×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिन्धु बिकास बैंकमा चरम घोटाला, करोडौँ रुपैयाँ हिनामिना, मेनेजर जेलमा… (भिडियो रिपोर्ट)

काठमाडौँ । सिन्धु बिकास बैंक लिमिटेडमा ४ बर्ष भयो सुमन खरेलले काम गरेको । बैंकको दोलालघाट शाखामा रकम जम्मा हुन्थ्यो । बैंकको शाखा उनकै जिम्मामा थियो । जम्मा ३ जना कर्मचारी, १ पियन, र दुई गार्ड, उनी ५ जनाका हाकिम थिए । बैंकका तत्कालीन ब्रान्च मेनेजरले सो शाखा छोडेपछि उनलाई बैंकको ब्रान्च मेनेजरको जिम्मा दिइएको थियो । बैंकमा काम गर्ने रिसेप्सन, अर्का एक कर्मचारी र उनीमात्र बैंकको कोर काममा लाग्थे । बाँकी पियनले उनीहरुको कामलाई सहयोग गर्थे । दुई गार्डले बैंकको सुरक्षा गर्थे ।

डिपोजिटरले ल्याएको पैसा बैंकको सिष्टममा चढ्थ्यो । र जम्मा भएको क्यास रकम खरेलले एनसीसी बैंकमा रहेको सिन्धु बिकास बैंकको खातामा जम्मा गर्नुपर्थ्यो । तर उनी त्यसो गर्दैनथे । बरु सो रकम आफैं चलाउँथे । विभिन्न व्यवसायीहरुसँगको संगत थियो उनको । उनी जम्मा भएको रकम ती व्यवसायीहरुलाई चलाउन दिन्थे । र त्यसवापत कमिसन लिन्थे । व्यवसायीहरुपनि सजिलै पैसा पाएपछि उनलाई राम्रै पोस्थे । र उनको यो गैरकानुनी धन्दा बैंकमा चलिरहेको थियो । बैंकमा डिपोजिट गर्नुपर्ने रकम बैंकमा डिपोजिट भईसकेको नक्कली कागज बनाएर उनी सिष्टममा चढाउँथे । हेड अफिसले हेर्दा सिष्टममा पैसा छ ।

उनले आफ्नो बैंकको सीसीटिभीको रेकर्ड पनि उडाईदिन्थे । जसका कारण उनका गतिविधिहरु रेकर्ड हुन पाउँदैनथियो । नियमअनुसार उनी र अर्का एक जना साथमा लिएर बैंकको डिपोजिट बार्हबिसेमा रहेको शाखामा जम्मा गर्न जानुपर्थ्यो । तर उनी उनका गार्ड, वा पियनलाई तपाईं जानुपर्दैन म आफैं सकेर आउंछु भन्दै उनीहरुलाई सँगै गएको हो भन्ने कागजमा हस्ताक्षर गराउँथे । एक त हाकिमले भनेपछि मान्नै पर्यो । त्यसमाथि पनि बैंक गईरहनुपरेन । गार्ड वा पियनले उनले भनेको मान्ने नै भए ।

त्यसपछि उनी बैंकको पैसा बोकेर एनसीसी बैंक जाँदैनथे । बरु सो पैसा बोकेर विभिन्न व्यक्तिहरुकहाँ जान्थे । उनीहरुलाई पैसा चलाउन दिन्थे । र आफुले सो काम गरिदिएवापत कमिसन लिन्थे । सिष्टममा पैसा देखिन्थ्यो । जसका कारण उनको सो गलत धन्दा कसैले थाहा नै पाएको थिएन । तर उनको यो गलत धन्दा धेरैबेर टिक्न सकेन । बैंकले आफ्नो सिष्टममा भएको पैसा खासमा न भल्टमा छ, न एनसीसी बैंकमा छ भन्ने थाहा पायो, त्यसपछि बैंकको एक टोली दोलालघाट शाखामा पुग्यो । तर बैंकले यो घटना थाहा पाउँदा धेरै ढिलो भईसकेको थियो । किनकि सुमन खरेलले बैंकको डिपोजिट अरु कसैलाई प्रयोग गर्न दिएका थिए र सो पैसा सम्बन्धित व्यक्तिहरुले चलाईसकेका थिए । त्यसपछि बैंकले उनलाई लिखित स्पष्टीकरण सोध्यो । उनले बैंकलाई स्पष्टीकरण दिएनन्, बरु बैंकबाट नै भाग्न खोजे ।

त्यसपछि बैंकले प्रहरीको सहयोगमा सुमन खरेललाई पक्राउ गरी घटनाबारे केरकार गर्यो । उनी फन्दामा फसिसकेका थिए । त्यसैले उनले आफुले पैसा कहाँ दिएको छु भन्ने कुरा सबिस्तार बताए बैंकलाई । यतिसम्मकि उनले आफुले पैसा अपचलन गरेको स्वीकार गरी कसकसलाई पैसा दिइएको छ भन्ने पनि उल्लेख गरी कबुल कागजमा हस्ताक्षर गरे ।

बैंकको जाहेरीपछी सीआइबीले गर्यो अनुसन्धान !
त्यसपछि बैंकले सुमन खरेल र रकम चलाउने ३ जनाविरुद्ध सीआइबीमा उजुरी गर्यो । सीआइबीले खरेललाई हिरसतमा लिएर थप अनुसन्धान गर्यो । सीआइबीले बैंकको यो केस पत्ता लगाउने टोलीकोसमेत लिखित बयान लियो । सीआइबीको टोलीले बैंकका गार्ड, पियन, र अन्य दुई कर्मचारीलाई पनि बयान लियो । खरेलले एनसीसी बैंकमा रहेको खातामा जम्मा गर्नुपर्ने एक करोड उनासी लाख नब्बे हजार आठ सय पचपन्न रुपैयाँ आफुले निकाली बैकको सम्पत्ति अपचलन गरेको भेटियो । अनुसन्धानकै क्रममा थप रकम पनि घोटाला भएको भेटिएपछि प्रहरीले थप अनुसन्धान थाल्यो। सीआइबीको बयानमा उनले आफुले बिरुभाई कन्स्ट्रकसनका दुई जना र अन्य एक जना व्यवसायीलाई रकम दिएको स्वीकारेका छन् । उनले पैसा चलाउन दिएका एक व्यवसायीले आफुले प्रयोग गरेको भनी २२ लाख रुपैयाँ बैंकमा फिर्ता पनि गरे । तर प्रहरीले उनले त्यति नै मात्र रकम चलाएका थिए वा अरु पनि चलाएका थिए भन्ने विषयमा थप अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा खरेलले आफ्नै बुद्धिले यस्तो गलत काम गरे वा बैंकको उपल्लो तहका कर्मचारीको वा बैंकको उच्च व्यवस्थापनको पनि संग्लग्नता छ भन्ने विषयमा सीआइबीले अहिले अनुसन्धान गरिरहेको छ ।

सिन्धु बिकास बैंकका सूचना अधिकारी

बैंक भन्छ-‘हामीलाई ठुलो घाटा भएको छ’
बैंकका सूचना अधिकारी रविन कुमार क्षेत्री आफुहरुलाई यो प्रकरणमा ठुलो घाटा भएको र सीआइबीको सहयोगमा रकम असुल हुने विश्वासमा आफुहरु रहेको बताउँछन् । ‘हामीले बेला बेला विभिन्न शाखाहरु निरीक्षण गर्ने गर्छौं । तर कोरोनाको समय भएकाले र लकडाउनकै समय भएकाले हामीले विभिन्न शाखामा सरप्राइज भिजिट गर्न पाएका थिएनौं । यहि बेला सुमन खरेलको मुभमेन्ट बढी भएछ र उनले बदमासी गरेछन् ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने-‘हामीले सिष्टममा पैसा देखिए पनि खासमा पैसा छैन भन्ने थाहा पाउने बित्तिकै एउटा कमिटी बनाएर यस घटनाबारे अनुसन्धान गर्यौं । हाम्रो अनुसन्धानका क्रममा सुमन खरेलले निक्षेपकर्ताको डिपोजिट अपचलन गरेको थाहा पाएपछि उनलाई स्पष्टीकरणसमेत सोध्यौं । तर उनले स्पष्टीकरण दिनुको सट्टा हामीबाट भाग्न खोजे । त्यसपछि प्रहरीको सहयोगमा उनलाई पक्राउ गरी हामीले केरकार गर्यौं । उनले आफ्नो गल्ती लिखित रुपमै स्वीकारेपछी हामीले सीआइबीमा उनी र सो रकम चलाउने अन्य ३ जनाविरुद्ध उजुरी गर्यौं । अहिले सीआइबीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।’ ‘अनि रकम असुल भयो त रुु हाम्रो प्रश्नमा क्षेत्री भन्छन्-‘करोडौंको रकम अपचलन भएको छ । जम्मा २२ लाख रुपैयाँ एक जनाले फिर्ता दिनुभएको छ । बाँकी रकम बैंकलाई घाटा छ । नेपाल राष्ट्र बैंकको नियम अनुसार हामीले सो रकमलाई प्रोभिजनिङसमेत गरेका छौं । तर बैंकको करोडौं रुपैयाँ अपचलन हुँदा हामीलाई ठुलो घाटा भएको सत्य हो ।’

र यसरी फसे रामकृष्ण श्रेष्ठ !
सो बैंकमा काम गर्ने ३ कर्मचारीमध्ये एक थिए रामकृष्ण श्रेष्ठ । खरेलले उनलाई पनि भल्टको चाबी दिएका थिए । यो प्रकरणमा श्रेष्ठले कतै पनि बदमासी नगरेको बैंकको भनाइ छ । तर खरेलले पैसा झिकेर अन्यत्र चलाउने गरेको र भल्टको साँचो श्रेष्ठसँग पनि भएकाले उनलाई पनि प्रहरीले अनुसन्धानका लागि तानेको छ । अहिले श्रेष्ठ पनि हिरासतमा छन् । आफुले गर्दै नगरेको गल्तीमा आफुसँग साँचो भएकै कारण पक्राउ पर्दा अहिले उनको परिवार तनावमा छ । नखाएको बिष लागेपछी अहिले उनको बास हिरासतमा छ । ‘हामीले रामकृष्ण श्रेष्ठलाई जाहेरी दिएका होइनौं । र सबै गल्ती आफुले गरेको भनेर खरेलले स्वीकारेका पनि छन् ।’ बैंकका सूचना अधिकारी क्षेत्री भन्छन्-‘उनीसँगपनि साँचो भएकाले प्रहरीले उनलाई हिरासतमा लिएको छ । यो प्रकरण भएपछी हामीले नै उनलाई दोलालघाट शाखाबाट सरुवा गरेर केन्द्रीय कार्यालय ल्याएका हौँ । उनले नभई सबै गल्ती आफुले गरेको खरेलले स्वीकारे पनि प्रहारीले अनुसन्धानका लागि भन्दै श्रेष्ठलाई पनि पक्राउ गरेको छ । यो अनुसन्धानको विषय भएकोले यसलाई खास अन्यथा लिन आवश्यक छैन । हामी बैंकको मेनेजमेन्ट टिम स्वयमले पनि सीआइबीमा गएर लिखित बयान दिएका छौं ।’

सुरक्षित रहेन सिन्धु बिकास बैंक !
यसो त केहि बदमास कर्मचारीका कारण सिन्धु बिकास बैंकमा जनताको डिपोजिट सुरक्षित रहेन । तर ढिलै भएपनि यो केस थाहा हुँदा बैंक ठुलो क्षतिबाट जोगिएको छ । तर यो प्रकरण बाहिर आएपछि सिन्धु बिकास बैंकसँग डिपोजिटरहरु पनि शशंकित बनेका छन् । सिन्धु बिकास बैंकमा जम्मा गरेको रकम कर्मचारीले नै चलाईदिएको खबर बाहिर आएपछि कतिपय कम बुझ्ने डिपोजिटरहरुले बैंकबाट रकम निकालेका छन् भने कतिपयले खाता नै बन्द गर्न बैंकलाई आग्रहसमेत गरेका छन् । तर नेपाल राष्ट्र बैंकले भने यस्ता प्रकरणमा रकम अपचलन हुँदा पनि निक्षेपकर्ताको रकम भने सुरक्षित रहने बताउँछ । ‘बैंकमा यस्ता केस थुप्रै हुन्छन् । हामीले सो रकम प्रोभिजनिङ गर्न भनेका छौं र बैंकले गरेको पनि छ । जनताले डिपोजिट गरेको रकम त कुनै हालतमा पनि डुब्ने भन्ने कुरा हुँदैन ।’ नेपाल राष्ट्र बैंकका उच्च अधिकारी-‘ जनताको रकम सुरक्षित नै हुन्छ । यो कुरामा कुनै पनि समस्या छैन । तर बैंकको यो केससँग बैंकको व्यवस्थापनमाथि प्रश्न भने पक्कै उठेको छ । खरेलले यो काम कसैको आड नलिई गरे होलान् त ? भन्ने प्रश्न पनि उठेको छ । यस विषयमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरी आफुलाई यस विषयमा नबोल्न भन्ने आदेश भएकोले आफु नबोल्ने बताउँछन् ।’मलाई यो केसमा धेरै नबोल्न भनिएको छ । सीआइबीबाट ठोस कुरा पक्कै आउला । तर मान्छे स्वनियममा नबसेपछी कसको के लाग्छ र रु यसपाली हाम्रो बैंकमा पनि यस्तै भयो ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: