुच्छ्रे बैंक घोटला प्रकरणः बैंकले जिम्मेवारी नलिने भएपछी पैसा निकाल्नेहरु ह्वात्तै बढे !

३१ आश्विन २०७९, सोमबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौं । बैंकबाटै रकम गायब भएको घटना सतहमा आएसँगै माछापुच्छ्रे बैंकबाट रकम झिक्नेहरु बढेका छन् । बैंकको रुपन्देहीमा रहेको ‘शाखारहित बैंकिङ सेवा’ कार्यालयबाट हराएको करोडौँ रुपैयाँको जिम्मा बैंकले नलिने भएपछि पैसा झिक्नेहरु बढेका हुन् ।

अहिले माछापुच्छ्रे बैंकको काठमाडौं, पोखरा तथा लुम्बिनी लगायतका ठाउँमा रहेका शाखाबाट पैसा झिक्ने बढेका छन् । यसरी बैंकबाट पैसा झिक्नेहरुमा अधिकांश साना निक्षेपकर्ताहरु छन् । बैंकबाटै पैसा गायब हुनु र त्यसको जिम्मेवारी बैंकले नलिनुले बैंकप्रतिको विश्वास घटेको बैंकका सेवाग्राहीले बताएका छन् । ‘जुन बैंकमा आफ्नो पैसा सुरक्षित छैन, त्यो बैंकमा पैसा जम्मा गरेर आफु असुरक्षित किन बन्ने ?’ अर्थ सरोकारसँग कुराकानी गर्दै एक ग्राहकले भने, ‘बैंकमा पैसा सुरक्षित होस् भनेर राख्ने हो तर, माछापुच्छ्रे बैंक सुरक्षित नलागेपछि पैसा निकाल्न बाध्य भएको हुँ ।’

यसो त माछापुच्छ्रे बैंकले आफ्नो शखारहित बैंकिङ सेवा कार्यालयमा घोटला भएको स्वीकारेको छ । तर, बैंक सो घोटलाको जिम्मा लिन तयार छैन । बरु उल्टै बैंकले जसले घोटला गरेको हो उसैबाट पैसा असुल गर्नु भनी विज्ञप्ती सार्वजनिक गरेको छ । बैंकका अनुसार सो घोटला प्रकरण बैंकले नभएर शाखारहित बैंकिङ सेवा कार्यालय सञ्चालनको जिम्मा पाएका एजेन्टले गरेका हुन् र सो को भर्पाई निक्षेपकर्ताले सोही एजेन्टबाट असुल्नुपर्छ । यसरी बैंकले आफ्नै प्रतिनिधिबाट भएको गल्तीको जिम्मा नलिने आशयको विज्ञप्ती निकालेपछि बैंकबाट रकम झिक्नेहरु दोब्बरले बढेका हुन् ।

‘बैंकले गरेको गल्ती बैंकले नै सुधार्नुपर्छ तर यसबाट पन्छिन खोज्नु ग्राहकप्रतिको अन्याय हो ।’, माछापुच्छ्रे बैंकका एक सेवाग्राहीले अर्थ सरोकारसँग भने -‘जुन बैंकले निक्षेपको ग्यारेन्टि दिन सक्दैन त्यो बैंकमा पैसा राख्नु मुर्खता हो । आज एउटा प्रतिनिधिले करोड खायो, भोली अर्कोले खाला अनि हामी जनताचाहीँ बैंक छोडेर व्यक्तिको पछी लाग्ने हो ? त्यसैले यो बैंक पैसा जम्मा गर्न सुरक्षित छैन ।’

पैसा निकाल्नेमा सबैभन्दा बढी साना लगानीकर्ता

पछिल्लो केहीदिनयता माछापुच्छ्रे बैंकको पोखरा, लुम्बिनी र काठमाडौंका विभिन्न ठाउँमा रहेको शाखामा पैसा झिक्नेहरु बढेका छन् । यसरी बैंकबाट पैसा झिक्नेहरुमा अधिकांश साना निक्षेपकर्ताहरु छन् । ‘बैंकमा पैसा झिक्नेहरु प्राय निम्न आयस्तर भएकैहरु छन्’, बैंकका एक कर्मचारीले अर्थ सरोकारसँग भने, ‘उहाँहरुसँग पैसा झिक्ने खासै प्रभावकारी कारण छैन । नियमित ग्राहकले पनि बैंकबाट पैसा झिक्नुभएको छ ।’

यसो त बैंकबाट पैसा झिक्नेमात्र होइन बैंक स्टेटमेन्ट जाँच गर्नेहरुको संख्यामा पनि वृद्धि भएको छ । पहिलेभन्दा पछिल्लो केहीदिनयता बैंकको स्टेटमेन्ट चेक गर्नेहरु बढेको माछापुच्छ्रे बैंकका एक कर्मचारीले बताएका छन् । ‘आजभोली पैसा झिक्नेसँगै बैंकमा स्टेटमेन्ट माग्नेहरु पनि बढेका छन्’, उनले भने, ‘पहिले दैनिक हाम्रो शाखाबाट ४-५ जनाले स्टेटमेन्ट लिने गरेपनि पछिल्लो २४ घण्टामा दर्जन बढीले स्टेटमेन्ट लिएर जानुभएको छ ।’ यसरी बैंक स्टेटमेन्ट जाँच गर्ने र पैसा झिक्नेहरुको संख्या ह्वात्तै बढ्नुले नागरिकमा बैंकप्रतिको विश्वास घटेको तथ्य पुष्ठी गरेको छ ।

के भन्छ बैंक ?

यता माछापुच्छ्रे बैंकका सूचना अधिकारी सुनिल खतिवडाले भने पैसा झिक्नेहरु बढेको खबर झुठो भएको बताए । ‘रुपन्देहीमा घटेको करोडौँ घोटला प्रकरणले बैंकको विश्वासमा कुनै असर गरेको छैन’, अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘बैंकको कुनैपनि शाखामा पैसा झिक्नेहरु बढेका छैनन् । यसमा कुनै सत्यता छैन ।’ तर, बैंकका विभिन्न शाखामा पैसा झिक्नेहरु बढेको तथ्य बैंककै कर्मचारीले पुष्ठी गरेका छन् ।

केहीदिन अघि लुम्बिनीस्थित एक साखारहित बैंकिङ सेवामार्फत माछापुच्छ्रे बैंकमा पैसा जम्मा गरेका निक्षेपकर्ताको रकम बैंकको खातामा जम्मा नै नभएको खुलासा भएको थियो । रूपन्देहीको सम्मरीमाईस्थित बैंकको साखारहित बैंकिङ सेवामार्फत बैंकमा खाता खोलेर रकम जम्मा गरेका कसैको पनि रकम बैंकको खातामा जम्मा भएकै रहेनछ । निक्षेपकर्तासँग बैंकको भौचर पनि छ, बैंकको एटिएम पनि छ । तर खातामा पैसा छैन । यसरी बैंकमा करोडौं रुपैयाँ घोटाला हुँदा अहिले आफुले दुख गरेर बैंकमा पैसा जम्मा गर्नेको बिजोग भएको छ । आफुले दुःख गरेर जम्मा गरेको रकम बैंक खातामै जम्मा नगरी बैंककै कर्मचारीले हिनामिना गरेपछि उनीहरु न्यायको खोजीमा भौतारिरहेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: